डा. प्रकाशराज रेग्मी ।
सूर्यको प्रकाश पृथ्वीमा आइपुग्दा ‘घाम’ बन्छ । घाममा के हुन्छ र यसले स्वास्थ्यलाई के–कस्तो असर पार्न सक्छ भन्नेबारे यस लेखमा प्रकाश पारिएको छ ।
सूर्य र पृथ्वीको दूरी १५ करोड किलोमिटर छ । सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न ८.३ मिनेट लाग्छ । सूर्यले सम्पूर्ण सौर्यमण्डललाई उज्यालो र न्यानोका साथै विकिरणहरू दिन्छ । सूर्य नहुँदो हो त यस पृथ्वीमा जीवित प्राणिहरू हुने थिएनन् । सूर्यको प्रकाशसँगै जीवनको गति चल्छ ।
सूर्यको किरण पृथ्वीमा आउने क्रममा पृथ्वीबाट करिब १० किलोमिटरमाथि आकाश मण्डलमा रहेको ओजोन तहलाई पार गर्दछ । यस ओजोन तहले सूर्यको प्रकाशमा रहेका स्वास्थ्यका लागि हानिकारक ९९ प्रतिशत किरणहरूलाई फिल्टर गरिदिन्छ । यसप्रकार आकाशको वायुमण्डलमा फिल्टर भएर ‘घाम’ हाम्रो शरीरमा आइपुग्छ ।
सूर्यको प्रकाश भनेको विद्युतीय र चुम्बकीय विकिरण हो, जसमा मुख्यतया आँखाले देखिने किरणहरू, इन्फ्रारेड र अल्ट्राभोइलेट गरी तीन प्रकारका किरणहरू हुन्छन् । यिनीहरूमध्ये आँखाले देखिने र इन्फ्रारेड दुवै गरी करिब ९९ प्रतिशत हुन्छ भने करिब १ प्रतिशत मात्र अल्ट्राभोइलेट किरणहरू हुन्छन् ।
आँखाले देखिने किरणहरूले उज्यालो दिन्छ, इन्फ्रारेडले न्यानोपन (तापक्रम) दिन्छ । इन्फ्रारेड र अल्ट्राभोइलेट किरणहरूले स्वास्थ्यलाई विशेष प्रभाव पारेको देखिन्छ । घाममा पाइने यी दुई प्रकारका किरणहरूले फाइदा–बेफाइदा दुवैथरी असर गर्न सक्छन् । यस कारण घाम ताप्दा होसियारी अपनाउनुपर्छ । हामीकहाँ बिहानीको घाम ताप्ने चलन छ । सुत्केरी र साना बच्चाहरूलाई तेल घसेर घाममा राख्ने चलन छ ।
फाइदा/बेफाइदा
घाममा धेरै मात्रामा पाइने इन्फ्रारेड किरणहरू छालामा परेपछि तातो अनुभव हुन्छ । यी किरणहरू छालालाई छेडेर मांसपेशी, नसा र हड्डीहरूसम्म पुग्छन् । यसबाट दुखाइ कम हुन्छ, सुन्निएको घट्छ, घाउहरूपुरिन्छन् र नयाँ कोषहरूको निर्माण हुन्छ । यी फाइदाहरू हुने देखेर वैज्ञानिकहरूले इन्फ्रारेड किरण उत्पादन गर्ने उपकरणहरूको आविष्कार गरे र तिनको प्रयोग चिकित्सा विज्ञानमा आजका दिनमा व्यापकरुपमा भैराखेको छ ।
दुखेको ठाउँमा तातोले सेक्ने उपचार विधि यसै सिद्धान्तमा आधारित छ । धेरै बेरसम्म इन्फ्रारेड किरण छालामा प¥यो भने यसको मात्रा शरीरमा बढी हुन पुग्छ र यसले क्षति पुर्याउँछ, जसमा छाला डढेर कालो हुने, छालामा कत्लाहरू आउने र उप्किने, दादहरू आउने आदि मुख्य हुन् । यी किरणहरू आँखामा धेरै बेर पर्यो भने आँखाको अगाडिको पर्दा (कर्निया) र आँखाको नानी (लेन्स) लाई नकारात्मक असर पार्छ । आँखाको भित्री पर्दालाई यसले धेरै क्षति पुर्याएको भेटिँदैन तर आँखाको लेन्सलाई बिगारेर क्याटार्याक्टको वृद्धि गराउँछ ।
सूर्यको प्रकाशमा भएको अल्ट्राभोइलेट किरणहरू ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन प्रकारका हुन्छन् । अल्ट्राभोइलेट ‘बी’ र ‘सी’ अत्यन्तै शक्तिशाली हुन्छन् । अल्ट्राभोइलेट ‘ए’ तुलनात्मकरुपमा नरम हुन्छ । पृथ्वीमा ओजोन तह पार गरेर आइपुग्ने प्रकाशमा अल्ट्राभोइलेट ‘ए’को मात्रा धेरै हुन्छ । वायुमण्डल प्रदूषणका कारण ओजोन तह विस्थापित भइदिँदा कडाखाले अल्ट्राभोइलेट ‘बी’ र ‘सी’ को मात्रा पनि घाममा बढी मात्रामा भेटिन्छ ।
वायुमण्डलमा ओजोन तह प्रशस्त मात्रामा रहनुपर्ने आवश्यकता यसकै लागि हो कि यसले कडा खाले अल्ट्राभोइलेट किरणहरूलाई पृथ्वीमा पुग्नबाट रोकिदिन्छ । अल्ट्राभोइलेट ‘सी’ यति शक्तिशाली छ कि यसले भाइरसलाई समेत नष्ट पार्ने क्षमता राख्छ ।
अल्ट्राभोइलेट किरणको सबैभन्दा महत्वपूर्ण असर भनेको शरीरमा भिटामिन ‘डी’ को उत्पादन गराउने हो । मान्छेको छालामा यो किरण परेपछि शरीरले भिटामिन ‘डी’ उत्पादन गर्छ । ३० मिनेटसम्म छालामा घाम प¥यो भने कालो छाला भएकाहरूको शरीरमा ८ देखि १० हजार, गहुँगोरो छालामा २० देखि ३० हजार र सेतो छाला भएकाहरूको शरीरमा ५० देखि ६० हजार युनिट भिटामिन ‘डी’ उत्पादन हुन्छ भन्ने कुरा वैज्ञानिक अनुसन्धानबाट पत्ता लागेको छ । मान्छेलाई मासिक सरदर ६० हजार युनिट भिटामिन ‘डी’ भयो भने पुग्छ ।
यसले हड्डीहरू बलियो बनाउँछ । नसा, दिमागलगायत शरीरका थुप्रै अंगहरूलाईस्वस्थ राख्न सहयोग पुर्याउँछ । थाइरोइड, मधुमेह, मुटुरोग आदिको रोकथाममा पनि भिटामिन ‘डी’ ले मद्दत गर्छ । हप्तामा १–२ दिनमात्र हात, खुट्टा र मुखमा पर्ने गरी बिहानीको घाम ताप्यो भने आवश्यक मात्रामा यो भिटामिन शरीरलाई प्राप्त हुन सक्छ ।
हिजोआज धेरै मानिसमा भिटामिन ‘डी’ को कमी हुनुको मुख्य कारण घाम नताप्नु अथवा घाम शरीरमा नपर्नु नै हो । हिजोआज घाम ताप्ने चलन खासै छैन, कोठाभित्र धेरै समय बिताइन्छ । वायुमण्डल प्रदूषणले गर्दा आवश्यक मात्रामा सूर्यको किरण पृथ्वीमा नआएको अवस्था पनि छ । कतिपय देशहरूमा त वर्षमा ६–७ महिना सूर्यलाई देख्नसमेत पाइँदैन । त्यस्तो ठाउँमा बस्नेहरू धेरैलाई भिटामिन ‘डी’ को कमी भएको पाइन्छ ।
घामको अर्को ठूलो असर मानसिक स्वास्थ्यमा छ । घामले शरीरमा ‘सेरोटोनिन’ नामक रसायनको उत्पादन गराउँछ । यो रसायनले मान्छेको ‘मूड’ लाई नियन्त्रण गर्छ । यसको कमी भयो भने ‘मूड’ पनि ‘लो’ हुन्छ । यो मूड ‘लो’ हुने अवस्था एउटा मानसिक रोग हो, जसलाई ‘डिप्रेसन’ भनिन्छ । घाम थोरै लाग्ने, दिन छोटो र रात लामो हुने मौसममा ‘डिप्रेसन’ रोग बढ्नुको पछाडिको रहस्य पनि घामकै प्रभाव हो । घामले निद्रामा पनि असर पारेको देखिन्छ ।
हाम्रो शरीरको जैविक घडी (बायोलोजिकल क्लक) यस्तो प्रकारले ‘सेट’ भएको छ कि अध्यारो हुँदै गएपछि हाम्रो शरीरभित्र ‘मेलाटोनिन’ नामक हर्मोनको उत्पादन हुन थाल्छ र यसको मात्रा बढ्दै गएपछि निद्रा लाग्छ । यदि घाम तापेको छ भने यो हर्मोनको उत्पादन पनि बढी हुन्छ र राम्रोसँग निद्रा पर्छ । आँखाबाट उज्यालो पस्यो भने यो हर्मोनको उत्पादन घट्छ र निद्रा हराउँछ । राम्रोसँग घाम लागेको दिनपछिको अँध्यारोमा यो हर्मोन पनि राम्रैसँग उत्पादन हुन्छ ।
यस प्रकार घाम र निद्राको प्रत्यक्षसम्बन्ध भएको देखिन्छ । सुत्नुअगाडि टेलिभिजन, मोबाइल, कम्प्युटर आदि हे¥यो भने यसको उज्यालो आँखाभित्र पसेपछि मेलाटोनिन हर्मोनको उत्पादन घट्न थाल्छ र निद्रा पनि हराउँछ । घामका यति धेरै फाइदाहरू हुँदाहुँदै पनि हामीले सित्तैमा पाइने यी फाइदाहरूको उपभोग नगरेर पैसा खर्च गरी चक्कीका रुपमा भिटामिन ‘डी’, क्याल्सियम र निद्राका चक्कीहरू किनेर खाने गरेका छौं ।
घामका नकारात्मक असरहरू पनि छन् । अल्ट्राभोइलेट किरण धेरैबेरसम्म छालामा पर्यो भने क्यान्सर रोग लाग्ने खतरा हुन्छ । यो किरणले कोषभित्रको ‘डीएनए’ लाई क्षति पुर्याउने क्षमता राख्छ र क्यान्सर रोगको विकासतर्फ प्रक्रिया अगाडि बढाउँछ । विशेष गरी अल्ट्राभोइलेट ‘सी’ किरणले विषाणु र जीवाणुहरूलाई समेत नष्ट गर्न सक्छ, कुनै अंगमा भएको संक्रमण ठीक पार्न सक्छ, शरीरबाहिर वा कुनै पदार्थको सतहमा भएका विषाणु र जीवाणुलाई मार्न सक्छ ।
यो सबै ‘डीएनए’ मा क्षति पुगेर उत्पन्न हुने असरहरू हुन् । क्यान्सर पनि यस्तै असरको नतिजा हो । घामबाट फाइदा, बेफाइदा दुवै हुन सक्ने वैज्ञानिक तथ्यलाई ध्यानमा राखी यसको भरपूर फाइदा लिने र यसबाट पुग्न सक्ने क्षतिलाई न्यूनीकरण गर्ने सावधानी अपनाउन निम्न सुझाव दिन चाहन्छु ।
१. बिहान १० बजेसम्मको घाम राम्रो हो । त्यसपछि बेलुकी ४ बजेसम्मको घाम स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । बिहानीको घाम मात्र ताप्ने गरौं ।
२. घाम ताप्दा सूर्यको किरण मुख, हात, खुट्टा र जीउमा परेको राम्रो । शरीरका यी भागहरूबाट कपडा हटाई ५ देखि १५ मिनेटसम्म प्रत्यक्ष सूर्यको किरण छालामा पर्दा भरपूर फाइदा पुग्छ । थोरैबेर घाम ताप्दा पनि बेफाइदा छैन ।
३. धेरैबेरसम्म नाङ्गो छालामा घाम पर्यो, दिउँसोको घाम छालामा पर्यो भने छालाको क्यान्सर रोग उत्पन्न हुने खतरा हुन्छ । यसकारण १५ मिनेटभन्दा बढी नाङ्गो शरीर घाममा नराखेको उचित हो । यस्तै प्रकारले दिउँसोको घाम पनि ताप्नुहुँदैन । यदि यस्तो अवस्था आइपर्यो भने छाता ओढ्ने, शरीरलाई कपडाले छोप्ने अथवा छालामा सनस्क्रिन क्रिम लगाउने गर्नुपर्छ ।
४. घामले रक्तचाप घटाउँछ, मुटुलाई काम गर्न सजिलो पार्छ । धेरैबेर घाम ताप्दा टाउकोलाई कपडाले वा टोपीले छोप्नुपर्छ । रक्तचाप कम भएर चक्कर लाग्ने र बेहोससमेत हुने स्थिति आउन सक्छ । नियमित घाम ताप्ने दिनहरूमा रक्तचापको औषधिको मात्रा कम भए पनि पुग्छ । यसकारण आफ्नो डाक्टरसँग परामर्श लिनुपर्छ ।
५. सुत्नुभन्दा कम्तीमा ३० मिनेटअगाडि टेलिभिजन, मोबाइल, कम्प्युटर आदि हेर्न बन्द गर्नुपर्छ । यसबाट निद्रा लाग्न सजिलो हुन्छ ।
नेपालमा राम्रो घाम लाग्छ । तर हामीले घामको सही उपयोग गरेका छैनौं । आवश्यक सावधानी अपनाई घामको फाइदा लिनेतर्फ अग्रसर हुन सम्बन्धित सबैलाई अनुरोध गर्दछु ।