कोरोना संकटबीच परिवार योजना



– प्रा. डा. सुमनराज ताम्राकार (स्त्रीरोग विशेषज्ञ)

कोरोना संक्रमणले नेपालमा असर गर्न थालेको पनि ६ महिना हुन लाग्यो । यसपटकको भाइरल संक्रमणको महामारीले मानवजीवनलाई अनेक कोणबाट थिलथिलो बनायो । यदि पोहोर–परारको जस्तो सामान्य अवस्था भएको भए वैशाख–जेठमा लगन गाँठो कस्ने दम्पतीले सन्तान उत्पादनको योजना बनाइसकेका हुन्थे । यो पटक एक त विवाह नै उत्साहपूर्ण तवरले गर्न पाएनन् भने त्यसपछिका समय पनि त्रास, सन्त्रासमै बिताउन बाध्य भइरहेका छन् ।

पछिल्लो समयका युवायुवतीमा पहिलो प्राथमिकता उच्च शिक्षा आर्जन गर्ने अनि शहरी क्षेत्रमा क्यारियर बनाएपछि मात्र विवाह गर्ने ट्रेन्ड देखिन्छ । यसले गर्दा नेपालमा पनि विवाह ढिलो हुन थालेको छ र बच्चा पनि कम मात्र पाउने प्रवृत्ति देखिँदै छ । साथै पारिवारिक संरचना पनि संयुक्तबाट एकलतिर ढल्किन थालेको छ । यसै परिवेशमा कोरोना संक्रमणको महामारीले शहर–बजारमा केन्द्रित दम्पतीको जीवन बढी प्रभावित भएको छ । अर्कोतिर, ग्रामीण क्षेत्रमा वर्षौंपछि नियमितरुपमा पाउन थालेको प्रसूति सेवा मात्र नभई समग्र स्वास्थ्य सेवामा नकारात्मक असर पर्न थालेको छ ।

विगतमा गर्भवती महिला तथा गर्भेशिशुमा एचआईभी, हेपाटाइटिस ई, हर्पिस, रुबेल्ला, साइटोमेगालो भाइरस, पार्बो भाइरस, भेरिसेल्ला भाइरस अनि हालसालै जिका भाइरसको नकारात्मक प्रभाव देखे–सुनेका दम्पतीहरुमा कोरोना भाइरसले के–कस्तो प्रभाव पार्ने हो भन्ने जिज्ञासा उत्पन्न भइरहेको छ । त्यसमाथि कोरोना लाग्नेबित्तिकै मरिहाल्ने जस्तो धारणा र कोरोना संक्रमितलाई समाजबाट बहिष्कृत गर्ने परिस्थिति सिर्जना भएको अवस्थामा सन्तान उत्पादन गर्न मिल्छ कि मिल्दैन दोधारमा पर्नु स्वाभाविक नै हो ।

त्यसो त चीनको वुहानबाट शुरु भएको कोभिड–१९ को महामारीपश्चात् चिकित्सकहरुमाझ कोरोना संक्रमणलाई लिएर ६ महिना जतिको व्यावहारिक अनुभव मात्र छ । यस संक्रमणलाई लिएर वैज्ञानिक शोधपत्रहरुमा अध्ययन–अनुसन्धानका नतिजाहरु पनि तुलनात्मकरुपमा अलाकाँचा नै छन् । कोरोना भाइरससम्बन्धी चिकित्सक, वैज्ञानिकका धेरैजसो अनुमान, आँकलन, आशा, भरोसा र प्रक्षेपणहरु गलत साबित भइरहेका छन् ।

एचआईभी, जिका, हेपाटाइटिस ‘ई’ लगायतका माथि उल्लिखित भाइरल संक्रमणमा प्रत्यक्ष–परोक्ष गर्भवती महिला वा गर्भेशिशुमा नकारात्मक असर देखिन सक्छ । कतिपय भाइरल संक्रमणले पटक–पटक गर्भ तुहिने, गर्भेशिशुको मुटु, मिर्गौला, मस्तिष्कमा असर पु¥याउने, गर्र्भेशिशुको वृद्धि राम्रो नहुने, महिना नपुग्दै व्यथा लाग्ने, शारीरिक विकलांग भएका शिशु जन्मिने, भाइरल संक्रमितबाट जन्मिएका बच्चा लेखपढमा राम्रो नहुने हुन सक्छ भने गर्भावस्था तथा सुत्केरी समयमा महिलाको अकाल मृत्यु हुन सक्ने जोखिम पनि उत्तिकै हुन्छ । भलै कोभिड–१९ का कारण नेपालमा पहिलो मृत्यु सुत्केरी महिलाको भयो । तर पनि विश्वव्यापी तवरमा हालसम्मको अध्ययन–अनुसन्धानका रिपोर्टहरु केलाउँदा गर्भवती महिला र बालबालिकामा कोरोना संक्रमणको असर त्यति हतोत्साहपूर्ण छैन । यस हिसाबले नवदम्पती वा अन्यले सन्तान उत्पादन गर्ने कार्यलाई लिएर त्यति द्विविधापूर्ण हुनुपर्ने जस्तो लाग्दैन । अर्थात् दम्पतीबीचको सल्लाहमा बच्चा पाउँदा हुन्छ ।

त्यसो भन्दै गर्दा कोरोना संक्रमणका कारण आफ्नो बासस्थानवरिपरि कोभिड–१९ को अद्यावधिक स्थिति कस्तो छ ? लकडाउन वा निषेधाज्ञाकै वातावरण छ कि ? अझै पनि ‘न्यू नर्मल’ को अवस्थामा फर्किन सकेको छैन कि ? भन्ने कुरामा हेक्का राख्नु भने पर्छ । किनकि कोरोना संक्रमणलाई लिएर अझै पनि एक–डेढ वर्ष अस्थिरता खेप्नुपर्ने अवस्था छ । सबैको आशा कोरोना भाइरसविरुद्धको खोपमा छ । तर खोप बनिहाल्यो भने पनि शुरुमा विकसित देशको हालिमुहाली हुन्छ । शुरुमा खोप सीमित मात्रामा उत्पादन हुने र महँगो हुने हुनाले खोपको निर्माण त्यति विधि व्यावहारिक निकास हैन । ‘सत्य तीतो हुन्छ’ भनेझैं नेपालमा समुदायस्तरमा कोरोना फैलिएर, एकले अर्कालाई कोरोना सार्दै त्यस संक्रमणविरुद्ध प्रतिरोधात्मक क्षमता विकसित गर्नुको विकल्प छैन । यसको लागि समुदायका करिब ६० देखि ६५ प्रतिशत मानिस संक्रमित भएर ‘हर्ड इम्युनिटी’ पाउनुपर्ने हुन सक्छ ।

कोरोना लाग्नेबित्तिकै मरिहाल्ने जस्तो धारणा र कोरोना संक्रमितलाई समाजबाट बहिष्कृत गर्ने परिस्थिति सिर्जना भएको अवस्थामा सन्तान उत्पादन गर्न मिल्छ कि मिल्दैन दोधारमा पर्नु स्वाभाविक नै हो ।

अहिलेसम्मको अध्ययन–अनुसन्धानबाट पाइएको परिणामअनुसार गर्भवती आमाबाट गर्भेशिशुमा यो भाइरस सर्दैन । सुत्केरी व्यथाको क्रममा नवजात शिशुमा कोरोना भाइरस सरेको पाइएको छैन । स्तनपान गराउन मिल्छ । निकै विरलै मात्रामा स्तनपानकै कारण, रगत, योनिश्रावबाट कोरोना भाइरस सरेको घटना पाइएको छ । यसरी कोरोना भाइरसलाई लिएर दम्पती वा गर्भवती महिलाले चिन्ता त लिन आवश्यक छैन । तर पनि कोरोना संक्रमणको रोकथामका उपायहरु जस्तो– पटक–पटक हात धुने, मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, स्यानिटाइजर प्रयोग गर्ने कुरामा हेलचेक्र्याइँ गरिहाल्ने परिस्थिति भने छैन । नवजात शिशुको स्याहारमा त झनै जोखिम मोल्नुहुँदैन ।

Cropped shot of an attractive young pregnant woman working from home

त्यसो त नेपाल सरकारले साउनको पहिलो हप्ताबाट चार महिना लामो लकडाउन हटाएसँगै हामी बिस्तारै ‘न्यू नर्मल’ अवस्थातर्फ लाग्न प्रयासरत छौं । तर आशातीत सामान्य अवस्थामा फर्किन अझै समय लाग्नेछ । कोरोनाले गर्भावस्थामा त्यति सारो असर नभए पनि अन्य बेला गर्भवती हुँदा सरल तवरमा प्राप्त हुने नियमित स्वास्थ्य जाँच, रगत परीक्षण, अल्ट्रासाउन्ड ९एकाध पटक०, संस्थागत सुत्केरी सेवा, आवश्यक पर्नेबित्तिकै एम्बुलेन्स सेवा, औषधि आपूर्तिको नियमिततामा भने कोरोना संक्रमणले निकै असर पारिदिएको छ । गर्भवती तथा सुत्केरीसम्बन्धी कतिपय सेवा नेपाल सरकारले निःशुल्क बनाए पनि ती सेवा प्राप्त गर्ने क्रममा यातायात तथा थप परीक्षणमा आर्थिक भार बढ्न गएको देखिन्छ ।

कोरोना संक्रमणलाई लिएर स्वास्थ्य मन्त्रालयले नै कतिपय रगत परीक्षण थप गर्न भनेको छ भने परिस्थितिअनुसार पीसीआर टेस्टको आर्थिक व्ययभार पनि परिवारजनले व्यहोर्नुपरेको छ । पछिल्लो समय विशेषगरी निजी अस्पतालहरुमा पेट चिरेर बच्चा पाउने शल्यक्रिया (सिजेरियन) का लागि पनि पीसीआरको रिपोर्ट अनिवार्यजस्तो बनाइएको छ ।

अहिलेको परिस्थितिमा सबैको ध्यान कोरोना केन्द्रित हुँदा अन्य स्वास्थ्य समस्याले मानिसहरुको ज्यान अकालमा गइरहेको छ । यस मामिलामा गर्भवती महिला तथा सुत्केरी महिला अछूतो छैनन् । पछिल्लो तथ्यांकमा नेपालमा गर्भवती तथा सुत्केरी महिलाको मृत्यु संख्या विगतमा भन्दा दुईदेखि तीन गुणाले बढेको देखिन्छ । सामान्य अवस्था हुँदो हो त अथवा विगतमा झैं स्वास्थ्य सेवा सहज तवरमा प्राप्त हुँदो हो त, अधिकत्तर यी अकाल मृत्यु रोक्न सकिन्थ्यो । यसैबाट पाठ सिकी पछिल्लो केही हप्ता सरकारी वा निजी तवरमा हेलिकप्टरबाट उद्धार गरी शहरी क्षेत्रका अस्पतालमा ल्याउने क्रम बढ्दो छ । जसका लागि जनताकै पैसा वा जनताले करस्वरुप तिरेको करको खती भैरहेको छ ।

नेपालमा समुदायस्तरमा कोरोना फैलिएर, एकले अर्कालाई कोरोना सार्दै त्यस संक्रमणविरुद्ध प्रतिरोधात्मक क्षमता विकसित गर्नुको विकल्प छैन ।

कोरोना संक्रमणलाई लिएर गर्भधारण गर्नु नै हुँदैन भन्ने मनसाय राखेको नभई परिवार योजना बनाउँदा माथि उल्लिखित परिस्थितिलाई विचार पुर्‍याउनुपर्छ, सतर्क रहनुपर्छ भनेको हो । उदाहरणको लागि अहिले नियमित स्वास्थ्य सेवा नपाउने वा यातायातको सुविधा सहज छैन भने सुत्केरी नभएसम्म बेलैमा शहरी अस्पतालनजिक बस्न थाल्नुहोस् । कोरोना संक्रमणको फैलावटलाई ध्यानमा राखी सम्बन्धित चिकित्सकसँग भच्र्युअल कन्सल्टेसनमा बस्नुहोस् । गर्भावस्था तथा सुत्केरी अवस्थामा गर्नुपर्ने सम्पूर्ण परीक्षणको हेक्का राख्नुहोस् । गर्भावस्था तथा सुत्केरी अवस्थामा सिर्जिन सक्ने खतराहरु थाहा पाउनुहोस् ।

कोरोनाबाट बच्ने उपायहरु सही तरिकाले अपनाएको खण्डमा सन्तान उत्पादनमा कुनै संशय लिनु आवश्यक छैन । बरु सहज, सरल, चुस्त स्वास्थ्य सेवा पाउने वातावरण बनाउन भने आवश्यक पहल गर्नु बुद्धिमानी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्