मनभित्रको घाउ औषधिले निको हुन्न



विनिशा थापा विगत १३ वर्षदेखि अल्का अस्पताल, ललितपुरमा नर्सिङ सुपरभाइजरको पदमा कार्यरत हुनुहुन्छ । उहाँ नर्स मात्र नभएर लायन्स क्लबमा पनि सक्रिय हुनुहुन्छ । उहाँले लायन्स क्लब अफ काठमाडौं अल्काको अध्यक्षसमेत भएर सामाजिक सेवामा पनि सक्रियता देखाइसक्नुुभएको छ । साथै हाल उहाँ हिमालय टेलिभिजनमा साप्ताहिकरुपमा स्थास्थ्य कार्यक्रम पनि चलाउनुहुन्छ । उहाँलाई हामीले साधनाको यस अंकको नर्स अफ द मन्थका निम्ति छनौट गरेका छौँ । उहाँसँग साधनाका प्रतिनिधि भगवती तिमल्सिनाले गरेको कुराकानीको सार :

बिरामीका लागि नर्सको जिम्मेवारी कस्तो हुनुपर्छ ?

इच्छाशक्ति सबैभन्दा ठूलो कुरा हो । नर्सले अध्ययनकै क्रममा सेतो कोट लगाएपछि ‘आफ्नो घर–परिवारभन्दा पनि बढी बिरामीलाई प्राथमिकता दिन्छु’ भनेर शपथ खाएका हुन्छौं । नर्सको दायित्व भनेकै प्रतिबद्धतालाई व्यवहारमा उतारेर बिरामीको सेवा गर्ने हो । यसका लागि मन, बचन र कर्मले लागिपरे मात्र सफल भइन्छ । नर्स हो भनेर चिनाउन र सन्तुष्टि पाउनका लागि पनि यिनै विषय महत्वपूर्ण हुन्छन् ।

उपचारका क्रममा नर्सले भुल्नै नहुने महत्वपूर्ण कुरा के–के हुन् ?

कर्तव्य र जिम्मेवारी पालना तथा पेसाप्रतिको बफादारिता नै हो भन्ने मलाई लाग्छ ।

बिरामीको उपचारमा नर्सको भूमिका महत्वपूर्ण हुन्छ कि डाक्टरको ?

बिरामीका लागि डाक्टर र नर्स दुवैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । अध्ययन–अनुसन्धान गरी बिरामीलाई छिटो उपचार गर्न डाक्टरहरुको निर्णायक भूमिका हुन्छ । बिरामी अस्पताल प्रवेशदेखि डिस्चार्ज नहुँदासम्म नर्सले परिवारको जिम्मेवार सदस्यजस्तो गरी खट्नुपर्छ ।

दसैँमा नर्सहरु आफ्नो ड्युटीमा बढी खटिएको देखिन्छ । चाडबाडका बेला बिदा नपाउँदा कस्तो अनुभव हुन्छ ?

दसैँको बेला ५० प्रतिशत जति नर्स छुट्टीमा हुन्छन् । यसैले अस्पताल आउने नर्सको ड्युटी प्रायः डबल हुन्छ । अरुले दसैँ मनाइरहँदा आफूचाहिँ डबल ड्युटीमा बस्नुपर्दा चाडपर्व मनाउन पाइँदैन, आफन्त भेट्न र रमाइलो गर्न पाइँदैन । यस्तो स्थितिमा दुःख लाग्छ । दसैँको अवधिमा सामान्य परीक्षणका लागि बिरामी आउँदैनन् तर गम्भीर प्रकृतिका, आकस्मिकरुपमा आउने बिरामी अनुमान नै गर्न नसकिने हुन्छ । त्यसैले नर्सहरु सधैँ अलर्ट बस्नुपर्छ ।

तपाईं आफैं नर्सिङ सुपरभाइजर पनि हुनुहुन्छ, यसको राम्रो व्यवस्थापन कसरी हुन सक्छ त ?

उचित व्यवस्थापन गरेकै कारण ५० प्रतिशत नर्सले छुट्टी पाएका हुन् । दसैँका बेला बिरामी परिएला कि भनेर पहिला नै नियमित स्वास्थ्य परीक्षण गराएमा बिरामीको संख्या कम हुने थियो । तोकिएको समयमा विषय विज्ञसँग भेट्ने, खानपानमा ध्यान दिने, सरसफाइमा जोड दिने गरेमा बिरामीको संख्या कम हुन्छ र नर्सहरुले पनि पालैपालो दसैँ मनाउन सक्छन् ।

आफ्नो सेवा अवधिमा चाडपर्वको बेलाका कुनै स्मरणीय कुराहरु छन् कि ?

म उपत्यकाभित्रैको भएका कारण चाडपर्वको बिदा लिएर मनाउने अवसर थोरै मात्र पाएकी छु । आफ्नो मातहतका नर्सहरुलाई छुट्टी दिएर उहाँहरुको अनुहारमा खुशी देख्दा मलाई रमाइलो लाग्छ । परिवारसँग बसेर चाड मनाउन नपाउँदा त मन दुख्छ नै, तर बाहिर देखाउन मिल्दैन । यस्तो बेलामा आफन्तबाट पनि कसैले नगरेको काम गरेको, कस्तो पेसामा लागेको भनेर गाली गर्दा साह्रै दुःख लाग्छ । यस्तो बिरामीको सेवा गरिरहेको पाउँदा सन्तुष्टि पनि मिल्छ ।

नर्सिङ पेसामा तपाईंलाई कति बेला साह्रै दुःख लाग्छ र कति बेला खुशी लाग्छ, किन ?

अत्यन्तै पीडा भएर बिरामी आइरहनुभएको हुन्छ । उहाँहरु निको भएर खुशीसाथ घर फर्कंदा खुशी लाग्छ । दसैँजस्तो चाडका बेला परिवारका सबै सदस्य एकठाउँमा भेला भएर रमाइलो गरिरहेका हुन्छन्, आफू भने ड्युटीमा बस्नुपर्दा अलि दुःखको अनुभव हुन्छ । यति नै बेला परिवारमा पनि छोरीलाई नर्स पढाएका कारण सँगै बसेर चाड मनाउन पाइएन भनेर गुनासो गर्दा मनभित्र दुख्छ ।

ड्युटी सकिने बेलामा आकस्मिक दुर्घटनाका बिरामी आए भने कसरी लिनुहुन्छ ?

त्यति बेला अत्यन्तै बिजी हुनुपर्छ । हाम्रो सेवा भनेकै आकस्मिक सेवा हो । सामान्य ड्युटी आउने बेलामा समयमै घर आउँछु भनिएको हुन्छ । आकस्मिक बिरामी आएको खण्डमा उपचारमा नै प्राथमिकता दिनुपर्छ । मेरो त परिवारले पनि यो कुरा बुझिसक्नुभएको छ । मैले यस्तो अवस्थालाई आफ्नो दायित्व र सेवाको भावनाले लिने गरेकी छु ।

चाडपर्व, परिवार केही नभनी ड्युटी गर्नुपर्दा कहिलेकाहीँ पेसाप्रति नै वितृष्णा लाग्दैन ?

त्यस्तो लाग्दैन । नर्सिङ पेसाले नै शून्य अवस्थाबाट आज यति ठूलो जिम्मेवारी बहन गर्ने क्षमताको विकास गराएको छ । नर्सिङ पेसामा लागेकै कारण मैले बिरामीको सेवा गर्न पाएको छु । यसमा मैले सन्तुष्टि पाएको छु । अर्को कुरा पेसाकै कारणले सञ्चारसँग नजिक हुन पाएर रेडियो, टेलिभिजनमा टक सो सञ्चालन गर्ने अवसर पनि पाएको छु । यसले गर्दा म पहिलेभन्दा धेरै भिन्न भइसकेकी छु । अस्पतालबाहेक लायन्स क्लब, अन्य निकायका गरी १ सयभन्दा बढी स्वास्थ्य कार्यक्रममा सहभागी भैसकेको छु । त्यसैले मलाई यो पेसाबाट वितृष्णा जागेको छैन, बरु यसैमा अझ अगाडि बढ्न पाए हुन्थ्यो भन्ने लाग्छ ।

सेवा दिँदादिँदै बिरामीको मृत्यु भयो भने आफूलाई कसरी सम्हाल्नुहुन्छ ?

शुरुमा काम गर्दाको समयमा अत्यास लाग्थ्यो । तर हामीले सेतो कोट लगाउँदा नै जस्तोसुकै दुःख परे पनि बिरामीको सेवामा विचलित हुनेछैन भनेर प्रतिबद्धता गरेका हुन्छौं । त्यसैले विचलित नभई अरु बिरामीको सेवामा लाग्नुपर्ने हुन्छ । सबै बिरामीलाई दुखाइ नहोस्, निको पारेर पठाऊँ भन्ने हुन्छ । तर सबै बिरामीलाई निको बनाएर पठाउन सकिन्न । यो सबै डाक्टर–नर्सको हातमा हुँदैन । त्यस बेला हामीलाई पनि पीडा हुन्छ । आकस्मिक हुने घटनामा अझ बढी पीडा हुन्छ । तर पनि आफूलाई सम्हाल्नै पर्ने हुन्छ ।

हिँडेर आएको बिरामी अकस्मात् मृत्यु हुँदा डाक्टर–नर्सले पहिला नै बिरामीको बारेमा किन भनेनन्, लापरबाही भयो भनिन्छ । त्यस्तो अवस्थामा तपाईंले बिरामीका आफन्तलाई कसरी बुझाउनुहुन्छ ?

आकस्मिक बिरामीमा जटिलता थपिएर मृत्यु हुनेमा ५ प्रतिशतको हाराहारीमा देखिन्छ । यस्तो समस्या हामीले भोगिरहेका हुन्छौं । अस्पताल आइसकेपछि डाक्टर र नर्सले दिने सेवाप्रति सकारात्मक सोच राख्नुपर्छ । खानपान, वातावरण, जीवनशैलीले बिरामीको जटिलता बढ्दो छ । यस्तो अवस्थामा बिरामीको उपचार गर्दागर्दै पनि जटिलता थपिएर बिरामीको मृत्यु हुन सक्छ । हामी हरेक व्यक्ति पूरा समय अर्थ उपार्जनका क्षेत्रमा लगाउँछौं तर आफ्नो स्वास्थ्यको बारेमा ५ मिनेट पनि सोचेको पाइन्न । त्यसैले आकस्मिक समस्या बढी हुन्छन् । हामी बिरामीलाई बचाउने कोशिश गर्छौं, सकेनौं भने आफन्तलाई सम्झाइ–बुझाइ गर्छौं । बिरामीको आफन्तको मनभित्रको घाउ औषधिले निको बनाउँदैन, सम्झाउनै पर्छ, बुझाउनै पर्छ ।

तपाईंले सुपरभाइजरको भूमिका पनि निर्वाह गर्दै बिरामीको पनि चित्त बुझाउनुपर्छ । कसरी समय व्यवस्थापन गर्नुहुन्छ ?

बिहान–बेलुकाको व्यस्त समयमा बिरामी धेरै आउने भएकाले सक्दो बिरामीसँग हुन्छु । बिरामी, डाक्टर, नर्सहरुको एक–आपसको समन्वयात्मक भूमिकालाई नियाल्छु । जटिल समस्या लिएर आएका बिरामीलाई पहिलो पालो मिलाउने कोशिश गर्छु । बिरामीको कम चाप हुने समय मिलाएर प्रशासनिक काम गर्छु । यस्तो अवस्थामा बिरामी र आफन्त विवेकशील भैदिए बस्नै गाह्रो भएर आएका बिरामीको उपचार अलि छिटो हुन्थ्यो । बिरामीको समस्या बिरामीले नै बुझिदिए हुन्थ्यो भन्ने लाग्छ ।

अस्पताल प्रशासनले गर्ने व्यवहारप्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

व्यवस्थापनले सेवा भावनाले ओतप्रोत भएका नर्सहरुको मूल्यांकन गर्न चुक्नुहुँदैन भन्ने लाग्छ । अल्का ६ महिनाको हुँदा म सेवामा प्रवेश गरेको हो । पहिलाको सानो ठाउँ, थोरै जनशक्तिका माझ आएका ठूलो संख्याको बिरामीको सहज व्यवस्थापनदेखि अहिलेको सुविधासम्पन्न अल्का निकै फड्को मारिसकेको छ । हामीले यो अस्पताललाई दोस्रो घर सम्झेर आफ्ना घरपरिवारलाई भन्दा बढी समय दिएका छाैँ । अस्पताल व्यवस्थापनले हाम्रो योगदानलाई सम्मान गर्नुपर्छ भन्ने लाग्छ ।

नर्सिङ पेसा कसैले जिम्मेवारीका रुपमा त कसैले जागिरका रुपमा गरिरहेका हुन्छन्, वास्तवमा गर्नुपर्ने कसरी हो ?

मानवजीवनमा पैसा र सेवा दुवै आवश्यक कुरा हुन्, मिलाएर लान सक्नुपर्छ । औषधि बजारमा किन्न पाइन्छ । सेवा र आत्मसन्तुष्टि बजारमा किन्न पाइन्न । त्यसैले नर्सिङ पेसा अरुभन्दा फरक हो । यसलाई जिम्मेवार
पेसाको रुपमा लिनुपर्छ ।

नयाँ आउने नर्सहरुका लागि तपाईंको सुझाव के छ ?

वास्तवमै सेवा गर्ने हो भने मन, बचन र कर्मले सेवा गर्नुपर्छ । भित्री मनबाट नै सेवाभाव राखेर काम ग¥यो भने आफ्नो पेसा र बिरामीप्रति बफादार भइन्छ । नर्सहरु ड्युटीमा हुँदा नैरास्यता धेरै हुन्छ । पढाइमा व्यावहारिकता बुझिन्न । काममा आएपछि रातदिन नभनी खट्नुपर्छ । दबाब र रहरमा नर्स नबन्नुस्, बुझेर मात्र नर्स पढ्नुस् र पेसामा समर्पित भएर लाग्नुस् । नयाँ बहिनीहरुलाई यही मेरो सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्