ज्योति पौडेल प्रदेश नं. ५ को लुम्बिनी प्रादेशिक अस्पतालकी नर्सिङ अधिकृत तथा नर्सिङ इन्चार्ज हुनुहुन्छ । चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्जबाट २०६९ सालमा बीएस्सी नर्सिङको पढाइ पूरा गरी एक वर्ष अध्यापनमा लागेपछि उहाँ लोकसेवामार्फत सातौं तहको अधिकृतमा उत्तीर्ण भएर २०७१ सालदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा खटिनुभएको छ । पौडेलसँग साधना प्रतिनिधि भगवती तिमल्सिनाले गरेको कुराकानीको सार :
तपाईंले नर्सिङ पेसा नै किन छनोट गर्नुभयो ?
मेरो बुबा–ममीलाई छोराछोरीलाई मेडिकल क्षेत्रमा दक्ष बनाउने इच्छा थियो । बुबा–ममीले नै मार्गनिर्देशन गर्नुभएको क्षेत्रमा अध्ययन गर्दै जाँदा सफल भइयो ।
कोरोना संक्रमणले विश्वलाई नै त्रसित बनाएको अवस्थामा आफू र मातहतका नर्सहरुलाई कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
कुनै पनि संक्रमणका बेला स्वास्थ्य क्षेत्रमा टिमवर्कले मात्र सफलता पाउँछ । हामीले जे गर्छौं टिमकै सरसल्लाहमा गर्छौं । त्यसैले चैत्र ११ देखिको लकडाउन र हालसम्मको अवस्थालाई व्यवस्थापन गर्न सकिएको छ ।
लकडाउन घोषणा हुँदा शुरुको अवस्था कस्तो थियो ?
शुरुको अवस्था सबैका लागि अन्योलपूर्ण थियो । मन्त्रालयबाट आइसोलेसन वार्ड छुट्याउने परिपत्र गरेपछि २ वटा कोठालाई कोभिड आइसोलेसन भनेर छुट्याइएको थियो । तर पनि हामी बिरामी आउँछन् र उपचार गर्नुपर्छ भन्ने कुनै तयारीमा थिएनौं । कोरोनाको बिरामी आए भने कसरी उपचार गर्ने रु स्पष्ट थिएन । पीपीईको नाम मात्र सुनेका थियौँ । त्यो कस्तो हुन्छ, कसरी प्रयोगमा ल्याउने र व्यवस्थापन गर्ने भन्ने थाहा थिएन । संक्रमण रोकथामको उपाय कसरी अपनाउने भन्ने बारेमा राम्ररी बुझेकै थिएन । त्यति नै बेला एउटा शंकास्पद केस आयो । भर्ना गरियो तर त्यो समयमा अस्पतालको पूरै टिम डराएको अवस्था थियो । कसरी व्यवस्थापन गर्ने भन्ने अन्योल नै थियो । मनमा डर भै–भै पनि एकजुट भई आत्मबल बटुलेर काम शुरु ग¥यौँ । त्यो शंकास्पद पहिलो बिरामीको रिपोर्ट नेगेटिभ आयो, त्यसपछि हामीमा काम गर्न सकिन्छ भन्ने आत्मबल बढ्यो । त्यसपछि निरन्तर बिरामी थपिइरहे ।
कतिपय शंकास्पद बिरामीहरु दिउँसो, राति जुनसुकै बेला आउँथे । निरन्तर हेर्दै जाँदा अधिकांश शंकास्पद बिरामीको रिपोर्ट नेगेटिभ आएकोले बिस्तारै आत्मबल बढ्दै गयो । त्यसपछि पीपीईलगायत सुरक्षा उपकरण प्रयोग गर्ने, व्यवस्थापन गर्ने बारेमा नेटमा सर्च गरेर जानकारी लिने, छलफल गर्ने गर्यौँ । यससम्बन्धमा अस्पतालका पूरै टिमलाई तालिम दियौँ ।
कोरोनाको लागि छुट्टै भवनमा ३६ बेडको आइसोलेसन र ८ बेडको आईसीयु तयार पारियो । लुम्बिनी प्रादेशिक अस्पतालले कोरोना अस्पताल छुट्टै बनाएकाले लकडाउनको बेलामा निजी अस्पतालहरु बन्द हुँदा पनि प्रसूतिलगायका सबै सेवा निरन्तर दिइनै रह्यो ।
जनशक्तिको अवस्था के थियो ?
यस अस्पतालमा जनशक्ति अत्यन्तै न्यून थियो । त्यसैले कोभिड अस्पतालको लागि भनेर थप जनशक्ति माग भयो । शुरुमा केही स्वास्थ्यकर्मी सम्पर्कमा आउनुभयो, काम गर्छु भन्नुहुन्थ्यो । तर पछि फोनसमेत अफ गरेर बस्नुभयो । यस्तो अवस्थामा धेरै समस्या आए । यसपछि नयाँ र पुराना चिकित्सक, नर्स, कर्मचारी, प्राविधिकलाई एक–एक हप्ताको पालो मिलाएर काम गर्यौँ । फोहोरमैला व्यवस्थापनमा पनि विशेष ध्यान दिएका कारण काम गर्न सहज भयो ।
महामारीको यस अवधिमा नर्सहरुले कस्ता पीडाको सामना गर्नुपर्यो ?
आईसीयुको ड्युटीमा ६ घण्टासम्म फुल पीपीई लगाएर बस्न नर्सहरुलाई अत्यन्तै गाह्रो छ । डाक्टरहरुको भूमिका छुट्टै महत्वपूर्ण हुन्छ तर एकपटक आएर बिरामीको बारेमा जानकारी लिएर फर्कन पाइन्छ । फुल पीपीई लगाउँदा भेन्टिलेटरमा राखेको गम्भीर बिरामीको नसा भेट्नै गाह्रो हुन्छ । फुल पीपीई लगाइरहँदा अक्सिजन नपुगेर टाउको दुख्ने, भमिट आउला जस्तो हुने हुन्छ । ६ घण्टासम्म दिसा, पिसाब लाग्छ भनेर खाना र पानी खान पनि नियन्त्रण गर्नुपर्ने बाध्यता हुन्छ । साथै महिनावारी भएको बेला भित्र प्याड लगाएको हुन्छ । पीपीई लगाउँदा पसिनाले पूरै भिज्छ । त्यति बेला ब्लड नै बाहिर निस्केको जस्तो त्रास हुन्छ । पीपीई खोल्दा पसिना र गुम्सिएको शरीरको गन्धले फेन्ट नै होला जस्तो हुन्छ । मर्निङ ६ घण्टा, इभिनिङ ६ घण्टा र नाइट १२ घण्टा ड्युटी हुन्छ । ड्युटीमा पूरा पीपीई लगाएर स्ट्यान्डबाई बस्नुपर्छ । कोरोना आईसीयुमा बिरामी र नर्स मात्र हुने हुनाले बिरामीलाई समयमा औषधि दिनेदेखि सम्पूर्ण रेखदेख नर्सले गर्नुपर्छ । उहाँहरुको मागअनुसारको खाना व्यवस्थापन, दिसा–पिसाब गराउने कार्यसमेत गरिदिनुपर्छ । यो अत्यन्तै गाह्रो काम भए पनि हाम्रो टिम सक्रिय भएर लागेकै कारण आईसीयुमा राखेका बिरामीको पनि उपचार सफल भई घर फर्काउन सफल भएका छौँ ।
महामारीमा काम गर्दा नयाँ कुरा के सिकियो ?
थाहै नपाएको पीपीईको बारेमा भिडियो मात्र हेरेका थियौँ, आफैंले प्रयोग गरियो । अर्को टिमवर्क महत्वपूर्ण रहेछ, टिम मिल्यो भने जस्तोसुकै जटिल अवस्थामा पनि व्यवस्थापन गर्न सकिँदो रहेछ भन्ने भएको छ ।
महामारी ह्यान्डिल गर्ने तरिका कोर्समा कत्तिको पढिएको थियो ?
खासै त्यस्तो थिएन ।
समाज र परिवारमा कस्तो व्यवहार भयो ?
कोठा भाडामा बस्नुपर्ने स्वास्थ्यकर्मीहरुलाई घरबेटीले अस्पतालमै बस्नसमेत भने । समुदाय जनप्रतिनिधिहरुले समेत स्वास्थ्यकर्मीको समस्या बुझ्न सकेनन् । अस्पतालको गाडी घरसम्म पुग्दा समुदायले समेत छोइछिटो गर्थे । परिवारमा मेरो सानो १ वर्ष र ठूलो ४ वर्षको बच्चा छ । म क्वाटरमा बस्छु । अरु बेला भए ड्युटीको समय ब्रेक लिएर ब्रेस्ट फिडिङ गराउँथे तर कोरोना संक्रमणपछि बिहान घरबाट आएपछि एकैपटक ड्युटी सकेर पीपीई खोली, नुहाइधुवाइ गरेर मात्र बच्चालाई छुन्छु । शुरु–शुरुमा त बच्चा छुन पनि डर लाग्थ्यो । अब त बिस्तारै सुरक्षा विधि पनि सिकियो र सुरक्षा अपनाएर बच्चालाई ब्रेस्ट फिडिङ गराउने र स्याहार गर्ने गर्छु ।
शुरुका समयमा परिवारले पनि त्यति सहज मान्नुहुन्नथ्यो । मैले तालिम लिएपछि परिवारलाई पनि बुझाएँ र आफूले पनि सुरक्षा अपनाएर काम गर्न थालेपछि पूर्णरुपमा सहयोग मिलेको छ ।
ड्युटीमा भोगेका अरु कुनै कठिनाइ छन् कि ?
शुरुमा पीपीईको समस्या भयो, पर्याप्त उपलब्ध भएन । बल्लतल्ल पीपीई पाइने ठाउँ पत्ता लगाइयो । पीपीई पाइने ठाउँमा जाँदा त्यहाँका मान्छेले हामीलाई ‘यहाँ नआउनुस्, हामी आफैं अस्पतालमा आएर नाप लिन्छौं, छिमेकीले देखे भने कोरोना सर्छ भनेर हामीलाई काम गर्नै दिँदैनन्’ भन्थे । पीपीई ल्याएर पनि हामीलाई लगाउन कठिन भएको थियो, बिस्तारै बानी परियो ।
महामारी व्यवस्थापनमा अस्पतालका कुनै कमजोरी पाउनुभयो कि ?
यो नयाँ रोग भएकाले सबैले सिक्ने क्रम थियो । शंकास्पद केस भन्नेबित्तिकै आइसोलेसनमा राखिन्थ्यो । यसै क्रममा एउटा शंकास्पद बिरामीको मृत्यु हुँदा निकै चिन्तित भइयो तर पछि रिपोर्ट नेगेटिभ आयो । अनुसन्धानको व्यवस्था गरिएको थिएन । पछिल्लो समय लक्षणविहीन बिरामीको पनि अनुसन्धान शुरु ग¥यौैैँ । यो हाम्रो सिकाइ र भोगाइको अनुभव हो ।
कोरोनाका बिरामी उपचारका क्रममा बिरामी पक्षको व्यवहार कस्तो पाउनुभयो ?
आईसीयुमा पहिलो केस कपिलवस्तुको बिरामी आउनुभएको थियो । उहाँलाई गम्भीर अवस्थामा अस्पताल ल्याइएको थियो । त्यति बेलासम्म यो अस्पतालमा कोरोना आईसीयु र जनशक्ति निर्धारण गरिसकिएकाले तयारी अवस्थामा थियौँ । उहाँलाई आईसीयुको भेन्टिलेटरमा राखियो र पहिलो केस निको हुनुभयो । उहाँ निको भएर डिस्चार्ज हुने बेलामा यति खुशी हुनुभयो कि आईसीयुबाट बाहिर निस्कनासाथ उहाँको गला अवरुद्ध भयो, आँखाभरि आँसु छचल्क्याउँदै डाक्टरहरुको खुट्टा समात्नुभयो । यो दृश्यले हामी स्वास्थ्यकर्मी सबैलाई भावुक बनायो र थप जिम्मेवार बन्न हौस्यायो ।
उहाँले स्वास्थ्यकर्मीलाई दिनुभएको सम्मान–सत्कारको पूर्णरुपमा कदर गर्दै हामी टिमवर्कमा खटिनै रहेका छाँै । त्यति बेला परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला मात्र थियो । रिपोर्टका लागि धेरै समय कुर्नुपर्ने हुन्थ्यो । बिरामीहरु जानाजान रिपोर्ट पोजेटिभ निकालेर हामीलाई अस्पतालमा राखिराखेका छौ भन्दै रिसाउनुहुन्थ्यो । जब स्वास्थ्य मन्त्रालयले परिमार्जित निर्देशिका जारी गर्दै लक्षण नदेखिएको बिरामीको रिपोर्ट नआए पनि डिस्चार्ज गर्न मिल्छ भन्यो, त्यसपछि लक्षण नदेखिएकालाई डिस्चार्ज गर्नुका साथै भर्ना पनि लिएनौँ ।
साधन–स्रोतको अभाव भयो कि भएन ?
साधन–स्रोतको खासै अभाव नै त भएन तर अलि कमीचाहिँ भयो । हामीले स्यानिटाइजर आफैंले बनायौँ। अरु सामान संक्रमित केस हेर्नेले मात्र प्रयोग गरेर काम चलायौँ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा ३ जना चिकित्सक स्वास्थ्यकर्मीमै कोरोना संक्रमण भयो, त्यति बेला कसरी व्यवस्थापन गर्नुभयो ?
पीपीई लगाउने, खोल्ने र फोहोरमैला व्यवस्थापनमा ध्यान दिएन भने संक्रमण हुन्छ भन्ने कुरा प्रस्ट भयो । हामी सबैले यस्ता विषयमा ध्यान दिन अझ जोड दियौँ र सबैलाई तालिम दिएर सिकायौँ । प्यारामेडिसिन विभागमा कार्यरत स्वास्थ्यकर्मीमा पोजेटिभ देखियो, जो पहिलादेखि नै औषधि खाँदै हुनुहुन्थ्यो । हाम्रो अस्पताल कोरोनाबाहेक २ सय ९४ बेडको छ । कोरोनाको विश्व महामारीको बेला निःस्वार्थ भावले काम गरेका करारका स्वास्थ्यकर्मीको समेत मूल्यांकन गरी उहाँहरुलाई पनि राज्यले राम्रो सम्बोधन गरिदिए भोलिका दिनमा समेत कुनै पनि संकटमा काम गर्न सजिलो हुने थियो भन्ने लागेको छ ।