उषा देवकोटा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको नर्सिङ अफिसर तथा कोभिड आईसीयुमा नर्सिङ इन्चार्ज हुनुहुन्छ । गोर्खाको पालुङटारमा जन्मनुभएकी उषाले इन्स्टिच्युट अफ मेडिसिन पोखरा नर्सिङ कलेजबाट पीसीएल र पोखरा विश्वविद्यालयबाट बीएन उत्तीर्ण गरी २०४८ सालमा लोकसेवा पास गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट नर्सिङ सेवा शुरु गर्नुभएको हो । २०५२ सालदेखि वीर अस्पतालमा काम गरी २०६३ सलादेखि टेकु अस्पतालमा सरुवा हुनुभएको हो ।
१७ औं निजामती सेवा दिवसका अवसरमा एक लाख राशिको निजामती पुरस्कारबाट सम्मानित उषा देवकोटासँग साधना प्रतिनिधि भगवती तिमल्सिनाले गरेको कुराकानीको सार :
तपाईंले नर्सिङ पेसा नै किन छनोट गर्नुभयो ?
नर्सिङ पढ्ने भावना बाल्यकालदेखिकै हो । विद्यालयमा गुरुहरुले के पढ्ने भनेर सोध्दा म नर्सिङ पढ्ने भन्थँे । हामी सानो हुँदा गोर्खामा प्रायः हरेक घरका कोही न कोही नर्स वा डाक्टर हुन्थे । उनीहरु बिदामा घर आउँदा उनीहरुले गरेका कामका बारेमा कथाजस्तै सुनाउँथे । त्यसले नर्सिङ त पढ्नै पर्ने विषय रहेछ भन्ने भावना जाग्यो । त्यसै बेलादेखि अरुको दुःख देख्न नसक्ने र सहयोग गर्ने भावना आयो । नर्सले फोहोर छुनुपर्छ भन्थे तर मानवीय सेवाभावले गर्दा जे गर्नुपरे पनि गर्छु भन्ने मेरो अठोटले जरा गाड्यो ।
कोरोना संक्रमणको उपचारमा टेकु अस्पताल देशकै केन्द्रविन्दुमा रहेको छ । त्यहाँ नर्सिङ सेवा कसरी व्यवस्थापन गराउँदै हुनुहुन्छ ?
टेकु अस्पतालमा हरेक क्षण आफ्नो सुरक्षा अपनाएर मात्र काम गरिन्छ । यहाँ रोगभन्दा पनि बिरामीको अवस्थालाई विशेष प्राथमिकता दिइन्छ । आफ्नो पूर्ण सुरक्षा अपनाएर काम गर्दा बिरामी सरुवा रोगबाट नै पीडित भए पनि आफूलाई रोग सर्दैन भन्ने कुरामा हामी नर्सहरु ढुक्क छौं ।
शुरुमा चीनमा कोरोना भाइरस देखा पर्दा हाम्रो देशमा यो भाइरस आयो भने कसरी सेवा गर्ने होला ? त्यस्तो विकसित देशमा त यति धेरै मानिसले दुःख पाए भन्ने लागेको थियो । टेकुमा पहिला तीन–चार बेडको मात्र आईसीयु थियो । कोभिड देखिन थालेपछि २० बेडको बनाइयो र मलाई आईसीयुको इन्चार्जको जिम्मेवारी दिइयो ।
आईसीयु इन्चार्ज भएपछि शुरुमा कसरी टिम सञ्चालन गर्ने भनेर चिन्ता पनि भयो । बिरामी आउन थालेपछि एक प्रकारको डरलाई साइड लगाउँदै उपचारमा खटिने समूहले तालिम लियौँ । त्यसपछि पीपीई लगाएर दिनभरि काम गर्नुपर्दा पनि टिमको सहयोग भयो । टेकु अस्पतालका डाक्टर, नर्स, हेल्पर सम्पूर्णको टिम अत्यन्तै सहयोगी भावनाको छ ।
कोरोनाका बिरामी अस्पताल प्रवेश गरिसकेपछि उहाँहरुको छटपटाहट, पीडा देख्दा हामीले यो कोरोनाको बिरामी हो, यसलाई छुनुहुन्न भन्ने नै हुन्न । विगतमा अरु रोगका बिरामीलाई हामीले जसरी हेथ्र्यौं, त्यसरी नै उपचार गर्यौँ ।
हाम्रो अस्पतालमा पीपीईलगायतका सुरक्षा सामग्री शुरुका दिनदेखि नै अभाव भएन । हामीले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले बनाएको प्रोटोकलको पूर्णरुपमा पालना गरेका छौं । यो सबै सुरक्षा अपनाउँदा बाहिर पब्लिकमा भन्दा वार्डभित्र काम गर्दा सुरक्षित भएको महसुस हुन्छ ।
कोरोना संक्रमणको पहिलो केसदेखि नै त्यस्ता बिरामीको सेवामा सक्रिय हुनुहुन्छ । त्यति बेलाको अवस्था कस्तो थियो ?
शुरुमा त कोरोना भन्ने नै थिएन, यो नयाँ रोग हो भन्ने मात्र थियो । डाक्टरहरुले सावधानीचाहिँ अपनाउनुभएको थियो, बिरामी आईसीयुमा नभई वार्डमा राखिएको थियो । यो चीनमा फैलिएको नयाँ रोग सम्बन्धिको विरामी आएको भन्नुहुन्थ्यो । हामीचाहिँ अनभिज्ञजस्तै थियौँ । तर सरुवा रोग अस्पताल भएकाले ग्लोब, मास्क त जहिले पनि लगाउँछौं ।
त्यति बेला पीपीई लगाउनुपर्छ भन्नेचाहिँ थिएन । सामान्यरुपमा अरु सरुवा रोगका बिरामीलाई जसरी हेरिन्थ्यो त्यसरी नै हेरिएको थियो । सञ्चारकर्मीहरु दैनिकजसो आएर भीड लगाएको देख्दा हामी साथीबीच किन यस्तो भीड भइरहेको छ भनेर कुरा गथ्र्यौं । चीनमा आएको नयाँ रोग यहाँ पनि देखियो भन्थे ।
जब बिरामीको रिपोर्ट पोजेटिभ आयो भनेर रोगका बारेमा ब्रिफिङ भयो, त्यसपछि मात्र हामी सबैलाई थाहा भयो ।
तपाईं त बिदाको दिनमा पनि बिरामीको चिन्ता लिँदै अस्पताल पुग्नुहुन्छ भन्ने सुनिन्छ, बिरामीको सेवाप्रति किन त्यति धेरै लगाव ?
कोभिड भनेको नयाँ विषय हो र हामी सबै यो रोगका लागि नयाँ नै छौँ । आफूले जिम्मेवारी लिइसकेपछि केही समस्या आउने हो कि भनेर घरको भन्दा ठूलो जिम्मेवारी अस्पतालको हुन्छ । एउटा सामान भएन, केही सानो गल्ती भयो भने बिरामीको जीवनको कुरा हुन्छ । कोभिडपछि हामी अधिकांश नै अस्पतालकै होस्टलमा बस्छौं । हामी घर जानुपर्यो भने २ हप्तामा एकपटक शनिबार पारेर पालैपालो जान्छौं ।
स्वास्थ्य सेवा भनेको टिम वर्क हो । इन्चार्ज भएको नाताले धेरै जिम्मेवारी मेरो हुन्छ । जस्तै– सामान, जनशक्ति, अनुभवका कुरा हुन्छन् । ल सिस्टर यस्तो भयो भनेपछि आनन्दले घरमा बस्नै सकिँदैन । आफ्नो घर–परिवार त सधैँ साथमै हुनुहुन्छ । मेरो छोरीले समेत विरामीको सेवामा जुट्न मलाई सघाउँदै आएकी छन् । आफूले समय दिएर बिरामी बचाउन सकिन्छ भने सबैभन्दा ठूलो उपलब्धि त्यही हो । त्यसैले घर गएर बस्न मन लाग्दैन ।
टेकु अस्पताल सरुवा रोग नियन्त्रण गर्ने अस्पताल भएकै कारण बिरामीको चाप बढेको छ, जनशक्तिको अवस्था कस्तो छ ?
बिरामीको चाप बढे पनि विभिन्न वार्डहरु मर्ज भएका छन् । स्वास्थ्य मन्त्रालयले थप जनशक्ति पनि दिएको छ । हाल जनशक्तिको कुनै अभाव छैन ।
टेकु अस्पतालमा डेंगुलगायत अरु बिरामी पनि आइरहेका छन् कि ?
हाल डेंगुका बिरामी आएका छैनन् । बरु सर्पदंश, कुकुरले टोकेका समस्या लिएर खोप लगाउन आउँछन् । एचआईभी, क्षयरोगको ओपीडी खुल्लै छ तर अन्य बिरामी यहाँ भर्ना गरिन्न । किनकि यो पूर्णरुपमा कोभिड अस्पताल हो ।
महामारीको यो अवधिमा टेकु अस्पतालका नर्सहरुले कुनै पीडाको सामना गर्नुपर्यो कि ?
यो महामारीको बेलामा नर्सहरुका पनि आफ्नै समस्या छन् । घरमा साना बच्चाहरु छोडेर आउनुपर्छ । यता कोभिडको बिरामीको सेवा गरेर घरमा गई बच्चालाई कसरी स्याहार्ने भन्ने मानसिक समस्या छ । घरमै परिवारका सदस्यहरु बिरामी हुँदा समय दिन सकिएको छैन । यस्ता तनावले गर्दा नर्सहरुमा टाउको दुख्ने, पेट दुख्ने समस्याहरु आइराखेको हुन्छ । हामी पनि संक्रमित भयाँै कि भन्ने चिन्ता हरपल हुन्छ । आईसीयुमा गम्भीर प्रकृतिका बिरामी हुनुहुन्छ । कामको चाप पनि उत्तिकै हुन्छ ।
अरु अस्पतालमा जस्तो टेकु अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु संक्रमित नहुनुको कारण के होला ?
सरकारले कोभिड अस्पताल भनेर छुट्याएकै कारण यहाँ कोभिडबाहेकका बिरामी आउँदैनन् । सबै खाले बिरामी आउने भएको भए टेकुका स्वास्थ्यकर्मी अन्तभन्दा बढी जोखिममा हुन्थ्यौं । स्पेसल अस्पताल भएकै कारण सरसफाइ, फोहोरमैला व्यवस्थापनलगायतका विषयमा पहिलादेखि नै विशेष ध्यान दिइएको थियो भने अहिले पनि त्यसलाई थप व्यवस्थित गरिएको छ । सरुवा रोगका विषयमा अनुभवी स्वास्थ्यकर्मी भएको र अहिले थप सजगता अपनाएकै कारण बिरामीबाट स्वास्थ्यकर्मीमा रोग संक्रमण हुन पाएको छैन ।
कोभिड–१९ को महामारीमा टिमवर्क कस्तो पाउनुभयो ?
पहिला टेकु अस्पतालमा धेरै बिरामी नआउने भएकाले खासै काम गरेजस्तो महसुस हुँदैनथ्यो । अहिलेको अवस्था बिलकुलै फरक छ । अहिले बिरामी धेरै भएकाले हेल्परदेखि निर्देशकसम्मले काममा धेरै खटिनुपर्छ । अस्पतालको कन्सल्ट्यान्टदेखि सबै टिम सदस्य अस्पतालभित्र केही भयो वा आकस्मिक गम्भीर बिरामी आउँदै छ भने भाइबर ग्रुपमा म्यासेज गर्नासाथै सबैजना जुट्नुहुन्छ । अरु बेलाको दाँजोमा यति बेला शुक्रराज ट्रपिकलमा टिमको तदारुकता अत्यन्तै राम्रो छ ।
यो महामारीका अवधिमा समाज र परिवारको व्यवहार कस्तो पाउनुभयो ?
शुरुमा जनचेतना थिएन । समाजको बुझाइमा अस्पतालमा काम गर्ने मान्छेले कोरोना ल्याउँछ भन्ने थियो । अहिले हरेक घरका कोही न कोही आफन्त, मित्र वा आफँै कोरोना संक्रमित भएका छन् । पछिल्लो समय स्वास्थ्यकर्मीलाई भन्दा अन्य व्यक्तिहरुमा कोरोना संक्रमण बढ्दै गएको छ । त्यसैले पहिलाको सोच अहिले हटिसकेको महसुस हुन्छ ।
महामारीको उपचारका सन्दर्भमा तपाईंका कुनै सुझाव छन् कि ?
हामी स्वास्थ्यकर्मीले म र मेरो सबै कुरा राम्रो छ भनेर लिनुहुन्न । स्वास्थ्यकर्मीहरुलाई दिने सुविधाहरु सरकारले समानरुपमा दिनुपर्छ । अस्पताल भनेको दुर्गम होस् या सुगम, सरकारले समान सुविधा भएको बनाउनुपर्ने हो तर भएजस्तो लाग्दैन । सरकारले स्वास्थ्य ंसंंस्थामा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र बिरामी सबैलाई उचित व्यवस्थापन गर्नुपर्छ ।
अन्त्यमा केही भन्नुहुन्छ कि ?
कोरोना पोजेटिभ देखिए पनि त्यति गाह्रो भएको छैन, बिरामी गम्भीर अवस्थामा छैन, कुनै लक्षण देखाएको छैन भने अस्पताल भर्ना हुनुपर्दैन । तर कोरोनालाई सामान्यरुपमा लिनुहुँदैन, कोरोना लागेपछि कहिलेकाहीँ गम्भीर अवस्था पनि आउन सक्छ । विश्व स्वास्थ्य संगठन र सरकारले तोकेका मापदण्डको पूर्णरुपमा सबैले पालना गर्नुपर्छ ।