तीलगंगा आँखा प्रतिष्ठान (तीलगंगा इन्स्टिच्युट अफ अप्थालमोलोजी) मा २६ वर्ष (स्थापनाकाल) देखि नेत्र सहायकको रुपमा कार्यरत करुणा श्रेष्ठले त्यसअघि करिब ८ वर्ष त्रिपुरेश्वर आँखा अस्पतालमा समेत काम गर्नुभएको थियो । करिब ३४ वर्षदेखि अप्थालमिक नर्सिङ सेवामा समर्पित करुणा श्रेष्ठले आईएस्सी र नेत्र सहायकको अध्ययनपछि सो सेवामा प्रवेश गर्नुभएको हो । उहाँले अस्ट्रेलियामा यससम्बन्धी तालिम लिनुका साथै हैदरावादमा डिप्लोमा कोर्स पनि गर्नुभएको छ । उहाँनर्सिङ पेसालाई जागिरभन्दा पनि सेवाको भावले हेर्नुपर्ने विचार राख्नुहुन्छ र नयाँआउने नर्सहरुलाई पनि सेवा भावनाले पेसामा आउन सल्लाह दिनुहुन्छ । काठमाडौंमा जन्मनुभएकी करुणा श्रेष्ठ हाल तीलगंगा आँखा प्रतिष्ठानमा नर्सिङ ओपीडी इन्चार्ज अप्थालमिक हुनुहुन्छ । उहाँसँग साधना प्रतिनिधि भगवती तिमल्सिनाले गर्नुभएको कुराकानीको सार :
लामो समयदेखि आँखा स्वास्थ्यको क्षेत्रमा कार्यरत रहँदा कस्तो अनुभव गरिरहनुभएको छ?
मलाई यो क्षेत्रमा कार्य गर्न पाउँदा अत्यन्त खुशीको अनुभव भइरहेको छ । आँखा खराब भएर अन्धकारमा रुमल्लिएका बिरामीलाई उपचारमा सहयोग गरेर संसार देख्न सक्ने बनाउन पाउँदा सुखद अनुभूति हुन्छ । उनीहरुमा आएको खुशीले हामी नर्सहरुलाई पनि हर्षित बनाउँछ । आँखाजस्तो महत्ववूर्ण अंगको उपचार कार्यमा सहभागी हुन पाउनु मैले आफ्नो जीवनको गौरवपूर्ण अवसर ठानेकी छु ।
कहिलेकाहीँशल्यक्रियापछि पनि कसै–कसैलाई राम्रोसँग आँखा देख्न नसक्ने समस्या रहिरहन्छ । यस किसिमको समस्या, गुनासा सुन्नुपर्दा नरमाइलो अनुभव हुन्छ । तर पनि फेरि केही गर्न सकिन्छ कि भनेर हामी चिकित्सकसँग परामर्श, परीक्षणको व्यवस्था मिलाउँछौं ।
तपाईंले काम शुरु गर्दाको समयमा र अहिलेका बिरामीहरुमा के भिन्नता पाउनुहुन्छ ?
त्यस बेला अस्पताल आउने बिरामी प्रायः केही थाहा नभएका हुन्थे । हामीले धेरै परामर्श दिनुपथ्र्यो । तर अहिलेका धेरै बिरामी इन्टरनेटमा हेरेर मलाई यो रोग लागेको छ, कुन डाक्टरलाई देखाउने, के गर्नुपर्छ रु भन्दै आउँछन् । अहिलेका बिरामीमा चेतना राम्रो छ । आफुलाई के रोग लागेको छ र त्यो रोगको विशेषज्ञ कुन अस्पतालमा छ भनी जानकारी लिएर मात्र उपचार गरान आउँछन् । यो राम्रो हो ।
आँखा स्वास्थ्य क्षेत्रमा थप जनचेतना वृद्धिका लागि के गर्नुपर्ला ?
जनचेतना वृद्धिका लागि स्कूलदेखि नै यससम्बन्धमा शिक्षा दिन जरुरी छ । विशेष गरी ग्रामीण क्षेत्रमा चनचेतनाको खाँचो रहेको हामीले अनुभव गरेका छौं । जनचेतना अभिवृद्धिका लागि तीलगंगा अस्पतालको तर्फबाट हामीले स्कूल–स्कूलमा क्याम्प गर्ने गरेका छौं । स्कूलमा गएर बच्चाहरुको भिजन लिने, भिजन कम भएका विद्यार्थीलाई आँखाको सुविधा भएको सेन्टरमा गएर भिजन थेरापी, एम्ब्लाटोपियो थेरापीजस्ता परीक्षणहरु गराएर उनीहरुको उपचारमा सहयोग गर्ने गरेका छौं । यसका साथै क्याम्पहरुमा मोतियाविन्दुको शल्यक्रिया पनि गर्छौं । साथै जनचेतनामूलक जानकारीहरु पनि उपलब्ध गराउने गरेका छौं ।
आँखाका रोगमध्ये सबैभन्दा बढी कुन रोगका बिरामी हुन्छन् ?
आँखाका धेरै रोग छन् । त्यसमा पनि मोतियाविन्दु पहिलो नम्बरमै पर्छ । मोतियाविन्दु भएपछि आँखा देखिँदैन । मधुमेह भएकालाई रेटिना रोग लाग्छ । आँखामा चोटपटक लागेकाको आँखामा कर्नियामा रोग लाग्छ । त्यसमा पनि सबैभन्दा धेरै भनेको मोतियाविन्दु र जलविन्दु छ । त्यसपछि पर्दाको रोग छ ।
तपाईंको विचारमा आँखाको समस्या नै आउन नदिन के गर्नु उचित हुन्छ ?
बच्चाहरु स्कूल जानुअगाडि नै एकपटक आँखाको परीक्षण गराएर स्कूलमा भर्ना गर्दा राम्रो हुन्छ । साथै बेला–बेलामा आँखा परीक्षण गराउनुपर्छ । आँखासम्बन्धी चेतनामूलक कार्यक्रम र ग्रामीण क्षेत्रमा आँखा स्वास्थ्य क्याम्पका कार्यक्रम अलि वृद्धि गर्नुपर्छ भन्ने लाग्छ ।
विश्वमै नाम चलेको अस्पतालमा लामो समयदेखि सेवा गर्ने अवसर पाएकोमा के भन्नुहुन्छ ?
सर्वप्रथम त मलाई असाध्य गौरवको अनुभव हुन्छ । म आफैंलाई यो काम गर्दा धर्म कमाएजस्तो पनि लाग्छ । मलाई काम गर्ने अवसर दिनुहुने अस्पताल परिवारलाई धन्यवाद दिन चाहन्छु ।
नर्स भएर काम गर्दा कहिलेकाहीँनरमाइला क्षणहरु पनि त आउँछन् होला ?
बिरामीहरु ठूलो आशा र विश्वास बोकेर अस्पताल आएका हुन्छन् । तर कहिलेकाहीँशल्यक्रियापछि पनि कसै–कसैलाई राम्रोसँग आँखा देख्न नसक्ने समस्या रहिरहन्छ । यस किसिमको समस्या, गुनासा सुन्नुपर्दा नरमाइलो अनुभव हुन्छ । तर पनि फेरि केही गर्न सकिन्छ कि भनेर हामी चिकित्सकसँग परामर्श, परीक्षणको व्यवस्था मिलाउँछौं ।
काम गर्दागर्दै पनि कहिलेकाहीँअपजश खेप्नुपर्दा कस्तो महसुस हुन्छ ?
जसले काम गर्छ उसलाई पक्कै पनि जश–अपजश आउँछ । जसले कामै गर्दैन उसलाई न जश, न अपजश । अपजश आए पनि कसरी राम्रो गर्ने भनेर अपजशलाई स्वीकार्छु । यसका लागि म मानसिकरुपमै तयार रहन्छु । काम गरेपछि राम्रो भए पनि, नराम्रो भए पनि स्वीकार्नै पर्छ ।
बिरामीको उपचार राम्रो हुने सोचेर काम गरिरहँदा नराम्रो भयो भने के सोच्नुहुन्छ ?
काम गर्दा त्यस्तो समस्या हजारमा एकजनालाई हुन सक्छ । त्यस्तो समस्या आउन सक्ने कुरा पहिला पनि सम्झाएकै हुन्छौं, अन्त्यमा त्यस्तो भयो भने बिरामीसँग माफी मागेर पठाउँछौं । परामर्शका बाबजुद पनि बिरामीको चित्त नदुखोस् भनी म आफैंले माफी मागेर पठाउँछु । यसो गर्नाले बिरामीले चित्त बुझाएर जान्छन् ।
बिरामीको उपचारपछि तपाईंलाई अत्यन्तै खुशी र दुःख लागेको कुनै क्षण ?
त्यस्ता धेरै छन्, त्यसमा पनि १५ वर्षपहिला नुवाकोटमा आँखा शिविरमा जाँदा एकजना ४ सन्तानकी आमाले बच्चाको मुखै देखेकी रहिनछन् । जब शिविरमा आँखाको अप्रेसन भयो, त्यसपछि उनले आफ्नो बच्चाको अनुहार पहिलोपटक देखिन् । त्यसपछि उनी रोएको देख्दा मेरो आँखाबाट पनि आँसु आयो र खुशी पनि लाग्यो ।
जब बिरामीलाई उपचार लाग्दैन, त्यति बेला मलाई दुःख लाग्छ । कतिपय क्याम्पमा मोतियाविन्दुको अप्रेसन गर्न ढिलो भैसकेका बिरामीहरुमा जलविन्दु भैसकेको देखिन्छ । त्यस्ता बिरामीलाई केही गर्न नसकिने हुन्छ । त्यति बेला दुःखको अनुभव हुन्छ ।
तीलगंगा प्रतिष्ठानले कतिवटा देशमा कुन–कुन उपकरण सप्लाइ गर्छ ?
तीलगंगा प्रतिष्ठानमा आँखामा राख्ने लेन्सको फ्याक्ट्री छ । देश–विदेशमा त्यही लेन्स राखेर अप्रेसन गर्छौं । चीन, कोरिया, भूटान, भारतको दार्जीलिङ, बंगलादेशलगायतका करिब आठवटा मुलुकमा आँखाको लेन्स सप्लाइ गर्छौं ।
अन्त्यमा तपाईंलाई थप भन्न मन लागेको कुरा केही छ कि ?
भिटामिन ‘ए’को कमी भएर बालबालिकाको आँखामा समस्या आउने भएकोले उनीहरुलाई प्रशस्त मात्रामा हरियो सागपात, फर्सी, मेवाजस्ता खानेकुरा खान दिनुपर्छ । साथै अभियानका रुपमा भिटाबिन ‘ए’ खुवाउने कार्यक्रममा पनि बालबालिकालाई सहभागी गराउनुपर्छ । स्कूल जानुअघि आँखा जँचाउनुपर्छ र वर्षमा एकपटक आँखा परीक्षण गर्नुपर्छ । आँखाको समस्या लुकाएर राख्नुहुँदैन, बेलैमा उपचार गर्नुपर्छ । अहिले सरकारले ‘एक विद्यालय एक नर्स’ को नीति लिएको राम्रो छ तर तालिमप्राप्त र दक्ष नर्स फिल्डमा खटाउनु आवश्यक छ ।