– प्रा. डा. सुमनराज ताम्राकार (स्त्रीरोग विशेषज्ञ)
गर्भवती एवं सुत्केरी अवस्थामा शरीरको प्रतिरक्षात्मक क्षमता तुलनात्मकरुपमा कम हुन्छ । त्यसैले विश्वव्यापी महामारीको रुपमा पैmलिरहेको कोरोना संक्रमणको जोखिम समूहमा गर्भवती महिलाहरु पनि राखिएको छ ।
नेपालमा शुरुवाती दिनमा गर्भवती तथा सुत्केरी महिला कोरोना संक्रमणबाट त्यति प्रभावित भएको देखिएन । अन्य मुलुकमा पनि स्थिति यस्तै नै थियो । तर नेपालमा कोरोना संक्रमण भित्रिएको (चैत्र १० गते) करिब ६ हप्तापछि कोरोना संक्रमणकै कारण पहिलो मृत्यु सुत्केरी महिलाको हुन गएपछि सबैजना झस्के ।
यसबाट कोरोना महामारी फैलिइरहेका बेला गर्भवती एवं सुत्केरीको हेरचाहमा हेलचक्र्याईं गर्न नहुने रहेछ भन्ने धेरैले बुझे । तर अस्पतालमा गई गर्भवती परीक्षण गराउने, सुत्केरी गराउने तथा सुत्केरीपश्चात् परीक्षण गराउने सहज वातावरण भने भएन ।
चैतदेखि साउनसम्मको चार महिना लकडाउन अनि त्यसपछिको क्षेत्रगत निषेधाज्ञा, दैनिकरुपमा ५ सयभन्दा बढी पोजिटिभ केसहरु भेटिइरहनु तथा एकाध स्वास्थ्यकर्मी कोरोना पोजिटिभ देखिनेबित्तिकै अस्पताल सिल गरिहाल्ने परिस्थितिका कारण गर्भवती तथा सुत्केरी महिलाहरुलाई कोरोना महामारीपूर्वको समयमा जस्तो सजिलो भएन ।
सार्वजनिक यातायात बन्दजस्तै भयो भने एम्बुलेन्स सेवा महँगो हुनुको साथै सहजै उपलब्ध हुन सकेन । त्यसैले होला यस अवधिमा विगत चार–पाँच वर्षको दाँजोमा सुत्केरी तथा गर्भवती महिलाको (बेलैमा उपचार नपाई) मृत्यु संख्या तीन–चार गुणाले बढ्यो । सहस्राब्दी लक्ष्य भेट्टाउन निकै अग्रसर भइरहेको नेपाललाई आघात पुग्यो ।
परिस्थिति यस्तो भयो कि घरमै सुत्केरी गराउँदा मृत्यु हुनेभन्दा अस्पताल वा स्वास्थ्य संस्थामा लाने क्रममा बाटैमा मृत्यु हुनेको संख्या बढ्न गयो ।
अस्पताल नै नजाने त ?
विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले ४० हप्ताको गर्भ अवधिमा कम्तीमा चारपटक गर्भ जाँच र संस्थागत सुत्केरी गराउनुपर्नेमा जोड दिएको छ ।
कोरोना संक्रमणको महामारी पैmलिरहेको वर्तमान अवस्थामा आफ्नो गर्भावस्था सबै ठीकठाक नै चलिरहेको छ भने केही समय नियमित गर्भ जाँचको लागि अस्पताल वा स्वास्थ्य संस्था जानु आवश्यक छैन । तर गर्भवती जाँचको संख्यामा तल–माथि वा चेकअपका लागि ढिलो–चाँडो गरे पनि निम्नलिखित केही समस्याहरु देखा परेका खण्डमा भने अस्पताल जानै पर्ने हुन्छ :
गर्भावस्थाको पहिलो त्रैमासिकमा महिनावारी रोकिनु, वाकवाकी लाग्नु, उल्टी हुनु, खान मन नलाग्नु, छिटो–छिटो पिसाब हुनु, ढाड–कम्मर अनि तल्लो पेट हल्का दुुख्नु, आलस्य लाग्नु, स्तन भारी हुनु सामान्य समस्या मात्र हुन सक्छन् । तर तारन्तार उल्टी भइरहने भएमा अस्पताल जानुपर्ने हुन्छ । यसै गरी यस बेला तल्लो पेट निकै दुख्ने, योनिमार्गबाट रक्तस्राव हुने भएमा गर्भ खेर जान लागेको, पाठेघरभन्दा बाहिर नलीमा गर्भ रहेको वा सग्लो गर्भको ठाउँमा अंगुरको दानाजस्तो हुने बिग्रेको गर्भ (मोलार गर्भ) रहेको हुन सक्छ । यसको निदानको लागि अल्ट्रासाउन्ड नै गर्नुपर्ने भएकाले अस्पताल जानुपर्छ ।
त्यसै गरी गर्भावस्थाको दोस्रो त्रैमासिकमा (२० हप्तापछि) गर्भावस्थाकै कारण उच्च रक्तचाप, मधुमेह, रक्तअल्पतालगायतका मेडिकल समस्या देखा पर्न सक्छन् । त्यसैले घरनजिकको क्लिनिकमै भए पनि नियमित रक्तचाप जाँच गराइराख्नु राम्रो हुन्छ ।
त्यस्तै गर्भावस्थाको १८ देखि २२ हप्तामा गर्भेशिशुमा कुनै शारीरिक विकलांग छ÷छैन, निक्र्योल गर्नको लागि अल्ट्रासाउन्ड गराउनै पर्ने हुन्छ । अनि गर्भावस्थाको २४ हप्तापछि गर्भकै कारण मधुमेह देखा परेको छ/छैन भनी ५० वा ७५ ग्राम ग्लुकोज खाएर रगत जँचाउनुपर्ने हुन्छ ।
त्यसै गरी मुटुरोग, थाइरोइड, दम, छारेरोग, बाथरोगको औषधि खाइरहेको भए प्रसूति रोग विशेषज्ञको सल्लाहमा औषधिको मात्रा मिलाउनुपर्ने हुन्छ । कोरोना संक्रमणको महामारीको बेला नियमित गर्भ जाँचको अभावमा यी समस्या समयमै निदान भएन भने गर्भेशिशुको वृद्धिमा असर पुगी, गर्भेशिशुको वरिपरि पानीको मात्रा तल–माथि भई गर्भमा शिशुको मृत्यु हुन सक्छ ।
गर्भको तेस्रो त्रैमासिकमा व्यथा नलागी पानीको थैलो फुट्ने, व्यथा लाग्ने, तल्लो पेट दुख्ने, सुत्केरी नहुँदै अधिक रगत बग्नेलगायतका समस्या भयो भने पनि अस्पताल गइहाल्नुपर्छ । यसको अलावा गर्भेशिशु उल्टो/तेर्सो बसेको छ, गर्भेशिशुको वृद्धि खल्बलिएको छ, साल पाठेघरको तल्लो भागमा छ, यसअघि सिजेरियन वा औजार हाली डेलिभरी भएको थियो भने पनि अस्पतालमा जानुपर्ने हुन्छ ।
कहिलेकाहीँ सुत्केरी हुने मिति नाघिसकेको खण्डमा औषधिबाट व्यथा शुरु गराउनुपर्ने हुन्छ । यसको लागि बच्चा आउने बाटो यथेष्ट छ÷छैन, निक्र्योल गराउनुपर्दछ । सामान्य अवस्थामा गर्भावस्थाको ३८ हप्तातिर प्रसूति रोग विशेषज्ञ वा स्वास्थ्यकर्मीले बच्चा आउने बाटो जाँचिदिएको हुन्छ । यी समस्याहरु देखा परे वा कोरोना संक्रमणका कारण आफ्नो गर्भेशिशुलाई कुनै खतरा छ कि भन्ने थाहा पाउन यसअघि आफूले नियमित गर्भ जाँच गराइरहेको प्रसूति रोग विशेषज्ञ वा स्वास्थ्यकर्मीसँग स्काइप, भाइबर, मेसेन्जर वा फोनबाट नियमित सरसल्लाह लिइरहनु राम्रो हुन्छ ।
गर्भावस्थामा पिसाबको संक्रमण, टन्सिलको समस्या, दाँतको समस्या, निमोनिया, औलो, मेनिन्जाइटिस, टाइफाइडको समस्याले पनि उच्च ज्वरो आउन सक्छ । तर कोरोना संक्रमण नै हो कि भनेर आशंका गर्नको लागि उच्च ज्वरो (३८ डिग्री सेन्टिग्रेड वा १००.४ डिग्री फरेनहाइट), खोकी, सास फेर्न गाह्रो हुने, खाद्यनलीका समस्या हुनु आवश्यक छ । यसको अलावा कोरोना संक्रमणले आक्रान्त मुलुकबाट र्फिर्कएका व्यक्तिको सम्पर्कमा आएको जानकारी छ भने स्वाब टेस्ट गराउन आवश्यक हुन्छ ।
कोरोना संक्रमणको कारण गर्भवती महिला तथा उनको गर्भेशिशुमा पर्न सक्ने असरबारे यथेष्ट अध्ययन अनुसन्धान भइसकेको छैन । तर पनि चीनबाट प्राप्त प्रारम्भिक नतिजाअनुसार एचआईभी संक्रमणजस्तो गरी गर्भवती महिलाबाट गर्भेशिशुमा संक्रमण भएकोे देखिँदैन । कोरोना संक्रमण अनि लकडाउनको डर, त्रास एवं चिन्ता तथा नियमित गर्भ जाँचको अभावमा गर्भेशिशुको वृद्धि भने प्रभावित हुन सक्छ । एचआईभी भाइरसभन्दा पृथक् यो भाइरस गर्भवती तथा सुत्केरी महिलाको योनिरस एवं दूधमा पाइएको
छैन । त्यसैले पनि होला सुत्केरी दौरान आमाबाट नवजात शिशुमा पनि यो संक्रमण सरेको देखिँदैन । संक्रमण नै भएको खण्डमा पनि आवश्यक सजगता अपनाएर, राम्रो खालको मास्क लगाएर स्तनपान गराउनसम्म मिल्छ ।
घरमै सुत्केरी गराउन मिल्छ ?
घरमै सुत्केरी गराउन मिल्छ/मिल्दैन, थाहा पाउनको लागि सम्बन्धित स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्दछ । पाठेघरमा साल तल्लो भागमा छ, अघिल्लोपटक सिजेरियनबाट डेलिभरी भएको छ, व्यथाअगावै अधिक रगत बग्न थालेको छ, महिना नपुग्दै सुत्केरी हुन लागेको अवस्थामा घरमै सुत्केरी भएमा आमा तथा नवजात शिशुमा पर्न जाने असर खतरनाक हुन सक्छ ।
महिना नपुग्दै जन्मेको नवजात शिशुको मृत्यु हुने सम्भावना बढी हुन्छ । त्यसै गरी गर्भवती महिलामा उच्च रक्तचाप, मधुमेह, थाइरोइड, मुटुको समस्या छ भने चिकित्सकको सल्लाहमा औषधिको मात्रा ठीक लिएन भने गर्भवती महिलाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ ।
नेपालको परिप्रेक्ष्यमा सीमित स्वास्थ्य संस्था, स्वास्थ्यकर्मीको उपलब्धताका साथै अहिलेको क्षेत्रगत निषेधाज्ञाको बेला समयमै उपचार नपाउँदाको खतरा बढी देखिन्छ । त्यसो भएर माथि उल्लिखित समस्या भएका गर्भवती महिलाले समयमै सुविधायुक्त अस्पतालनजिकै डेरा जमाउनु बुद्धिमानी हुन्छ । निश्चितरुपमा गर्भवती महिलाहरुमा कोरोना संक्रमणको थप जोखिम भए पनि आवश्यक एवं नियमित हेरचाहको अभावमा सानो समस्या पनि बल्झिन गई अप्रत्यासित नतिजा निस्किनेतर्पm चनाखो हुनु आवश्यक छ ।