दसैँमा हातको सौन्दर्य



 

बिनु श्रेष्ठ (ब्युटिसियन)

हाम्रा हातले सदैव केही न केही काम गरिरहेकै हुन्छन् । अझ महिलाहरुको जीवनशैली नै यस्तो हुन्छ कि चाहेर वा नचाहेर पनि सबै काम गर्नुपर्ने हुन्छ । भान्साको धन्दा गर्ने, लुगा धुने, सरसफाइ गर्ने, बगैंचा–खेतीको हेरविचार गर्ने आदि आदि । अन्य सानातिनादेखि ठूला घरायसी कामहरु पनि गर्नुपर्ने हुन्छ । तर आफ्नो हातलाई सुरक्षित र सतर्कतापूर्वक प्रयोग गर्ने बानी नहुँदा विभिन्न समस्या आउँछ । जसले गर्दा हात, नङ, औंला, हत्केला, पाखुरा, कुहिनो आदिको स्वास्थ्य र सौन्दर्यमा नै नकारात्मक असर परिरहेको हुन्छ ।

हातको छाला चाउरी पर्ने, नसाहरु देखिने, छाला कालो हुने, दाग–धब्बा आउने, एलर्जी स्पट आउने, औंलाहरुको आकार बिग्रने, नङ टुक्रिने, सुख्खा हुने, चमकहीन बन्ने, कुहिनो कालो र फुस्रो हुने जस्ता समस्या हुने गरेको पाइन्छ ।

सुन्दर हातको पनि समयक्रमसँगै सौन्दर्यमा ह्रास हुँदै गएको पाइन्छ । हात खस्रो हुने, फुट्ने, सुख्खा र रुखो हुने हुन्छ । यसै गरी हातको छाला चाउरी पर्ने, नसाहरु देखिने, छाला कालो हुने, दाग–धब्बा आउने, एलर्जी स्पट आउने, औंलाहरुको आकार बिग्रने, नङ टुक्रिने, सुख्खा हुने, चमकहीन बन्ने, कुहिनो कालो र फुस्रो हुने जस्ता समस्या हुने गरेको पाइन्छ । तसर्थ सुन्दर हातहरुलाई यथास्थितिमा राख्नको लागि हामीले हात, नङ, औंला, कुहिनो, हत्केलाको सौन्दर्यप्रति सतर्कता र सजगता अपनाउने बानी बसाल्नुपर्छ ।

हात सुन्दर र स्वस्थ बनाउन मुख्य गरी निम्न उपायहरु अपनाउन सकिन्छ : 

१. मोइस्चराइजिङ साबुन : कुनै पनि मोइस्चर र क्रिमयुक्त साबुन प्रयोग गरेर हात धुने गर्नुपर्छ । जस्तै– डोभ, पियर्स वा अन्य साबुन प्रयोग गर्नु राम्रो हुन्छ । मनतातो वा रुम टेम्प्रेचर पानी प्रयोग गर्ने ।

२. पञ्जा : घरायसी काम गर्दा पञ्जा लगाउने । बारी–बगैंचामा काम गर्दा, लुगा धुँदा, सरसफाइ गर्दा रबरको पञ्जा लगाउने । जाडो मौसममा हातको सुरक्षाका लागि कटन वा उलन ग्लोभ लगाउने । धेरै तातो र चिसो पानीको प्रयोग गरी काम गर्दा पनि रबर ग्लोभ्स लगाएर गर्ने ।

३. तातो हावा आउने ह्यान्ड ड्रायरको सकेसम्म प्रयोग नगर्ने । प्रशस्त मात्रामा पानी पिउने । साथमा फलफूल, सागसब्जी र डेरी प्रडक्ट सन्तुलित भोजन सेवन गर्ने ।

४. ह्यान्ड लोसन, मोइस्चराइजर वा क्रिम लगाएर हात, नङ, औंला, हत्केलाको मसाज गर्ने ।

५. राति सुत्नुअघि सुख्खा रुखो हात भएमा ग्लिसिरिन, भ्यासलिन, क्र्याक क्रिमको प्रयोग गर्ने ।

यी माथि बताइएका कुराबाहेक घरेलु विधि अपनाई मेनिकेअर गरेर पनि हातलाई स्वस्थ र सुन्दर बनाउन सकिन्छ । त्यसका लागि निम्न कुरा गर्न सकिन्छ ।

१. नङलाई काटेर फाइलिङ गरी राम्रो सेप दिने ।

२. मनतातो पानीमा कागतीको जुस, ग्लिसरिन मिसाएर ५–७ मिनेट डुबाउने । नङमुनि र वरिपरि हल्का ब्रस गरेर फोहोर हटाउने ।

३. सफा पानीले धुने र पुछ्ने ।

४. घरेलु स्क्रब तयार पारेर लगाउने अनि ५ मिनेटपछि हल्का मसाज गरी पखाल्ने । राइस पेस्ट, दही, टोमाटो पल्पको मिश्रणबाट स्क्रब तयार पार्न सकिन्छ ।

५. ओलिभ ओइल, कोकोनट ओइल वा ह्यान्ड क्रिम लगाएर नङ, औंला, हत्केला र पूरा हातको मसाज गर्ने ।

६. ह्यान्ड प्याक लगाउने र १० मिनेटपछि पखाल्ने (बनाना पल्प, ओट्स मिल, मह र बेसार मिलाएर ह्यान्ड प्याक बनाउने ।

७. मोइस्चराइजर लगाउने ।

८. कुहिनो कालो र रुखो छ भने कागतीलाई आधा पारेर चिनीमा चोपी दल्ने गर्नुपर्छ ।

९. अझ आकर्षक र सुन्दर हात बनाउन नेल पालिस, नेल डिजाइन, एससरिजको प्रयोग गर्न सकिन्छ ।

१०. फुर्सदको समयमा यसरी हप्ता–दश दिनमा मेनिकेअर गर्नाले हातको सौन्दर्यको रक्षा हुने गर्दछ ।

यस दसैँ–तिहारमा माथि बताइएका उपाय अपनाएर आफ्ना हात सुन्दर र आकर्षक बनाउनुस् । यसले तपाईंमा आत्मविश्वास पनि बढाउँछ । जीवनको आनन्द लिनुहोस्, चाड मानाउनुहोस् ।

हातको स्याहार र मेनिकेअरबाट हुने फाइदा

१. शारीरिक र मानसिकरुपमा आराम मिल्छ ।
२. नसाहरु पनि कम देखिन थाल्छ ।
३. दाग, धब्बा, एलर्जी स्पट आउन दिँदैन ।
४. कुहिनो सफा बन्छ ।
५. हात सफा र सुन्दर हुन्छ ।
६. हातको व्यायाम हुन्छ ।
७. चाउरीपना कम गर्छ ।
८. नङको आकार राम्रो हुन्छ र नङ मजबुत बन्छ ।
९. मृत त्वचा हटाएर हात मुलायम बन्छ ।
१०. रक्तसञ्चार वृद्धि भई हात, नङ स्वस्थ बन्छ ।

प्रतिक्रिया दिनुहोस्