तपाईँका घरमा हाम्रा डाक्टर



जाडो महिनामा हृदयघातबाट मानिस बढी मरेको सुनिन्छ, यसको कारण के होला ?
– दिनेश राजभण्डारी, दहचोक, काठमाडौं ।

दिनेशजी, पहिले हृदयघात के हो र कसरी हुन्छ भन्ने बुझौं । मुटुमा रक्तसञ्चार गर्ने रक्तनलीलाई धमनी भनिन्छ भने मुटुबाट रगत फिर्ता हुने रक्तनलीलाई शिरा भनिन्छ । मुटुको रगत सप्लाइ गर्ने धमनीहरुमध्ये कुनैमा पनि पूर्ण वा आंशिक अवरोध भएर मुटुको कुनै भाग रक्तअभावको कारण मृत हुन्छ तथा मुटुको पूर्ण काममा कमी हुन्छ । त्यसैलाई हृदयघात भनिन्छ । यिनै धमनीको आकार जाडो अर्थात् चिसोले खुम्चिएर रक्तसञ्चारमा अवरोध हुन्छ । त्यस्तै कोलेस्ट्रोलले पहिले नै अलि–अलि अवरोध गरिसकेको धमनी भएमा सहजै अवरोध देखा पर्छ अनि हृदयघात हुन सक्छ । जाडोमा हृदयघात बढी देखा पर्नुको मुख्य कारण यही हो ।

मेरो मुख तथा ओठमा बेला–बेलामा स–साना खटिरा आउने गर्छ । औषधि खाएको त छैन, यसलाई कसरी ठीक पार्ने होला ?
– बिना महर्जन, ठिमी, भक्तपुर ।

बिनाजी, मुखमा आउने त्यस्ता खटिरा धेरैजसो भिटामिन ‘बी’ कम्प्लेक्सको कमीले हुने गर्छ । तसर्थ हरियोपरियो सागपात, फलफूल सेवन गर्नुका साथै भिटामिन ‘बी’ कम्प्लेक्स खाएर हेर्नुस् । समस्या कम भएमा राम्रै भयो, भएन भने एकपटक फिजिसियन भेटेर परामर्श गर्नु राम्रो हुनेछ ।

म ६१ वर्षको भएँ । आजकल मलाई पहिलाभन्दा छिटो–छिटो पिसाब लाग्ने, पिसाब ननिख्रिने समस्या भएको छ । यो सामान्य हो कि रोग नै होला ? सल्लाह पाऊँ ।
– सुरज कार्की, बिजेश्वरी, काठमाडौं ।

सुरजजी, तपाईंको उमेर तथा भनेका लक्षणहरुको लेखाजोखा गर्दा तपाईंको प्रोस्टेट ग्रन्थि बढेको जस्तो लाग्यो । ४०–५० वर्ष नाघेका पुरुषहरुमध्ये ३०–४० प्रतिशतलाई यो ग्रन्थि बढ्ने समस्या हुन सक्छ । धेरैजसो केसमा यो सामान्यजस्तै हो, औषधिले केही सहयोग पनि मिल्छ । यदि धेरै ठूलो समस्या भएमा वा औषधिले काम नगरेमा पिसाब नै रोकिनेसम्मको डर हुन्छ । एकाधरुपमा कहिलेकाहीँ क्यान्सरसम्म हुने डर हुन्छ । तर त्यो अरु क्यान्सरभन्दा कम डर लाग्दो हुन्छ । यो सबै थाहा हुनुभन्दा अगाडि प्रोस्टेट ग्रन्थिको अवस्था अनि आकारप्रकार थाहा पाउन पेटको भिडियो एक्सरे गर्ने सल्लाह दिन चाहन्छु । यसका
लागि एकपटक युरो शल्यचिकित्सक भेट्नु उपयुक्त हुनेछ ।

मलाई मधुमेह भएको केही वर्ष भयो । नियमित औषधि सेवन गरिरहेको छु । मैले के–के कुरामा ध्यान दिएँ भने औषधिको मात्रा घटाउन सहयोग पुग्ला ?
– मुरारिराज शर्मा, बेसिसहर, लमजुङ ।

शर्माजी, मधुमेहको उपचारको खम्बा भनेको पथपरहेज अर्थात् जीवनशैली परिवर्तन नै हो । अर्को तहको खम्बा भनेको औषधि सेवन हो । जीवनशैली परिवर्तन भन्नाले नियमित व्यायाम गर्ने, खान नहुने कुरा नखाने, खान हुने कुरा पनि मात्रा अनि गुण मिलाएर नियन्त्रितरूपमा खाने हो । पथपरहेज आफैं महत्वपूर्ण उपचार पद्धति हो । यसमा सुगर नियन्त्रण गर्न अनि औषधि धेरै नबढोस् भनेर गर्न पर्ने नै पथपरहेज हो । औषधि सेवन नियमित गरेको कुरा सराहनीय छ । यसलाई नियमित नै गरिरहनुस् । हाम्रो उद्देश्य मधुमेह उपचारमा औषधि कम–बेसी गर्नेभन्दा पनि सुगरको राम्रो नियन्त्रण हुनुपर्ने हुन्छ । नियमित सम्बन्धित चिकित्सकको सल्लाह अनि पथपरहेजका साथै सुगर नियन्त्रणमा राख्ने प्रयास गर्नुस् ।

म १८ वर्षमा लागेँ । स्वप्नदोषको समस्या भएको छ । यसलाई कसरी ठीक गर्ने होला ?
– रमण, काठमाडौं ।

रमणजी, स्वप्नदोष यो उमेरमा अलि–अलि हुने सामान्य नै हो । तर अधिक नै भएर समस्या गराएको छ भने राम्रो भएन । यसको मुख्य कारण यौनसम्बन्धी कल्पना बढी गर्ने, यसबारेका लेख पढ्ने, धेरै ध्यान त्यसमै लगाउने गरेर हुने हो । सबभन्दा सहज अनि प्रभावकारी उपाय भनेको आफू बिजी हुने, आफ्नो कोर्सको पुस्तक, अन्य साहित्य, उपन्यास, कथा आदि पढ्ने गर्नुस् । साथै यौनसम्बन्धमा नसोच्ने, सोच आएमा अर्कोतिर आफूलाई मोडेर व्यस्त राख्ने गर्नुस् । आफूलाई कतातिर व्यस्त पार्ने, केमा दख्खल गर्ने अनि आफू कस्तो हुने ? भन्ने सबै कुरा आफ्नै हातमा छ ।

म २८ वर्षको भएँ । कपालमा चायाको समस्या भएको छ । यसलाई कसरी निको पार्ने होला ?
– साजन पराजुली, सुनसरी ।

साजनजी, कपालमा चायाको समस्या भनेको धेरैको समस्या हो । नियमित नुहाउने, सेल्सुन भन्ने स्याम्पु उपयोग गर्ने गरेमा चाया घट्न सक्छ । अरु गुणात्मक सल्लाहको लागि छालारोग विज्ञ भेटेर परामर्श लिन सक्नुहुन्छ ।

म ४२ वर्षीया विवाहित महिला हुँ । मेरो महिनावारी अनियमित भएको दुई वर्ष जति भयो । उपचार गरेको त छैन । उचित सल्लाहको अपेक्षा गरेको छु ।
– दीपा राई, सिन्धुली ।

दीपाजी, कसैको महिनावारी छिटो सुक्ने हुन सक्छ । त्यसैको लागि पनि अनियमित भएको हुन सक्छ । अथवा हर्मोनको गडबडीले वा अन्य कुनै समस्याले पनि यस्तो भएको हुन सक्छ ।

यिनीहरुमध्ये कुन कारण हो वा अन्य कारण पो छ कि भनेर सल्लाह गर्नु जरुरी हुन्छ । त्यसको लागि स्त्रीरोग विज्ञलाई भेटेर परामर्श गर्ने सल्लाह दिन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्