मुटुरोग मृत्युको प्रमुख कारण नबनोस्



मानिसलाई भगवानले भनौँ वा प्रकृतिले एकदमै बलियो शरीर दिएको छ । एक सय वर्षसम्म जीवित रहन सक्ने गरी मानवशरीरको सृजना भएको छ । जन्मजात वा जन्मिएपछिको अवस्थामा कुनै रोग लागेको अवस्थामा बाहेक मानिसलाई एक

सय वर्षसम्म बाँच्नका लागि मुटुलगायत शरीरका सबै अंगहरु मजबुत रहेका हुन्छन् । मानिस एक सय वर्ष बाँच्नका लागि हाम्रो मुटु जीवनभरमा करिब ४ अर्बपटक ढुकढुक गर्नुपर्छ । तर तनावका कारण, कुनै भावनात्मक कारण वा अन्य कुनै रोगका कारण मुटु छिटो–छिटो धड्किनुप¥यो भने ४ अर्बपटक ढुकढुक गर्ने सीमा छिट्टै पार हुन पुग्छ । मानिसको आयु ६० वर्ष वा ७० वा ८० वर्ष पुग्दा नपुग्दै ४ अर्बपटक ढुकढुक गरिसक्ने हुन सक्छ । यसले गर्दा मानिसको मृत्यु हुन सक्छ ।

यस्तै गरी मानिसको मुटुको मांसपेशी पनि एकदमै बलियो हुन्छ । एक सय वर्षसम्म अनवरत चलिरहन सक्ने गरी मुटुको मांसपेसी बनेको हुन्छ । मांसपेशीमा कुनै रोग नलागेको अवस्थामा यसले कम्तीमा एक सय वर्षसम्म अनवरतरुपमा काम गर्न सक्छ ।

यस्तै मुटुमा रगत आपूर्ति गर्नका लागि तीनवटा रक्तनली हुन्छन् । एउटा ब्लक भएमा अर्कोले काम गर्छ, अर्को पनि ब्लक भए फेरि अर्कोले काम गर्ने गरी विकल्प दिएर बनाइएको छ । त्यस्तै गरी मुटुलाई धड्काउनका लागि करेन्ट उत्पन्न गर्न पनि तीनवटा ठाउँ दिइएको छ । एउटा ठाउँ रोगका कारण बन्द भएमा त्यो भन्दा तलको सक्रिय हुन्छ, त्यसले पनि कुनै बेला काम गर्न सकेन भने त्यो भन्दा तलको अर्को सक्रिय हुन्छ । त्यसकारण सजिलै मानिस मरिहाल्दैन ।

यस्तै करेन्ट प्रवाह हुने पनि तीनवटा बाटो दिएको छ । एउटा ब्लक भएमा अर्को बाटोबाट प्रवाह हुन्छ । यसरी मुटुलाई धेरै शक्तिशाली बनाएको छ । यति भएर पनि २०-२५ वर्षका युवाहरु नै हृदयघातलगायत विभिन्न मुटुरोगका कारण मरिरहेका छन् । केही दशकयता अल्पायुमै मानिसको मृत्यु मुटुरोगका कारण भइरहेको छ ।

विश्वको सन्दर्भमा कुरा गर्ने हो भने मानिसको मृत्युको प्रमुख कारण मुटुरोग नै हो । विश्वमा हरेक वर्ष करिब ४ करोड मानिसको मृत्यु मुटुरोग, क्यान्सर, दम–खोकी आदि नसर्ने रोगका कारण हुन्छ, जसमा करिब १ करोड ९० लाख मानिसको मृत्यु मुटुको रोगबाट मात्र भइरहेको छ । नेपालको सन्दर्भमा भन्नुपर्दा हरेक वर्ष ३० हजार मानिसको मृत्यु मुटुरोगबाट हुन्छ । यसको मतलब नेपालमा हरेक दिन ८० जना मानिसको मृत्यु मुटुरोगका कारण भइरहेको छ । अहिले यति धेरै डाक्टर छन्, अस्पताल, क्लिनिकहरु छन्, स्वास्थ्य शिक्षा छ, जनचेतना कार्यक्रम छ, तर पनि मानिसको मृत्यु पहिलेको भन्दा बढी भइरहेको छ ।

यसरी अल्पायुमा नै मानिसको मृत्यु मुटुरोगका कारण हुनुमा धेरै किसिमका कारण छन्, जसमा कतिपयचाहिँ हाम्रो नियन्त्रणमै नभएको कारणले पनि हो । तर एउटा प्रमुख कारण भनेको जीवनशैली परिवर्तन पनि हो । मानिसहरु व्यायाम नगर्ने, मोबाइल, कम्प्युटर, टेलिभिजनमा धेरै समय बिताउन थाले । जंक फूड खाने, चिल्लो, तारेका, भुटेको खाना बढी खाने तर व्यायाम नगर्ने, शरीरको तौल बढेकोप्रति वास्ता नगर्ने, सुगर, प्रेसर, कोलेस्ट्रोलको स्थिति परीक्षण, उपचारमा बेवास्ता गर्ने प्रवृत्तिले मुटुरोगका कारण मानिसको मृत्यु अल्पायुमै हुन थालेको छ ।

त्यसकारण बेला–बेलामा मुटुरोगका सम्भाव्य कारणहरुको परीक्षण र उपयुक्त उपचार गर्ने, नियमित व्यायाम गर्ने, शरीरको तौल ठिक्क राख्ने, तनावरहित रहन ध्यान आदि गर्ने गर्नुपर्दछ । यस्ता कुरालाई सरकारले पनि प्रोत्साहित गर्न जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्