पिसाबमा देखिने खतरनाक लक्षण



शरीरका भित्री अंगहरु ठीक अवस्थामा छन् कि छैनन्, ठीकसँग काम गरेका छन कि छैनन् भन्ने कुरा लक्षणहरुका आधारमा आफैँले पनि जाँच गर्न सकिन्छ । शरीरका भित्री अंगहरुमा समस्या आउँदा केही न केही लक्षण देखिने हुन्छ ।

शरीरका आन्तरिक अंगहरुमा खराबी आउँदा प्रायः पिसाबमा केही न केही लक्षण देखिन्छ । यस्ता लक्षणहरुलाई कदापि बेवास्ता गर्नुहुँदैन ।

यी समस्याका बारेमा बेलैमा चिकित्सकसँग परामर्श गरेमा अंगहरु फेलियर हुन तथा क्षति हुनबाट बचाउन सकिन्छ । पिसाबबाट शरीरमा भएका विषाक्त पदार्थहरु बाहिर निष्कासन हुन्छ । आन्तरिक अंगहरुमा समस्या आउँदा निम्न किसिमका लक्षणहरु देखिन सक्छन्:

१. पिसाब गर्दा रगतसमेत आउनु: पिसाबमा रगत पनि आएको छ भने पिसाबको रंग रातो वा गाढा पहेँलो हुन्छ । यसलाई हेमेटुरिया भनिन्छ । यो स्थितिले मिर्गौला वा मूत्रमार्गमा समस्या भएको संकेत गर्दछ ।

२. पिसाबमा गन्ध: मिर्गौलामा समस्या भएमा पिसाबमा दुर्गन्ध आउन सक्छ । यस्तो दुर्गन्धलाई बेवास्ता गर्दा मिर्गौलासम्बन्धी समस्या वृद्धि हुँदै जान्छ र मिर्गौला फेलियर हुन सक्छ ।

३. मूत्रमार्गमा दुखाइ वा जलन:यदि मूत्र प्रणालीका कुनै अंगमा समस्या भइरहेको छ भने मूत्रमार्गमा पीडा वा जलन हुन्छ । पिसाब फेर्न पनि कठिनाइ हुन्छ ।

४. पिसाबमा फिँज आउनु: पिसाब गर्दा पिसाबमा फिँज आयो भने पनि यसलाई सामान्य मान्नुहुँदैन । यो पनि मिर्गौला र मूत्राशयसँग सम्बन्धित गम्भीर समस्या हुन सक्छ । लामो समयसम्म पिसाबमा फिँज आउने भयो भने यो मिर्गौलामा क्षति पुगेको संकेत पनि हुन सक्छ ।

५. पिसाबको रंगमा परिवर्तन आउनु: पिसाबको रंगमा असामान्य परिवर्तन आउनु पनि कुनै गम्भीर समस्याको संकेत हुन सक्छ । मांसपेशीमा क्षति हुनु, मिर्गौलासम्बन्धी समस्या वा क्यान्सरको समस्या भएको अवस्थामा पनि पिसाबको रंग असामान्य परिवर्तन हुन्छ ।
त्यसकारण पिसाब गर्दा देखिने यी समस्यालाई देखेर पनि बेवास्ता गर्ने भूल गर्नुहुँदैन । यस्तो परिवर्तन शरीरमा पानीको कमी, ज्यादा मदिरा सेवन वा खानपानमा गडबडी हुँदा पनि हुन्छ । तर यस्ता कारणले हुने पिसाबको रंग परिवर्तन केही समयपछि ठीक हुन्छ । तर अलि लामो समयसम्म यस्तो परिवर्तन रहेमा यो खतराको संकेत हुन सक्छ, तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ ।

स्रोतः ओन्लीमाइ हेल्थ

प्रतिक्रिया दिनुहोस्