उमंगमय गर्भावस्था



डा. सुमनराज ताम्राकार
स्त्रीरोग विशेषज्ञ

पछिल्लो समय नेपालीहरुको दाम्पत्य जीवनमा व्यापक परिवर्तन आएको देखिन्छ । संयुक्त परिवारबाट एकल परिवारमा परिणत, श्रीमान्–श्रीमती नै जागिरे वा आयमूलक काममा खटिनुपर्ने बाध्यता अनि कामकै लागि शहरी क्षेत्र वा विदेशतिर लाग्नुपर्ने स्थिति सिर्जना भएको छ । यस्तो परिस्थितिमा गर्भवती हुनुजस्तो उमंगको विषय पनि चिन्ताको विषय बन्ने गर्छ ।

कम्मर दुखाइ वा तल्लो पेट दुखाइसँगै असामान्य खालको योनिश्राव हुने, पिसाब पोल्ने, ज्वरो आउने भएमा जँचाउनुपर्दछ । दुखाइ कम गर्ने हेतुले अन्य बेलामा जस्तै गर्भावस्थाको समयमा तल्लो पेटमा हट वाटर ब्यागले सेक्नुहुँदैन

सामान्यतया महिलाको शरीरभित्र डिम्ब निष्कासन हुने समयको आसपास पुरुषसँग संसर्ग हुँदा महिनावारी रोकिने र गर्भ रहने हुन्छ । गर्भ रहेपछि बिहानीपख वाकवाकी लाग्ने, बान्ता हुने हुन्छ । यो समयमा शरीरमा हर्मोनको आन्तरिक सक्रियताका कारण स्वाभाविकरुपमा यस्तो परिवर्तन देखिन्छ । यो कुनै ठूलो समस्या होइन ।

बिहान उठ्नेबित्तिकै सुख्खा खालको खानेकुरा (चिल्लोरहित बिस्कुट) खाने, चिल्लो–पिरो खानेकुरा कम खाने, दिनभरिमा धेरै पटक तर थोरथोरै मात्रामा खाने गरेमा उल्टी एवं वाकवाकीको समस्याबाट छुटकारा पाउन सकिन्छ । कसै–कसैमा अधिक वाकवाकी हुने हुनाले तत्काल इनर्जी प्राप्तिका लागि झोल वा पाउडर ग्लुकोज फिटेर खानु राम्रो हुन्छ ।

यस बेला मुखमा अमिलो पानी आउने र छाती पोल्ने पनि गर्दछ । यसका लागि मसला र चिल्लोयुक्त खाना कम गर्ने, प्रशस्त झोलिलो पदार्थ पिउने गर्नुपर्दछ । गर्भावस्थाको पछिल्लो अवधितिर विशेषतः बेलुकाको खाना खानेबित्तिकै ओछ्यानमा पल्टिने गर्नुहुँदैन ।

सिरानी अलि अग्लो बनाउने एवं अम्लीयपना कम गर्ने खानेकुरा खाने गर्नुपर्छ । यस बेला कसै–कसैलाई औषधिको जरुरत पर्न सक्छ ।
गर्भ रहेको बेला सेतो पानी अलि बढ्ता बग्न सक्छ । अन्य बेलाभन्दा गर्भवती अवस्थामा स्त्री जननेन्द्रिय प्रणालीमा रगतको प्रवाह बढ्न गई योनिरसको उत्पादन पनि बढ्न जान्छ ।

यसको अलावा यो अवस्थामा सेतो पानी बगाउने ढुसी (फंगाई) को वृद्धि हुन्छ । सेतो पानी बग्न नदिन वा यसको असर कम गराउन यौनांगको सरसफाइ गर्ने एवं सुतीको भित्री कपडा (भित्री कट्टु) लगाउने र दिनदिनैजसो फेर्ने गर्नुपर्दछ ।

यदि सेतो पानी धेरै वा ढिक्का–ढिक्का बग्ने समस्यासँगै पिसाब पोल्ने, योनि चिलाउने, योनिश्राव गन्हाउने, रगत मिसिएको श्राव देखा पर्ने वा ज्वरो आउने भयो भने थप उपचार आवश्यक हुन्छ ।

विशेष गरी गर्भ रहेको ७ महिनापछि कतिपय महिलामा पिँडौला एवं जननेन्द्रियवरिपरिका नसा फुल्न सक्छन् । नसा फुल्ने समस्या हुने हुँदा धेरैबेर उभिइराख्नुहुँदैन । आफ्नो काम नै उभिइराख्नुपर्ने खालको छ भने बीच–बीचमा ब्रेक लिएर पल्टेरै आराम गर्नु राम्रो हुन्छ ।

नर्स, ट्राफिक प्रहरी, सेक्युरिटी, होटल रेस्टुराँ आदि क्षेत्रमा काम गर्नेहरु यो बेला अलि बढी जोखिममा हुन्छन् । राति सुत्दा वा दिउँसो आराम लिँदा देब्रेपट्टि कोल्टे परेर आराम गर्नुपर्दछ । देब्रेतिर लामो समय कोल्टे फेराइले थकाइ लागेमा दायाँतिर कोल्टे परी आराम गर्नुपर्दछ । यसको अलावा पिँडौलामा पट्टी (ब्यान्डेज) वा लामो खालको मोजा

(स्टकिङ) लगाउन सकिन्छ । कतिपयलाई नसा फुल्ने क्रममा अल्काई (पायल्स) को समस्या बढ्न वा बल्झिन गई दिसा गर्दा चहर्याउने, पोल्ने एवं रगत देखा पर्ने हुन सक्छ । गर्भावस्थामा अल्काईको समस्याको लागि चिकित्सकसँग आवश्यक सल्लाह लिनुपर्दछ ।

कतिपय गर्भवती महिलामा कब्जियतको समस्या हुन्छ । नियमितरुपमा दिसा गर्ने बानी बसाल्नुका साथै गर्भावस्थाको पेटलाई असर नपर्ने गरी हल्का व्यायाम गर्ने, प्रशस्त झोलिलो पदार्थको सेवन एवं रेसादारयुक्त खानेकुरा जस्तो– सागसब्जी, स्याउ, मुला, गाजर आदि खानुपर्दछ ।

मासु, चिल्लो र मसलायुक्त खाना कम गर्दा फाइदा पुग्छ ।गर्भवती महिलाको शरीरमा पानी अलि थेग्रिन गर्ई हात, खुट्टा, शरीर सुन्निने समस्या पनि हुन्छ । धेरैजसोमा घुँडामुनिको भाग सुन्निने हुन्छ । यदि एक–डेढ घन्टा सुतेर आराम गरेपछि वा रातभरि सुतेर भोलिपल्ट उठ्दा सुन्निएको भाग बस्छ भने डराउनुपर्दैन ।

तर पनि यस्तो बेला उभिइराख्नुहुँदैन । बीच–बीचमा पल्टेरै आराम गर्ने, कोल्टे फेरी आराम गर्ने, राति सुत्ने बेलामा खुट्टाको भाग अलि अग्लो बनाई सुत्ने गर्नुपर्दछ । यदि हात र अनुहारसमेत फुलेको छ भने गर्भवती बेलामा बढ्ने रक्तचापको कारणले हो वा अन्य कुनै कारणले हो, जँचाउन जानुपर्दछ ।

पेटको आकार निकै बढ्न थालेपछि पेटको छाला तथा मांसपेशी तन्किन जाँदा त्यसको अप्रत्यक्ष असर कम्मरमा पर्न गएर कम्मर पनि मन्दसँग दुख्ने हुन्छ । तल्लो पेट तथा कम्मरको दुखाइ कम गर्नका लागि पाठेघरमा दखल नपर्ने खालको ढाडको व्यायाम गर्ने, हल्का मालिस गर्ने, कुप्रो परेर काम नगर्ने तथा सुत्दा घुँडामुनि सिरानी राख्ने गर्नुपर्दछ ।

यसका साथै मेच, कुर्सीमा बस्दा सही पोजिसनमा बस्ने बानी गर्नुपर्दछ । कम्मर दुखाइ वा तल्लो पेट दुखाइसँगै असामान्य खालको योनिश्राव हुने, पिसाब पोल्ने, ज्वरो आउने भएमा जँचाउनुपर्दछ । दुखाइ कम गर्ने हेतुले अन्य बेलामा जस्तै गर्भावस्थाको समयमा तल्लो पेटमा हट वाटर ब्यागले सेक्नुहुँदैन ।

गर्भवती महिलामा पिसाब छिटो–छिटो लाग्ने हुन्छ । यो सामान्य समस्या नै हो । तर पिसाब पोल्ने, गन्हाउने खालको पिसाब हुने, ढाडको दायाँ–बायाँ अचाक्ली दुख्ने, कामज्वरो आउने भएमा जँचाउनुपर्छ ।

गर्भवती महिलाको शरीरमा क्याल्सियम तथा अन्य लवण पदार्थको मात्रा कम भयो भने विशेषतः राति पिँडौला बाउँडिने समस्या हुन सक्छ । यसका लागि जीवनजल, झोलिलो खानेकुरा, माछा–मासु, क्याल्सियमयुक्त खानेकुरा (दूध, सागपात, अण्डा) खानुका साथै क्याल्सियम चक्की पनि नियमितरुपमा खानुपर्ने हुन्छ ।

अहिले कतिपय ठूला अस्पतालमा गर्भ आउनुपूर्व नै यथोचित परामर्श दिने, सुत्केरी व्यथाअगाडि गर्नुपर्ने तयारीसम्बन्धी सल्लाह दिने तथा गर्भावस्थामा गर्नुपर्ने फिजियोथेरापी सिकाउन थालिएको छ । परम्परागतरुपमा नेवार जातिमा सुत्केरी व्यथा लाग्नुपूर्व घर र माइतीबाट दही–चिउरा ख्वाउने भनेर विभिन्न परिकार ख्वाउने, कतिपय जाति विशेषमा गोड

धुवाइ गर्ने तथा पश्चिमाहरुको नक्कल गरी शहरी क्षेत्रमा बेबी सावरिङ गर्ने चलन छ । यसले पनि सुत्केरी व्यथाको लागि आवश्यक शक्ति सञ्चय गर्न तथा सुत्केरी व्यथाको डर–चिन्ता कम गर्न र गर्भावस्थालाई उमंगमय बनाउन सघाइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्