आङ खस्ने समस्यालाई लुकाउनुहुन्न



प्रा. डा. सुमनराज ताम्राकार

विगत केही वर्षदेखि नेपाली सञ्चारमाध्यममा आङ खस्ने समस्यासम्बन्धी समाचारहरु कम आउन थालेका छन् । शायद आङ खस्ने समस्याबाट प्रताडित हुने महिलाहरु अब त्यति धेरै संख्यामा छैनन् । तुलनात्मकरुपमा यो समस्या शहरतिर कम हुँदै गए पनि दूरदराजका महिलाहरु अझै यो समस्याबाट आजित भइरहेको पाइन्छ । सुलभ र सहज उपचारको खोजीमा उनीहरु भौँतारिएको पाइने गरेको छ । तर पनि पहिलेको तुलनामा यो समस्या न्यून नै मान्नुपर्ने हुन्छ ।

आङ खस्ने समस्या शुरु भएका महिलाले योनिद्वारबाट केही बाहिर निस्केको अनुभव गर्छन् ।

नेपालमा पनि अहिले ४०-४५ वर्ष उमेर समूहका महिलाहरु उमेर छँदै थोरै बच्चा पाउने, अस्पताल वा स्वास्थ्यसंस्थामै बच्चा पाउने चलन चलिसकेको छ । यी आदिका कारण पनि आङ खस्ने समस्या भएका बिरामीहरुको संख्यामा कमी आएको हुन सक्छ । र, पछिल्लो पुस्ताका स्त्रीरोग विशेषज्ञहरु पनि आङ खस्ने समस्याको उपचारमा पाठेघर निकालिहाल्न हतारिनुभन्दा अंग बचावट गर्न सकिने वैकल्पिक उपायमा लाग्ने गरेका कारण पनि यो समस्या त्यति ठूलो सुनिएको छैन ।

तर पनि आङ खस्ने समस्यालाई महिलाको स्वास्थ्य समस्याको सूचीबाट हटाइहाल्ने सि्थति भने भएको छैन । आङ खस्ने समस्या कम हुँदै गए पनि अझै समस्याको रुपमा नै छ । विशेष गरी गाउँघरतिर यो समस्या लुकेर बसेको पाइन्छ । गाउँघरतिरका कतिपय महिलाले त यो समस्यालाई समाधान नै नहुने रोगको रुपमा पनि लिने गरेको र अति नभएसम्म परिवारलाई पनि भन्न नचाहने गरेको पाइन्छ । समग्रमा भन्नुपर्दा नेपालजस्तो देशमा अहिले नै आङ खस्ने समस्यालाई अनदेखा गरिहाल्ने सि्थति छैन । समस्यामा कमी आएको भए तापनि संख्यात्मक हिसाबले भन्नुपर्दा यो समस्या ठूलै रुपमा छ । त्यसै कारण पनि यस लेखमा आङ खस्ने समस्याका बारेमा केही जानकारी दिने प्रयास गरिएको छ ।

अस्पतालको स्त्रीरोग विभागको बहिरंगमा आउने सेवाग्राहीहरुमा आङ खस्ने समस्याको गुनासो प्रशस्त नै पाइन्छ । त्यसो त पाठेघर सि्थर अंग होइन, यो केही मात्रामा चलायमान छ । तर पनि पाठेघरलाई यथास्थानमा राखिराख्न विभिन्न प्रकारका बाक्लो तन्तु (लिगामेन्ट) हरुले टेवा दिइराखेका हुन्छन् । कथंकदाचित ती भरथेग गर्ने लिगामेन्टहरुको भूमिका तल–माथि भई पाठेघर वा योनिको माथिल्लो भागले ठाउँ छाडेर तल सर्ने वा खस्ने समस्यालाई बोलीचालीको भाषामा आङ खस्ने भनेर चिनिन्छ ।

आङ खस्ने समस्याका प्रकारहरु

आङ खस्ने समस्यालाई चार प्रकारमा बाँडिएको छ ।
पहिलो प्रकार– पाठेघर तल झर्ने क्रममा पाठेघरको बाह्य मुख इसि्चयम (पुठ्ठाका हड्डीहरुमध्ये एक) को एउटा चुच्चोसम्म आइपुग्छ ।

दोस्रो प्रकार– पाठेघरको बाह्य मुख योनिद्वारसम्म आइपुग्छ ।
तेस्रो प्रकार– पाठेघर योनिद्वारभन्दा बाहिर निसि्कन्छ ।
चौथो प्रकार– पाठेघर पूर्णरुपमा बाहिर निसि्कनुका साथै योनिद्वारको माथिल्लो भाग पनि उलि्टएर बाहिरिन्छ ।

आङ किन खस्छ ?
खासमा पाठेघरलाई टेवा दिने बाक्ला तन्तु (लिगामेन्ट) हरुमै कमजोरीपना आई आङ खस्छ । सुत्केरी व्यथामा पाठेघरको मुख पूर्णरुपमा खुल्नुअगावै व्यथा लागेकी महिलालाई कन्न (बल गर्न) लगाएमा, पेटमा थिच्ने गरेमा, पहिलोपटक बच्चा पाउनेलाई योनिद्वार ठूलो पार्ने घाउ (इपिजिओटोमी) नबनाएमा, सुत्केरी व्यथाको क्रममा च्यातिएको घाउ राम्ररी नसिलाएमा, सुत्केरीपश्चात् यथेष्ट आराम नगरेमा, गह्रुँगो काम वा भारी उठाउन थालेमा आङ खस्ने समस्या हुने धेरै सम्भावना हुन्छ ।

यस्तै गरी एक–अर्को बच्चाबीच यथेष्ट जन्मान्तर नराखेमा, लामो र कष्टपूर्ण व्यथा लागेमा आङ खस्ने समस्या बढ्ता हुन्छ । तर कसै–कसैमा पाठेघरलाई टेवा दिने तन्तुहरु जन्मजातरुपमै कमजोर हुन्छन् । पहिला बच्चा नपाएका महिला वा सहजै सुत्केरी व्यथा भएका महिलामा पनि आङ खस्नुको कारणचाहिँ यिनै हुन् । उमेर ढल्केपछि अर्थात् महिनावारी सुकिसकेपछि इस्ट्रोजेन नामक हर्मोनको अभावमा पाठेघर वरिपरिका तन्तुहरु कमजोर भएमा, पाठेघरमा ठूलो मासु पलाएमा, लामो समयदेखिको धूमपानबाट दम–खोकी लागेमा तथा कबि्जयतका बिरामीमा पेटभित्र पटक–पटक बढ्ता बल पर्नाले पनि आङ खस्ने समस्या हुन सक्छ ।
नेपाली महिलाहरुमा धूमपान गर्ने, ग्रामीण भेगमा अभैm पनि धुँवारहित चुल्हो प्रयोग नगर्ने चलन, भौगोलिक विषमता (घाँस,

दाउरा, पानी पँधेराको लागि उकाली–ओराली गर्नुपर्ने), महिलाको दयनीय पोषणसि्थति तथा रक्तअल्पता, बुहारीले (सुत्केरी नै भए पनि) घरायसी कामकाज गर्नुपर्ने बाध्यता तथा छोटो–छोटो अन्तरालमै धेरै बच्चा पाउने गर्नाले पनि आङ खस्ने समस्या हुन्छ । आङ (पाठेघर) खस्ने समस्यासँगै अगाडिपटि्टको पिसाब थैली र पछाडिपटि्ट आन्द्रा तथा मलद्वार पनि झोलिन सक्छ ।

लक्षण चिह्नहरु

आङ खस्ने समस्या शुरु भएका महिलाले योनिद्वारबाट केही बाहिर निस्केको अनुभव गर्छन् । उनीहरुलाई ढाड दुख्ने, अत्यधिक सेतो पानी बग्ने, हल्का रगत मिसिएको योनिश्राव बग्ने समस्या हुन्छ । पिसाब थैली झोलिएको छ भने पिसाब फेर्न गाह्रो हुने, पिसाब पूरै ननिख्रने, पिसाब छिटो–छिटो फेर्न मन लाग्ने, पिसाब छुट्ने, पिसाब पोल्ने हुन्छ । मलद्वार झोलिएको छ भने दिसा गर्न गाह्रो हुने हुन सक्छ । तिनीहरुको शारीरिक जाँचको क्रममा पिसाब थैली तथा मलद्वार झोलिएको प्रस्टै देखिन्छ भने दोस्रो प्रकारको आङ खस्ने समस्या आन्तरिक परीक्षणबाट पत्ता लगाउन सकिन्छ ।

रोकथाम तथा उपचार

आङ खस्ने समस्याको प्रमुख कारण पटक–पटकको गर्भसँग सम्बनि्धत भएकोले गर्भावस्थामा पोषण, सरसफाइ तथा शारीरिक अभ्यास, सुत्केरी व्यथाका बेलामा चाँडै कन्न नलगाउने, लामो र कष्टपूर्ण व्यथा हुन नदिने गर्नुपर्छ । यस्तै गरी आवश्यकता अनुसार योनिद्वार यथेष्ट बनाउने (इपिजियोटोमी) वा सिजेरियन शल्यकि्रया गर्ने गर्नुपर्छ । त्यस्तै गरी सुत्केरीपश्चात् आराम गराउने तथा योनिद्वार र मलद्वारवरिपरको मासु कसिलो बनाउने अभ्यासहरु गरेमा आङ खस्ने समस्याबाट धेरै हदसम्म बच्न सकिन्छ ।

दोस्रो प्रकारको आङ खस्ने समस्याको उपचार शल्यकि्रयाविना नै गर्न सकिन्छ । यसका अलावा अवस्था हेरी चुरा (रिङ पेसरी) लगाउन सकिन्छ । प्रभावित महिलालाई पोषिलो खाना खान तथा योनिद्वार एवं मलद्वारवरिपरिको मासु कसिलो बनाउने अभ्यास गर्न सल्लाह दिनुपर्दछ । गर्भवती तथा सुत्केरी महिला, शल्यकि्रया गर्नयोग्य नभएका महिला, शल्यकि्रया पर्खिउन्जेल तथा प्रभावित महिलाको चाहना बमोजिम चुरा लगाइदिन सकिन्छ ।

बच्चा पुगिसकेका, महिनावारी सुकिसकेका महिलामा योनिद्वारबाट पाठेघर निकाल्ने शल्यकि्रया गर्न सकिन्छ । कतिपय अवस्थामा पेटमा घाउ बनाई पाठेघर निकाल्ने शल्यकि्रयाको विकल्पस्वरुप योनिद्वारबाटै पाठेघर निकाल्न सकिन्छ । जन्मजात मांसपेशी कमजोर भई आङ खसेका, बच्चा नपाएका, बच्चा पुगिनसकेका, अविवाहित महिलाहरुमा आङ खस्ने समस्या भएको वा पहिले पाठेघर निकालिसकेका महिलामा योनिको माथिल्लो भाग सिलाएको ठाउँ (भल्ट) तल झरेका महिलाहरुमा पाठेघर वा योनिको माथिल्लो भाग माथि सार्ने उद्देश्यले पेटमा घाउ बनाई फित्तासहितको शल्यकि्रया गरिन्छ ।

यस शल्यकि्रयाको दौरान फित्ता (डोरी) पाठेघरको मुख माथिल्लो भागमा अड्काइन्छ । र, त्यसको दुई चोसो पुठ्ठाको हड्डी दायाँ–बायाँ वा पछाडिपटि्ट सेक्रम भन्ने हड्डीमा टँसाइन्छ । कतिपय अवस्थामा पेटको मांसपेशीका त्यान्द्रा डोरीको रुपमा भित्रपटि्ट ल्याई पाठेघरको मुखको माथिल्लो भाग वा पहिले अपरेसन गरी बाँकी रहेको भागमा जोडिन्छ । यस्तो शल्यकि्रयापश्चात् बिरामी उभिने÷उठ्ने क्रममा पेटको मासुमा बल पर्न गई पाठेघर माथितिर तानिन्छ । त्यसैले उमेर नपुगेका महिलाहरुमा आङ खस्ने समस्या भए पनि पाठेघर निकाल्ने शल्यक्रिया नै गर्नुपर्दछ भन्ने छ ।

पाठेघर निकाल्ने अपरेसनको क्रममा रक्तश्राव हुने, पिसाब थैली, आन्द्रा, मूत्रनलीमा चोट पुग्ने र अपरेसनपश्चात् पिसाब रोकिने, संक्रमण हुने तथा कालान्तरमा यौनसम्पर्क राख्दा पीडा हुने, पुनः आङ खस्ने समस्या बलि्झने तथा योनि वा मलद्वारमा पिसाब चुहिनेजस्ता जटिलता उत्पन्न हुन सक्छन् । आङ खस्ने समस्याका लागि योनिद्वारबाट पाठेघर निकाल्ने उपयुक्त शल्यकि्रयाका दौरान पाठेघरको दुवैपटि्टको डिम्बाशय ननिकाले पनि अपरेसनको केही वर्षमै यी डिम्बाशयहरुले सार्थक तवरले काम गर्न सक्दैनन् । डिम्बाशयले काम गर्न छोडेपछि हात–खुट्टा पोल्ने, गर्मी महसुुस हुने, पसिना आउने, मुटु हान्ने, पिसाब पोल्ने, पिसाब छिटो–छिटो लाग्ने, निद्रा नलाग्ने, पिसाब चुहिने, पटक–पटक मूत्रनलीको संक्रमण हुने, यौनसम्पर्क राख्दा बढ्ता दुख्ने, चिन्ता बढ्ने, मन उदास हुने, टाउको दुख्ने, झिँजो लाग्ने समस्या हुन सक्छ । कालान्तरमा हड्डी कमजोर हुने, हड्डी भाँचिने, मुटु तथा रक्तनलीमा असर पुग्ने जटिलता उत्पन्न हुन सक्छ ।

आङ खस्ने समस्या धेरै महिलाहरु त्यसमा पनि ग्रामीण भेगका महिलाहरुमा दबिएर बसेको गम्भीर समस्या हो । यस समस्यालाई लुकाउनुभन्दा अलि–अलि समस्या हुनासाथ उपचारतिर लाग्नु राम्रो हो । बेलैमा उपचार गर्दा यस समस्याले त्यति गम्भीर रुप लिन पाउँदैन । आङ खस्ने समस्याको उपचारका सुविधाहरु भए तापनि यसका आफ्नै जटिलताहरु पनि छन् । त्यसकारण आङ खस्ने समस्या हुनै नदिनका लागि चाल्नुपर्ने कदमका विषयमा बेलैमा सजग हुन जरुरी छ ।

यो समस्या हेर्दा महिलाको मात्र समस्याजस्तो देखिए पनि यस समस्याले सम्पूर्ण परिवारको समस्याको रुप लिन्छ । यो समस्या बढ्दै जाँदा कतिपय दम्पतीमा मनमुटाव भई परिवारमा विग्रहको सि्थति पनि आउँछ । घरकी महिलालाई आङ खस्ने समस्या आउन नदिनका लागि परिवारका अन्य सदस्यहरुले पनि सहयोग गर्न सक्ने सि्थति हुन्छ । त्यसकारण आङ खस्ने समस्यालाई परिवारको समस्याका रुपमा अंगिकार गरी यो समस्या आउन नदिन र आएमा सहजरुपमा लिएर उपचारका लागि सहयोग गर्ने तत्परता परिवारका सदस्यले लिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्