कब्जियतबाट मुक्ति



डा. रामदेव पंडित आयुर्वेद चिकित्सक

तथ्यांकहरूका अनुसार केही वर्षयता नेपालीहरूमा पाचन प्रणालीसँग सम्बन्धित समस्या उच्च गतिमा बढेको छ । असन्तुलित खानपान यसको एक प्रमुख कारण हो । ग्यास्ट्राइटिसलाई त नेपालमा राष्ट्रिय रोग नै भन्ने गरिन्छ । वातावरणीय प्रदूषणलगायत अन्य विविध कारणले पनि कब्जियत हुन्छ ।

आमनेपालीको मूल खाना सेतो चामलको भात हो । धेरैले दैनिक खानामा भातसँग एकथरी झोल तरकारी मात्र समावेश गर्छन् भने कतिपयले दाल पनि खाने गर्छन् । स्वादिलो खान रुचाउनेहरू अत्यधिक मसला राखेर खाने गर्छन् । यसै गरी हिजोआज मैदाले बनेको मम, चाउमिन, समोसा, ब्रेड, पिज्जा, बर्गर आदि खाजाको रूपमा खाने चलन बढ्दै छ । यो कब्जियतको एउटा मूल कारण हो ।

आमनेपालीले खाने विभिन्न ब्रान्डका तेल र मसला विषालु र विजातीय पदार्थ मिश्रित हुनसक्छ । यसले शरीरमा पुगेर मन्द विषकै रूपमा असर गर्दछ । दूध र पानीको गुणस्तरको हालत पनि उही छ । चिया र कफीको सेवन पनि फेसनका रूपमा बढेको छ । यी सबै पेटरोग र कब्जियतका कारण मानिन्छन् ।

आयुर्वेद साहित्यमा शरीरको निर्माणमा दोष, धातु र मल प्रधान तत्व मानिएको छ र भनिएको छ– ‘दोष धातु मल मूलं हि शरीरम्’ । शरीरमा मलको उत्पादन, चालन र निष्कासन यदि सम्यकरूपले गरिएन भने यसले शरीरलाई रोगको घर बनाउँछ । यसर्थ शरीरमा मलको चालन र निष्कासन उपयुक्तरूपमा गर्नु स्वस्थ शरीरको लागि अनिवार्य सर्त हुन्छ ।

यस्तै भोक लाग्दा भोजन लिएन, प्यास लाग्दा पानी खाएन भने त्यसले अन्ततः रोग निम्त्याउँछ । शरीरबाट दिसाको उपयुक्त निष्कासन भएन भने पनि रोग लाग्छ ।

आजका मानिसको जीवनशैली यति व्यस्त बन्दै गएको छ कि दिसा बस्ने समय पनि छैन । केही मानिसहरू राति १२ बजेपछि सुत्ने र ९ वा १० बजेतिर उठ्ने गर्छन् । उनीहरू दिसा बस्न पनि लामो समय व्यतीत गर्छन् । केही मानिसले शौचालय जानुअगाडि खैनी, चुरोट, गुट्खा, चिया र कसैले औषधि नै खाने गर्छन् । त्यसपछि मात्र उसलाई दिसा जाने वेग आउने गर्दछ ।

आयुर्वेदिक औषधिरेगुलेक्स गोली, हर्बोलैक्स गोली या क्याप्सुल, कब्जहर वटी, नारायण चूर्ण, निरोगी चूर्ण, इच्छाभेदी रस, लवणभाष्कर चूर्ण, पञ्चसकार चूर्ण, त्रिफगोल, त्रिफलाचूर्ण, हरितकीखण्ड, अगस्त्य रसायन, विरेचनी वटी जस्ता औषधिले कब्जियत ठीक गर्छन् । तर यी औषधिहरूको मात्रा र अनुपात कब्जियतको अवस्था र व्यक्तिअनुसार फरक–फरक हुने हुनाले चिकित्सको सल्लाह लिएर मात्र यी औषधिहरूको प्रयोग गर्नु बुद्धिमानी हुन्छ ।

कब्जियत आफैंमा कुनै रोग होइन, तर पनि बब्जियत पेटसम्बन्धी अधिकांश रोगहरूको जननी मानिन्छ । सामान्य स्वस्थ मानिस दिनको दुईपटक दिसा बस्छ र उसको पेट पूर्णरूपमा सफा हुन्छ । यदि त्यसो हुँदैन भने कब्जियत भएको मानिन्छ । कब्जियत हुँदा एकपटकमा दिसा खलास नहुने, दिसा धेरैपटक जानुपर्ने वा दिन बिराएर दिसा आउने, दिसा कहिले कडा त कहिले पातलो हुने हुन्छ ।

प्रशस्तरूपमा सफा पानी वा झोलिलो पदार्थ सेवन नगर्नाले, खानामा रेसा र चोकरयुक्त पदार्थको कमी हुँदा, हरियो सागसब्जी, फल, अंकुरित गेडागुडी, काँचोे खान मिल्ने काँक्रो, गाजर, चुकन्दर आदि नखानाले वा कम भोजन गर्नाले पनि कब्जियत हुन्छ ।

चाउचाउ, बिस्कुट, मैदाले बनेको खाना खाँदा, ज्यादा आराम गर्दा, ज्यादा श्रम गर्दा पनि कब्जियतको समस्या आउन सक्छ । चिन्ता, तनाव, अनिद्रा हुँदासमेत कब्जियत उन्पन्न हुन्छ । चोकर भएका मकै, चना, भटमास आदि वस्तु खानामा समावेश गर्दा कब्जियतको सम्भावना कम हुन्छ ।

कब्जियतको लक्षण
दैनिक दिसा नहुनु वा भए पनि लामो समय दिसा बस्नुपर्ने र बल लगाउनुपर्ने हुनु कब्जियतका लक्षण हुन् । कहिलेकाहीँ गुच्चाजस्तो कडा दिसा हुनु, कहिलेकाहीँ पानीजस्तो पातलो दिसा हनु र कहिलेकाहीँ कडा र पातलो दिसा सँगै हुनु पनि कब्जियतका लक्षण हुन् । धेरै दिनसम्म दिसा नलाग्नु र पेट फुल्नु, मुखमा अमिलो पानी आउनु, मुख र गुदद्वारमा दुर्गन्धित वायु चल्नु, रिँगटा लाग्नु, भोक नलाग्नु आदि पनि कब्जियतका लक्षण हुन् ।

घरेलु तथा सरल उपचार
१. सानो हर्रो (जंगी हर्रो) घिउमा भुट्नुपर्दछ । भुटेपछि पिसेर धूलो बनाई राख्नुपर्दछ । यो धूलो १ चिया चम्चा सुत्ने बेलामा खाएर मनतातो पानी पिउनु कब्ज निवारक हुन्छ ।

२. इसब गोलको भुसी १ चिया चम्चा बिहान–बेलुका पानी, दूध या अरु झोल कुरामा घोलेर पिउनु
कब्ज निवारक हुन्छ ।

३. राजवृक्षको गुदी ५ ग्राम र मुनक्का २० ग्राम मिलाएर चटनीजस्तो पिसी बिहान–साँझ खानाले पनि पेट सफा हुन्छ ।

४. एक भाग हर्रो, दुई भाग बर्रो, चार भाग अमला मिलाएर चूर्ण बनाउने र एक–एक चिया चम्चा बिहान–बेलुका मनतातो पानीसँग खानु कब्ज निवारक हुन्छ ।

५. गुलाफको फूल १० ग्राम, मुनक्का १० ग्राम, सौफ ५ ग्राम चटनीजस्तो पिसेर बिहान खालिपेटमा खाएर पानी पिउनु कब्ज निवारक हुन्छ ।
६. घिउकुमारीको पातको गुदी १० या २० ग्राम बिहान खालिपेटमा खाँदा कब्जियत हुन्न ।

७. २०० ग्राम पाकेको मेवा दैनिक खानाले कब्जियतबाट मुक्ति मिल्छ ।

८. सानो हर्रो (जंगी हर्रो), सौफ र मिश्री बराबर तौल लिई पिसेर चूर्ण बनाई मिलाउने र यो मिश्रित चूर्ण आवश्यकताअनुसार १ या २ चम्चा सुत्ने बेलामा खाएर पानी पिउँदा कब्ज निवारक हुन्छ ।

९. सुकाएको अमलालाई पिसेर बनाएको चूर्ण १–१ चिया चम्चा बिहान–बेलुका खानापछि खानु लाभदायक हुन्छ ।

कब्ज निवारणको लागि योग एवं प्राकृतिक चिकित्सा
१. चिसो कटिस्नान र एनिमा गर्नुपर्दछ ।

२. पेटमा चिसो पट्टी लगाउनुपर्छ ।

३. सम्पूर्ण शरीरको मालिस गराउनुपर्छ ।

४. योगासन (वज्रासन, अर्धमत्स्येन्द्रासन, पवनमुक्तासन, बालासन, हलासन आदि) गर्नु फाइदाकारक हुन्छ ।

कब्जियतसहित एनोरेक्टल डिजिजहरूबाट बच्न आममानिसले बिहान सबेरै उठ्ने बानी गर्नु अनिवार्य छ । उठ्नेबित्तिकै ५ सयदेखि १ हजार मि.लि. सादा मनतातो पानी नबिराई पिउने बानी बसाल्नुपर्छ । साँझ र बिहान दिनको दुईपटक दिसा बस्नु राम्रो हुन्छ । निरोगी व्यक्तिहरूले कम्बोडभन्दा पनि प्यानवाला शौचालयमा दिसा बस्नु राम्रो मानिन्छ ।

एकपटक दिसा बस्न जाँदा बढीमा ५ देखि ७ मिनेटभन्दा लामो समय mगाउनुहुँदैन । दिसा बस्दा बल गरेर दिसा निकाल्न खोज्नु एनोरेक्टल डिजिज निम्त्याउनु हो । दिसा कडा आउने व्यक्तिले दिसा नरम बनाउने उपायहरूका लागि चिकित्सकसँग सल्लाह लिनुपर्छ । कब्जियत हुनेहरूले मैदा, चिनी आदिको परिकार लगभग नखाँदा हितकारी हुन्छ । अतः रहे पेट सफा, हुन्छ सब रोग दफा ।

कब्जियत आफैंमा कुनै रोग होइन, तर पनि बब्जियत पेटसम्बन्धी अधिकांश रोगहरूको जननी मानिन्छ । सामान्य स्वस्थ मानिस दिनको दुईपटक दिसा बस्छ र उसको पेट पूर्णरूपमा सफा हुन्छ ।

कब्जियतको रोकथाम
१. आफ्नो कामको प्रकृति हेरी थोरै–थौरै पानी दिनभरि नै पिउने बानी गर्नुपर्छ ।

२. चाउचाउ, बिस्कुटजस्ता तयारी खाना र बोतल बन्द पेय–खाद्यपदार्थको सट्टा घरमा बनेका खाना जस्तो– उसिनेको मकै, चोकरयुक्त गहुँको सुख्खा रोटी, कोदो–फापरको रोटी वा ढिँडो, चना, भटमास, मही, मह–पानी वा सर्बत खाने बानी गर्नुपर्दछ ।

३. आराम र श्रम नियमित एवं सन्तुलितरूपमा गर्नुपर्दछ । निश्चित समयको कामपछि वा खानापछि निश्चित समयको आराम गर्ने बानी गर्नुपर्दछ । खानासँगै पानी पिउने बानी गर्नुहुन्न ।

४. दिसा लाग्नेबित्तिकै सबै काम छोडेर दिसा गर्न जानुपर्छ, दिसा रोकेर राख्नुहुँदैन ।

५. कम्मरमा कस्सिएको कपडा बाँध्नुहुँदैन ।

६. सागसब्जी, सलाद, फलफूल प्रशस्त खानुपर्दछ ।

७. लामो समयसम्म भोकै बस्नुहुन्न वा पेट टमटम हुने गरी खानुहुन्न ।

८. तारेको, फ्राइ गरेको, मसालेदार खाना र माछा, मासु, अण्डा आदि मांसाहारले कब्जियत गराउँछ । ९. मौसमी फलफूल एवं सब्जी बोक्रा र रेसासहित खाने बानी गर्नुपर्छ । रेसा, बोक्रा, चोकर आदि भोजनमा रहनाले कब्जियत हुँदैन ।

१०. भोजनपछि केही समय घुमफिर गरेर मात्र सुत्नुपर्छ । भोजन गरेको २–३ घण्टापछि मात्र सुत्ने बानीले कब्जियत हटाउँछ ।

११. मनमा धेरै चिन्ता एवं पीडा लिए अथवा ज्यादा नकारात्मक सोच्नाले, धेरै क्रोध गर्नाले, झगडालु स्वभावले मन असन्तुलित हुन्छ र कब्जियत हुने सम्भावना बढ्छ । यस्तो स्वभाव भएकाले नियमित योगका अभ्यास गर्दा कब्जियतबाट मुक्ति मिल्छ ।

१२. बोक्रा निकालिएको चिल्लो दालको सट्टा अङ्कुरित दाल खाने बानी गर्नुपर्छ ।

१३. सेतो चामलको सट्टा ढिकीमा कुटेको चामल र मैदाको बदलामा चोकरयुक्त आँटा, चिनीको बदलामा सख्खर खाने बानी गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्