डा. भट्टलाई विज्ञान पुरस्कार



नर्भिक इन्टरनेसनल हस्पिटलका मुुटुरोग विभागका प्रमुख प्रा.डा. यादवकुमार देव भट्ट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानद्वारा स्थापित ‘विज्ञान पुरस्कार’बाट सम्मानित हुनुभएको छ । मुटुरोगको उपचारमा नेपालमा उच्च प्रविधिको इन्टरभेन्सनल (विनाचिरफार गरिने मुटुरोग उपचार) प्रविधिको शुरुआत, विकास र प्रवद्र्धन गरी नेपालीको मुटुरोग उपचारमा उल्लेख्य योगदान पुर्‍याएबापत प्रा.डा. भट्टलाई उक्त पुरस्कारद्वारा सम्मानित गरिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले जनाएको छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भट्टले भारतको चण्डीगढस्थित ‘पोस्ट ग्राजुयट इन्स्टिच्युट अफ मेडिकल एजुकसन एन्ड रिसर्च’ बाट इन्टर्नल मेडिसिनमा एमडी हासिल गर्नुभएको हो । यसअघि सन् २००० मा उहाँले सोही इन्स्टिच्युटबाट मुटुरोग उपचारमा विशेषज्ञतासहितको उपाधि डीएम हासिल गर्नुभको थियो ।

साथै भारतको प्रसिद्ध एस्कर्टस हार्ट इन्स्टिच्युटमा इन्टरभेन्सनल मुटुरोग उपचारमा तालिम लिई सन् २००३ मा नेसनल बोर्ड अफ एक्जामिन्सन, नयाँ दिल्लीबाट इन्टरभेन्सनल कार्डियोलोजीमा डीएनबी (डिप्लोम्याट अफ नेसनल बोर्ड)को उपाधि हासिल गर्नुभएको थियो । त्यसपछि नेपाल फर्किएर उहाँले शहीद गंगालाल नेसनल हृदय रोग केन्द्रमा आबद्ध भई मुटुरोगको उपचारमा इन्टरभेन्सनल प्रविधिको शुरुआत गर्नुभएको थियो ।

प्रा.डा. भट्टले हालसम्म ५ हजारभन्दा बढी कोरोनरी एन्जियोग्राफी, ३ हजारभन्दा बढी कोरोनरी एन्जियोप्लास्टी तथा स्टेन्ट प्रत्यारोपण, १ हजारभन्दा बढी माइट्रल, एओर्टिक एवं पल्मोनरी भल्भोटोमी, पेसमेकर जडान, एएसडी, पीडीए डिभाइस क्लोजरलगायत अन्य थुप्रै इन्टरभेन्सनल प्रक्रिया सफलताका साथ सम्पन्न गरिसकेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्