महिलालाई गर्भावस्थामा पु¥याएको विशेष हेरचाह प्रसूति भइसकेपछि पनि जारी राख्नुपर्ने हुन्छ । किनकि प्रसूति भइसकेपछि पनि आमाको स्वास्थ्यमा कतिपय अकल्पनीय समस्या आउन सक्छन् ।
जस्तो– सुत्केरी महिलामा ज्वरो आउने, अधिक रक्तश्राव हुनेलगायत अन्य विभिन्न खाले संक्रमण भई समस्यामा पर्ने गरेको पाइन्छ । प्रसूति भई अस्पतालबाट घर गइसकेका कतिपय सुत्केरीहरु यस्ता समस्या लिएर एक–दुई दिनमै अस्पताल फर्किने गरेको पाइन्छ । कतिपयचाहिँ प्रसूतिसँग सम्बन्धित समस्या लिएर चार–पाँच हप्तापछि पनि आउने गरेको पाइन्छ ।
त्यसैले सुत्केरी भएको ६ हप्तासम्म सुत्केरी महिला र नवजात शिशुको अधिकतम हेरचाह गर्नुपर्दछ । यदि कम तौल भएका वा महिना नपुग्दै बच्चा जन्मेका, लामो व्यथा वा कष्टपूर्ण व्यथापछि मात्र सुत्केरी भएका, सिजेरियन अपरेसन गरी बच्चा पाएका तथा सुत्केरीपश्चात् कुनै समस्या उत्पन्न भएका महिलाहरुलाई विशेष हेरचाह गर्नुपर्ने हुन्छ ।
स्तनपानले आमा र बच्चाबीचको आत्मीयता बढाउँछ
गर्भावस्थामा गर्भवती महिलाको यौनांग (जननेन्द्रिय) का साथै विभिन्न शारीरिक प्रंणाली (पाठेघरको आकार, रक्तसञ्चार प्रणाली, रगतको मात्रा) मा आएका परिवर्तनहरु प्रसूतिपछि क्रमशः पूर्वावस्थामा फर्किन्छ । यस क्रममा सुत्केरी महिलालाई आरामको जरुरत पर्दछ । अतः सुत्केरी आमाले करिब ६ हप्तासम्म यथेष्ट आराम गर्नुपर्दछ । प्रसवको बेला योनिद्वारमा बनाइएको वा भएको घाउ सफा एवं ओभानो राख्नुपर्दछ । सुत्केरी भएको करिब ३ महिनासम्म यौनसम्पर्क राख्नुहुँदैन ।
नवजात शिशुलाई करिब ६ महिनासम्म स्तनपानबाहेक अन्य कुनै झोल वा खाद्यपदार्थ दिन नहुने भएकोले सुत्केरी महिलाले तागतिलो एवं झोलिलो खानेकुरा बढी खानुपर्दछ । ज्वानोको झोल, मासु एवं सागपात, फलफूल खानाले सुत्केरी महिलामा दूध उत्पादनमा बढोत्तरी हुन्छ । नवजात शिशुको शारीरिक तथा मानसिक विकासको लागि आमाकै स्तनपानमा बढावा दिनुपर्दछ । किनकि आमाको दूधमा बच्चाको स्नायु प्रणाली विकास गर्ने ओमेगा फ्याट्टी एसिड हुन्छ ।
सुत्केरी भएसँगै शुरुवाती दिनमा आउने बिगौती दूध शिशुको लागि पोषिलो हुन्छ । आमाको दूधले प्रतिरोधात्मक शक्ति दिने हुनाले नवजात शिशुमा लाग्ने विभिन्न संक्रमणहरुबाट बचाउँछ । अतः शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराएको खण्डमा अकालमा हुने नवजात शिशुको मृत्युलाई घटाउन सकिन्छ ।
आमाको दूध सफा, सधैँ पूूर्ण तयारी अवस्थामा, प्रायः निर्मलीकृत र उचित तापक्रममा हुन्छ । आमाको दूधमा पोटासियम, क्याल्सियम, सोडियम, क्लोराइडलगायतका लवण पदार्थहरु सही मात्रामा हुने हुनाले नवजात शिशुको मृगौलाको लागि हानिकारक हुँदैन । आमाको दूध शिशुले सजिलै पचाउन सकिने र पेट नढाडिने प्रकारले बनेको हुन्छ । स्तनपान गराउनाले शिशुको दिसा गिलो बनाउने, चाक दुख्ने वा पाक्ने गरी खटिरा आउने, झाडापखाला लाग्ने र एलर्जीको समस्या पनि कमै मात्र हुन्छ ।
स्तनपानसम्बन्धी जनचेतना बढाउन विश्व स्वास्थ्य संगठनको आह्वानमा बर्सेनि अगष्ट महिनामा स्तनपान सप्ताह मनाउने गरिएको छ । त्यसै गरी शिशीको दूधभन्दा आमाको दूधलाई प्राथमिकता दिनका लागि बालमैत्री (बेबी फ्रेन्ड्ली) अस्पतालको अवधारणा ल्याइएको छ । स्तनपानले आमा र बच्चाबीचको आत्मीयता बढाउँछ र सुत्केरीपश्चात् पाठेघर खुम्चिन मद्दत गर्दछ । त्यसैले सुत्केरी महिलाका लागि पनि स्तनपान गराउने कार्य उत्तिकै महत्वको छ ।
स्तनपानले प्राकृतिक परिवार नियोजनको काम गर्दछ । तर शिशुलाई अन्य ठोस खानेकुरा ख्वाउन थालेपछि, बच्चालाई राम्ररी स्तनपान मात्र नगराए वा सुत्केरी भएको करिब ६ हप्तापछि महिनावारी शुरु नभईकन पनि गर्भ रहन सक्छ । त्यसैले परिवार नियोजनका अस्थायी साधनहरु अपनाउनुपर्दछ ।
प्रसूतिपछिका जटिल अवस्थाहरु
सुत्केरीपश्चात् राम्रो हेरचाह गरेको खण्डमा धेरैजसो महिलालाई कुनै समस्या हुँदैन । उनीहरु विनासमस्या नै राम्ररी तङ्ग्रिन्छन् । तर कसै–कसैमा गर्भावस्था तथा सुत्केरी अवस्थामा भएका जटिलताका कारण प्रसवोत्तर समयमा समस्या आउन सक्छ । शिशु जन्मिने क्रममा निश्चित मात्रामा रगत बग्छ तर पाठेघर राम्ररी खुम्चिएन, जननेन्द्रियको कुनै भागमा च्यातियो तथा पाठेघरभित्र सालका टुक्रा तथा अन्य झिल्ली बाँकी रह्यो भने अधिक रक्तश्राव हुन सक्छ ।
प्रसवका बेला आवश्यक सरसफाइ कायम गरिएन भने पाठेघरको भित्री सतहमा वा योनिद्वारमा संक्रमण हुन सक्छ । यस क्रममा सुत्केरी महिलामा तल्लो पेट दुख्ने, ज्वरो आउने, कम्पन हुने, रगत र दुर्गन्धयुक्त योनिश्राव बग्ने हुन्छ । यदि यस्तो संक्रमण शरीरभरि फैलिएको खण्डमा जटिल परिस्थिति उत्पन्न हुन सक्छ । कसै–कसैमा पछि बाँझोपन पनि आउन सक्छ । अधिकांश सुत्केरी महिलामा सुत्केरीको तेस्रो दिनदेखि दूध बन्ने क्रिया हुने हुनाले स्तन गह्रुंगो हुने एवं हल्का दुख्ने हुन्छ । नवजात शिशुलाई दुवै स्तनमा आलोपालो गरी निख्रिने गरी स्तनपान गराउनुपर्दछ । तर केही महिलामा दूध गान्निई स्तन सुन्निने र सुजन हुने, स्तन पाक्ने हुन सक्छ ।
सुत्केरी महिलामा मूत्रनली, छाती वा पाठेघरभित्र संंक्रमण भयो भने, पिँडौलामा रगत जाम भयो भने, योनिद्वारका घाउ वा सिजेरियन अपरेसन बच्चा पाएको भए घाउ पाकेर धेरै ज्वरो आउँछ । त्यसैले सुत्केरी भएको २४ घण्टापछि आउने ज्वरोलाई हल्का तरिकाले लिनुहँुदैन । ज्वरोका साथै पिसाब पोल्ने, खोकी लाग्ने, पाकेको खकार आउने, दुर्गन्धित योनिश्राव आउने, घाउबाट पीप बग्ने छ÷छैन, विस्तृत जाँचपड्ताल गर्नुपर्दछ ।
पूर्ण तथा स्वस्थ शिशु कस्तो हुन्छ ?
महिना पुगेर (गर्भावस्थाको ३८ देखि ४० हप्ता) जन्मेको बच्चाको औसत तौल २.६ देखि ३.२ किलोग्रामको हुन्छ । जन्मिनासाथ नवजात शिशुको रुवाइ र क्रियाकलापबारे जानकारी लिँदा, स्वस्थ शिशुको क्रियाकलाप निकै सक्रिय हुन्छ भने यस्तो शिशु जन्मिनेबित्तिकै स्पूmर्तिसाथ रुन्छ । श्वासप्रश्वास क्रिया पनि आपैंm शुरु हुन्छ र पाठेघरबाहिरको वातावरणमा तुरुन्तै बाँच्न सक्षम हुन्छ । यस्तो स्वस्थ शिशुको लम्बाइ ५० देखि ५२ से.मि. र टाउकोको गोलाइ करिब ३५ से.मि.को हुन्छ ।
नवजात शिशुको विस्तृत शारीरिक जाँच गर्दा तापक्रम ९८ देखि ९९ डिग्री फरेनहाइट, श्वास फेर्ने गति ३० देखि ६० प्रतिमिनेट, नाडीको गति ७० देखि १४० धड्कन प्रतिमिनेट तथा रक्तचाप माथिल्लो ४५ देखि ६० र तल्लो २५ देखि ४० मिलिमिटर मर्करी हुन्छ । नवजात शिशुको छालाको रंग हल्का गुलाफी रंगको, त्यसै गरी सास फेर्ने दर तथा मुटुको धड्कन पनि सामान्य हुनुपर्दछ ।
स्वस्थ तथा महिना पुगेको शिशुको पैतालाका रेखाहरु पूर्णरुपमा विकसित भएको, स्तनको गिर्खाको गोलाइ ५ देखि ७ मिलिमिटरको, टाउकोमा बाक्लो र रेशमी कपाल भएको, कान कडा र बटार्न मिल्ने तथा केटा शिशुको अण्डकोष तल आइसकेको र केटी शिशुको जननेन्द्रियको बाहिरी पत्रले भित्री पत्र एवं भगाङ्कुर छोपिएको हुन्छ ।