रक्सी र औषधिको अन्तरक्रिया



प्रा. डा. प्रकाशराज रेग्मी

हिजोआज नसर्ने रोगहरुबाट पीडितहरु धेरैसंख्यामा छन् । उनीहरुले एउटा वा सो भन्दा बढी औषधिहरु खाइराखेका हुन्छन् । रक्सी–चुरोट खाने बानी धेरैजनाको छ । रोग लागेपछि रक्सी–चुरोट छोड्न डाक्टरले दिएको सल्लाह धेरैले मान्दैनन् । उनीहरु औषधिको साथै रक्सी–चुरोट पनि खाने गर्छन्, जसले गर्दा बिरामीको उपचार राम्रोसँग हुँदैन, रोगका जटिलताहरु उत्पन्न हुन्छन् र धेरैजनाको आकस्मिक मृत्युसमेत हुन्छ ।

कुनै–कुनै बिरामी बेलुकी खानुपर्ने औषधि बिहान खान पाए हुन्थ्यो भनेर जिज्ञासा राख्छन् । कतिपयले त बेलुकीको औषधि डाक्टरको सल्लाहविना नै छाडिदिन्छन् । कुरा बुझ्दा के भेटिन्छ भने, उनीहरु बेलुकी सधैँजसो रक्सी पिउने गर्छन् अनि रक्सी र औषधिबीच रियाक्सन पो हुने हो कि भन्ने डरले औषधि खान छाडिदिन्छन् ।

रक्सी र औषधिबीच अन्तरक्रिया हुन सक्छ, जसका कारण गम्भीर जटिलताहरु उत्पन्न हुन सक्छन् । रक्सी र औषधि अनि रक्सी र रोगको अवस्थाबीचमा हुने अन्तरक्रियाहरु धेरै छन् । यहाँ छोटकरीमा केही महत्वपूर्ण विषय उल्लेख गरिएको छ ।

रक्सी र औषधिबीच अन्तरक्रिया

धेरैजनाले दैनिक खाने भनेको उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल, रगत पातलो पार्ने, ग्यास्टिक, दम–खोकी, बाथरोग आदिका औषधिहरु हुन् । रक्सीले औषधिको असरलाई बढाउने, घटाउने वा थप अप्रिय लक्षणहरु उत्पन्न गराउने गर्न सक्छ । रगत पातलो पार्ने औषधिको असरलाई रक्सीले बढाउँछ । यस कारण यस्ता औषधिहरु (एस्पिरिन, वारफारिन) सेवन गर्नेहरुले रक्सी धेरै पिउँदा शरीरबाट रक्तश्राव हुने सम्भावना बढी हुन्छ ।

रक्सी धेरै पिउँदा रक्तचाप पनि धेरै बढ्छ, मुटुको धड्कन पनि बढ्छ । मुटुलाई बढी चाप पर्छ । रक्तचाप घटाउने कतिपय औषधिहरु रक्सीको प्रभावबाट निष्क्रिय हुन जान्छन् । यसो हुँदा हृदयघात र मस्तिष्कघात हुने सम्भावना बढेर जान्छ । मधुमेहका औषधिहरुलाई पनि रक्सीले नकारात्मक असर पार्छ । कुनैको असर बढाउँछ, कुनैको घटाउँछ । रक्सीले निद्राको औषधि, मानसिक रोगको औषधि र एलर्जीको औषधिको असरलाई बढाइदिन्छ । थोरै औषधिले पनि धेरै लाग्ने हुन्छ । लठ्ठ पार्ने हुन्छ । सबैले बुझ्नुपर्ने के हो भने, रक्सी र औषधिबीच अन्तरक्रिया हुन्छ, जुन धेरैजसो अवस्थामा अप्रिय हुन्छ ।

रक्सी र रोगबीच अन्तरक्रिया

रक्सीले निरोगीलाई रोगी बनाउँछ, रोगीको रोग बढ्छ । थोरै रक्सीले (एक युनिटसम्म) रक्तचाप घटाउँछ, रक्सीको मात्रा बढ्दै गएपछि रक्तचाप पनि बढ्दै जान्छ । धेरै रक्सीले मुटुको धड्कन बढाउँदै लगेर मुटुलाई बेतालमा चल्ने बनाइदिन्छ । धेरै खाना खाएको अवस्थामा रक्सीले शरीरमा चिनीको मात्रालाई बढाउँछ अर्थात् हाई ब्लड सुगर हुन्छ । तर भोको पेटमा रक्सी पिउँदा ठीक उल्टो लो ब्लड सुगर हुन्छ । रक्सीले युरिक एसिड बढाउँछ, ट्राइग्लाइसेराइड नामक चिल्लो पदार्थको मात्रालाई बढाउँछ । रक्सीले पेटको घाउ (अल्सर) लाई बढाउँछ, क्यान्सर रोगीको क्यान्सरलाई फैलिन मद्दत गर्छ ।

अप्रिय स्थिति

रक्सी र कुनै–कुनै औषधिका बीच यस्तो विशेष अन्तरक्रिया हुन्छ कि यसबाट अत्यन्तै अप्रिय शारीरिक स्थिति उत्पन्न हुन्छ, जसले मान्छेलाई अशक्त बनाउन सक्छ । यस्तो अन्तरक्रिया हुँदा शरीर बेस्सरी तात्तिने, वाकवाकी लाग्ने, उल्टी हुने, पसिना धेरै आउने, रक्तचाप घट्ने, चक्कर लाग्ने, मुटु छिटो–छिटो धड्किने, मरिहाल्छु कि जस्तो आभास हुने आदि लक्षणहरु देखा पर्दछन् । यस्तो अप्रिय अवस्था रक्सी र केही औषधिहरु जस्तै– पेनकिलर (फेनिलवुटाजोन), एन्टिबायोटिक (सेफापेराजोन, क्लोरामफेनिकोल, ग्रिजेओफुल्भिन, मेट्रोनिडाजोल, आइसोनाइजाइड, निट्रोफुरान्टोइन, सल्फामेथोक्साजोल आदि), मुटुका औषधिहरु (नाइट्रोग्लिसेरिन), मधुमेहका औषधिहरु (क्लोरप्रोप्रामाइड, टोलबुटामाइड) आदिबीचको अन्तरक्रियाबाट उत्पन्न हुन सक्छ ।

रक्सी धेरै पिउने बानी भएकाहरुलाई डाक्टरहरुले रक्सीप्रति वितृष्णा उत्पन्न गराई रक्सीको बानी छुटाउन डिसुल्फिराम नामक औषधि खुवाई यस्तै अप्रिय अवस्था सिर्जना गराउँछन् । यो चिकित्सा विज्ञानमा डिसुल्फिराम–अल्कोहल रियाक्सनको नामले प्रख्यात छ । रक्सी र डिसुल्फिराम औषधिको अन्तरक्रिया हुँदा यस्तो अप्रिय शारीरिक अवस्था उत्पन्न हुन्छ कि त्यो व्यक्तिले बरु रक्सी छाडिदिन्छ तर यो अवस्थाको सामना गर्न चाहँदैन । विभिन्न कारणले औषधि सेवन गरिरहनु भएकाहरुले रक्सीको सेवन बन्द गरेकै राम्रो हो । रक्सी पिउनै पर्ने अवस्था हुनेहरुले डाक्टरको सल्लाहबमोजिम गर्नुभए उत्तम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्