जीवनशैलीको अवधारणा र महत्त्व



डा. क्षितिज बराकोटी

खानपान, दिनचर्या, रात्रिचर्या, ऋतुचर्या, रहनसहन, सोचविचार आदि जीवन जिउने विषयलाई हिजोआज जीवनशैलीका रुपमा लिइन्छ । जीवनशैलीका विषयलाई विभिन्न चिकित्सा पद्धतिले कसरी लिन्छन् भन्ने जिज्ञासा हुन सक्छ । विभिन्न चिकित्सा पद्धतिमा रहेका जीवनशैलीका अवधारणाहरुलाई यहाँ संक्षेपमा चर्चा गरिएको छ:

एलोप्याथी (आधुनिक) चिकित्सा

कैयन एलोप्याथी डाक्टरहरुले बिरामीलाई उपचार गर्ने क्रममा जे खाए पनि हुन्छ भनेर सल्लाह दिने गरेको भेटिन्छ भने कतिपय चिकित्सकहरुले खानपानलाई पनि ध्यान दिनुपर्ने कुरामा जोड दिएको पाइन्छ । एलोप्याथीमा पनि खानपानलगायत जीवनशैलीका विषयमा सकारात्मक अवधारणा रहेको पाइन्छ ।

सबेरै उठ्दा शरीरमा शक्ति र मनमा उत्साहको वृद्धि हुने बताइएको छ ।

औषधि विज्ञानका पिता हिप्पोक्रेटसको समयदेखि नै खानपानको सुधारलाई प्राथमिकता दिएको पाइन्छ । हिप्पोक्रटसको एउटा भनाइ निकै चर्चित छ: आहार नै औषधि हुन सकोस्, औषधि नै आहार हुन सकोस् । . (Let food be thy medicine, let medicine be thy food)  । यही आधारमा बिरामीको भोजनलाई नै उपचारको माध्यम बनाउनुपर्छ भन्ने अवधारणा रहेको थियो । तर पछि आहार नै औषधि हो भन्ने अवधारणा हट्यो र प्रतिजैविकीलगायतका औषधिहरु नै उपचारको प्रमुख माध्यम हुन थाल्यो । आहारलाई गौणरुपमा लिइयो । तर वर्तमान समयमा आहार मात्र होइन, व्यायाम, दिनचर्या, विश्राम, तनाव व्यवस्थापन, निद्रा आदि अनेक पक्षलाई समेटेर जीवनशैलीका रुपमा सुधार्नु अनिवार्य छ भन्ने मान्यता बलियोरुपमा स्थापित भइसकेको छ ।

जीवनशैली औषधि
जीवनशैलीको सुधार गर्ने प्रक्रियालाई जीवनशैली औषधि (Lifestyle medicine)  को रुपमा व्याख्या गरेको पाइन्छ । डाइटिसियनले केवल खानपानको पक्षलाई मात्र हेर्ने हुँदा खानपान, व्यायाम, समग्र स्वास्थ्य, निद्रा आदिलाई मिलाएर जीवनलाई व्यवस्थित बनाउन सघाउने व्यक्तिको आवश्यकतालाई महसुस गरी जीवनशैली विज्ञको अवधारणा पनि ल्याइएको देखिन्छ ।

जीवनशैलीका विविध पक्षका बारेमा चिकित्सक वा स्वास्थ्यकर्मीहरुलाई तालिम दिएर विज्ञका रुपमा पनि तयार गर्न थालिएको देखिन्छ । जीवनशैली औषधिलाई अमेरिकन लाइफस्टाइल मेडिसिन कलेजले प्रामाणिकतामा आधारित भई चिकित्सात्मक जीवनशैलीजन्य प्रयोग प्राथमिकरुपमा पुराना रोगको व्यवस्थापनमा मात्र सीमित नरही रोगै उल्टाउनको लागि पूर्णाहार, वनस्पतिजन्य भोजन, शारीरिक सक्रियता, मस्त निद्रा, तनाव व्यवस्थापन, हानिकारक पदार्थको तिरस्कार र सकारात्मक सामाजिक सम्बन्धलाई प्रयोग गरिनुलाई जीवनशैली औषधिका रुपमा परिभाषित गरिएको पाइन्छ ।

औषधि खाएर मात्र रोगको व्यवस्थापन हुन सक्दैन भन्ने कुरा अहिले बुभ्mन थालिएको छ । खासगरी संक्रमणको बेला प्रतिजैविकीहरुको प्रयोग व्यापक भए पनि नसर्ने तथा पुराना रोगहरुमा, मानसिक तथा मनोशारीरिक रोगहरुमा समेत जीवनशैलीको सुधारलाई महत्त्व दिन थालिएको पाइन्छ । कतिपय देशका चिकित्सकहरु त रोगको सामान्य एवं शुरुवाती अवस्थामा पहिलो उपचार (first line drugs) को रुपमा औषधि नदिई जीवनशैलीका उपायहरुलाई नै अपनाउने सल्लाह दिने गरेको पाइन्छ । आशा गर्न सकिन्छ, भविष्यमा एलोप्याथी पद्धतिमा स्वास्थ्य र आरोग्यताका निम्ति स्वस्थकर जीवनशैलीलाई व्यापकरुपमा प्रयोग गरिनेछ ।

स्वस्थ तथा अस्वस्थ अवस्थामा व्यायामको प्रयोग, फिजियोथेरापी, उचित आहारको प्रेस्क्राइब गर्नु, योगका विभिन्न विधिहरु (अष्टांग योग) को प्रयोग गर्ने सल्लाह दिनु, कतिपय एलोप्याथी अस्पतालमा योगलाई साथै जोड्नु आदि क्रियाकलापहरुले एलोप्याथी पद्धतिले जीवनशैलीलाई प्राथमिकता दिन थालेको महसुस हुन्छ ।

आयुर्वेदमा जीवनशैली
प्राचीन चिकित्सा पद्धति आयुर्वेदले स्वस्थवृत्तका रुपमा जीवनशैलीलाई महत्त्वपूर्णरुपमा उठाएको पाइन्छ । आयुर्वेदको उद्देश्य ‘वस्थस्य स्वास्थ्य रक्षणमातुरस्य विकार प्रशमनं च’ अर्थात् स्वस्थको स्वास्थ्य रक्षा र बिरामीको विकार हटाउने (उपचार गर्ने) नै हो । यसका लागि आयुर्वेदमा निम्न विषयहरुको व्यापक र वैज्ञानिक अवधारणाहरुको व्याख्या गरिएको पाइन्छ ः

दिनचर्या

आयुर्वेदले दिनचर्या अन्तर्गत अनेक विषयको पालना गर्न निर्देश गरेको पाइन्छ । महर्षि वाग्भटले अष्टांग हृदयम्मा दिनचर्याका कुराहरुलाई विस्तारपूर्वक वर्णन गरेका छन् । यहाँ आयुर्वेदमा भएका दिनचर्याका विषयलाई चर्चा गरिन्छ ।

जागरण, उषापान र मलत्याग: दिनको शुरुवात ब्रह्ममुहूर्तमा (घाम झुल्कनुभन्दा डेढ–दुई घण्टाअगाडि) नै ओछ्यान छोडिसक्नुपर्ने, उषापानपश्चात् मलमूत्रको त्याग शुरुमै गर्नुपर्छ भन्ने विषयलाई महत्त्व दिएको छ । ढिलो उठ्दा आलस्यता बढ्ने र स्वास्थ्यमा पनि हानि हुने हुन्छ । छिटो उठ्दा धेरै नित्य कर्ममा नियमितता र समयमै मलको विसर्जन गर्दा विकार निस्कने एवं शारीरिक र मानसिक रोगहरु नलाग्ने वा लागिहाले पनि घट्दै जाने, बुद्धि तथा सकारात्मक सोचको विकास हुनेलगायत अनेक फाइदा हुने कुरा अध्ययनहरुले पनि देखाएका छन् । सबेरै उठ्दा शरीरमा शक्ति र मनमा उत्साहको वृद्धि हुने बताइएको छ ।

दाँतको सफाइ:सबेरै मलमूत्रको त्यागपछि राम्ररी हातगोडा धुनुपर्छ । त्यसपछि दाँत सफा गर्ने (दतवन, दन्तधवन) विधिमा हातका औंला, नीम आदिको डाँठ र आजकल ब्रसको माध्यमले दाँतको सफाइ गर्नुपर्ने बताइएको छ । दैनिक २ पटक दाँतको सफाइ गर्दा अनेक रोगबाट बच्न सकिन्छ । ब्रस वा दातुन गरेपछि दाँत र जिब्रोको सफाइ गरी मुख धुने गर्नुपर्छ ।

गण्डूष धारण (मुखमा तरल राख्ने, कुल्ला गर्ने): दाँत, जिब्रो आदिको सफाइ गरेपछि मुखमा तिलको तेल राखिराख्ने र कुल्ला गर्ने गर्दा दाँत, गिजा र मुखको स्वास्थ्य राम्रो हुन्छ भन्ने व्याख्या गरिएको पाइन्छ। यसबाट दाँत बलियो हुने, प्वाल नपर्ने, गिजा सुन्निन नपाउने, श्वासको दुर्गन्ध हराउने, घाँटीका समस्याहरु नहुने आदि लाभहरु प्राप्त हुन्छन् । सफा चिसो पानी, दूध र आवश्यकता अनुरुप जडीबुटीयुक्त पानीको प्रयोग गरेर पनि गण्डूष क्रिया गरिन्छ ।

नस्यकर्म एवं धूमपान:बिहान वा साँझ पनि नाकमा तिलको तेल हाल्ने गर्दा नाक, आँखा, अनुहार र कपालको स्वास्थ्य र सौन्दर्यमा वृद्धि हुने पाइन्छ । नाकका समस्याहरुमा पनि सुधार हुन्छ । नस्यकर्मले मुख, अनुहार, गर्दन, टाउको आदिका रोगमा पनि लाभ दिन्छ । यसरी नै केही जडीबुटीको धूमपान प्रयोगले शोधन र उपचारात्मक लाभ पाउन सकिन्छ ।
अञ्जनकर्म:आँखामा विशेष किसिमले बनाइएको गाजलको प्रयोग गरी आँखालाई स्वस्थ, तेजिलो पार्ने आयुर्वेदिक उपाय अञ्जनकर्म हो । यसले आँखाको परेला राम्रो हुन्छ, आँखाका रोगबाट बचाउँछ ।
अभ्यंग: शरीरका अंग विशेष जस्तै– हात, गोडा, टाउको, गर्दन, ढाड, छाती, घुँडा, काँध, कान, अनुहार, पैताला आदि वा पूरा शरीरमा तेलको प्रयोग गरी मालिस गर्ने प्रक्रिया नै अभ्यंग हो । अभ्यंगबाट दुखाइ कम हुने, शक्ति बढ्ने, निद्रा लाग्ने, विश्राम प्राप्त हुने आदि लाभहरु प्राप्त हुन्छन् ।

व्यायाम:शरीर स्वस्थ राख्न नियमित व्यायाम वा शारीरिक क्रियाशीलता आवश्यक पर्छ । हमीले योगका आसन, विभिन्न प्राचीन व्यायामहरु गर्न सक्छौं । आवश्यकता अनुसार अन्य प्रकारका श्रमहरु पनि गर्न सक्छौंं । परम्पराकालदेखि अहिले आधुनिक समयसम्म प्रचलित विभिन्न प्रकारका व्यायाम (जस्तै– एरोबिक्स, जुम्बा, ताइची, अकवाडाइनेमिक्स आदि) र खेलहरुलाई पनि यसमा समावेश गर्न सकिन्छ । विचार नियन्त्रण राख्न र चेतनाको स्तर बढाउन ईश्वरको ध्यान गर्नुपर्दछ ।
उद्वर्दन, स्क्रबिड: शरीरमा सुगन्धित पदार्थको प्रयोग गर्ने, दल्ने, रगड्ने, मालिस गर्ने गर्दा यसबाट मन आनन्दित हुने, सुन्दरता बढ्नेजस्ता लाभहरु मिल्छन् ।
क्षारकर्म: बेलाबेलामा वृद्धिको अवस्थालाई हेरी हातगोडाका नङ काट्नुपर्छ । आवश्यकता अनुसार कपाल काट्ने, दाह्री–जुँगा मिलाउने, काट्ने काम पनि गर्नुपर्दछ ।
स्नान र वस्त्रधारण: दिनचर्याको एक महत्त्वपूर्ण पक्ष स्नान पनि हो । स्नानका कारण शरीर शुद्ध हुन्छ, छालालगायत अन्य अंगहरुको रोग लाग्नबाट बच्न सकिन्छ । स्नानबाट शरीरमा स्पूmर्ति र मनमा आनन्द प्राप्त हुन्छ । स्नानपछि सफा, आरामदायी र मनमा आनन्द लाग्ने खालको लुगा लगाउनुपर्छ ।
भोजन:स्नानपछि भोजन ग्रहण गर्नुपर्छ । भोजनमा षडरसयुक्त भोजनलाई समावेश गर्नुपर्छ । मीठो (गुलियो), तीतो, अमिलो, नुनिलो, पिरो, टर्रो आदि विभिन्न स्वादलाई प्रयोग गर्ने गरी खानपान गर्नुपर्छ ।

रात्रिचर्या
आयुर्वेदमा दिनचर्यामा झैँ रात्रिचर्यामा पनि ध्यान दिनुपर्ने कुराको विशेष वर्णन छ । रात्रिचर्यामा निम्न विषयहरुमा प्रकाश पारिएको छ:

आहार: साँझको खानपान सादा गर्नुपर्छ । सुपाच्य, पेट खराब नहुने गरी खानुपर्छ । गरिष्ठ, तारेभुटेको बढी खानुहुँदैन । ऋतु, आवश्यकता, मात्रा, क्षमता आदि अनुरुपको खानपान मिलाएर खानुपर्छ । खाना खानासाथ सुत्नुहुँदैन ।
निद्रा: विश्रामको लागि निद्रा नभई नहुने कुरा हो । ठीक मात्रामा नसुत्ने हो भने त्यसले शरीर, मनमस्तिष्क र भावमा समेत आलस्यता, थकान, चिडचिडाहट, कमजोरी आदि बढ्छ र जोश, जाँगर, उत्साह, उमंगसमेत हराउँछ । ज्ञानेन्द्रिय, कर्मेन्द्रिय, मन आदिका क्षमताहरु घट्छन् । त्यसैले उचित मात्रामा सुतेर निद्रा पु¥याउनुपर्छ । तर सुताइ रातमा नै हुनुपर्छ, विशेष परिस्थिति र अवस्थामा बाहेक दिनमा सुताइ नगरी रात्रिचर्यामा नै निद्राको परिपूर्ति गर्नुपर्छ । उचित निद्राले रोगप्रतिरोधक क्षमता बढाउँछ, शरीर तथा मनका क्षमताहरुको वृद्धि गर्छ । यसबाट शरीर तथा मन दुवै उत्साहित भएर काम गर्छन् ।
ब्रह्मचर्य: रात्रिचर्यामा ब्रह्मचर्य (निष्ठा, संयम र सदाचारिताको पालना) निकै महत्त्वपूर्ण मानिन्छ । स्वच्छ र सुमधुन यौनक्रियाकलाप अपनाउनुपर्दछ । अति कामुकताको अन्त्य आवश्यक हुन्छ । नियत र आचरणलाई सात्विक बनाउनु आवश्यक पर्छ । शुद्ध, शान्त र आनन्ददायी सहसम्बन्ध स्थापित गर्नुपर्दछ ।

ऋतुचर्या

विभिन्न मौसमको अवस्था र त्यसमा अपनाउनुपर्ने सावधानी तथा आहारविहारका नियमहरुको बारेमा चर्चा गरिएको देखिन्छ । हेमन्त, शिशिर, ग्रीष्म, वर्षा र शरद आदि ऋतुहरुमा के कसरी स्नान गर्ने, खान हुने कुरा, खान नहुने पदार्थहरु, (पथ्य वा अपथ्य आहार), शरीर शुद्धीकरणका क्रियाहरु, विहार (गर्नुपर्ने क्रियाहरु), दुग्धपान, मद्यपान आदिसँग सम्बन्धित विषयहरुको चर्चासमेत गरिएको पाइन्छ । ऋतु परिवर्तनमा ध्यान दिनुपर्ने नियम र ऋतुसन्धिका नियमहरु, कस्ता क्रियाकलाप गर्ने र कस्तो नगर्ने आदिबारेमा जानकारीहरु दिइएको छ । यसरी नै सुत्ने, जाग्ने, बस्ने विषयका अतिरिक्त जाडो, गर्मी, वर्षा आदिमा शरीरलाई कसरी सुरक्षित राख्ने आदिका बारेमा बताइएको छ, जुन निकै उपयोगी मानिएको छ ।

मेलयुक्त एवं बेमेलयुक्त भोजन

भोजनको स्वरुप कस्तो हुनुपर्छ भन्ने विषयमा आयुर्वेदमा व्यापक व्याख्या पाइन्छ । आहारको उचित संयोजनको उदाहरणमा चामलको साथमा नरिवल, आँपको साथमा खजुर, नून, गाईको घिउ, जामुनसँग नून, काँक्रोसँग नून, केरासँग सुकुमेल, मूलासँग ज्वानोको संयोजन उचित हुने देखिन्छ ।

यसरी नै मिसाएर खान नहुने विरुद्ध भोजनको बारेमा पनि व्याख्या गरिएको पाइन्छ । जस्तै– माछा र दूध फरक गुण भएकोले खानुहुँदैन, घिउ र मह समान मात्रामा खानुहुँदैन । सख्खर, मह र मूला एकैपटक परेमा हानि गर्छ । दूधका साथमा नून, सख्खर, तेलयुक्त पदार्थ, जौको सातु, ओखर, नरिवल, बेल, केरा, मूला, कटहर, हरियो साग, इमिली, कागतीलगायत सबै अमिलो खालका फलहरु विरुद्ध संयोग मानिन्छ अर्थात् मिसाएर खानु ठीक हुँदैन ।

यसरी नै रात्रिकालमा दही खान नहुने भनिएको छ भने दहीका साथमा निम्न खानेकुराहरु खान निषेध गरिएका छन् । जस्तै– दूध, खीर, पनीर, तातो खानपान, केरा, बेल, मूला, खरबुजा आदि । मेलयुक्त भोजनले स्वास्थ्य राम्रो हुने, शरीरमा स्पूmर्ति प्राप्त हुने, आनन्द बढ्ने आदि अनेक फाइदा हुने र विरुद्ध भोजनको प्रयोग गर्दा त्यसबाट असंख्य शारीरिक तथा मानसिक रोगहरु हुने जनाइएको छ । त्यसैले स्थान, समय, मौसम (ऋतु) गुण, स्वभाव, मात्रा, संयोग, परिस्थिति, शरीरको प्रकृति, दोष आदि अनुरुप भोजन कस्तो, कसरी र कति खाने आदिबारे आयुर्वेदमा गरिएको विशेष व्याख्यालाई आफ्नो सकारात्मक जीवनशैलीका लागि पालना गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्