कल्पना तिमल्सिना ११ वर्षअघिदेखि अमेरिकाका विभिन्न अस्पतालमा नर्सिङ सेवामा संलग्न हुनुहुन्छ । काभ्रेपलाञ्चोक जिल्लामा जन्मिएर स्कुल शिक्षा लिएकी तिमल्सिनाले अमेरिकामा स्नातकोत्तर तहको नर्सिङको पढाइसँगै टेक्सासको एक अस्पतालबाट नर्सिङ सेवा शुरु गर्नुभएको थियो । उहाँ विगत ३ वर्षदेखि न्युयोर्कस्थित मेथोडिस अस्पतालमा कार्यरत हुनुहुन्छ । हाल कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापी महामारीको रुप लिएको अवस्थामा उहाँ सोही अस्पतालमा विभिन्न चुनौतीको सामना गर्दै सेवा दिइरहनुभएको छ ।
स्वास्थ्यकर्मीको सुरक्षाको लागि आवश्यक पर्ने मास्क, पञ्जा, पीपीई, क्याप, गगलस, आईसीयु, भेन्टिलेटरजस्ता उपकरण एवं औषधिको अभावसँग जुध्दै नर्सिङ सेवामा संलग्न कल्पना तिमल्सिनासँग साधना प्रतिनिधि भगवती तिमल्सिनाले गरेको कुराकानीको सार :
अमेरिकाका अस्पतालमा तपाईंले कुन–कुन विभागमा रहेर काम गरिसक्नुभएको छ ?
नर्सको जिम्मेवारी लिएर ५ वर्ष जति टेक्सासमा मेडिकल एवं सर्जिकल युनिटमा काम गरें । त्यसपछि टेक्सासको सानएनटिनियोको मेथोडिस अस्पतालमा रिसोर्स फ्लोट पोल टिममा ज्वाइन गरें । यो टिममा जहाँ खटायो त्यहीँ काम गर्नुपथ्र्यो र एउटै युनिट हुँदैनथ्यो ।
यस्तो हुँदा मैले आकस्मिक, कार्डियाक, न्युरो, क्यान्सर, बोनम्यारो प्रत्यारोपण, अर्थोपेडिकलगायतका अधिकांश युनिटमा काम गरेर नयाँ–नयाँ अनुभव हासिल गर्ने अवसर पाएँ । सन् २०१७ देखि न्युयोर्कमा कोरोनरी केयर युनिटमा काम गर्दै छु ।
अमेरिकामा कोरोना भाइरस भित्रिएपछि नियन्त्रणका लागि सरकारले गरेको प्रयासमा जनताले कस्तो प्रतिक्रिया दिए ?
अमेरिकाको प्रादेशिक सरकारले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डको पालना गर्नुपर्छ भनेको छ । धेरैले पालना त गरेका छन् तर मास्क लगाउँदा नाक–मुख दुवै राम्रोसँग ढाकिनुपर्छ भन्ने सिकाउनु जरुरी देखियो । धेरैले मुख मात्र छोपेर हिँडेको पाइयो । साथै पञ्जा लगाएर सबै चिज छुन्छन्, त्यसो गर्दा एकबाट अर्कोमा कीटाणुहरु सर्ने सम्भावना उच्च हुन्छ । अझ फरक–फरक धार्मिक विचारधाराका व्यक्तिहरुलाई सरकारले तोकेको फरक नीति नियम मन पराएको पाइएन । यस्ता व्यक्तिहरुको समूह–समूह बनाई भेला हुने काम जारी नै रह्यो । कतिपय जनताको बुझाइ हामी किन आफूखुशी गर्न नपाउने भन्ने जस्तो रहेको पनि पाइयो ।
रोग फैलिने सम्भावनालाई लिएर त्यस अस्पतालले के–कस्तो तयारी गरेको थियो ?
शुरुमा फाटफुट केस आएका थिए । त्यति बेला सरकार र जनता दुवैले यसरी फैलिन्न होला भनेर गम्भीरतापूर्वक लिएनन् । तर पछि भाइरस एकैपटक तीव्रगतिमा फैलियो । त्यसले गर्दा धेरै मानिसमा अत्यधिक त्रास बढ्यो । स्वास्थ्य सेवामा काम गर्ने मानिस आफ्नो ड्युटी गर्न आउँछन् तर उनीहरुको मनमा ‘मैले घरमा भाइरस लाने पो हुँ कि, घर–परिवारका अन्य सदस्य बिरामी पो हुने हुन् कि, मैले गरेको सरसफाइ पर्याप्त छ कि छैन ?’ भन्ने सोच मनमा आइरहेको पाइन्छ । मेरो मनमा पनि अद्यापि डर कायमै छ ।
कोरोना भाइरसका बिरामीको उपचारका सम्बन्धमा तपाईंको अनुभव कस्तो रहेको छ ?
कोरोना भाइरसका बिरामीको उपचार गर्दा हामीले आफ्नो र बिरामीको सुरक्षा गर्नका लागि लगाउनुपर्ने पीपीईहरु आवश्यकताअनुसार पाउन सकेनौं । यसले गर्दा कतिपय स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन् भने कतिको मृत्युसमेत भैसकेको छ । स्वास्थ्यकर्मीहरुले मानसिक तनावको स्थितिमा काम गर्नुपर्यो । संक्रमितको संख्या धेरै आए तर थोरै स्वास्थ्यकर्मीले काम गर्नुपर्यो । कोरोनाका कारण मृत्यु भएका लासहरु धेरै हेर्नुपर्यो । न्युयोर्कमा औषधिको अभाव बढ्दै गयो । भेन्टिलेटरहरुको कमी भयो । कतिपय कोरोना संक्रमित बिरामीलाई किड्नी फेलियर हुने देखियो तर डायलासिस मेसिनको अभाव झेल्नुपर्यो ।
महामारीको उपचारका लागि तपाईंहरुलाई तालिम दिइएको थियो ?
पढ्दाखेरि इतिहासमा कस्तो महामारी भएको थियो, कुन–कुन नर्सले काम गरेका थिए र के गरे भन्ने कुरा उल्लेख भएको थियो । वास्तविक जीवनमा भने त्यस्तो तालिम केही पाएनौं । अहिले परेपछि मात्र कसरी काम गर्नुपर्दो रहेछ भन्ने थाहा भयो ।
कोरोनाको उपचारसम्बन्धमा तपाईंले बिर्सनै नसक्ने कुनै घटना छन् कि ?
अहिले कोरोनाको महामारी फैलिएपछि बिरामीका परिवारहरु अस्पतालमा आउन नमिल्ने नियम छ । बिरामीहरु एक्लै हुन्छन् र कतिजना भेन्टिलेटरमा बस्नु नपर्नेहरु त निरास पनि हुन्छन् । भेन्टिलेटरमा हुनेहरुको स्वास्थ्य भने गम्भीर नै हुन्छ र कतिपयको त मृत्यु नै हुन्छ । उनीहरुको मृत्यु आफन्त कसैले देख्न पाउँदैनन् । यस्तै अवस्थामा रहेका एक बिरामीको श्रीमतीले मलाई भन्नुभयो– ‘यो संसारमा मेरो श्रीमान्बाहेक आफ्नो अरु कोही छैन, तपाईंले सक्दो गर्नुहोला । मेरो श्रीमान्को हेरविचार ख्याल गरिदिनुभएकोमा म धेरै धन्य छु ।’ यस्तो विन्ति धेरैजनाको परिवारले गर्नुहुन्छ । हामीले सक्दो गर्छौं तर कहिलेकाहीँ त्यति मात्र पर्याप्त हुँदैन । हामीले सक्दो प्रयास गर्दागर्दै पनि मान्छेको मृत्यु देख्दा मलाई धेरै दुःख लाग्छ र मन खिन्न हुन्छ । यी घटना कहिल्यै बिर्सन सक्दिन ।
कोरोना भाइरसजस्ता महामारीको उपचारका लागि नर्सिङ क्षेत्रको भूमिका कत्तिको महत्वपूर्ण हुँदो रहेछ ?
नर्सहरु बिरामीका साथमा २४ घण्टा हुन्छन् । उनीहरु सधैँ सतर्क भैराख्नुपर्ने हुन्छ । विशेष गरी भेन्टिलेटरमा भएका बिरामीलाई धेरै थरीको औषधि दिनुपर्ने हुन्छ, उनीहरु अचेत हुन्छन् । भेन्टिलेटरमा राख्दा बिरामी नडराऊन् र भेन्टिलेटरले दिएको मात्रामा सास फेरुन् भनेर अचेत राख्ने, ब्लडप्रेसर बढाउने आदि काम गर्नुपर्ने हुन्छ । यस्ता गम्भीर बिरामीको छिन्–छिन्मै अवस्था परिवर्तन हुन सक्छ । यस्तो अवस्थामा अलिकति तल–माथि भयो भने मान्छेको ज्यान नै जान सक्छ । यस्तो महामारीको बेला नर्सहरुको भूमिका धेरै महत्वपूर्ण हुन्छ । एकजना नर्सले भेन्टिलेटरमा राखिएका गम्भीर अवस्थाका एकदेखि दुईजना बिरामीलाई मात्र हेर्न सम्भव हुन्छ । तर महामारीका बेला दुई–तीनजना पनि हेर्नुपर्ने र बढी खट्नुपर्ने हुन्छ ।
यस्ता महामारीको उपचारका लागि नर्सिङ क्षेत्रलाई कसरी तयार गर्नुपर्ने रहेछ भन्ने लाग्छ ?
पहिलो कुरा त उपचारका लागि आवश्यकताअनुसार राज्यकै नीति हुनुपर्छ । त्यसपछि अस्पताल व्यवस्थापन पक्षले नर्सिङ क्षेत्रलाई परिचालन गर्नुपर्छ र सुपरभाइजरले सघाउ पुग्ने गरी आवश्यक सामानको व्यवस्थापन गर्नु नै ठूलो र महत्वपूर्ण आवश्यकता देखियो । बिरामीको अवस्था सरकारको प्राथमिकतामा नपरेको र गम्भीर अवस्थाका बिरामीको उपचारमा विनासुरक्षा खट्नुपर्दाको तनावग्रस्त मनस्थिति, थकित भएको महसुस हुन्छ । आफूसँगै काम गर्ने नर्सहरु पनि कतिपय कोरोनाको संक्रमणको सिकार भैसकेका छन् । उनीहरु यति बेला घरमै आइसोलेसनमा बसेका छन् । यस्तो अवस्थामा जो ड्युटीमा छ उसैले थप जिम्मेवारी लिएर काम गर्नुपर्ने हुन्छ । यस्तो बेलामा बिरामीको चापले गर्दा १० मिनेटको ब्रेक लिनसम्म सकिन्न । अस्पतालमा पुगेर काम शुरु गर्नुअगाडि नै थोरै पानी र खाजा खाएको भरमा बिरामीको सेवामै दिन बित्छ । कुनै दिन त खाना त के बाथरुम जानसमेत नभ्याउँदै दिन बितिसकेको हुन्छ । त्यसैले नर्सहरुले एक–अर्कालाई सहयोग गर्नुपर्छ । साथै आममानिसको पनि सहयोग आवश्यक पर्छ ।
महामारीका बेला आममानिसले रोग नियन्त्रणका लागि के–कस्तो सहयोग गर्नुपर्ने रहेछ भन्ने लागेको छ ?
आमनागरिकले पहिलो कुरा त रोग के–कस्तो खालको रहेछ भन्ने बुझ्नुपर्छ । जानकारीमूलक सामग्रीहरु इन्टरनेटमा हेर्न, पढ्न र सुन्न सकिन्छ । तर इन्टरनेटमा पाइने सबै सामग्री भरपर्दा भने नहुन पनि सक्छन् । त्यसैले भरपर्दो वेबसाइटबाट सूचना लिनुपर्छ । आफूले जानेका र सिकेका कुरा अरुलाई पनि दिनुपर्छ । कोरोना भाइरस संक्रमित व्यक्तिको सम्पर्क र थुकको छिटाबाट सर्ने हुनाले हात राम्रोसँग साबुन–पानीले धुने वा सेनिटाइजरले सफा गर्ने गर्नुपर्छ । साथै एक–अर्को व्यक्तिको बसाइ कम्तीमा एक मिटर टाढा आम्नेसाम्ने नहुने गरी एल आकारमा बस्ने र मुखमा मास्क लगाउने गर्नुपर्छ । अनावश्यकरुपमा घरबाट बाहिर निस्कनुहुँदैन । सकेसम्म समूहगत भेला वा सम्मेलनमा जानुहुँदैन । यस्ता निर्देशनको पालना गर्नुपर्छ । साथै भिटामिन ‘सी’, जिङ्क, तातोपानी, अदुवा र कागती–पानी प्रशस्त खानु रोग–प्रतिरोधात्मक क्षमता कायम राख्नका लागि लाभदायी हुन्छ ।
विदेशी नागरिक भएको कारणले त्यहाँ काम गर्दा कुनै थप समस्या व्यहोर्नुपरेको छ कि ?
विदेशी भएको कारणले मलाई त्यस्तो कुनै समस्या भएको छैन । अमेरिका त्यसमा पनि विशेष गरी न्युयोर्क भनेको सबैजना विदेशीहरु नै भएको प्रदेश भएकाले त्यस्तो विभेदको सामना गर्नुपरेको छैन । यो मुलुकमा कामको मतलब हुन्छ, व्यक्ति को र के भन्ने कुराले खासै अर्थ राख्दैन ।
नेपालमा नर्सिङ सेवामा रहेकाहरुलाई तपाईंको सुझाव के छ ?
स्वास्थ्यकर्मीहरुले आइसोलेसन मेन्टेन गर्नुपर्छ । बिरामी भएको कोठाको ढोका बन्द राख्नुपर्छ । न्युयोर्कमा एन–९५ मास्कको अभाव भएकाले हामीले रेगुलर माक्स लगायौं । नेपालमा पनि त्यस्तै भएको होला, एन–९५ मास्क आवश्यकता पर्दा मात्र लगाउनुहोस् । अन्य समयमा रेगुलर मास्क लगाउँदा पनि हुन्छ । एन–९५ माक्स नभएको अवस्थामा रेगुलर मास्क डबल लगाएर पनि सुरक्षा अपनाउन सकिन्छ । सबै स्वास्थ्यकर्मीले अस्पतालको ड्युटी सकेर घर पुगेपछि सबै लुगा फेरी तातोपानीमा धुने र तातोपानीमा नुहाउने गर्नुस् । साथै तातोपानीको बाफ पनि लिनु उपयुक्त हुन्छ । बिदाको दिनमा आफूलाई मन पर्ने गीत सुन्ने, लेख्ने, दिमागलाई फ्रेस बनाउने खालका मनोरञ्जन तथा लेखन, आर्ट, खेलमा भुलाउनुस् । यसरी दिमागलाई स्फूर्त बनाएपछि मात्र बिरामीको सेवा गर्न सकिन्छ ।