डाक्टर, अस्पताल, ल्याब तथा परीक्षण केन्द्रहरु, फार्मेसीहरुको संख्या वृद्धि हुँदै गएसँगै बिरामी र मृतकहरुको संख्या पनि बढ्दै गएको देखिन्छ । किन यस्तो भइरहेको छ ? के यस्ता संस्थाहरु पनि मानिस बिरामी हुनुको कारण त बनिरहेका छैनन् ?
राजधानीलगायत कतिपय ठूला शहरमा अहिले हरेक ५ सय मिटरदेखि दुई किलोमिटरभित्र एक अस्पताल, ५ सय मिटरभित्र क्लिनिक, औषधि पसल र परीक्षण केन्द्रहरु भेटिन्छन् । नेपाल मेडिकल काउन्सिलका अनुसार नेपालमा हाल चिकित्सकको संख्या करिब ३२ हजार २ सय छ भने त्यसमध्ये करिब १० हजार विशेषज्ञ चिकित्सक रहेका छन् । गत असारसम्मको सरकारी तथ्यांक अनुसार सरकारी अस्पतालको संख्या २१५ पुगेको छ भने प्राइभेट अस्पतालको संख्या २५५१ छ । स्वास्थ्य चौकीको संख्या ३७७८ छ भने एक सय बेडदेखि तीन सय बेडसम्मका जनरल अस्पतालको संख्या ७९ पुगेको छ । २५ देखि ५० बेडसम्मका अस्पतालको संख्या ३३३ पुगेको छ । अस्पतालहरुमध्ये २८ वटा स्पेसलाइज्ड अस्पताल र २२ वटा सुपर स्पेसियालिटी अस्पताल छन् ।
यसबाहेक अरु विभिन्न पद्धतिका वैकल्पिक स्वास्थ्य सेवाप्रदायकको संख्यामा पनि अत्यधिक वृद्धि भएको देखिन्छ । यी सबका बाबजुद पनि हाम्रो स्वास्थ्य किन असुरक्षित बनिरहेको छ त ? यससम्बन्धमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. प्रकाशराज रेग्मीसँग कुराकानी गरी यो लेख तयार गरिएको छ । बाँकी उहाँकै शब्दमा:
यस कारण हाम्रो स्वास्थ्य असुरक्षित ‘मानिसहरु रोगी हुनुमा प्राकृतिक र जीवनशैली त प्रमुख कारण छँदै छन्, त्यसका साथै व्यक्तिका आफ्ना लापरबाही, रोगहरुका आफ्ना विशेषता, स्वास्थ्य सेवाप्रदायकहरु व्यापारीकरण हुँदै जानु पनि मानिस बिरामी हुनुका कारण बनेका छन् ।
नसर्ने रोगहरुको विशेषता साइलेन्ट खालको छ । मानिसले सामान्यतया रोग लागेको थाहा नै पाउँदैन । सुगर, प्रेसर, कोलेस्ट्रोल, मृगौला फेलियर आदिको ९० प्रतिशत केसमा लक्षण नै हुँदैन । जब लक्षण देखिन्छ, रोग एड्भान्स लेबलमा पुगिसकेको हुन्छ । जुन रोग मृत्युको प्रमुख कारण हो, त्यसको लक्षण नहुनु खतरा हो । यसको परिणामस्वरुप मानिसको अल्पायुमै मृत्यु भइरहेको छ ।
मुटुको समस्या हुँदा मानिस अल्मलिन्छ र सही ठाउँमा उपचार गर्न जाँदैन ।
विकसित देशहरु जहाँ ठूला–ठूला अस्पतालहरु छन्, एकसे एक विशेषज्ञ डाक्टरहरु छन्, जीवनशैली राम्रो छ, इन्सुरेन्स सिस्टम राम्रो छ, सरकारले स्वास्थ्यको सबै जिम्मेवारी लिएको छ, त्यहाँ पनि कतिपय रोगका बिरामीको संख्या घटेको छैन । अपरेसनको संख्या, एन्जियोप्लास्टीको संख्या, पेसमेकर राख्नेको संख्या बढेको देखिन्छ ।
यसको एउटा कारण प्राकृतिक हो । कतिपय व्यक्तिले वंशाणुगतरुपमा रोग लिएर आएको हुन्छ, जसलाई जीवनशैली परिवर्तन गरेर केही मात्रामा मात्र घटाउन सकिन्छ । उमेर पनि रोगको एउटा रिस्क फ्याक्टर हो । उमेर बढ्दै गएपछि रोग लाग्छ । कोही जन्मिदै शान्त हुन्छ भने कोही छिट्टै भावनामा बगेर प्रभावित हुने हुन्छ । कोही सानो–सानो कुरामा पनि तनाव लिने, चिन्ता गर्ने हुन्छ भने कोही हुँदैन ।
महिलाको एक खालको शारीरिक स्थिति हुन्छ भने पुरुषको अर्कै खालको । महिला हर्मोनसँग सम्बन्धित रोगहरु, प्रजनन अंगका रोगहरु प्राकृतिक कारणले नै हुन्छ । कसैलाई धेरै रक्तश्राव हुन्छ, कसैलाई थोरै । प्रसूतिसम्बन्धी समस्या पनि महिलाहरुबीचमै फरक–फरक हुन्छ र पुरुषलाई यो समस्या हुँदैन । आदि कारणले पुरुषलाई भन्दा महिलालाई थप फरक रोग लागिरहेको हुन्छ ।
अर्को जीवनशैली हो । कसैले धेरै खान खोज्छ, कसैलाई थोरैले पुग्छ, कोही चिल्लो बढी खान्छ, कोही धेरै चिल्लोको चाहना गर्दैन, कोही व्यायाम गर्न मन पराउँछ, कोही नगर्ने स्वभावको हुन्छ । कोही नुन ट्वाक्क लागेको मन पराउँछ, कसैले चिनीको चास्नीमा डुबाएको जस्तो गुलियो खान्छ भने कसैलाई यस्तो मन पर्दैन । त्यसैले स्वास्थ्य सेवा जति नै राम्रो भए पनि व्यक्तिको आफ्नो जीवनशैलीका कारण पनि रोग लागिरहेको हुन्छ ।
राज्यले जिम्मेवार भएर प्रभावकारी स्वास्थ्य सेवा दिन नसकेका कारण पनि हाम्रो जस्तो मुलकमा रोगीको संख्या बढेको छ । विकसित देशहरु जहाँ स्वास्थ्य सेवा सुव्यवस्थित छ, इन्सुरेन्सको व्यवस्था राम्रो छ, औषधिहरु पनि राम्रा छन्, औषधि उपचार पनि सस्तो छ, त्यस्ता देशमा कतिपय रोगका रोगीको संख्यामा कमी आएको छ । कतिपय रोग त छँदै छैनन् । जस्तो– बाथ–मुटुरोग विपन्नता र स्वास्थ्य सेवामा राम्रो पहुँच नभएका गरिब देशका बालबाललिकमा एक सयमा १० जनासम्मलाई छ भने युरोप, अमेरिका, जापानजस्ता देशमा त यो रोग उन्मूलन नै भइसक्यो ।
यस्तै गरी विकसित देशमा र गरिब देशमा रोगको जटिलता पनि फरक छ । नेपालजस्ता मुलुकमा उच्च रक्तचापका जटिलताहरु जस्तो– रक्तचापबाट हृदयघात हुने, मस्तिष्कघात हुने, मृगौला फेल हुने, दृष्टिघात हुने समस्या जति हुन्छ त्यति अमेरिका, युरोपजस्ता विकसित देशमा हुँदैन । उच्च रक्तचाप नै नहुने होइन, तर विकसित देशमा त्यसको राम्रो उपचार भएको हुन्छ । औद्योगिकीकरण, शहरीकरण, वातावरण प्रदूषण, जीवनशैलीमा आएको परिवर्तनका कारण नसर्ने रोगहरु आउँछन् तर यसको उपचार सही तरिकाले गर्ने हो भने यसबाट उत्पन्न हुने जटिलता कम हुन्छ । हाम्रो उद्देश्य सकेसम्म रोग नै लाग्न नदिने हुनुपर्छ र लागिहालेमा पनि जटिलताहरु आउन नदिने हुनुपर्छ । तर नेपालमा यस किसिमको कार्य प्रभावकारी नभएको लगायतका कारण हाल २०-२५ वर्षका युवाहरुसमेत हृदयघातलगायत विभिन्न मुटुरोगका कारण मरिरहेका छन् । मुटुरोगका कारण अल्पायुमा नै मानिसको मृत्यु हुने क्रममा वृद्धि भएको छ ।
स्वास्थ्य सेवा सिस्टममा नचल्नु
नेपालमा हरेक दिन ८० जना मानिसको हृदयघातका कारण मृत्यु भइरहेको छ । अहिले यति धेरै डाक्टर छन्, अस्पताल, क्लिनिकहरु छन्, स्वास्थ्य शिक्षा छ, जनचेतना कार्यक्रम छ तर पनि मानिसको मृत्यु पहिलेको भन्दा बढी भइरहेको छ, किन ? यसका विभिन्न कारणहरु छन्, त्यसमध्ये एउटा हो ज्ञानको कमी ।
मुटुको कुरा गर्ने हो भने अधिकांश मानिसलाई मुटु कहाँ छ भन्ने नै थाहा छैन । मुटुको समस्या हुँदा मानिस अल्मलिन्छ र सही ठाउँमा उपचार गर्न जाँदैन । वास्तवमा मानिसको मुटु छातीको बीच भागमा हुन्छ तर आम मानिस छातीको देब्रेतिर मुटु हुने विश्वास गर्छन् । मुटुरोगबाट मानिस मर्नुको एउटा प्रमुख कारण हो यो । मुटुमा समस्या हुँदा देब्रेतिर दुख्छ, देब्रे हाततिर सर्छ भन्ने बुझाइ छ । केही हदमा सही हो तर १० प्रतिशत जति मात्र । झन्डै ९० प्रतिशतमा त यो हुँदैन ।
छातीको बीच भागमा गहिरोसँग अप्ठ्यारो भयो भने मुटुको समस्या सम्झनुपर्छ । तर जब छातीको बीच भागमा पोल्छ, बेस्सरी दुख्छ, त्यसलाई मानिसहरु ग्यास्टिक नै हो भन्ने सोच्छन् र त्यतैतिर उपचार गर्न लाग्छन् । यस्तरी भ्रममा परी ग्यास्टिकको उपचार गर्दा नेपालमा शिक्षित र सम्पन्न मानिसहरुको पनि कहिलेकाहीँ हृदयघातका कारण मृत्यु हुने गरेको पाइएको छ । बिरामी भ्रममा पर्नुका साथै चिकित्सकले पनि समयमा यसको सही डायग्नोसिस नगरिदिँदा बिरामीको मृत्यु हुन पुग्छ । हृदयघात भएको बिरामी ग्यास्टिकको डाक्टरकहाँ जाँदा उसले तुरुन्तै मुटुरोग हो भन्ने पत्ता लगाउन सक्छ भन्ने छैन । अनि उपचार एकातिर हुन्छ, बिरामीको अर्कै रोगले मृत्यु हुन्छ । यो भनेको उपचार पद्धतिमा प्रोटोकल नहुनु एवं सिस्टम अनुसार नचल्नु नै हो । छातीको बीचभागमा दुखेर आएको मानिसलाई यो–यो जाँच गर्ने भन्ने प्रोटोकल भइदिएको भए त तुरुन्तै रोग डायग्नोसिस भइहाल्छ ।
छातीको देब्रेतिर दुख्यो भन्नेलाई मुटुसम्बन्धी अनावश्यक थुप्रै जाँच गरिएको हुन्छ तर जुन बेला साँच्चिकै मुटुको समस्या भएर बिरामी गएको हुन्छ त्यस बेला मुटुको जाँच नगरी ग्यास्टिकजस्ता समस्याको जाँच गरिएको हुन्छ । यो चिकित्साकर्मीको र सिस्टमको पनि दोष हो । मकहाँ उपचारमा आउनेमा छातीको बायाँतिर चस्केर आउने थुप्रै हुन्छन् । जब हृदयघातको लक्षण देखिन्छ त्यस्ताचाहिँ कम नै हुन्छन् । छातीको बायाँतिर चस्केर आउनेमा धेरैजसोमा नसा थिचिएको, मांसपेशीको समस्या, हड्डीको समस्या भएको हुन्छ, मुटुका समस्याचाहिँ थोरैलाई मात्र भएको हुन्छ ।
महिला र पुरुषको मुटुमा भिन्नता हुन्छ भन्ने कुराको ज्ञान धेरैलाई छैन, जसले गर्दा महिलाहरुमा पनि धेरै मुटुको समस्या देखिन्छ । पहिला महिलामा एस्ट्रोजेन हर्मोन भएकोले महिलामा हृदयघातको समस्या कम देखिन्छ भनिन्थ्यो । हृदयघातको लागि यो केही हदसम्म एउटा रक्षाकवच हो । तर यो हर्मोन कसैमा धेरै हुन्छ, कसैमा थोरै । कसैमा मेनोपोज छिट्टै हुन्छ र यो हर्मोनको लेबल घट्छ, कसैमा अलि ढिलो हुन्छ । सामान्यतया ५० वर्षअघिसम्म महिला–पुरुषमा हृदयघातको समस्या फरक भए पनि ५० वर्षको उमेरपछि भने बराबरी नै हुन्छ ।
अर्को महत्वपूर्ण कुरा, महिलाको मुटुको तौल पुरुषको तुलनामा ५० देखि एक सय ग्रामसम्म कम हुन्छ र साइज पनि अलि सानो । महिलाको मुटु पुरुषको भन्दा छिटो–छिटो (प्रतिमिनेट १० पटक बढी) धड्किन्छ । मुटु खुम्चिँदा लाग्ने शक्ति पनि महिलामा बढी हुन्छ । महिलाको मुटुको मांसपेशी पुरुषको भन्दा कमलो हुन्छ । मुटुका नसाहरु पातला हुन्छन् । यस पृष्ठभूमिलाई हेर्दा महिलाको मुटु पुरुषको भन्दा बढी खतरामा देखिन्छ ।
अर्को खतरा के छ भने, महिलामा मुटुसम्बन्धी समस्या आएमा पुरुषलाई भन्दा बढी जटिलता हुने, मृत्यु हुने खतरा पनि बढी हुन्छ । एउटै तहको हृदयघात महिला र पुरुषलाई भयो भने मृत्यु हुने सम्भावना पुरुषमा भन्दा महिलामा बढी हुन्छ । त्यही तहको उच्च रक्तचाप भयो भने पुरुषलाई भन्दा महिलालाई हृदयघात हुने, मस्तिष्कघात हुने खतरा बढी हुन्छ ।
महिलाको मुटु पुरुषको भन्दा अलि तल पेटतिर हुन्छ । यसले गर्दा महिलालाई हृदयघात हुँदा पेटसम्बन्धी लक्षण बढी देखिन्छ । ग्यास्टिकको लक्षण महिलालाई बढी देखिन्छ । पेट–छाती बढी पोल्ने, वाकवाकी आउने, पेट ढुस्स हुने लक्षण महिलालाई बढी हुन्छ । तर यो मुटुसम्बन्धी समस्या हो । पुरुषमा चाहिँ छाती दुख्ने भनेकाले मुटुको लक्षण बढी देखिन्छ । पुरुषलाई चाहिँ छातीको बीचभागमा बेस्सरी दुख्ने हुन्छ । पुरुषहरुमा हृदयघातको लक्षण बायाँतिर सर्छ तर महिलामा ढाडको तल्लो भागतिर सर्छ । महिला र पुरुषमा हृदयघातको लक्षण फरक हुन्छ । सबैलाई हुने होइन, धेरैलाई यस्तो हुन्छ ।
अर्कोतिर हिजोआज महिलाहरुको पनि जीवनशैली बिग्रिएको छ । चुरोट, सुर्ती बढी खान्छन्, रक्सी खान्छन् । भोजभतेर प्रशस्त खान्छन्, मोटाघाट धेरै छन् । पहिलाजस्तो शारीरिक व्यायाम पुग्ने गरी काम हुँदैन, बरु टेबल वर्कतिर लागेका छन्, मानसिक तनाव बढेको छ । यी आदि कारणले महिलाहरुमा पनि पुरुषसरह मुटुरोग देखिन थालेको छ । शहरबजारमा मात्र होइन, गाउँघरतिर पनि महिलाहरुको जीवनशैली बिग्रिएको पाइन्छ । चुरोट, सुर्ती शहरियाले भन्दा बढी खाएको देखिन्छ ।
हाम्रो स्वास्थ्य सिस्टमले महिलाका प्रमुख रोगका रुपमा पाठेघर र स्तनको क्यान्सर, प्रसूतिसम्बन्धी समस्या, महिनावारीसम्बन्धी समस्यालाई फोकस गरिरहेको छ । तर महिलाहरुको मृत्युको प्रमुख कारण मुटुसम्बन्धी समस्या भएको तथ्यांकले देखाएको छ ।
नेपालमा मात्र बर्सेनि बाथ–मुटुको रोगले तीन हजारको मृत्यु भइरहेको छ, जसमा एक हजार बालबालिका छन् । यसमा पनि बालिकाको संख्या बढी छ । बालिकालाई यो रोग बढी लाग्छ र मृत्यु पनि उनीहरुकै बढी हुन्छ । तर बाथ–मुटुरोगलाई बेवास्ता गरिएको छ । नेपालमा बर्सेनि एक हजार बालबालिका अरु कुनै रोगले पनि मरेका छैनन् ।
दयनीय स्वास्थ्य सेवा प्रणाली
हाम्रो सरकारी सेवाको स्वास्थ्य नेटवर्क ज्यादै राम्रो छ, वडा तहसम्म पुगेको छ तर प्रभावकारी छैन । पर्याप्त जनशक्ति, उपकरण र साधन–स्रोत नहुने समस्या छ । यो समस्या वीरलगायत केन्द्रीय स्तरका अस्पतालहरुमै पनि छ । रोग लाग्दा धेरै बिरामी आफूखुशी औषधि खाने, परीक्षण नगराउने गरेर रोग बढाउँछन् । औषधि पसलेले पनि अधिकार क्षेत्रबाहिर गएर प्रेस्क्रिप्सनविना बेच्न नपाइने औषधि पनि बेच्ने गर्दा रोगको जटिलता बढ्छ । डाक्टरकहाँ नै पुग्दा पनि कतिपय डाक्टरले ‘हिट एन्ड ट्रायल गर्दै’ अनावश्यक परीक्षण र औषधि लेख्ने गरेको पाइन्छ ।
यस्तै ट्रेनी डाक्टरलाई विदेशतिर कसैको सुपरभिजनमा मात्र काम गर्न दिने प्रचलन छ । तर नेपालमा कतिपय ठाउँमा अलिकति काम सिकेपछि स्वतन्त्ररुपमा काम गर्न दिने प्रचलन चलेको छ । जनशक्ति विकासका लागि यो आवश्यक छ तर राम्ररी काम नसिक्दै स्वतन्त्र छोडिदिँदा उसले नयाँ–नयाँ कुरा अभ्यास गर्दै जाने हुन्छ, जसले गर्दा बिरामीको स्वास्थ्य जोखिममा पर्ने गरेको छ ।
त्यस्तै गरी ल्याब, एक्सरे, एमआरआई, सिटिस्क्यान सञ्चालकहरु कमिसनका लागि केस रिफर गर्न आग्रह गर्दै हिँड्छन् । मकहाँ पनि आउँछन् । कतिपय अस्पतालले नै पनि १० प्रतिशत कमिसन दिन्छु, बिरामी पठाऊ भनेर चिठी पठाउँछन् । इथिक्सभन्दा बाहिर गएर गरिने यस्तो मालप्राक्टिस नेपालमा ज्यादै छ । तल्लो तहदेखि ठूला–ठूला अस्पतालसम्म पनि आर्थिक लाभलाई दृष्टिगत गरी उपचार गर्ने र बिरामीको शोषण गर्ने प्रवृत्ति व्याप्त छ ।
एन्जियोप्लास्टीको विकाससँगै ५० प्रतिशत जति सर्जरीको हिस्सा यस प्रविधिले लिन थालेको छ । तर एन्जियोप्लास्टी पनि पैसाको प्रलोभनका कारण अनावश्यकरुपमा भइरहेको छ । यो–यो भयो भने एन्जियोग्राफी गर्ने, यो–यो भयो भने सिटिओएन्जियो गर्ने, नसा यति प्रतिशत ब्लक भयो भने एन्जियोप्लास्टी गर्ने भन्ने प्रोटोकल फलो गरिँदैन । प्रायः दिमागमा जे आयो त्यही गरिन्छ । यसले गर्दा बिरामीको अनावश्यक खर्च हुन्छ । अनावश्यक उपचारले अरु जटिलता आउने र मृत्यु नै हुने सम्भावना पनि बढी हुन्छ । विभिन्न ठाउँबाट मकहाँ आउने धेरै बिरामीका कागजहरु हेर्दा विभिन्न परीक्षणहरु अनावश्यकरुपमा गरेको भेटेको छु । अनावश्यकरुपमा आईसीयु र भेन्टिलेटरमा राख्ने, एम्बुलेन्सको ड्राइभरलाई घूस दिएर बिरामीलाई यताउता लैजाने विकृति अझै छ । हाम्रो बिमा कार्यक्रममा पनि धेरै विकृति छ ।
विश्वव्यापी तथ्यांक अनुसार ५० प्रतिशत सर्जरी, ५० प्रतिशत एन्जियोप्लास्टी, ५० प्रतिशत भल्भ प्रत्यारोपण, ५० प्रतिशत पाठेघरको सर्जरी, ५० प्रतिशत पित्तथैलीको सर्जरी, ५० प्रतिशत पेसमेकर प्रत्यारोपण अनावश्यकरुपमा नै गर्ने गरिन्छ ।
त्यसैले स्वास्थ्य अहिले व्यापकरुपमा पैसा कमाउने व्यवसाय भएको छ । डाक्टरलाई पनि पैसा आउने, अस्पताललाई पनि पैसा आउने । निजीकरणको यो एउटा ठूलो विकृति हो ।
वातावरण र जीवनशैली
मानिसमा रोग लाग्नुमा ५० प्रतिशत कारण जीवनशैली तथा वातावरणको हुन्छ । आहार, विहार, विचार, व्यवहारमा ध्यान दिन सके करिब ४० प्रतिशतसम्म रोग नियन्त्रण गर्न सकिन्छ । तर पछिल्लो समय रोग बढ्नुमा जीवनशैली दोषी देखिएको छ । क्यान्सर, मुटुरोग बढ्नुमा वातावरण पनि जिम्मेवार छ । पानी, ध्वनि, वायु, माटोको प्रदूषण प्रचूर मात्रामा भइरहेको छ । यसका कारण हामी बिरामी भइरहेका हुन्छौँ ।
अहिले प्लास्टिकका बोतलको पानी असुरक्षित भन्ने आएको छ । जसलाई हामीले वर्षौंदेखि सुरक्षित भनेर खाइरहेका छौँ । अहिले मुटुको भन्दा क्यान्सर रोगको समस्या तीव्र वृद्धि भएको छ । यसमा जनचेतना पनि मुटुमा जति भइरहेको छैन । क्यान्सरबाट बच्नका लागि लिनुपर्ने बचावटका उपाय अपनाउने कुरा धेरै कम छ । मुटुबारे धेरै चेतना आयो, तर क्यान्सरबारे प्रिभेन्सनको कन्सेप्ट नै शुरु नभएकोले पनि क्यान्सर बढेको हो ।
हामी स्वास्थ्य राम्रो बनाउन साग, तरकारी फलफूल, गेडागुडी धेरै खाऊ भन्छौँ । अहिले यो नै खतरा भइसक्यो । यिनमा विषादीको मात्रा धेरै भेटिएको छ । क्यान्सर बढ्नुमा यसको पनि हात छ । माछामासुमा एन्टिबायोटिक, औषधि, तौल बढ्ने औषधि धेरै दिएकाले सुरक्षित छैन । त्यसैले हामी खतरामा छौँ ।
यति धेरै असुरक्षाको बाबजुद यसलाई हाम्रो सिस्टमले सम्बोधन गर्न सकिरहेको छैन । जसका कारण रोग विष्फोटक रुपमा देखिएको छ ।
समाधान के हो त ?
आफ्नो स्वास्थ्यको जिम्मा आफैंले लिने भावना राखेर यससम्बन्धी शिक्षा हासिल गर्नुपर्छ । रोगका झन्डै आधा कारण चुरोट र रक्सी भएकाले सुर्तीजन्य वस्तु छुनै हुन्न, रक्सी पनि सकेसम्म नछुनु राम्रो हो, लिनै पर्छ भने एकदमै सीमित हुनुपर्छ । सकेसम्म जीवशैली सुधार गर्नुपर्छ ।
आफ्नो इम्युनिटी बढाउनुपर्छ । इम्युनिटी बढाउने खालका भिटामिन, फूड सप्लिमेन्टहरु पनि खानुपर्छ । यस्ता पोषक तत्व सकेसम्म खानाबाटै लिने हो, तर खाना शुद्ध छैन, प्रदूषित छ भने त्यस्तो बेला फूड सप्लिमेन्ट लिनु फाइदाकारक हुन्छ । निश्चित उमेर पुगेपछि यस्ता सप्लिमेन्टहरु आवश्यक पनि पर्छ । यस्तै घामबाट हामीलाई धेरै इम्युनिटी आउँछ । नेपाल घाम धेरै लाग्ने मुलुक हो । बिहानको कलिलो घाम छालामा पर्ने गरी २०–२५ मिनेट घाममा बस्नु लाभदायक छ ।
व्यायामले पनि इम्युनिटी बढाउँछ । शुद्ध खानेकुरा घरमै उत्पादन गर्नुपर्छ । बारी नभए कौसीमा पनि उत्पादन गर्न सकिन्छ । बजारबाट किनेको पनि शुद्धीकरण गरेर खानुपर्छ ।
आत्मबल बढाउन इन्द्रियहरु नियन्त्रण गर्नुपर्छ । मनले जे भन्यो त्यही गर्नुहुँदैन, जीवनशैली सुधार गर्नुपर्छ र यसका लागि योगाभ्यास लाभदायक छ । साथै नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । नियमित परीक्षण नगरेका कारण पनि रोग धेरै देखिएको हो । आफूखुशी स्वास्थ्य परीक्षण गर्नेहरु ज्यादै कम छन् ।
सरकारी स्वास्थ्य संस्थामा यस्ता प्याकेज छैनन्, इन्सुरेन्सले पनि कभर गर्दैन । कडा रोग लागेपछि सरकारले उपचार गराइदिने व्यवस्थाचाहिँ गरेको छ । कडा रोग लाग्नै नदिनका लागि भने कुनै व्यवस्था छैन । बेला–बेलामा स्वास्थ्य परीक्षण गरेर साइलेन्ट प्रकृतिका नसर्ने रोगहरुलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । ब्लडप्रेसरको उपचार समयमै नगरेका कैयौँ मानिसमा हृदयघात, मस्तिष्कघात भएको पाइन्छ । सुगरले पनि मृगौला फेल भएपछि मानिसको चेत आउँछ । यो गलत तरिका हो ।
त्यस कारण सरकारले नसर्ने रोगहरुको रोकथाममा विशेष जोड दिनुपर्छ । जसरी सरुवा रोगको नियन्त्रणका लागि विदेशी सहयोयगमा भ्याक्सिन लगाउने गरिएको छ, त्यस्तै गरी नसर्ने रोगमा सरकारले लगानी गर्नुपर्छ । रोकथाम केन्द्रित सामग्री पाठ्यक्रममा नै राख्नुपर्छ । सरकारले वडाकै तहदेखि नै प्रत्येक नागरिकको हेल्थ रेकर्ड राख्नुपर्छ ।
यो सरकारले गर्न सक्छ, किनभने तल्लो तहसम्म कम्प्युटर छ, मतदाता नामावली छ । स्वास्थ्य रेकर्ड राख्न सजिलो छ । यो ट्रयाकिङ सिस्टम विकास थोरै खर्चमा हाम्रो स्वास्थ्य नेटवर्कले गर्न सक्छ । यसो गरेमा बेलैमा वडाकै लेबलमा घरमा गएर सुगर र प्रेसरको परीक्षण गर्न सकिन्छ । यति गरे मात्र पनि मुटुरोग ह्वात्तै घट्छ । क्यान्सर रोक्न पनि चुरोटविरोधी अभियान र क्यान्सरबाट बच्ने उपायको जनचेतनामा खर्च गर्नुपर्छ ।
यसका साथै मालप्राक्टिस नियन्त्रणका लागि कानुन बनाएर कार्यान्वयन गर्नुपर्छ । उपचार केन्द्र, एमआरआई, क्याथल्याब, सिटिस्क्यानजस्ता परीक्षण केन्द्र कति जनसंख्यामा कतिवटा राख्न पाउने भन्ने तोकिनुपर्छ । धेरै भए भने मालप्राक्टिस बढ्छ । हेल्थ सिस्टमको प्रोटोकल बनाएर कार्यान्वयन गर्नुपर्छ । औषधि पसलदेखि विभिन्न तहका स्वास्थ्य संस्थाले गर्ने उपचारको प्रोटोकल हुनुपर्छ । विकसित देशमा बिरामीलाई लुगा लगाउनेदेखि साधारण ड्रेसिङ गर्ने प्रोटोकल बनाएर कार्यान्वयन गरेको हुन्छ । हामीकहाँ त्यो सिस्टम पालना नै भएन । यसले गर्दा हाम्रो स्वास्थ्य झन् असुरक्षित बन्दै गएको छ, जुन ज्यादै दुःखद हो ।’ प्रा.डा. प्रकाशराज रेग्मीले भन्नुभयो ।