सिनियर अनमी नर्सिङ (छैटौं) रिता रिजाल धुलिखेल नगरपालिका, शहरी स्वास्थ्य केन्द्र श्रीखण्डपुर, धुलिखेलमा कार्यरत हुनुहुन्छ । २० वर्षदेखि बिरामीको सेवामा निरन्तर लाग्नुभएकी रिजालसँग नेपालका विभिन्न जिल्लाका ग्रामीण स्वास्थ्य केन्द्रमा काम गरेको अनुभव छ । सिनियर अनमी रिजालसँग साधना प्रतिनिधि भगवती तिमल्सिनाले गर्नुभएको कुराकानीको सार :
नर्सिङ पेसामा कसरी आउनुभयो ?
सानोमा दिदीहरु नर्स भएर सेतो ड्रेस लगाएको देख्दा आफूलाई पनि लगाऊँ–लगाऊँ लाग्थ्यो । यस्तै कारणले गर्दा एसएलसीको टेस्ट पास भएपछि नर्सिङ अनमी पढेँ । नर्सिङतर्फको पढाइ साढे दुई वर्ष गरेँ । महिलालाई सुरक्षित प्रसूति गराई जीवन बचाउने सोचले मिडवाइफतर्फ आकर्षित भएँ ।
कहिलेबाट पेसा शुरु गर्नुभयो ?
२०५६ साल कात्तिकबाट नेपाल सरकारको जागिर शुरु गरेँ र १३ महिना बैतडीमा काम गरेँ । महेन्द्रनगर हुँदै डडेलधुुरा काजमा खटिएँ । त्यसपछि गुल्मी जिल्ला अस्पतालमा लगभग १० वर्ष काम गरँे । त्यहाँबाट फेरि काभे्रको खोपासी पीएसीमा लगभग ३ वर्ष काम गरेँ ।
त्यसपछि काभे्र होक्से हेल्थपोस्टमा लगभग २ वर्ष काम गरेँ । २०७६ असोजदेखि धुलिखेल नगरपालिकाअन्तर्गत शङ्खुपाटीचौरमा ३ महिना काम गरेँ र विगत १ महिनादेखि म यहाँ छु । दरबन्दी निश्चित नहुँदा नगरपालिकाको दरबन्दीमा छु । कहिले कता, कहिले कता हुँदा आफूलाई जिम्मेजार महसुस गर्न गाह्रो हुँदो रहेछ ।
प्रत्येक वर्ष हजारौं नर्स विदेशिन बाध्य भएका छन् । भनाइमा ५ जना बिरामी बराबर एउटा नर्स भनिए पनि व्यवहारमा एकजना नर्सले २० देखि ५० जनाभन्दा बढी बिरामी हेर्नुपर्ने बाध्यता कायमै छ । त्यो अवस्थामा नर्स नरिसाए को रिसाउँछ त ? नर्स रिसाउनुको मुख्य कारण मानसिक तनाव नै हो । नर्सलाई छुच्चो भनाउने सरकार नै हो ।
तपाईको अनुभवमा डाक्टर र नर्सको भूमिका कसको महत्वपूर्ण हो ?
डाक्टर भनेका धेरै वर्ष पढेका हुनाले उहाँहरुको अनुभव र सिकाइले गर्दा औषधि, रोगको पहिचानतर्फ जान्छ । हाम्रो पाटो भनेको महिला स्वास्थ्य र डेलिभरीतर्फ पर्छ । नर्सले औषधि सिफारिस गर्न मिल्दैन, सेवा गर्ने हो । गर्भवती महिलाको स्वास्थ्य अवस्था पहिचान गर्ने, परामर्श दिने, तौल हेर्ने र नियमित परीक्षणका लागि सिकाउने, साथै सुत्केरीको स्वास्थ्य अवस्था, बच्चाको स्वास्थ्य अवस्था आदि विषयमा ध्यान दिने काम नर्सको हुन्छ । तर गाउँमा डाक्टर नहुँदा औषधि सिफारिस गर्ने जिम्मा पनि नर्सकै हुन आउँछ ।
काम र सुविधाका सन्दर्भमा डाक्टर र नर्समा विभेद कत्तिको हुन्छ ?
धेरै हुन्छ । डाक्टरले १ घण्टा बढी काम गर्दा ओभर टाइम पाउँछन् तर नर्सले २४ घण्टा काम गर्दा पनि कुनै थप सुविधा हुँदैन । नर्सले अहिलेसम्म कुनै सुविधाका क्षेत्रमा अधिकार भनेर प्रयोग गर्न पाएका छैनन् । लाग्छ पुरुषप्रधान देश भएकै कारण हामी पीडाबाट बाहिर निस्कन सकेका छैनौं ।
पेसाका सिलसिलामा अनुभव गरेका बिर्सनै नसक्ने घटना कुनै छन् कि ?
२०५७ साल माघमा कामको सिलसिलामा एक महिनाको लागि डडेलधुराको जोगबुडा प्राथमिक स्वस्थ्य केन्द्र गएको थिएँ । द्वन्द्वको समय थियो । एकपटक राति ३ बजे एउटा डेलिभरी केस आयो । हामी उठेर बिरामीसम्म जान पाउँदैनथ्यौं । त्यहाँ सुरक्षामा बसेका आर्मीलाई बिरामी जिम्मा लगाउँथे । त्यसपछि आर्मीले हामीलाई बिरामी दिएपछि मात्र हेर्न पाउँथ्यौं । आर्मी र पेसेन्टको परिवारको बीचमा बसेर काम गर्नुपथ्र्यो । स्वास्थ्य केन्द्रको छेउमा रहेको क्वाटरमा जान पनि आर्मीसँग स्वीकृति लिनुपर्ने अवस्था थियो । त्यो अवस्थामा ६ बजेतिर बच्चा जन्मियो तर बच्चा रुँदै रोएन । त्यति बेला मेरो अगाडि आमा र बच्चा दुवैलाई बचाउनुपर्ने चुनौती थियो । जटिल अवस्थामा मैले आमालाई छोडेर बच्चालाई छान्नुप¥यो । त्यो बच्चालाई १ घण्टासम्म मैले मुखबाट कृत्रिम सास दिएर बचाएँ ।
अहिले ती नानी दश जोड दुईमा पढ्दै छिन् । मलाई अभिभावकले सम्झेर फोन गरिरहनुहुन्छ । आफूले बचाएको बच्चाको जानकारी पाउँदा आनन्द लाग्छ । त्यति बेला तालिम नै नलिई पढेको आधारमा काम गर्नुपथ्र्यो । अहिले त दुईमहिने एसपीए तालिम हुन्छ । यो कुुरा म कहिल्यै बिर्सिन्न ।
स्वास्थ्यकर्मीको गल्तीले आफ्नो मान्छे गुमाउनुप¥यो भनेर बिरामी पक्षले आक्रोश व्यक्त गरे भने कसरी समाधान गर्नुहुन्छ ?
यस्तो अवस्थामा पहिला सम्झाउनुपर्छ र साँच्ची नै गल्ती भएको छ भने माफी पनि माग्नुपर्छ । बिरामी पक्षको ढिलाइको कारण पनि समस्या आउन सक्छ । जस्तै– बिरामी अन्तिम अवस्थामा ल्याउँदा उपचारकै क्रममा केही तल–माथि पर्न सक्छ । बिरामी पक्षले समयमा बिरामीलाई अस्पताल ल्याउन नसक्दा, यसबारेमा समयमै निर्णय लिन नसक्दा र स्वास्थ्य संस्थामा ल्याइसकेपछि स्वास्थ्यकर्मीबाट हुनुपर्ने काममा बिरामीको चाप र स्वास्थ्यकर्मीको लापरबाहीले पनि ढिलाइ भएर बिरामीको मृत्यु हुन सक्छ ।
नेपाल सरकारले दिने तलब अत्यन्तै कम भएका कारण आफ्नो ड्युटीको समयमा पनि डाक्टरहरु अन्य संस्थामा बसेर काम गरिरहेको अवस्था पनि छ । त्यही बेला आकस्मिक बिरामी आउँदा समयमा डाक्टरको सेवा उपलब्ध हुँदैन, नर्सले गरेर सम्भव नहुने हुन्छ । यस्तो अवस्थामा खबर गरे पनि डाक्टर पुग्दा ढिलो हुन्छ र बिरामीको अवस्था गम्भीर हुन्छ । यसले समस्या निम्त्याउँछ ।
दुर्गममा चिकित्सक नहुँदा नर्सले नै डाक्टर बनी काम गर्नुपर्दा कसरी गर्नुहुन्छ ?
त्यति बेला सर्वेसर्वा आफैं हो भनेर सकेजति बुद्धिविवेक लगाएर नर्स नै उपचारमा केन्द्रित हुन्छौंै । बिरामीको अवस्था आफन्तलाई जानकारी गराउँदै गरिन्छ ।
नर्मल सुत्केरी हुनेको संख्या घट्यो भन्छन् नि ?
गर्भवती आफैंले दुखाइ सहनुभन्दा अप्रेसन नै गर्छु भन्छन् । समस्या झेल्नुभन्दा सुत्केरी हुनेको चाहनाअनुसार अप्रेसन नै गर्नु बेस भन्ने भएकाले नर्मल डेलिभरी केस कम र अप्रेसन बढी भएको हो । सौखिन र पैसावालकै कारण अस्पतालहरुमा अप्रेसन गर्नेको संख्या अत्यधिक बढेको पाइन्छ । सुत्केरी बेथा सहन नसक्नेहरुका कारण प्राइभेट अस्पतालले यसैलाई ठूलो आम्दानीको स्रोत बनाएका छन् । प्रसूति गृहले सकेसम्म शल्यक्रियालाई प्राथमिकता दिँदैन, उल्टै सुत्केरीलाई नै पैसा दिन्छ । तर निजी अस्पताललाई सिजेरियन गरेर पैसा कमाउने बाटोे भएको छ ।
गर्भवती महिला वा गर्भको बच्चामा कुनै जटिल समस्या देखा परेमा मात्र शल्यक्रियाको प्रक्रिया अघि बढाउनुपर्छ । नियमित परीक्षण गराउने, डेलिभरी डेटभन्दा १५ दिनअघि भिडियो एक्सरे गराउने र अवस्था एवं आवश्यकता हेरेर मात्र अप्रेसनको निर्णय गर्नुपर्छ ।
स्वास्थ्य केन्द्रमा कस्ता बिरामी आउँछन् र कस्तालाई अस्पताल रिफर गर्नुहुन्छ ?
गाउँका स्वास्थ्य केन्द्रमा आउने बिरामी भनेका सबै नर्मल हुन्छन् । स्वास्थ्य केन्द्रले नर्मल सुत्केरी गराउन नसक्दा रिफर गरिन्छ । यसरी रिफर गरिएका आकस्मिक बिरामीलाई अस्पतालले तुरुन्तै हेर्नुको सट्टा धेरै ढिला गरिदिँदा आमा र बच्चा दुवै जोखिममा पुग्छन् । स्वास्थ्य केन्द्रबाट रिफर भएका गर्भवतीलाई अस्पतालहरुले पर्खाएर दुःख दिने काम नगरे हुन्थ्यो भन्ने लाग्छ । हामीले सकेसम्म प्रयास गरेर नर्मल नहुने भएपछि पठाउने हो, फेरि अस्पताल पुगेपछि पनि उसलाई किन नर्मल हुन्छ भन्दै दुःख दिने ? अस्पतालको सुत्केरी वार्डमा कार्यरत नर्सहरु बिरामीप्रति थप जिम्मेवार र गम्भीर हुनुपर्छ ।
तपाईंको सोचमा स्वास्थ्य सेवा र व्यवस्थापन कस्तो भए सहजै सेवाग्राहीले सेवा पाउने र नर्सले पनि सेवा–सुविधा पाउने हुन्थ्यो होला ?
जुन ठाउँमा बर्थिङ सेन्टर तोकिन्छ, त्यस ठाउँमा कम्तीमा पनि ४ जना नर्सको दरबन्दी भैदियो भने बिहान, दिउँसो र राति पालो–पालो काम गर्न सकिन्छ । अहिले ३ जनाको दरबन्दी छ । एकजना बिदा बस्नुपर्दा निकै कठिन हुन्छ । सुनौलो हजार दिन सरकारले नै लागू गरेको छ । त्यसमा नर्स पनि त गर्भवती हुन्छन्, त्यति बेला गर्भवतीलाई २४ घण्टा काम गराउन मिल्दैन । नेपाल सरकारले नर्सलाई ओभरटाइमको सुविधाको व्यवस्था गरे नर्सहरु कामप्रति थप जिम्मेवार हुन्थे ।
नर्स नभएर या दरबन्दी नै सृजना नगरेर समस्या भएको हो ?
नेपाललाई पुग्ने मात्र हैन, बढी नै हुने उत्पादन छ । तर राज्यले आवश्यकताअनुसारको दरबन्दी नै सृजना नगरेर समस्या जटिल बनेको छ । प्रत्येक वर्ष हजारौं नर्स विदेशिन बाध्य भएका छन् । भनाइमा ५ जना बिरामी बराबर एउटा नर्स भनिए पनि व्यवहारमा एकजना नर्सले २० देखि ५० जनाभन्दा बढी बिरामी हेर्नुपर्ने बाध्यता कायमै छ । त्यो अवस्थामा नर्स नरिसाए को रिसाउँछ त ?
नर्स रिसाउनुको मुख्य कारण मानसिक तनाव नै हो । नर्सलाई छुच्चो भनाउने सरकार नै हो । हरेक बिरामीमा नर्सले नजिकै आएर बोलोस्, हेरोस् भन्ने चाहना हुन्छ । त्यो कसरी पूरा गर्ने ?
बिरामीलाई नर्सले किन यिनै कुरा गरेर बुझाउनुहुन्न त ?
भनिराखेकै हुन्छौं तर आकस्मिक बिरामीलाई बढी टाइम दिन्छौं । सरकारसँग पनि भनिरहेका छौं । कसैले हाम्रो कुरा बुझिरहेका छैनन् । धेरै बिरामी हेर्दा–हेर्दा नर्सको दिमागले भ्याउँदैन । हरेक बिरामीलाई यस्ता कुरा भनिरहन पनि सकिन्न ।
नयाँ आउने नर्सहरुलाई के भन्नुहुन्छ ?
नर्स भनेको शुरुदेखि नै अनुशासित हुनुपर्छ । नर्सले प्रिस्क्राइब गर्ने हैन, नर्सले म मेरो स्थानमा बसेर सिनियरसरहको जिम्मेवारी पूरा गर्छु भनी अघि बढ्नुपर्छ । प्रिस्क्राइब गर्ने काम डाक्टरको हो । डाक्टरले भन्यो भन्दैमा आफूले लेख्नुहुन्न, डाक्टरलाई नै लेखाउनुपर्छ । नर्स र बिरामीमा नङ र मासुको सम्बन्ध हुनुपर्छ । आत्मबल बढाएर निडर भई नबुझेका कुरा डाक्टरसँग सोधेर मात्र अघि बढ्नुपर्छ ।