सामान थुपार्ने रोग



डा. विश्वबन्धु शर्मा, मानसिक रोग विशेषज्ञ । 

बिरामीका घरमै गएर परामर्श दिन मलाई मन पर्दैन । त्यसरी ‘होम भिजिट’ मा गएर हेर्दा उपचार त्यति प्रभावकारी हुँदैन । बिरामी डाक्टरसँग खुल्दैन र गोपनीयताको पनि पालना हुँदैन । तर कहिलेकाहीँ ‘नाइँ’ भन्न नमिल्ने स्थिति आउँछ र बाध्य भएर गइदिनुपर्छ ।
एकपटक त्यस्तै भयो । एकजना चिकित्सक साथीले उहाँको आफन्तलाई घरमै गएर हेरिदिन भन्नुभयो । बिरामी हिँड्न पनि नसक्ने, एकल महिला, सहयोगीको भरमा बाँचिरहेकी, गइदिनै पर्‍यो ।

उनको घरबाहिरबाट मात्र हैन, भित्र पनि भव्य थियो । आलिसान बंगला, स्याहार नपाएको फूल–बगैंचा र विशाल कोठाहरू । तर अचम्मको कुरा, त्यत्रो घर भईकन पनि भित्र कतै खुट्टा राख्ने ठाउँ नै थिएन, सामान नै सामानले भरिएका, अस्तव्यस्त कोठाहरू । भित्तामा ठडिएका सबै अग्ला–अग्ला दराजमा विभिन्न देशका सजावटका सामान अटाई–नअटाई कोचेर राखिएका । तिनलाई सजाएर राख्ने त ठाउँ नै थिएन । घर सजाउने कति सामान त यसै भुइँमा पल्टाएर, खप्ट्याएर, ठड्याएर राखिएका थिए ।

आफूले थुपारेका प्रयोगहीन सामानसँग छुट्टिनुपर्दा देखा पर्ने एक प्रकारको मानसिक विचलनलाई नै ‘थुपार्ने रोग’ या (Hoarding Disorder) भन्छन् ।

घरमा पस्नेबित्तिकै वरिपरि ध्यान दिएर हेरें । कृस्टलका विभिन्न आकार र साइजका कप–प्लेट, ग्लास–सेट आदि यसरी राखिएका थिए कि बिक्री कक्षमा पनि त्यति साह्रो बाक्लै राखेका हुँदैनन् । विभिन्न ठाउँका प्राकृतिक दृश्य कैद गरिएका पेन्टिङहरू त्यत्तिकै भुइँबाट भित्तातिर कोल्टे पारी एकपछि अर्को गरी खप्ट्याएर अड्याइएका थिए । तिनलाई टाँसेर राख्ने खालि भित्ता थिएन । बैठक कोठा कुनै व्यस्त व्यापारीको गोदामजस्तै लाग्थ्यो । सोफा, कुर्सी र टेबुलमाथि पनि पुराना पत्रपत्रिका र पुस्तकका चाङ थुपारिएका थिए । हेर्दै थाहा हुन्थ्यो ती सब सामान त्यहाँ ल्याएर राखेपछि कसैले छोएको पनि थिएन, प्रयोगको त के कुरा ।

बैठकबाट एउटा ढोकामा पसेपछि भान्सामा पुगिन्थ्यो, अर्कोबाट बेडरुममा । ढोकामा पनि बेरेर राखेका कार्पेटलगायत लामा–लामा सामानहरू तेस्र्याएर राखिएका थिए, जसले गर्दा ती ढोकाहरू बन्द गर्न मिल्दैनथ्यो । भान्सा कोठाको ढोकातिरबाट सड्न लागेका खानेकुराको नमिठो गन्ध आइरहेको थियो । ढोकाबाहिरबाटै मैले भान्सातिर यसो चियाएँ । भान्सा कोठाको भुइँ पनि खालि थिएन । किताबका खात, मुठा पारेका पत्रिकाहरू भुइँभरि असरल्ल थिए ।

त्यो घरमा बस्ने महिलाको समस्या मलाई अनुमान भइसकेको थियो । मैले जाँच्नुपर्ने महिला बेडमै रहिछन् । बेडरुममै जानुपर्ने भयो । बैठक कोठाका सामानहरू नाघ्दै, फड्किँदै, तर्किंदै गरेर बेडरुमभित्र पसें । मैले त्यस्तो बेडरुम आजसम्म देखेको छैन । शायद ‘तिलको दाना राख्ने ठाउँ पनि नभएको’ भनेको त्यस्तै होला । कोठाभरि प्रत्येक सामानमा आँखा पर्ने गरी यत्रतत्र थुपारिएका सिरक, कम्बल, गलैंचा, चगटी, ओढ्ने, ओछ्याउने के–के हो, के–केले पूरै भरिएको । शायद चाहिएको बेला खोज्न सजिलो होस् भनेर कति सल, पछ्यौरा, स्वीटर आदिको टुप्पो मात्र देखिन्थ्यो, बाँकी भाग थुप्रोभित्र थियो । कतै खुट्टा राख्नुप¥यो भने सामान पन्छाउनुपर्ने । ढोका बेडसँग जोडिएको थियो, त्यो भने आधा बन्द थियो । त्यहाँभित्र के–के थियो, देखिँदैनथ्यो । तर त्यो ठाउँ पनि भरिएको हुनुपर्छ । चिकित्सक साथी ट्वाइलेट पसेका थिए । पछि भन्दै थिए, ‘बाथरुम पनि पूरै सामानले भरिएको थियो ।’ महिलाले बेडबाट बाथरुम जाँदा पनि लठ्ठी र बैसाखीको सहारा लिनुपर्ने रहेछ ।

मैले उनको संक्षिप्त परीक्षण गरें । अनुहार हेर्दा भद्र, शालीन लाग्ने महिला साँच्चै धेरै पढे–लेखेकी विद्धान्, विदेशमा धेरै वर्ष काम गरेकी रहिछन् । उनको मुख्य समस्या थियो निद्रा नलाग्ने । विभिन्न निद्राका औषधिहरू काफी मात्रामा सेवन गर्दिरहिछन् । औषधिले पनि छुन छाडेछ, निदाउनै नसक्ने । अनि प्रायः तनावग्रस्त हुदिरहिछन् ।

घरभरि सामान भए, कतै ठाउँ छैन, एकजनालाई पनि बस्न गाह्रो भयो । तर सामान कम गर्नै नसक्ने । कति फुटे, चर्के । कति प्रयोग नभएर बिग्रे । सामान हटाउने सोच बनायो कि उनलाई तनाव हुने । कुनै पनि सामानसँग छुट्कारा लिनै नसक्ने । आफन्तले कुनै मामुली जिनिस लिन चाह्यो कि गाह्रो भइहाल्ने । दिन मन छ तर दिन नसक्ने, कसै गरी दिइहालिन् भने तुरुन्तै फिर्ता लिने । शुरु–शुरुमा ‘फेरि काम लाग्छ, कुनै बेला चाहिन्छ, आफूसँगबाट गुमेपछि फेरि कहाँ पाइन्छ रु’ भन्ने जस्ता विचारले गर्दा दिन या फाल्न मन लाग्दैनथ्यो । खोजेको बेलामा फेला पर्दैन कि भनेर देखिने गरी हरेक चिज राख्दा त्यस्तो कुरुप भएको थियो उनको घर ।

तर पछि–पछि त ‘कुनै बेला काम लाग्न सक्छ’ भन्ने विचार शिथिल हुँदै गयो । बरु सामान फाल्दा या दिएर पठाउँदा चरम घबडाहट, बेचैनी, चिडचिडाहट हुन थाल्यो । त्यही मानसिक समस्याले गर्दा उनी आफैंले थुपारेका पत्रु सामानको कैदी भएकी थिइन् । ओछ्यान पर्नुभन्दा पहिले त कुनै सामान चाहिँदा तुरुन्त फेला परोस् भनेर देखिने गरी राख्ने, अझ नजिक ल्याउने, अरुभन्दा माथि राख्ने जस्ता बेतुकका काममा समय फाल्दी रहिछन् । तर जति नै देखिने गरी राखे पनि कुनै सामान थुपारेको ठाउँबाट झिकेर प्रयोगमा ल्याएको उनलाई याद छैन । हाम्रो कुराकानीको अन्त्यतिर उनले स्वीकार गरिन्, ‘यो सब बेकार हो, काम लाग्दैन, अब त अति भो, हटाइदिन्छु भन्यो तर फाल्ने बेलामा यस्तो गाह्रो हुन्छ कि सक्दै सक्दिन ।’

हिँडडुल गर्न नै गाह्रो हुने गरी ओछ्यान पर्नाको कारण पनि अनौठो रहेछ । रातमा बत्ती गएको बेलामा बाथरुम जान्छु भनी छामछुम गर्दै हिँड्दा भुइँमा थुपारेका सामानमा खुट्टा अल्झेर लडिछन् । फिलाको हढ्डीको गेडी नै भाँचिएछ । अप्रेसन सफल भएनछ, लठ्ठीको सहारामा हिँड्नुप¥यो । अलि पछि लठ्ठी टेकेर भान्सामा हिँड्दै गर्दा भुइँमा छरिएका पत्रिकाका चिप्ला गातामा लठ्ठी चिप्लिएछ, फेरि लडिन् । यसपालि अर्को खुट्टाको घुँडाका हड्डी भाँचिएछन् । दुईटै खुट्टा भाँच्चिएपछि सधैँको लागि ओछ्यानमा परिन् । त्यत्रो ठूलो घर, घरभरि सामान, त्यसमाथि शारीरिक अपांगता, उनको जीवन झन् कष्टकर भयो । यस्तो अवस्थामा पनि वर्षौंदेखि थुपारेका कुनै काममा नआउने सामान बिदा गर्न नसक्ने । कुनै मामुली सानो वस्तु हटाउने भन्नेबित्तिकै बेचैनी शुरु हुने । आत्तिने, झर्कने, रिसाउने र आफ्ना ती पत्रु कुँडा–कंकटसँग छुट्टिनै नचाहने । यसरी आफूले थुपारेका प्रयोगहीन सामानसँग छुट्टिनुपर्दा देखा पर्ने एक प्रकारको मानसिक विचलनलाई नै ‘थुपार्ने रोग’ या (Hoarding disorder) भन्छन् ।

मैले ती महिलाको रोगको अलिकति पृष्ठभूमि जान्न खोजें । कहिलेदेखि यो शुरु भयो, एकिनसाथ भन्न सकिनन् । बाल्यकालदेखि नै मामुली वस्तु, टुटेफुटेका व्यक्तिगत चिजहरू ‘पछि काम लाग्छ’ भन्दै जम्मा गर्थिन् रे ! उनका बाबुआमामा पनि कुनै सामान झट्ट फालिहाल्ने बानी थिएन रे ! घरायसी सामान टुट्ने–फुट्ने भयो भने त्यसका बीँड, ढकनी, नट–बोल्ट, वासरजस्ता कवाडी पनि पछि कहीँ काम लाग्छ भनेर राख्ने चलन रहेछ । यी महिलाले शुरु–शुरुमा पत्रपत्रिका कटिङ, चित्रहरू, क्यालेन्डरका फोटोहरू जम्मा गर्दिरहिछन् ।

जागिरको सिलसिलामा विदेशतिर बस्न थालेपछि यो प्रवृत्ति झनै बढेछ । प्रायः उनले जम्मा गर्ने पत्रपत्रिका, क्यालेन्डरका टुक्रा, मसिना भाँडाकुँडा, घरायसी मर्मत–सम्भारमा प्रयोग हुने मसिना औजारहरु, किला–काँटा, धागो–डोरीजस्ता सामान बढी थिए । त्यसबाहेक प्याकेट या बट्टामा बिक्री हुने खानाका रहेलपहेल भान्साभरि थिए, कति सडिसकेका थिए । तिनैको कारणले भान्साबाट ह्वास्स गन्ध आइरहेको थियो । उनका लागि काम गर्ने सहयोगी पाउन पनि मुस्किल रहेछ । प्रायः कोही पनि धेरै दिन टिक्दा रहेनछन् । एक त घरको त्यस्तो हालत, त्यसमाथि केही फाल्न या मिलाएर राख्न नदिने ।

चिकित्सक साथीले पछि उनका केही निजी कुरा पनि मलाई खोले । विवाहको प्रस्ताव आउँदा पनि उनको पहिलो सर्त आफ्ना ‘संकलन’लाई केही गर्न नपाइने । अलि बढी छलफल गर्दै गएपछि केटालाई उनको स्वभाव, सोख अनौठो लाग्दो रहेछ अनि तर्केर छाड्ने रहेछ । उमेर ढल्केपछि पनि विवाहको प्रयास भएका रहेछन् । उनको घरभित्र पस्नासाथ त्यस्तो हालत देखेपछि कुरै अगाडि बढेनछ ।

यस्तो रोगको उपचार जटिल छ । मनोचिकित्सकले मात्र केही गर्न सक्दैन । साइकोलोजिस्ट, विभिन्न माध्यम प्रयोग गर्ने थेरापिस्ट (सी.बी.टी., संगीत थेरापी, खेल थेरापी, नाटक थेरापी, योग अभ्यास, ध्यान, चित्रकला आदि) को टोलीले लामो समयसम्म निरन्तर उपचार गरेर उनको व्यक्तित्वमा आमूल परिवर्तन ल्याउन जरुरी थियो, जुन मेरो बलबुतामा थिएन । त्यसबाहेक उनलाई निद्राको गोलीको बानी लागेको थियो । उनको उपचारका अप्ठ्याराहरू मैले साथीसँग छलफल गरें । उनले सेवन गरेका दबाईहरू सामान्य फेरबदल गरी सुत्ने बेलामा प्रणायाम, ध्यान, योगनिद्राको अभ्यास गर्न अनि शान्त पार्ने संगीतको धुन बजाएर सुन्ने सल्लाह दिएर हामी उनीसँग बिदा भयौं । पछि थाहा पाएँ, उनले त्यो रोगबाट कहिल्यै मुक्ति पाइनन् ।

यहाँनिर एउटा कुरा के ख्याल राख्नुपर्छ भने, विभिन्न प्रयोजनको लागि सामान जम्मा गर्ने स्वभाव या आर्थिक, सांस्कृतिक, बौद्धिक महत्वका सामानहरू संकलन गर्ने रुचि (जस्तै– सिक्का, हुलाक टिकट, हस्तकला, पेन्टिङ) लाई थुपार्ने रोग भन्न मिल्दैन । यस्तो सोख स्वाभाविक हो र कतिपय अवस्थामा यस्तो बानीले मानिसलाई सक्रिय राख्छ र सामाजिक सम्बन्ध विस्तार गर्न सहयोग गर्छ ।

प्रतिक्रिया दिनुहोस्