साधनाले सधैँ सचेत र सजग गराओस्



म साधनाको प्रायः नियमित पाठक हुँ । हरेक साधनामा स्वास्थ्य क्षेत्रका गहकिला सन्दर्भहरु प्रस्तुत हुने गरेको मैले पाएको छु । यसै सेरोफेरोमा भन्दा मानसिक रोग अहिलेको जल्दोबल्दो समस्याका रुपमा देखिएको छ ।

उच्च शिक्षा हासिल गर्ने नाममा छोराछोरी विदेशिएका परिवारमा यो समस्या बढी देखिएको छ । मेरो पनि एक्लो छोरो १२ पास गर्नासाथ साथीहरुको लहै–लहैमा उच्च शिक्षाका लागि विदेश पुगेको छ । उसले त्यहाँ न काम पाएको छ, न मैले खर्च धान्न सक्ने अवस्था छ ।

यसरी भर्खर १२ पास गरेका अपरिपक्व छोराछोरीलाई विदेश पठाएर मानसिक समस्याको भुमरीमा पारिदिनेमा हामी बाबुआमाको पनि दोष छ । अझ दैनिकजसो फोन गरेर जागिर पायौ त भन्दा छोराछोरी कति छटपटिँदा हुन् ? यता छोराछोरी विदेश पठाउँदाको ऋणले बाबुआमालाई भत्भती पोल्न थाल्छ, उता छोराछोरीले जागिर पाएको हुँदैन, अर्को सेमेस्टरको पैसा तिर्ने बेला भइसकेको हुन्छ । प्रायः प्लस टु गरेर विदेश गएका विद्यार्थीका परिवारको समस्या हो यो ।

हामीजस्ता पाठकलाई दृष्टिगत गरी यसै विषयमा गत फागुनको साधनामार्फत खुलस्त पारिदिने मानसिक रोग विशेषज्ञ प्रा.डा. पुष्पप्रसाद शर्माप्रति आभारी छु । आशा छ, साधनाले यस्तै लेखहरु प्रस्तुत गरेर हामीलाई सचेत र सजग गराउने कार्य गरिरहोस् ।
– तेजमणि नेपाल, थानकोट, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्