विवाहेतर सम्बन्धको बारेमा किन ढाँटिन्छ ?



डा. राजेन्द्र भद्रा

सन् २०२१ अप्रिल २३ को ‘खबरहब’ अंग्रेजी अनलाइन संस्करणमा विवाहेतर सम्बन्ध भएकी श्रीमतीले श्रीमान्को हत्या गरेको आशयको समाचार छापियो । समाचारमा श्रीमतीले आफ्ना श्रीमान्लाई खानामा विष मिसाएर खुवाएको र छटपटिएर बेहोस भएपछि आफैँले उपचारको लागि अस्पताल लगेकोमा त्यहाँ श्रीमान्लाई मृत घोषित गरेको उल्लेख थियो ।

श्रीमती आफैँले उपचारका लागि ल्याएकोमा शुरुमा कसैले उनीप्रति खासै शंका गरेको थिएन । तर सो घटना भएको करिब एक वर्षपछि फरेन्सिक रिपोर्टमा उनको मृत्यु विष प्रयोगको कारण भएको भन्ने प्रमाण आएपछि कुरा अर्कोतिर मोडियो । त्यसपछि श्रीमती फरार भइन् । उनलाई करिब साढे ६ वर्षपछि प्रहरीले समातेको कुरा समाचारमा उल्लेख थियो ।

त्यसै गरी सन् २०१८ जुलाई ६ मा अंग्रेजी दैनिक ‘द हिमालयन टाइम्स’ ले ‘आफ्नो प्रेमसम्बन्ध लुकाउन भतिजीलाई मारिन्’ भन्ने शीर्षकमा समाचार छाप्यो । उक्त समाचारमा महिलाले आफ्नो अवैध सम्बन्ध लुकाउनकै लागि हत्या गरेको भन्ने उल्लेख थियो । विवाहेतर सम्बन्ध सामाजिक हिसाबले अमान्य भएको कारणले सकेसम्म लुकाउने प्रयास गरिन्छ । यसो गर्नको लागि सामान्य ढाँट–झेलको कुरा त गरिन्छ नै, तर कहिलेकाहीँ मानिसहरु यस्ता सम्बन्ध लुकाउन गम्भीर अपराध पनि गर्न पुग्छन् । उनीहरूले यस्ता सम्बन्ध लुकाउन हत्यासम्म गर्न पुगेको देखिन्छ । मानिसले किन यस्ता सम्बन्ध लुकाउन चाहन्छन् भन्ने विषयका विविध पक्षमा यहाँ चर्चा गरिँदै छ ।

विवाहेतर सम्बन्ध

सामान्यतया वर्तमान समाजमा एकजना पति वा पत्नीसँग मात्र सम्बन्ध राख्ने प्रचलन व्याप्त छ । विवाह गर्ने र एक पति वा एक पत्नीसँग जीवन गुजार्ने प्रचलन आउनुभन्दा पहिले शायद विवाहेतर सम्बन्धबारे प्रश्न नै आउँदैनथ्यो होला । तर त्यस बेला पनि महिला–पुरुषको जोडी बाँध्ने वा विवाह गर्ने परिपाटीको विकास भएको पाइन्छ । पहिले आफ्नो र सन्तानको हेरचाह अनि जीवन निर्वाहको लागि पनि यो अपरिहार्य बन्न पुगेको थियो । यसले नै सन्तानमा वंशाणुको प्रसारलाई सुनिश्चित गर्दथ्यो ।

सिकारी–संग्रहकर्ताको रुपमा घुमन्तेपछि कृषिको विकास अनि औद्योगिकीकरणको युगसम्म आउँदा विवाहको आवश्यकता र त्यससम्बन्धी मूल्य मान्यतामा धेरै नै परिवर्तन आएको पाइन्छ । कृषि पद्धतिको थालनीसँगै स्थायीरुपमा बस्ने प्रचलन बढ्दै गयो र सहयोगीको आवश्यकता पनि महसुस हुन थाल्यो । शायद पहिले आर्थिक, सामाजिक आवश्यकतामा विवाह हुने गर्दथ्यो । कतिपय विकसित प्राचीन समाजमा पनि राजा–रजौैटा हुने पद्धतिको विकास पछि मात्र भएको पाइन्छ, उनीहरूले सामरिक आवश्यकताले पनि विवाह गर्ने गर्दथे । तर हाल जोडीबीचको प्रेम निकै नै प्रबल बनेर आएको छ । अहिले व्यक्तिको रोजाइले विवाहका जोडीको चयनमा प्राथमिकता पाउने गरेको पाइन्छ ।

जोडी बाँध्ने चलनबाट विवाहको पद्धतिसम्म आइपुग्दा जैविक कार्य मात्र नभई यसलाई सामाजिक संस्थागत रुप दिने वा धार्मिक वा आध्यात्मिक रुप दिने गरेको पाइन्छ । यसै अनुसार कडा सामाजिक नियम बनाइएको पाइन्छ, जुन कालान्तरमा विवाहसम्बन्धी मूल्य मान्यतामा विकास भएको पाइन्छ । सामान्यतया विवाहभन्दा बाहिरको सम्बन्धलाई अस्वीकार्य मानिन्छ तर विवाहको प्रचलनको शुरुवातदेखि नै विवाहेतर सम्बन्ध रहने गरेको पाइन्छ । प्रत्येक व्यक्तिका विवाहेतर सम्बन्ध राख्नुका आफ्नै कारण हुने गर्दछन् । कारणको बारेमा मात्र होइन, यस्तो किसिमको सम्बन्ध रहेको वा राखिएको सन्दर्भमा त्यसलाई ढाँट्ने तथा लुकाउने गरिन्छ ।

विवाहेतर सम्बन्ध किन राखिन्छ ?

विवाहित सम्बन्धमा धोका दिनुको प्रमुख ध्येय यौनिक भए पनि सधैँ नै यसो नहुन सक्छ । गहिरिएर हेर्ने हो भने यो एक जटिल कारणहरू तथा प्रक्रियाहरुको परिणाम हो । यी कुराहरू कतिपय व्यक्तिगत विषेशतामा भर पर्ने गर्दछन् । जस्तै कि व्यक्तिगत इतिहास, सोच, व्यक्तित्व, दम्पतीबीचको सम्बन्ध, यस्ता सम्बन्ध कायम गर्ने सघाउने स्थिति अनि सामाजिक परिस्थितिले विवाहेतर सम्बन्धको जोखिमलाई बढाउँछ । कतिपयले बदला लिने उद्देश्यले पनि यस्तो सम्बन्ध राख्ने गर्दछन् । वैवाहिक सम्बन्धमा सन्तुष्ट भएका, दम्पतीबीच आपसमा राम्ररी कुराकानी गर्न सक्ने, एक–अर्काप्रति बेइमान नहुने, आपसी विश्वासको वातावरण बनाउन सक्ने र विश्वास गर्ने, आपसमा कम भनाभन हुने जोडीमा विवाहेतर सम्बन्ध कम हुने गरेको पाइन्छ ।

अहिलेको प्रचलनमा नमिलेजस्तो लागे पनि मानव विकासवादी दृष्टिकोण अनुसार हेर्ने हो भने कुनै पनि जातिको उद्देश्य वंशाणुको विस्तार प्रमुख देखिन्छ । पुरुषको हकमा, अर्को पुस्तामा आफ्नो वंशाणुको विस्तारको लागि उसले एकभन्दा बढी महिलालाई गर्भधारण गराउने ध्येय राख्छ भने महिलाको ध्येय गुणस्तरीय वंशाणु प्राप्त गर्ने हुन्छ । यो स्थितिमा विवाहित जोडीभन्दा फरक व्यक्तिसँग गर्भधारणको लागि यौनसम्पर्क राख्न पुग्छन् । अहिलेको समाजमा सन्तान प्राप्ति प्राथमिकतामा नपरेको जस्तो देखिए पनि जैविकरुपमा हामी त्यसबाट परिचालित हुने गर्दछौं । पुरुषबाट गर्भधारण गर्नु केही व्यक्तिको सन्दर्भमा भने विवाहेतर सम्बन्ध भए पनि अहिले स्थापित सम्बन्धप्रति प्रतिबद्ध भएका व्यक्ति पनि हुने गर्दछन् ।

किन ढाँटिन्छ ?

धार्मिकलगायत संस्था र गुरुहरूले झुटो नबोल्न उपदेश दिने गरेको पाइन्छ । तर मानव समुदायमा बस्न थालेपछि सहकार्य र सहअस्तित्वको पक्ष विकास भएको भेटिन्छ । भाषाको विकास र सञ्चारले यसमा निकै गहिरो भूमिका खेलेको छ । यसको साथै धोका र झुटको पनि विकास भएको छ ।

विभिन्न अध्ययनहरुबाट मानिसले बाल्यकालदेखि नै झुट बोल्ने गरेको पाइन्छ । तर अध्ययनहरूबाट के पनि देखिएको छ भने, मानवजाति तुलनात्मकरुपमा झुटलाई सहजरुपमा थाहा पाउने जाति भने होइन । भनिएका वा देखिएका कुरामा उसले सामान्यतया विश्वास गर्ने गर्दछ । गहिरिएर हेर्ने हो भने, मानवजाति ठूलो जनसंख्याको समुदायमा बस्ने र सहकार्य गर्ने गर्छ । मानव समुदायमा भाषा तथा सञ्चारको विकाससँगै धोका दिने र झुट बोल्ने कार्यको पनि विकास भएको पाइन्छ ।

कतिपय स्थितिमा यो धोका दिने वा हानि गर्ने उद्देश्यले गरिएको पनि हुँदैन । अध्ययनहरूका अनुसार पुरुष र महिला दुवैले झुटको सहारा लिने भए पनि केही भिन्नता भने पाइन्छ । पुरुषले विशेष गरी आफ्ना क्षमता, व्यक्तिगत गुण तथा पहिलेका उपलब्धिहरूलाई बंग्याउने गर्दछन् भने महिलाहरूले अन्तरंग कुरा र आफूले सम्बन्ध राखेको व्यक्तिलाई सहज बनाउन वा सान्त्वना दिन झुटको सहारा लिने गर्दछन् । महिलाले बेइमानी नहुने गरी सामाजिक अन्तरक्रियामा बढी झुट बोल्ने गर्दछन् भने पुरुषले आर्थिक लाभको सन्दर्भमा ।

विवाहेतर सम्बन्धमा धोकाको कुरा गर्दा अर्को व्यक्तिसँगको सम्बन्ध कस्तो थियो भनेर आधार बनाइन्छ । विशेष गरी यौनसम्बन्धलाई केन्द्रमा राख्ने गरिन्छ । केही परिस्थितिमा शारीरिक नभई भावनात्मक सम्बन्धलाई पनि जोड दिने गरिन्छ । त्यसैले के–कस्तो व्यवहारलाई विवाहसम्बन्धमा धोकाको रुपमा लिने भनेर पनि छलफल हुने गर्छन् । विवाहेतर यौनसम्बन्धको व्याप्ती कत्तिको छ, नाप्न सहज नभए पनि पुरुषको हकमा यो ३५ र महिलाको हकमा २५ प्रतिशत जति हुने केही अध्ययनमा देखिएको छ । सामान्यतया अन्य दैनिक जीवनको भन्दा केही फरक भए पनि एक व्यक्तिसँग प्रतिबद्ध सम्बन्ध कायम भएपछि पनि सो हुन नसक्दा यसलाई लुकाउन सक्दो प्रयास गरिन्छ र यही क्रममा झुटको सहारा लिन पुग्छन् ।

अब विवाहेतर सम्बन्धको सन्दर्भमा किन ढाँटिन्छ त भन्ने कुरामा केन्द्रित गरौँ । विवाहेतर सम्बन्ध राख्नुको अनेक कारण भएजस्तै यसलाई लुकाउनुको पनि अनेक कारण हुने गर्दछन् । भय: भय एक धेरै सशक्त भावना हो । आफू साथमा रहेको व्यक्तिसँगको डरले यसो गर्दछन् । उनीहरूलाई अहिलेको सम्बन्धमा समस्या आउने वा विवाह सम्बन्ध टुट्ने भय रहन्छ । उनीहरूले गाली खान वा क्रोधको सामना गर्नबाट बच्न यसो गर्दछन् ।

आर्थिक कारण: कतिपयले सम्बन्ध बिग्रिएर धन–सम्पत्तिलाई बाँड्नुपर्ने हुन्छ र वर्षौंदेखिको मेहनत गरी कमाएको कुरामा क्षति व्यहोर्नुपर्ने हुन्छ । सुखसयलबाट वञ्चित हुनुपर्ने मात्रै होइन, संकटग्रस्त स्थितिमा पुग्नुपर्ने हुन्छ । यस्तो स्थितिबाट बच्न उनीहरूले आफ्नो जोडीलाई थाहा नदिन सक्दो प्रयास गर्दछन् ।
प्राविधिक पक्ष: एकजनाको दृष्टिकोणमा धोका दिएको भए पनि अर्को व्यक्तिको दृष्टिकोणमा त्यसो नहुन सक्छ । यदि भैपरी आउन सक्ने यौनसम्पर्कको सन्दर्भमा घटना हुन गयो तर यहाँ साँच्चिकै धोकाको कुरा नै प्राविधिकरुपमा नभएकोले यो भनिरहनु आवश्यक नै छैन भन्ने ठान्दछन् । यस्तो विषयमा भनेमा समस्या झनै चर्को हुने भएकोले नभन्नु नै उचित ठान्छन् । यदि यस्ता घटनामा यौनसम्पर्क नभएको स्थितिमा यहाँ धोका गरिएको कुरै भएन भनिने वा ठानिने स्थिति पनि हुन्छ ।
पछुतो: प्रायजसो व्यक्तिले जीवनको कुनै न कुनै समयमा आफूलाई गल्ती गरेकै हुन्छन् । जोशमा होस हराएर होस्, अन्य कसैको प्रभावमा परेर होस्, विवाहेतर सम्बन्धको सन्दर्भमा सीमालाई तोड्न पुग्छन् । उनीहरूलाई पछुतो वा ग्लानि भए पनि यसलाई लुकाएरै राख्न चाहन्छन् । यस्ता घटना बाहिर आएमा आफ्नो यौनसाथीलाई पीडा हुने र सम्बन्धमा असहजता आउन सक्ने भएकाले लुकाउने प्रयास गरिन्छ ।
प्रेम: एक व्यक्तिले आफ्नो जोडीलाई माया–प्रेम गर्ने भए पनि गल्तीले अर्को व्यक्तिसँग यौनसम्पर्कजस्तो कार्य हुन पुगेको स्थितिमा एक शारीरिक घटनाको रुपमा लिएर भन्न आवश्यक ठान्दैनन् । अन्ततः भावनात्मकरुपमा प्रेम गर्ने भएकोले यसमा धोका गरेको ठान्दैनन् ।

के गर्ने त ?
विवाहेतर सम्बन्ध नराख्नु नै सबैभन्दा राम्रो उपाय हो । यसो गर्दा यसलाई लुकाउनुपर्ने, ढाँट्नुपर्ने स्थिति नै आउँदैन । तर यो भन्न जति सजिलो भए पनि गर्न भने त्यति सजिलो नहोला । सजिलोरुपमा भन्नुपर्दा जैविक, सामाजिक वा अन्य जे कारण भए पनि अहिलेको सामाजिक मूल्य मान्यता अनि कानुनी व्यवस्थालाई हेर्दा विवाहेतर सम्बन्धले दीर्घकालीनरुपमा सुख वा खुशी दिँदैन । दोहोरो जिन्दगी जिउनुका असजिला थुप्रै हुन्छन् । विवाहेतर सम्बन्ध राखेर लुकाउने कार्यलाई प्राथमिकता दिँदा एकपछि अर्को गल्ती गरिने मात्र होइन, कहिलेकाहीँ गम्भीर आपराधिक प्रकृतिको घटनामा पनि सामेल हुने स्थिति आउन सक्छ । आफूले आनन्दको जीवन जिउने चाहना राखे पनि यस्ता कार्यले पारिवारिक जीवनमा क्षति पुग्छ । त्यति मात्रै होइन, कुनै हिंसा, हत्याजस्ता गम्भीर गल्ती गर्न पुगेमा कारगारमा नै बस्नुपर्ने स्थितिसम्म आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्