रक्तचाप र मधुमेह नियन्त्रणमा टिमुर



डा. रामदेव पण्डित, आयुर्वेद चिकित्सक । 

धेरै मानिसले आयुर्वेदलाई वैज्ञानिक पद्धति नमानेता पनि हाल यसको लोकप्रियता बढ्दै छ । आयुर्वेदको विश्वव्यापी पुनर्जागरण हुँदैछ । आयुर्वेदको व्यापकता र स्वीकार्यताको लागि यससबन्धी अनुसन्धानको आवश्यकता देखिन्छ ।

सन् २००२ मा गरिएको एक अध्ययनअनुसार नेपालमा कुल ५,८५६ प्रजातिका फूल फुल्ने बोटबिरुवा पाइन्छन्, जसमध्ये ६९० वटा प्रजातिमा औषधीय गुण छ । यसमध्ये ५१० वटा प्रजाति जंगली हुन् भने १२० प्रजातिको खेती गर्न सकिन्छ । बाँकी ६० वटा विश्वव्यापी नै बनिसकेका छन् ।

भर्खरै मात्र एकजना नेपाली प्राध्यापकले आयुर्वेदको मान्यतामा टेकेर टिमुरमाथि गरेको अनुसन्धानले नेपाली आमसञ्चारमा निकै चर्चा पायो । हजारौं वर्षदेखि मान्छेले टिमुर खाइरहेका छन्, आयुर्वेदमा पनि यसबारे व्यापकरुपमा लेखिएको छ । यसका बहुआयामिक औषधीय गुण र प्रभाव छन् ।

डा. अधिकारीको अनुसन्धानपछि टिमुरले उच्च रक्तचाप एवं मधुमेह नियन्त्रण गर्छ भन्ने मान्यता आयुर्वेदमा स्थापित भएको छ । साथै मानिसको दाँत र कलेजोलाई स्वस्थ राख्न यसको प्रभावकारी योगदान हुन्छ भन्ने आयुर्वेदको मतलाई सर्वथा पुष्टि गरेको छ ।

त्रिभुवन विश्वविद्यालय रसायशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक डा. अच्यूत अधिकारीले टिमुरमाथि अनुसन्धान गरेर युवा वैज्ञानिक पुरस्कार प्राप्त गर्न सफल भएका छन् । युनेस्कोअन्तर्गतको एकेडेमी अफ साइसेन्स फर डेभलपिङ वल्र्डले प्रत्येक वर्ष विकासोन्मुख मुलुकहरूका वैज्ञानिकहरूलाई दिने ५ हजार डलर राशीको अट्टा–उर रहमान पुरस्कार यस वर्ष टिमुरमाथि गरिएको अनुसन्धानको लागि उनलाई प्रदान गरिएको हो । युवा रसायनशास्त्री डा. अधिकारीले विगत १४ वर्षदेखि औषधिजन्य जडीबुटीहरुमाथि अध्ययन गरी यो सफलता प्राप्त गरेका हुन् ।

उनले आयुर्वेदका ग्रन्थहरु चरक संहिता र सुश्रुत संहितामा बताइएका तथ्यहरुलाई अध्ययन गरी त्यसलाई वैज्ञानिकरुपमा पुष्टि गर्न खोज्दा उनले यो सफलता प्राप्त गरेका हुन् ।

नेपालको पश्चिमी भूभागमा बढी उत्पादन हुने टिमुरलाई नेपाली समाजमा मसलाको रूपमा प्रयोग गरिँदै आएको पाइन्छ । तीतो, पिरो र जिब्रो पर्पराउने स्वाद टिमुरमा पाइन्छ ।गाँउघरतिर यसलाई दाना वा पिसेर धूलोका रूपमा प्रयोग गरिन्छ। त्यस्तै, घरायसी रूपमा टिमुरलाई प्रशोधन गरेर साबुन, दन्तमञ्जन र अत्तरको रूपमा समेत प्रयोग
गर्ने चलन छ।

औषधीय गुणको कारणले टिमुरको फल र बोक्रा बहुगुणीरुपमा उपयोग भएको पाइन्छ । टिमुरलाई संस्कृतमा तेजोवती (तीक्ष्ण उष्ण प्रकृतिको भएकोले) भनिन्छ र यसको वैज्ञानिक नाम जैन्थोक्साइलम आर्मेटम रहेको छ । यसैलाई अंग्रेजीमा टुथएक ट्री पनि भन्ने गरिन्छ ।

आयुर्वेदका साहित्यहरुका अनुसार टिमुर कफ–वातजन्य रोगहरुको लागि प्रयोग गर्ने गरिन्छ । यसले पित्तको वृद्धि गर्दछ । टिमुरमा बर्बेरिन, डिक्टेम्निन, मैगनोफ्लुओरिन, जैन्थोप्लेनिन, स्किमियानिन रासायनिक तत्व पाइने उल्लेख छ । साथै टिमुरको फलमा सुगन्धित एवं उडनशील तेल पाइन्छ, जसको मुख्य घटक लाइनालुल हुनेसमेत उल्लेख छ ।

आयुर्वेदका अनुसार टिमुरले उच्च रक्तचाप एवं मधुमेह नियन्त्रण गर्छ र कलेजोको सुरक्षा गर्छ । टिमुरमा भएको रसायनले पेटमा हुने फुड पोइजनिङ रोक्छ, दाँतको सुरक्षा गर्छ, मुख र प्रोस्टेट क्यान्सरको रोकथाम गर्छ । लेक लाग्नबाट समेत बचाउँछ ।

आयुर्वेदकै मान्यताहरुलाई डा. अधिकारीको अनुसन्धानले आधुनिक विज्ञानको भाषामा पुष्टि गरेको देखिन्छ । उक्त अनुसन्धानको उपलब्धिमा सही प्रविधिको प्रयोग गरी त्यसलाई उत्पादनको रुपमा ढाल्न सक्दा त्यसले नेपाली अर्थतन्त्रलाई उकास्न ठूलो योगदान पुग्ने देखिन्छ ।

डा. अधिकारीको अनुसन्धानपछि टिमुरले उच्च रक्तचाप एवं मधुमेह नियन्त्रण गर्छ भन्ने मान्यता आयुर्वेदमा स्थापित भएको छ । साथै मानिसको दाँत र कलेजोलाई स्वस्थ राख्न यसको प्रभावकारी योगदान हुन्छ भन्ने आयुर्वेदको मतलाई सर्वथा पुष्टि गरेको छ । यदि यसै गरी आयुर्वेदका विविध पक्षमा अनुसन्धान गरी आयुर्वेदीय साहित्यमा उल्लिखित विषयहरुलाई स्थापित गर्न सके आयुर्वेद विश्व कल्याणकारी साबित हुनसक्नेछ । औषधीय गुण हुन्छ भन्दैमा टिमुरको अत्यधिक मात्रामा र जथाभावी जे पायो त्यहीसँग मिसाएर प्रयोग गरिएमा हानि पनि गर्न सक्छ । दाँत कमजोर बनाउन सक्छ । अत्यधिक पसिना आउने हुन्छ । तीक्ष्ण उष्ण प्रकृतिको भएकोले यसको अत्यधिक प्रयोगले स्नायु प्रणालीमा गडबडी र मनमा सन्ताप उत्पन्न गराउन सक्छ । आयुर्वेदमा बताइएअनुसार दैनिक १ देखि २ ग्राम टिमुरको चूर्ण औषधि हुन्छ । टिमुर बहुगुणी भएकोेले यसको प्रयोगलाई जीवनमा जोडौं र यसको औषधीय गुणबाट लाभान्वित बनौं ।

दैनिक जीवनमा टिमुरको प्रयोग कसरी गर्ने त ?

१. आयुर्वेदिक औषधिको रुपमा : घाउहरुमा यसको चूर्ण छर्किने गरिन्छ । शिर–शूलमा यसको लेप लगाइन्छ ।

२. मुख, दन्त तथा घाँटीको रोगहरुका लागि टिमुरको रस वा पकाइएको झोलले कुल्ला गर्न सकिन्छ । दन्तरोगीहरुले दन्तमञ्जनको रुपमा यसको पाउडर र दत्तिउनको रुपमा यसको हाँगा प्रयोगमा ल्याउन सक्छन् ।

३. यसको चूर्णको सेवनले ज्वरो नाश हुन्छ । ज्वरो आएको बेला टिमुरलाई घिउमा मिसाएर पनि सेवन गर्न सकिन्छ ।

४. नून कम राखी अचार वा चटनीको रुपमा पनि टिमुरको प्रयोग लाभदायी मानिन्छ । यसले खानाको स्वाद बढाउनुको साथै, रुचि जगाउँछ र पेटको पाचकाग्निको पनि वृद्धि गर्दछ । अचारले पक्षघात, आमवात, अर्श आदिमा पनि प्रभावकारी काम गर्छ ।

५. बिस्कुट उद्योगहरुले बिस्कुटमा टिमुरको प्रयोग गर्न सक्छन् । यसरी प्रत्यक्षरुपमा बिस्कुटबाट दाँतमा लाग्ने कीराबाट टिमुरले सुरक्षा प्रदान गर्न सक्छ ।

६. उच्च रक्तचाप र मधुमेहका रोगीले टिमुरको बोक्राको चूर्णको चिया पकाएर पनि पिउन सक्छन् । साथै कहिलेकाहीँ बियर आदि ड्रिंक पिउनै पर्दा टिमुरको धूलो मिसाएर पिए त्यसले कम नकारात्मक असर गर्ने हुन्छ । साथै टिमुरले रक्सीले हुने लिभरका कोषहरुको डिजेनेरेसनलाई रोक्न भूमिका खेल्छ ।

७. टिमुरलाई मसलाको रुपमा खानामा प्रयोग गर्दा यसले भोक जगाउने र पेटको जुका मार्ने गर्दछ । फुड पोइजनिङ हुनबाट जोगाउँछ ।

८. झाडापखाला हुँदा यसको चूर्णको प्रयोग लाभदायक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्