‘त्यति बेला मैले बीपीकेआईएचएस धरानमा प्रशिक्षार्थी नर्सको रूपमा भर्खरै काम शुरु गरेको थिएँ । शुरुतिरै मलाई गुलिएन बेरी सिन्ड्रम (जीबीएस) भाइरस लागेको बिरामी हेर्ने ड्युटी परेको थियो ।
उहाँ एक महिनाअघिदेखि आईसीयुमा उपचारत हुनुहुँदो रहेछ । उहाँँको अवस्था अत्यन्तै जटिल थियो । न बोल्न सक्ने, न त हातखुट्टा नै चलाउने । उहाँको अवस्था देखेर म भावविभोर हुन्थें ।
प्रत्येक सिफ्टमा एकजनाले बिरामीको जिम्मेवारी सम्हाल्नुपथ्र्यो । मैले उहाँलाई निरन्तर नर्सिङ सेवा दिएँ । ५५ दिनपछि उहाँको स्वास्थ्यमा सुधार आयो । शुरुका दिनमा बिरामीको अवस्था देखेर म रोएकी थिएँ, पछि सबै ठीक भई आफैं हिँडेर हामीलाई भेट्न आउँदा हर्षका आँसु झरेका थिए । त्यति बेला मेरै ड्युटीको समयमा उहाँ डिस्चार्ज भएर जानुभयो । उहाँको अनुहारमा छाएको खुशी सम्झिँदा आज पनि मलाई यो पेसाप्रति गर्व लाग्छ ।’
‘नर्स पढ्न जति सजिलो छ, एउटा जिम्मेवार नर्स हुन त्यति नै गाह्रो । यो पेसामा लागिसकेपछि सेवाको भावले उत्प्रेरित हुनु जरुरी छ । त्यो भावलाई जस्तोसुकै परिस्थितिमा पनि निरन्तरता दिनुपर्छ । नर्समा जहिले पनि सूचना तथा सुझाव प्रवाह गर्ने खूबी हुनुपर्छ ।
बिरामीको भावनामा बहकिनेभन्दा बिरामीको भावनालाई आत्मसात् गर्ने र बिरामी तथा उनीहरूका आफन्तलाई खुशी बनाउन सक्ने वातावरण सृजना गर्नुपर्छ । सफलता र असफलता जे परे पनि समयअनुसार आफूले सिकेका ज्ञान–सीपलाई प्रभावकारी तरिकाले उपयोग गर्न सक्नुपर्छ ।’
‘मानिस बिरामी भएर अस्पताल पुग्दा अस्पतालको ड्युटीमा खटिएका सबैभन्दा नजिकको व्यक्ति भनेकै नर्स हुन्छन् । उनीहरू बिरामी र बिरामीका आफन्तले सोचेजस्तो कोही कसैको मान्छे हुँदैनन्, बरु बिरामीको सेवामा खटिने स्वच्छ भावना बोकेका सबैका
आफन्त हुन् ।’
यस किसिमका अनुभव र भावना व्यक्त गर्ने नर्स कल्पना पौडेल घिमिरे हाल ओम अस्पतालको नर्सिङ डाइरेक्टर हुनुहुन्छ । उहाँले राजीव गान्धी विश्वविद्यालय, भारतबाट सन् २०१३ मा मनोचिकित्सा विषयमा स्नातकोत्तर गर्नुभएको छ ।
२०६७ सालमा नर्सिङमा स्नातक पूरा गर्नुका साथै बीपीकेआईएचएस धरान, मणिपाल शिक्षण अस्पताल पोखरा, काठमाडौं मेडिकल कलेज सिनामंगलमा नर्सिङ सेवा प्रदान गरिसक्नु भएको छ । इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन, फिस्टेल अस्पताल एन्ड रिसर्च सेन्टरमा काम गरिसकेकी कल्पना पौडेल नर्सिङ कलेजहरूमा अध्यापन कार्यसमेत गर्नुहुन्छ । करिब दुई दशकदेखि नर्सिङ सेवामा संलग्न लमजुङकी कल्पना घिमिरेलाई हामीले यो अंकमा नर्स अफ द मन्थको स्तम्भमा छानेका छौं । प्रस्तुत छ ओम अस्पतालकी नर्सिङ डाइरेक्टर कल्पना पौडेल घिमिरेसँग साधनाका सहसम्पादक भगवती तिमल्सिनाले गरेको
कुराकानीको सार:
नर्सले काम गर्दा भुल्न नहुने कुरा के–के हुन् भन्ने ठान्नुहुन्छ ?
नर्सिङ पेसा आफैंमा एक संवेदनशील र इमानदार पेसा भएकाले पेसागतरूपमा अपनाउनुपर्ने आचारसंहिता कहिल्यै बिर्सनुहुँदैन । प्रत्येक बिरामीलाई जातभात, धनी–गरिब नभनी समान व्यवहार गर्नुपर्छ । साथै पेसागत मर्यादाको पनि सम्मान गर्नुपर्छ ।
नर्सले बिरामीको नैसर्गिक अधिकारलाई समेत ध्यान पुर्याउनुपर्छ । व्यक्तिगत जीवनमा काम गर्दा जतिसुकै पीडा र चिन्ता भए पनि पेसागत जीवनमा त्यसलाई मिसाएर बिरामी र बिरामीका आफन्तसँग रिसाउने, झर्किने, नमीठो बोल्नेजस्ता व्यवहार कहिल्यै गर्नुहुँदैन ।
डाक्टर र नर्समध्ये कसलाई बढी दुःखी सम्झनुहुन्छ ?
मेडिकल पेसा मानिसको जीवन र मृत्युसँग प्रत्यक्ष सरोकार राख्ने संवेदनशील पेसा हो । यो पेसा मानिसको भावनासँग जोडिएको हुन्छ । विभिन्न स्वास्थ्यकर्मीहरूमध्ये नर्स र डाक्टरको पेसा बढी चुनौतीपूर्ण हुन्छ ।
उनीहरूले जस्तोसुकै परिस्थिति आए पनि चौबीसै घण्टा खटेर बिरामीको सेवा गरिरहनुपर्छ । यो पेसामा विभिन्न समुदायबाट आएका फरक व्यक्ति र उनका फरक विचारलाई मध्यनजर गरी व्यवहार गर्नुपर्ने हुन्छ । सधैँ एउटै अवस्था नरहँदा आइपर्ने जटिलताले ल्याउन सक्ने भवितव्यलाई सम्हाल्न पर्ने पनि हुन सक्छ । यस अर्थमा चुनौतीपूर्र्ण भन्न मिल्छ तर दुःखी होइन ।
नर्सिङ पेसामा तपाईंलाई कति बेला साह्रै दुःख लाग्छ र कति बेला सन्तुष्टि मिल्छ ?
जुनसुकै बिरामी निको भई घर पठाउँदा जाने बेलामा मुसुक्क हाँसेर ‘ल सिस्टर ∕ हामी गयौं, राम्रोसँग बस्नुस्, राम्रो उन्नति–प्रगति गर्नुस्, अरु बिरामीलाई पनि यसरी नै सेवा दिनुस्’ भन्दा साह्रै खुशी लाग्छ । तर कहिलेकाहीँ कुनै बिरामीलाई बचाउन हरसम्भव प्रयास गर्दागर्दै मृत्यु हुँदा हामीले गरेका अनगिन्ती प्रयासलाई बिरामीका आफन्तले नबुझी नकारात्मक प्रतिक्रिया दिँदा भने साह्रै दुःख लाग्छ ।
सेवा दिँदादिँदै बिरामीको मृत्यु हुँदा आफूलाई कसरी सम्हाल्नुहुन्छ ?
मान्छे जन्मेपछि मृत्यु कसैले टार्न नसक्ने सत्य हो । यो नर्सिङ पेसामा लागेको २० वर्षको दौरानमा धेरै बिरामी जीवन र मृत्युसँगै छटपटाइरहेको देखियो । यस्तो कठिन अवस्थामा ‘हे भगवान् ∕ यो बिरामीलाई बचाउन पाए हुन्थ्यो’ भन्ने कुरा सधैँ मनमा आउने गर्छ । कोशिश गर्दागर्दै बिरामीको मृत्यु भयो भने मन साह्रै दुःखी हुन्छ । तर पनि हाम्रो सेवाको प्रतीक्षामा रहेका अरु बिरामीलाई हेरेर दुःखी मनलाई संयमित बनाएर सम्हाल्नुपर्छ । यस्तो अवस्थामा न त कराउनै सकिन्छ, न त बिरामीका आफन्तसँग सँगसँगै रुन ।
मनभित्र अनेकौं पीडा हुँदाहुँदै पनि बिरामीका आफन्तलाई सम्झाउन र उचित परामर्श दिन सक्रिय हुनुपर्छ । भावनालाई नियन्त्रणमा राखी आफ्नो कर्तव्य र जिम्मेवारीलाई बहन गर्न सधैँ तत्पर रहिरहनुपर्छ । यिनै कुराले मलाई सधैँ पे्ररित गरिराखेको हुन्छ र म मेरो भावनालाई परिस्थिति अनुकूल उचित तरिकाले सम्हाल्ने गर्छु ।
नर्सले बिरामीसँग लामो समय बिताउनुपर्छ । कहिलेकाहीँ उनीहरूको गाली पनि खानुपर्ने हुन्छ । यस्तो अवस्थामा तपाईंको व्यवहार कस्तो हुन्छ ?
नर्स भन्नेबित्तिकै जस्तोसुकै परिस्थितिमा पनि दिनरात, चाडपर्व, घरपरिवार, आफन्त, घुमफिर, मनोरञ्जन नभनी सधैँ बिरामीको सेवामा खट्नुपर्ने पेसा हो । सेवाकै कारण बिरामी र उनीहरूका आफन्तले प्रभावित भएर स्याबासी दिनुहुन्छ । यिनै भावनाले हामीलाई ऊर्जा थपिन्छ ।
तर सधैँ त्यो अवस्था रहँदैन । कहिलेकाहीँ बिरामी र बिरामीका आफन्तको असन्तुष्टिले ल्याउने नकारात्मक प्रतिक्रिया, ड्युटीमा खटिएका नर्सहरूमाथि गालीगलौज, अभद्र व्यवहार पनि हुन सक्छन् । यस्तो अवस्थामा संयमित भई बिरामी र बिरामीका आफन्तको समस्या राम्रोसँग बुझेर बुद्धिमतापूर्ण तरिकाले व्यवहार गर्नुपर्ने हुन्छ ।
बिरामीले के कुरामा असन्तुष्ट भएर नकारात्मक प्रतिक्रिया दिइरहनुभएको छ भन्ने कुरालाई केलाउन कोशिश गर्नुपर्छ । उहाँका कुराहरूलाई बढी सुनिदिने, त्यसको लेखाजोखा गरी बिरामी र उनका आफन्तलाई सकारात्मक तरिकाले नम्र बोलीमा सम्झाउन कोशिश गर्ने गर्नुपर्छ । आफूले एक्लै सम्हाल्न नसकेको अवस्थामा आफूभन्दा सिनियर साथी, इन्चार्ज र सम्बन्धित निकायको सहयोग लिनुपर्ने पनि हुन्छ ।
बिरामी र उनीहरूका आफन्तले नर्ससँग कस्तो व्यवहार गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
हामी कोही पनि बिरामी भएर अस्पतालमा आउन नपरोस् भन्ने सोचमा हुन्छौं । रोगका कारण भर्ना भएका बिरामी र उनीहरूका आफन्त सधैँ छिटो निको पारेर घर जाने तर्खरमा हुन्छन् । डाक्टर र नर्सहरू पनि आफ्नो बिरामीलाई जति सक्दो छिटो निको बनाएर घर पठाउन सजग भएका हुन्छन् ।
तर कहिलेकाहीँ बिरामीका आफन्त हाम्रो भावनाप्रति संवेदनहीन भएर डाक्टर र नर्सप्रति नकारात्मक प्रतिक्रिया व्यक्त गर्छन् । सेवामा सम्लग्न टिमलाई नै हतोत्साहित पार्ने व्यवहार गरिदिन्छन् । बिरामी र उनका आफन्तले नर्स भनेका बिरामीको सेवाकै लागि खटिएका हुन्छन् र बिरामीको उपचारमै जुट्छन् भन्ने बुझेर व्यवहार गरिदिए हुन्थ्यो ।
अस्पताल प्रशासनको व्यवहारले तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
ओम अस्पताल लामो इतिहास बोकेको पुरानो अस्पताल हो । यो अस्पतालमा नर्सलाई हेरिने व्यवहार सन्तोषजनक रहेको छ । म यो अस्पतालको नर्सिङ विभागको प्रमुख हुँ । यस संस्थामा आबद्ध भएको पनि २ वर्ष भइसकेको छ । यस अस्पतालमा कार्यरत रहँदा अहिलेसम्म पेसागत मर्यादामा अप्ठ्यारो परेको छैन । सबैबाट राम्रै सहयोग, सल्लाह, सुझाव पाइरहेकी छु ।
नयाँ आउने नर्स र अस्पताल व्यवस्थापनलाई के सुझाव दिनुहुन्छ ?
नर्स पेसा अँगाल्नुभन्दा पहिले आफूमा भएको खूबी केलाएर मात्र यो पेसामा आबद्ध हुन आग्रह गर्दछु । साथै यो पेसा अनेकौं कामको दबाबमा गर्नुपर्ने पेसा भएकाले बेला–बेलामा अस्पताल प्रशासनबाट पनि प्रोत्साहन गरिनुपर्छ । नर्सहरूलाई ऊर्जा प्रदान गर्ने किसिमका कार्यक्रम सञ्चालन गरिनुपर्छ । साथै राम्रो काम गर्नेलाई नियमितरूपमा उचित सम्मानको व्यवस्था गरिनुपर्छ ।