मन कुनै वस्तु होइन । यसलाई देख्न, छुन र समात्न पनि सकिँदैन । यो चञ्चल छ र कहिलेकाहीँ भड्किन पनि सक्छ । मन भड्केर मानसिक सन्तुलन गुमाउन पुगेको व्यक्ति यस धर्तीमा रहे पनि उसका लागि यो धर्ती अर्कै संसार बनिदिन सक्छ । भड्केको मन परिवर्तन गराएर यथास्थितिमा ल्याउन औषधि उपचार एवं मनोवैज्ञानिक उपाय अवलम्बन गर्नुपर्ने हुन्छ ।
मन भड्किएका मान्छेको उपचारमा करिब चार दशक लामो अनुभव बटुलेका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्माले यस विषयमा पुस्तक नै तयार गरेका छन् । वरिष्ठ स्वास्थ्य पत्रकार लक्ष्मण अधिकारीद्वारा सम्पादित ‘मान्छेको मन’
नामको उक्त पुस्तक मञ्जरी पब्लिकेसनले हालै बजारमा ल्याएको छ ।
मानसिक रोगले ग्रस्त भई सडकमा भौंतारिएका, आत्महत्या गर्ने मनस्थितिमा पुगेका, उपचार गर्ने डाक्टरलाई नै आक्रमण गर्ने अवस्थामा पुगेकाहरु पनि उपचारपछि पूरै निको भई प्रगति गरेका सफलताका जीवन्त कथाहरु यस पुस्तकमा डा. शर्माले समेटेका छन् । डा. शर्माले विचलित भएका मान्छेका मनलाई सही ट्र्याकमा ल्याउने क्रममा सफलता प्राप्त गरेका घटना मात्र नभई असफलताहरुलाई पनि प्रस्तुत गरेका छन् ।
मानसिक समस्याले विक्षिप्त बनेको छोरालाई उपचार गर्दा सफलता हात नपरेपछि आफ्नै बाबुले बिरानो ठाउँमा लगेर छोड्न बाध्य हुनुपरेको हृदयविदारक घटना पढ्दा आँखा नरसाउने को होला र ?
यो घटनालाई डा. शर्माले बडो मार्मिक ढंगले प्रस्तुत गरेका छन् । त्यस समयमा डा. शर्मा काठमाडौंको सिफलस्थित एक क्लिनिकमा समेत कार्यरत थिए । उनले आफ्नो पुस्तकमा उल्लेख गरेअनुसार त्यहाँ एकजना व्यक्ति मर्निङवाक गर्दै आएर क्लिनिक सञ्चालक डा. विष्णुप्रसादसँग धेरै बेर कुरा गरेर जाने गर्थे ।
डा. शर्मा लेख्छन्, ‘ती व्यक्तिको छोरा मानसिक रोग सिजोफ्रेनियाबाट पीडित रहेछन् । रोगले अत्यधिक च्यापेकाले औषधिले पनि नछुने अवस्था भएछ । नाङ्गै भएर हिँड्ने, तोडफोड गर्ने, कपडा पनि फेर्न नसक्ने, जहाँ पायो त्यहीँ दिसापिसाब गर्ने, सरसफाइ गर भन्दा आक्रमण गर्न आउने, राति उठेर हिँड्ने, एक्लै हाँसिरहने अवस्था रहेछ । यसले गर्दा परिवार नै आजित भएछ ।’
मानसिक समस्याले विक्षिप्त बनेको छोरालाई उपचार गर्दा सफलता हात नपरेपछि आफ्नै बाबुले बिरानो ठाउँमा लगेर छोड्न बाध्य हुनुपरेको हृदयविदारक घटना पढ्दा आँखा नरसाउने को होला र ? यो घटनालाई डा. शर्माले बडो मार्मिक ढंगले प्रस्तुत गरेका छन् ।
शुरुमा उसलाई त्यही सिफलको क्लिनिकमा जँचाउन ल्याइएको रहेछ । खासै सुधार हुन नसकेपछि परिवारलाई निकै कठिनाइ हुँदै गएछ । जति उपचार गरे पनि छोरो निको नहुने देखेपछि बाबुले छोरालाई दक्षिण भारतको एक रेल स्टेसनमा पु¥याएछन् । स्टेसनमै गम्छा ओछ्याएर बिस्कुट र एक–दुई रुपियाँ राखिदिएछन् । त्यसपछि एकछिन् बस् है भनी छोरालाई
छोडेर नेपाल फर्किएछन् ।
डा. शर्माले लेखेका छन्, ‘त्यो बिरामी छोरासँग केही थिएन । भएर पनि केही गर्न सक्ने अवस्था थिएन । घरको ठेगाना पनि भन्न सक्तैनथ्यो । त्यो छोरा पछि कहिल्यै पनि फर्किर आएन । ती बाबुलाई पक्कै पनि पश्चात्ताप भयो होला । डाक्टरबाट सान्त्वना पाउनका लागि पनि उनी पछिसम्म बराबर क्लिनिकमा डा. विष्णुप्रसादसँग भेट्न आउँथे, लामो समय कुरा गरेर जान्थे ।’ उपचार नै हुन नसकेपछि बिरानो मुलुकमा लगेर बेवारिसे छोड्नुपर्दा ती बाबुलाई कति वेदना भयो होला ?
यस्ता घटना पढ्दा पाठकका आँखा रसाउन सक्छन् । उपचार हुन नसकेका घटना मात्र होइन, उपचार पाई जीवन सफल भएका घटना पनि डा. शर्माले आफ्नो पुस्तकमा प्रस्तुत गरेका छन् ।
एकदिन डा. शर्माको क्लिनिकमा एक परिचित स्वास्थ्यकर्मी आए । जनआन्दोलनमा लागेर हिरासतमा परेका एक युवकले हिरासतमुक्त भएपछि सडकमा फोहोर खाँदै गरेको कुरा उनले सुनाएछन् । मन नै कटक्क हुने गरी उनले डा. शर्मासँग सहयोग मागेछन्, ‘व्यवहार पनि फरक, एक्लै बोलिरहने, बहुलाए जस्तो छ, सहयोग गर्न सकिन्थ्यो कि सर ?’
डा. शर्माको मन पग्लियो । उपचारमा सहयोग गरे । डा. शर्मा लेख्छन्, ‘दुईवटा इन्जेक्सन लाएपछि अलि सुधार भएछ, लिएर आए । हेरेँ, रोगको प्रभाव अझै छ । एक्लै बोलिरहने तर सोधेको जवाफ
दिने सक्ने अवस्था ।’
२०४६ को जनआन्दोलमा जुलुसमा जाँदा उनी पक्राउ परेछन् । केही महिना हिरासतमा बसेपछि आन्दोलन पनि सकियो, प्रजातन्त्र आयो, उनी पनि छुटे । अफिस जाँदा, ‘तिमीलाई त बैंकले पहिले नै हटाइसक्यो, अब आउन पर्दैन’ भन्ने जवाफ पाएपछि उनी निकै विचलित बनेका रहेछन् । मानसिक रोगले च्याप्दै लगेपछि उनका दुर्दिन शुरु भएछन् ।
डा. शर्माले लेखेका छन्, ‘त्यसपटक मैले नै तेस्रो सुई लगाइदिएँ । ती स्वास्थ्यकर्मीले पनि उनलाई सहयोग गर्दै थिए । तेस्रो सुई लगाएपछि धेरै सुधार देखियो । त्यसपछि ती व्यक्तिले भने– अब म बस्ने ठाउँ र नयाँ काम खोज्छु । काम नपाएसम्म राति यही पाटीमा बस्छु, बरु मलाई चार–पाँच दिनलाई खान पुग्ने पैसा दिनुस्, कमाएर तिर्छु ।’
डा. शर्माले पुस्तकमा उल्लेख गरेअनुसार उपचार सफल हुँदै गएपछि ती व्यक्ति एक कम्पनीको प्रमुख एकाउनटेन्टमा नियुक्ति भएछन् । त्यसपछि उनको आर्थिक जीवनमा पनि सुधार भयो । विवाह गरे । पहिले बैंकमा काम गरेको मानिस सुट–टाई लगाएर त्यही स्तरमा हिँड्न थाले । एक सहकारी संस्थामा असिस्टेन्ट म्यानेजर हुँदै राष्ट्रिय स्तरको एक वाणिज्य बैंकको म्यानेजर हुन पुगे । अब उनी सो बंैकको सीईओ हुने लाइनमा पुगेका छन् ।
यस्ता जीवन्त घटना मात्र नभएर यस पुस्तकमा मानसिक स्वास्थ्यसम्बन्धी धेरै कुरा अटाइएको छ । पुस्तकको प्रथम खण्डमा मानसिक समस्याका बारेमा चर्चा गरिएको छ । दोस्रो र तेस्रो खण्डमा डा. शर्माले आफूले बाल्यावस्थादेखि विद्यार्थी जीवनमा भोगेका तीता–मीठा प्रसंंग एवम् आफ्ना निजी प्रसंगहरुलाई स्थान दिएका छन् । कतै हाँसेर हुरुक्क हुने त कतै भावुक बनाउने सन्दर्भहरुले पुस्तक पठनीय बनेको छ ।
आफूले मानसिक रोग उपचारका क्षेत्रमा सँगालेका अनुभव लेखेर भावी पुस्तालाई छोड्नुपर्छ भन्ने लागेर नै पुस्तक लेखेको डा. शर्माले पुस्तक सार्वजनिकीकरण समारोहमा बताएका छन् । सो अवसरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले मुटु उपचार गराउने करिब ५० प्रतिशत व्यक्तिमा मानसिक समस्या हुने भएकाले यो पुस्तक त्यस्ता व्यक्तिका लागि पनि लाभदायी हुने बताएका छन् । साँच्चै यो पुस्तक मानसिक समस्या न्यूनीकरणमा भावी पुस्ताका लागि मार्गदर्शक बन्नेछ ।
लामो समय मानसिक रोगको उपचार क्षेत्रमै कार्यरत रही खारिएका डा. शर्माको यस पुस्तकको अध्ययनले विचलित भएका मान्छेको मनलाई सही ट्र्याकमा ल्याउन मद्दत मिल्ने आशा गर्न सकिन्छ ।
प्रस्तुति : रोहिणी घिमिरे