तपाईका घरमा हाम्रा डाक्टर



१. मेरो काछसँगै एउटा डल्लो निस्केको छ । त्यो सुतेको बेलामा हराएर जान्छ । उठेको, हिँडेको बेलामा फेरि बाहिर निस्कन्छ । कहिलेकाहीँ यसो दुख्छ पनि । चिकित्सकले हर्निया हो, अपरेसन गर्नुपर्छ भनेका छन् । मेरो उमेर ६५ वर्ष भइसक्यो । मलाई चिर्न डर लाग्छ । त्यसमाथि म प्रेसर, सुगरको बिरामी । के गर्ने होला ? अपरेसन नगरे के होला ? सल्लाहको आशा राख्छु ।

– सोमप्रसाद अर्याल, कोपुन्डोल ।

सोमप्रसादजी, यदि चिकित्सकले अपरेसन गर्ने सल्लाह दिएको भए गर्नु नै उचित हुन्छ । किनभने त्यो हर्नियामा भित्र कहिलेकाहीँ आन्द्रा नै आएर, फुलेर अड्केमा आन्द्राको यावत् प्रक्रिया अवरोध भएर दिसा नहुने, उल्टी धेरै हुने, पेट दुख्ने, पेट फुल्ने, साह्रोगाह्रो हुने सम्भावना अधिक हुन्छ । त्यसैले आकस्मिक अपरेसन गर्नुपर्ने हुन सक्छ । त्यति मात्रै नभएर त्यो हर्निया सुन्निने, पाक्ने, मर्ने वा फुट्नेसमेत भएर धेरै कहाली लाग्दो अवस्थासमेत आउन सक्छ । सुगर र प्रेसर त अस्पतालमा अपरेसनको लागि भर्ना गरेपछि औषधि मिलाएर नियन्त्रणमा ल्याउन सकिन्छ ।

चिकित्सकले जे पर्ला–पर्ला, बिरामीलाई जे होला–होला भनेर विनासोचको सल्लाह दिँदैनन् । रोगको कारण आउन सक्ने जटिलता तथा यसको अगाडि–पछाडिको प्रकृति, हुन सक्ने वा आउन सक्ने परिस्थिति जानेरै यस्तो आउन दिनुहुन्न भन्ने सोचेर सल्लाह दिएको हुन्छ । यहाँको उमेर हेरेर लिनुपर्ने सावधानी अस्पतालले वा चिकित्सकले लिने कुरामा कुनै सन्देह मान्नुपर्दैन । अधिकतम सुरक्षाका उपायहरु अपनाएर नै अपरेसन गरिने हुन्छ ।

यसै राखेमा कुनै पनि बेला जे–जसो पनि हुन सक्ने, आकस्मिक अवस्था आइलाग्न सक्ने हुनाले अलि–अलि जोखिम लिएरै सक्दो सुरक्षा कवच अपनाई अपरेसन गर्न सकिने हुन्छ । अब यति भनेपछि स्पष्ट हुनुभयो होला । अब के गर्ने भन्दा पनि कहिले र कहाँ भर्ना हुने भन्ने सोच्नुस् । त्यसमा पनि वीर अस्पताल वा शिक्षण अस्पताल रोजेमा स्रोत–साधन तथा जनशक्ति प्रशस्त हुनुका साथै खर्च पनि धेरै नलाग्ने कुरा प्रस्ट्याउन चाहन्छु ।

२. म ४५ वर्षको भएँ । मलाई छिन्–छिन्मा पानी खाने बानी छ, नखाए मुख सुकेको, तिर्खा लागेको जस्तो हुन्छ । डायबिटिज भयो कि भनेर दुईपटक रगत जाँचे, त्यो पनि छैन । के भएको हुन सक्ला ? सुझाव पाए आभारी हुने थिएँ ।

– विनोद कार्की, उदयपुर ।

विनोदजी, प्यास अधिक लाग्ने कारण धेरै हुन सक्छन् । यसमध्ये चिनीरोग हुनु, थाइराइड हर्मोनको उच्च उत्पादन हुनु प्रमुख कारण हो । खेलेर वा गाह्रो कामले थाकेर धेरै गर्मीले गर्दा शरीरमा पानीको कमी भएर पनि यस्तो हुन सक्छ । अब कुरा रह्यो रगत जाँचेको भन्ने, त्यो त चिकित्सकले गर्ने कुरा हो । चिकित्सकले त्यो मात्रै नभएर अन्य सम्भावित कारणसमेतको परीक्षण एउटै रगतको स्याम्पलबाट गर्छन् । कुनै समस्या भएको महसुस भएमा आफैँ रगत जाँच्नुभन्दा पनि यसमा चिकित्सकको सल्लाह–सुझाव लिएर परीक्षण गरेमा रोग पत्ता लगाउन सकिन्छ । चिकित्सकले रगत परीक्षण गर्ने मात्र नभई व्यक्तिको रोगसम्बन्धी इतिहास र अन्य कुराहरु पनि सोधपुछ गरेर रोग पत्ता लगाउन कोशिश गर्छन् । त्यसैले काठमाडौंको वीर अस्पताल वा शिक्षण अस्पताल गएर फिजिसियनसँग भेटी सल्लाह लिनुभएमा स्पष्ट हुने नै छ ।

३. मेरो कोलेस्ट्रोल बढी छ भनेर दुई वर्षदेखि औषधि खाइरहेको छु । तर लामो समय कोलेस्ट्रोलको औषधि खानुहुँदैन भनेको सुनेर अलमलमा परेको छु । उचित सुझावको अपेक्षा गर्दछु ।

– सम्पतलाल, गैँडाकोट, रुपन्देही ।

सम्पतलालजी, कोलेस्ट्रोलको औषधि लामो समय खान हुँदैन भनेर कतै लेखेको छैन । यसबारेमा अध्ययन–अनुसन्धान गरिएको पनि छैन । फेरि हृदयघात वा मस्तिष्कघात भएका वा सम्भावना भएकाहरुले यस्तो औषधि जीवनभर खाने गरेको पचासौं वर्ष भइसक्यो । यदि कहीँ त्यस्तो खराबी वा नचाहेको प्रभाव हुन्थ्यो भने थाहा भई नै सक्थ्यो।

यसबारेमा परामर्श गरेर मात्रै वा विकल्पसहित बिरामीलाई औषधि दिने गरिन्थ्यो होला । तसर्थ त्यो तर्क सत्य र वास्तविकताभन्दा टाढा भएको स्पष्ट छ । अर्को कुरा, त्यो कोलेस्ट्रोल तपाईंको वंशाणुगत तथा स्थायी प्रकृतिको हो कि जीवनशैलीको प्रभावस्वरुप देखिएको अस्थायी समस्या हो भन्ने स्पष्ट भएमा सोही अनुसार मुटुरोग विशेषज्ञले अरु निर्णय गर्न वा यहाँसँग विचार विमर्श गर्न सक्छन् ।

अर्को कुरा, यहाँले दुई वर्षदेखि कोलेस्ट्रोलको औषधि खाइरहनुभएको रहेछ । त्यो चिकित्सकले भनेको भन्दा पनि आफ्नो तरिकाले खाइरहनुभएको हो कि भन्ने पनि प्रश्न छ । सामान्यतया चिकित्सकले दिएको औषधि दुई–तीन महिना खानुस्, मुख बार्नुस्, व्यायाम गर्नुस् र १०–१५ दिन औषधि रोकेर फेरि कोलेस्ट्रोल परीक्षण गर्नुस् त्यसपछि रिपोर्टसहित भेट्नुस् भन्ने गर्छन् ।

यदि रोक्दै, परीक्षण गर्दै गर्दा तीन–चारपटक उस्तै बढेको रिपोर्ट आएमा यो वंशाणुगत किसिमको कोलेस्ट्रोल रहेछ भन्ने थाहा हुन्छ । यदि औषधिले गर्दा र मुख बार्दा तथा व्यायाम गर्दा, औषधि छोडेर परीक्षण गर्दा घट्ने तथा नर्मल आउने हुँदै गएमा जीवनशैलीको कारण कोलेस्ट्रोल बढेको हो भन्ने हुन्छ । त्यसैले यहाँले मुटुरोग विशेषज्ञ भेटेर परामर्श लिन उचित हुन्छ ।
४. म २७ वर्षको भएँ बेलाबेलामा घुँडा र खुट्टाका औँलाका जोर्नीहरु दुख्ने समस्या छ । यसको समाधानको उपाय के होला ?

– गणेश बस्नेत, सीतापाइला ।

गणेशजी, यहाँको साना–ठूला दुवै खालका जोर्नीहरू दुख्ने गरेको थाहा पाइयो । त्यो बिचार गर्दा बाथरोगले पनि हुन सक्छ । वैकल्पिक कुरा सोच्दा चिसो अथवा क्याल्सियम, भिटामिन डीको कमी अथवा अरु कुनै संक्रमण वा ज्वलन जे पनि हुन सक्ने देखियो । चिसो मौसममा न्यानो, तातो गर्ने, सेक्ने, दर्द नाशक जेल लगाई मालिस गर्ने गर्नुस् । होइन भने काठमाडौंमै हुनुभएकोले एकपटक
हाड–जोर्नी विशेषज्ञ भेटेर सल्लाह लिएमा अरु जरुरी तथा गुणात्मक परामर्श मिल्नेछ ।

५. आजकालका केटाकेटीहरु बजारका खानेकुरा खान नै बढी रुचि राख्छन् तर त्यस्ता खाना बालबालिकालाई दिनुहुँदैन भनेको पनि सुनिन्छ । यसको उचित कारण मैले बुझ्न सकेको छैन । यसबारे बताइदिन अनुरोध छ ।

– सुनील, चौतारा ।

सुनिलजी, आकर्षक विज्ञापन गरिएका, अनावश्यक खराब चिल्लो तथा स्वाद बढाउने केमिकल राखिएका बजारका खानेकुरा कदापि स्वास्थ्यवद्र्धक होइनन्, राम्रा होइनन् । यिनीहरुलाई पत्रु खाना पनि भनिन्छ । बालबालिकाले यस्ता खानेकुरा अति मन पराई खान खोज्छन् । उनीहरुलाई स्वाद र विज्ञापनले तानेको हुन्छ । अझ कति बच्चाहरु खालि यस्ता खानेकुरा मात्रै खान खोज्छन्, घरको दाल, भात, तरकारी मन पराउँदैनन् । यस्ता पत्रु खानाले शरीरलाई आवश्यक पर्ने विभिन्न तत्व, लवण, भिटामिन दिँदैनन् । यिनीहरुमा ट्रान्सफ्याट अधिक हुन्छ, जसले बोसो लाग्ने, मोटो हुने, आत्मशक्ति कम भएपछि बिरामी परिरहने, साथै कालान्तरमा रोगी बनाउने पक्का हुन्छ । यसर्थ यस्ता खानेकुराबाट बच्चाबच्चीलाई टाढै राख्नु श्रेयष्कर हुन्छ ।

प्रतिक्रिया दिनुहोस्