काठमाडौंकी बाथ–मुटुरोगबाट पीडित ४० वर्षीया एक महिलालाई १५ वर्षअगाडिदेखि मैले उपचार गरिरहेको छु । उनलाई सानै उमेरदेखि घाँटी दुख्ने, टन्सिल बढ्ने समस्याले सताउने गथ्र्यो । टन्सिलको राम्रो उपचार नगराएको कारण उनको मुटुसम्मै रोग पुग्यो, भल्भहरु क्षतिग्रस्त भए ।
बाथ मुटुरोगबाट पीडित भएको पत्ता लाग्नेबित्तिकै उनले प्रत्येक ३–३ हप्तामा पेनिसिलिन औषधिको सुई लगाउन थालिन् । यसले मुटुको भल्भमा पुगेको क्षतिलाई बढ्नबाट रोक्यो । औषधिले उनलाई राम्रै भैराखेको थियो । मुटुको शल्यक्रिया गर्नुपर्ने अवस्था थिएन । एउटा ३ हप्ते पेनिसिलिन सुईले उनलाई सक्रिय जीवन जिउने अवस्थामा राखेको थियो ।
काठमाडौंकी बाथ–मुटुरोगबाट पीडित ४० वर्षीया एक महिलालाई १५ वर्षअगाडिदेखि मैले उपचार गरिरहेको छु । उनलाई सानै उमेरदेखि घाँटी दुख्ने, टन्सिल बढ्ने समस्याले सताउने गथ्र्यो । टन्सिलको राम्रो उपचार नगराएको कारण उनको मुटुसम्मै रोग पुग्यो, भल्भहरु क्षतिग्रस्त भए ।
बाथ मुटुरोगबाट पीडित भएको पत्ता लाग्नेबित्तिकै उनले प्रत्येक ३–३ हप्तामा पेनिसिलिन औषधिको सुई लगाउन थालिन् । यसले मुटुको भल्भमा पुगेको क्षतिलाई बढ्नबाट रोक्यो । औषधिले उनलाई राम्रै भैराखेको थियो । मुटुको शल्यक्रिया गर्नुपर्ने अवस्था थिएन । एउटा ३ हप्ते पेनिसिलिन सुईले उनलाई सक्रिय जीवन जिउने अवस्थामा राखेको थियो ।
केही दिनअगाडि मात्र उनको मुटुको अवस्था खराब भयो । मुटु धेरै छिटो–छिटो धड्किन थाल्यो, मुटुले राम्रोसँग पम्प गर्न सकेन र उनलाई सास फेर्न धेरै कठिन भयो । उपचारका लागि उनी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीको इमर्जेन्सी विभागमा पुगिन् । उपचारपछि केही हलुका भयो र उनी घर फर्किइन् ।
‘लक डाउन’ भएको समयमा लगातार दुई महिना भुजिया खाएपछिको नतिजा थियो उनको बिग्रिएको मुटुको अवस्था ‘हार्ट फेलियर’ जसले उनलाई गंगालाल अस्पतालको इमर्जेन्सीमा पुर्यायो ।
अर्को दिन उनी आफ्नो श्रीमान्का साथ मेरो क्लिनिकमा जँचाउन आइपुगिन् । यसभन्दा पहिले मैले उनलाई ६ महिनाअगाडि जाँचेको थिएँ । उनको मुटु ठिक्कै अवस्थामा थियो । औषधि खाएर, सुई लगाएर मुटुको अवस्था स्थिर थियो । अहिले एकाएक उनको मुटुको अवस्था बिग्रिएको थियो । मैले ईसीजी र मुटुको भिडियो एक्सरे परीक्षण गरेर हेरेँ । मुटुको भल्भ अलि बढी नै क्षतिग्रस्त भएको थियो । मुटु सुन्निएको थियो र मुटुले राम्रोसँग पम्प गर्न सकिराखेको थिएन । नियमित औषधि सेवन गरिरहेको बिरामीलाई यस्तो अवस्था आउनु नपर्ने हो । यसकारण मैले उनलाई औषधि छाडेको हो ?
भनी सोधेँ । उनले होइन भनिन् । मनपरि खानेकुरा खानुभयो कि भनेर अर्को प्रश्न सोधेँ । यो प्रश्नको उत्तर सुनेपछि म आश्चर्यचकित भएँ । उनको मुटुको अवस्था बिग्रिनुको कारण मनपरि र अस्वस्थकर खानपान रहेछ भन्ने मैले बुझेँ ।
कुरा यस्तो रहेछ । उनी बलिउड अभिनेता अमिताभ बच्चनकी फ्यान रहिछन् । भारतीय टेलिभिजनको सोनी च्यानल खूबै हेर्दिरहिछन् । केही महिनायता सोनी टीभीले अमिताभ बच्चन अभिनीत विकाजी कम्पनीद्वारा उत्पादित भुजियाको विज्ञापनको धेरै प्रसारण गर्ने गरेको छ । यस विज्ञापनमा अमिताभ बच्चनले अत्यन्तै आकर्षक शैलीमा विकाजी भुजियाको प्रचार गरेका छन् । यस विज्ञापनको दौरानमा धेरैपल्ट सुरिलो आवाजमा ‘अमितजी लभ्स् विकाजी। भन्ने वाक्य उच्चाहरण भैराख्छ, जसले सबैको ध्यान खिच्न सफल हुन्छ ।
भुजिया, दालमोठ, आलुचिप्सजस्ता प्याकेटका तयारी खानेकुरा नखाने गरेकालाई पनि यो विज्ञापन हेरेपछि विकाजीको भुजिया खाऊँ–खाऊँ लाग्छ । मलाई पनि अमिताभ बच्चनको अभिनय र व्यक्तित्व खूबै मन पर्छ । विज्ञापन हेरेपछि मेरो पनि मुख रसायो । बजारबाट एक प्याकेट विकाजी भुजिया किनेर ल्याएँ अनि खाएँ । मीठै लाग्यो तर यस्तो खानेकुरा दिनदिनै खानुहुँदैन भन्ने बुझेको मान्छे हुनाले यत्तिकैमा म सीमित रहेँ । अमिताभ बच्चनले जति धेरै बोले पनि मैले एकपल्टभन्दा बढी त्यो भुजिया खाइन ।
सोनी टीभीको विज्ञापनबाट प्रभावित भएर ती बाथ–मुटुरोगबाट पीडित महिलाले विकाजी भुजिया खान थालिन् । उनलाई यो खूबै मीठो लाग्यो । दोहोर्याएर खान थालिन् । भुजियाको स्वादले उनलाई नशा पो लाग्यो । चुरोट, सुर्ती र रक्सीको नशा लागेजस्तै ती महिलालाई विकाजी भुजियाको नशा लाग्यो । उनले दिनदिनै बेलुकी एक कचौरा भुजिया खान थालिन् । साथमा आफ्नो १० वर्षीया छोरीलाई पनि यो भुजिया खुवाउन थालिन् । दिन बिराएर एक प्लेट मम पनि भुजियासँग बेलुकीको खानाको रुपमा खान थालिन् । यस्तो खानाले स्वास्थ्यलाई हानि पुर्याउला भन्ने उनको सोचाइमा आउँदै आएन ।
कोरोना महामारीका कारण ‘लक डाउन’ भएको समयमा लगातार दुई महिना भुजिया खाएपछिको नतिजा थियो उनको बिग्रिएको मुटुको अवस्था ‘हार्ट फेलियर’, जसले उनलाई गंगालाल अस्पतालको इमर्जेन्सीमा पुर्यायो । उनको मुटुको अवस्था बिग्रिएर शल्यक्रिया गर्नुपर्ने स्थितिमा पुगेको मैले पाएँ । भुजियाको मिठास र नशामा यति धेरै शक्ति रहेछ, जसले मुटुका मांसपेशीहरुलाई कमजोर तुल्यायो, रक्तचाप र कोलेस्ट्रोल बढायो अनि मुटुलाई पम्प गर्न नसक्ने अवस्थासम्म पुर्यायो ।
स्वास्थ्यमा यति ठूलो नकारात्मक प्रभाव पार्न सक्ने भुजिया कस्तो प्रकारको खानेकुरा हो ? अब यसबारे केही चर्चा गर्न चाहन्छु ।
भुजिया पत्रु खाना याने जंकफुड समूहमा पर्ने खाद्यपदार्थ हो । भारतीय उत्पादक हल्दिराम र विकानेरको भुजिया धेरै चल्तीमा छन् । विकानेरको भुजिया नै विकाजी भुजिया हो । भुजियालगायतका पत्रु खानाहरुको विशेषता यो हो कि यस्ता खाद्यपदार्थमा पौष्टिक तत्व शून्य हुन्छ तर छिटो शक्ति दिने तत्व (क्यालोरी) र स्वास्थ्यका लागि हानिकारक चिल्लो पदार्थ (ट्रान्सफ्याट) एवं रसायनहरु प्रशस्त मात्रामा हुन्छन् ।
तेलमा बेसनको पीठोबाट बनाएको भुजुरीलाई बेस्सरी ‘डिप फ्राई’ गर्दा बेसनको पीठोेको सबै पौष्टिक तत्व नष्ट भएर जान्छ र साथमा डढेको तेल पनि त्यसमा मिसिन्छ अनि प्याकेटमा बन्द गर्दा त्यसमा रसायनहरु पनि मिसाइन्छ । प्याकेटभित्रका तयारी खानाहरु धेरै समयसम्म ताजा रहुन् भनेर त्यसमा रसायन मिसाउने गरिन्छ । यस प्रकार मिसाइएका सबैजसो रसायन स्वास्थ्यका लागि हानिकारक हुन्छन् । यस्ता खानेकुरालाई पत्रु खाना त्यत्तिकै भनिएको होइन । यसबाट क्षणिक ऊर्जा (क्यालोरी), हानिकारक चिल्लो र रसायनहरु धेरै प्राप्त हुन्छ, जसबाट मोटोपन, उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्ट्रोल, क्यान्सरजस्ता रोगहरु उत्पन्न हुन्छन् । रोगीहरुले यस्तो खानेकुरा धेरै खाँदा रोग बढ्दै गएर मृत्युसमेत हुन सक्छ । हृदयघात, हार्ट फेल र मस्तिष्कघात हुनुको एउटा प्रमुख कारण पत्रु खानाको उपभोग पनि हो ।
कुन–कुन खानेकुरा पत्रु खाना समूहभित्र पर्छन् ? यो धेरैलाई थाहा छैन । हाम्रा धेरैजसो बिरामीले दिनदिनै बिहान औषधि खानुभन्दा अगाडि बजारबाट किनेर ल्याएको बिस्कुट खाने गर्नुहुन्छ । यो बिस्कुट पनि पत्रु खाना हो भन्ने कुराको जानकारी धेरैलाई छैन । अगाडिदेखि नै पकाएर खानका लागि तयारी अवस्थामा प्याकेट, बट्टा वा बोतलमा राखिएका सबै खानेकुराहरु पत्रु खाना हुन् । घिउ–तेलमा डिप फ्राइ गरिएका सबै खानेकुरा पत्रु खाना हुन् । बट्टा र बोतलमा भरिएका रंगीचंगी गुलिया झोलहरु सबै पत्रु खाना हुन् । बट्टाभित्रका तयारी फलफूलका रसहरु पनि सबै पत्रु खाना नै हुन् । चाउचाउ, कुरकुरे, चिजबल्स, दालमोठ, नमकिन, हर्लिक्स, बिस्कुट, चकलेट, कोक, फान्टा, रेडबुल, समोसा, पकौडा, मिठाई, आइसक्रिम, केक सबै नै पत्रु खाना हुन् । घरमा डिप फ्राइ गरी पकाएका आलु, चिकेन र रोटीहरु पनि पत्रु खाना नै हुन् । किनकि डिप फ्राइ गरेपछि खानेकुरामा भएको पौष्टिक तत्व सबै नष्ट हुन्छन् र त्यस खानामा हानिकारक चिल्लो थपिन्छ ।
के यस्ता खानेकुरा खानै नहुने हो त ? त्यसो होइन । स्वादका लागि कहिलेकाहीँ खाँदा हुन्छ । तर दैनिक खानुहुँदैन र धेरै मात्रामा पनि खानुहुँदैन । हामीले खानाबाट लिने कुल आवश्यक ऊर्जा (क्यालोरी) को १० प्रतिशतसम्म पत्रु खानाबाट लिँदा स्वास्थ्यमा खासै असर पर्दैन भन्ने वैज्ञानिक धारणा रहिआएको छ । एक स्वस्थ वयष्कलाई दैनिक १८ सय क्यालोरी ऊर्जा आवश्यक पर्छ भने उसले दैनिक १ सय ८० क्यालोरी ऊर्जा पत्रु खानाबाट लिन सक्छ । १० ग्रामको एउटा गुलियो बिस्कुटले ५० क्यालोरी ऊर्जा दिन्छ । यस्तै प्रकारले एउटा ठूलो जेरीले २ सय ८० क्यालोरी, एउटा रसवरीले १ सय ८० क्यालोरी, १ सय ग्राम आइसक्रिमले २ सय क्यालोरी, एक बोतल कोकले २ सय ५० क्यालोरी ऊर्जा दिन्छ । अब आफैं अड्कल गरौं, दैनिक कति पत्रु खाना खान मिल्ला ।
नसर्ने रोगहरुबाट पीडित र दीर्घरोगीहरुले पत्रु खाना कत्ति पनि नखाएको बेस हुन्छ । सबैले बुझौं– पत्रु खानाले स्वाद देखाएर आकर्षित गर्छ, नशा लगाएर बन्धनमा पार्छ अनि रोग लगाएर मृत्युलोकमा तान्छ । यसकारण चाहे त्यो अमिताभ बच्चन नै किन नहोस्, पत्रु खानाको विज्ञापन गर्ने र गराउने सबैलाई खबरदार भन्न पछि नपरौं ।