– प्रा. डा. प्रकाशराज रेग्मी (मुटुरोग विशेषज्ञ)
हिजोआज स्वास्थ्यको समस्या नहुने मान्छे कमै भेटिन्छन् । सबैजसोलाई एउटा न एउटा स्वास्थ्य समस्या भएकै हुन्छ । स्वास्थ्य समस्या हुँदा कुन डाक्टरकहाँ जाने ?
यो एउटा महत्वपूर्ण विषय हो । हामीकहाँ स्वास्थ्य सेवा सबैको पहुँचमा छैन । गाउँघर, डाडाँकाँडातिर स्वास्थ्य सेवा लिन कठिन छ । त्यहाँ स्तरीय स्वास्थ्य सेवाको त कुरै नगरौं, कैयौँ स्थानमा आधारभूत स्वास्थ्य सेवा पाउन पनि कठिन छ ।
शहर–बजारमा स्वास्थ्य सेवाप्रदायकहरु प्रशस्त छन् । अस्पतालहरु र विशेषज्ञ चिकित्सकहरुको कमी छैन । रोजी–रोजी डाक्टरकहाँ जँचाउन जान पाइन्छ । तर के हुँदा कसकोमा जाने ? के तपाईं निर्णय गर्न सक्नुहुन्छ ? के तपाईंले आफ्नो शरीरमा देखिएका लक्षणहरुका आधारमा कुन अस्पताल र कुन विषयको डाक्टरलाई देखाउने भनेर छुट्याउन सक्नुहुन्छ ? मेरो विचारमा धेरैजनाले यो गर्न सक्दैनन् । गलत ठाउँमा उपचार गर्न पुग्छन्, जसको फलस्वरुप उपचार पनि गलत पाउने सम्भावना धेरै हुन्छ ।
जोर्नीहरु दुख्ने बाथ हुँदा – हड्डीको विशेषज्ञ
मुटु हल्लिने, डर लाग्ने हुँदा – मुटुरोग विशेषज्ञ
छाती पोल्दा – पेटरोग विशेषज्ञ
खोकी लाग्दा – छातीरोग विशेषज्ञ
महिलालाई कुनै पनि रोग लाग्दा – स्त्रीरोग विशेषज्ञ
बच्चालाई कुनै पनि रोग लाग्दा – बालरोग विशेषज्ञ
आदि विशेषज्ञकहाँ जाने चलन छ । कतिपय अवस्थामा यो ठीक रोजाइ होइन । मसँग जँचाउन आउने केही बिरामीहरु हुनुहुन्छ । उहाँहरुका बारे थोरै चर्चा गर्न चाहन्छु । एकजना उच्च रक्तचाप, मधुमेह, थाइराइड र पाइल्सद्वारा पीडित रोगी हुनुहुन्छ । उहाँले ब्लडप्रेसर मात्र मसँग उपचार गराउनुहुन्छ । सुगरका लागि सुगरकै डाक्टरकहाँ जाने गर्नुभएको छ । थाइराइडका लागि थाइराइडकै डाक्टरकहाँ जानुहुन्छ । हुन त थाइराइड र मधुमेह विषय एउटै विशेषज्ञताभित्र पर्छ, जसलाई इन्डोक्राइनोलोजी (Endocrinology) भनिन्छ । विशेषज्ञका हिसाबले मधुमेह र थाइराइड हेर्ने विज्ञ अर्थात् इन्डोक्राइनोलोजिस्ट (Endocrinologist) नै हो । तर मेरो बिरामी मधुमेहका लागि एउटा इन्डोक्राइनोलोजिस्ट (Endocrinologist) र थाइराइडका लागि अर्का इन्डोक्राइनोलोजिस्ट (Endocrinologist) कहाँ जाने गर्नुहुन्छ । अनि उहाँले पाइल्स रोग आयुर्वेदिक चिकित्सकलाई जँचाइराख्नुभएको छ । यसरी राम्रो उपचार खोज्ने प्रयासमा धेरैजना विशेषज्ञकहाँ जानेहरु धेरै भेटिन्छन् । के यो ठीक हो त ? हुन त कसलाई जँचाउने, आफ्नै अधिकार र रोजाइको कुरा हो । तर यो ठीक तरिकाचाहिँ पक्कै होइन ।
अझ कुनै बिरामीले त एउटा डाक्टरलाई देखाएर औषधि खाइराखेको कुरा अर्को डाक्टरलाई भन्दैनन् । तीनवटा डाक्टरलाई जँचाएर तीनवटै डाक्टरको बाट औषधि खाइराखेका हुन्छन् । तर एउटाको कुरा अर्कालाई बताउँदैनन् । यसले गर्दा एउटै औषधि दुई–तीनतिरबाट परेर ओभरडोज हुन जान्छ । एक–अर्कासँग मिसाउन नहुने औषधि सेवन भैराखेको हुन सक्छ । बिरामीले आफ्नो भलाइ र सही उपचारका लागि कुन डाक्टरलाई जँचाएर कुन औषधि खाइराखेको छ, त्यो कुरा अर्को डाक्टरलाई पनि भन्ने गर्नुपर्छ । फेरि सुगर एउटालाई, थाइराइड अर्कालाई किन जँचाउनुपर्यो ? सुगरको डाक्टरले थाइराइडको उपचार गरिहाल्छ नि! मसँग ब्लडप्रेसर रोगको उपचार गराउने अनि मुटुरोगको अर्कै मुटुरोग विज्ञकहाँ उपचार गराउनेहरु पनि छन् भन्दा आश्चर्य लाग्छ । तर व्यवहारमा यस्तो भैराखेको छ । बिरामीहरुले विशेषज्ञ सेवा लिन जानिराख्नुभएको छैन । यसबाट पैसाको बढी खर्च, समयको बढी खर्च र उपचार पनि गुणस्तरविहीन हुन पुग्छ ।
मसँग ब्लडप्रेसर रोगको उपचार गराउने अनि मुटुरोगको अर्कै मुटुरोग विज्ञकहाँ उपचार गराउनेहरु पनि छन् भन्दा आश्चर्य लाग्छ । तर व्यवहारमा यस्तो भैराखेको छ । बिरामीहरुले विशेषज्ञ सेवा लिन जानिराख्नुभएको छैन ।
के गर्दा बेस होला ?
फेमिली डाक्टर अथवा पर्सनल फिजिसियन यसको समाधान हो । जुनसुकै रोग लागे पनि आफ्नो डाक्टरलाई सम्पर्क गर्ने अनि उसले तपाईंलाई बाटो देखाउँछ । फेमिली डाक्टर जुनसुकै विषयको पनि हुन सक्छ । तर फिजिसियनलाई रोजेमा बेस । बच्चाको हकमा कुनै बच्चाको फिजिसियन रोजे बेस । तपाईं आफैं रोज्नुहोस् । जुन डाक्टरले तपाईंलाई माया गर्छ, जसले तपाईंको कुरा सुन्छ, जसले इमर्जेन्सी पर्दा सल्लाह र सहयोग दिन्छ, त्यसलाई आफ्नो फेमिली डाक्टर बनाउनुहोस् र सम्पूर्ण परिवारको जिम्मा दिनुहोस् ।
कुनै समस्या पर्यो, पहिले उनैकहाँ जानुहोस् । उनले आफैंले उपचार गर्न सक्ने भए गर्छन्, विशेषज्ञकहाँ पठाउनुपर्ने भए पठाउँछन् । तपाईं आफैं कुनै विशेषज्ञलाई जँचाउन पुग्नुभयो भने पनि त्यो पुर्जा लिएर तपाईं आफ्नो डाक्टरकहाँ गएर उनलाई यो जानकारी दिनुहोस् । तपाईंको र तपाईंको परिवारको सम्पूर्ण स्थिति तपाईंको फेमिली डाक्टरलाई जानकारी होस् । यसले उपचारको स्तरीयता थपिदिन्छ । तपाईंलाई स्वास्थ्यको कुनै समस्या छैन भने पनि वर्षमा एकपल्ट फेमिली डाक्टरकहाँ पुग्नुहोस् र परीक्षण गराउनुहोस् ।
गाउँघरतिर के गर्ने ?
गाउँघरतिर त्यहाँकै परिवेश र स्वास्थ्य उपचारको उपलब्धताअनुसार गर्नुपर्छ । त्यहाँ तपाईंको नजिक जो स्वास्थ्यकर्मी छन्, उनैलाई फेमिली डाक्टर बनाउनुहोस् । उनी डाक्टर पनि हुन सक्छन्, हेल्थ असिस्टेन्ट वा अ.हे.व. पनि हुन सक्छन् । उपलब्ध भएका मध्ये आफूलाई मन पर्ने छान्नुहोस्, आफ्नो स्वास्थ्यको जिम्मा उनलाई दिनुहोस् । यदि कोही पनि उपलब्ध छैनन् भने, हेल्थ पोस्ट त होला अलि परै भए पनि । त्यहाँ को छ, खोजी गर्नुहोस् ।
फेमिली डाक्टरबाट के अपेक्षा गर्ने ?
सबैले खोज्ने सही उपचार नै हो । त्यसपछि उचित सल्लाह र इमर्जेन्सी परेको बेला सेवा र सल्लाह हो । यो कुरा फेमिली डाक्टर रोज्नुअगाडि नै विचार पु¥याई निर्णय गर्नुहोस् । रोग लागेपछि मात्र उपचार गर्ने होइन, आजको आवश्यकता रोगको रोकथाम हो । फेमिली डाक्टरबाट रोगको रोकथामको सल्लाह माग्नुहोस् ।
स्वस्थ आहार के हो, कस्तो व्यायाम गर्ने, शरीरको तौल कसरी घटाउने वा ठीक्क राख्ने, चुरोट–सुर्ती कसरी त्याग्ने, कुन रोगको खोप कहिले लगाउने, जुकाको औषधि कहिले कतिपल्ट खाने, ब्लडप्रेसर, सुगर आदि हुन नदिन के गर्ने, हार्ट अट्याक भैहाल्यो भने कसरी थाहा पाउने र प्राथमिक उपचार के गर्ने आदि थुप्रै विषयहरु छन्, जुन तपाईं आफ्नो फेमिली डाक्टरमार्फत सेवा पाउन सक्नुहुन्छ । सर्त एउटै छ– विश्वास । फेमिली डाक्टरमाथि विश्वास गर्नुहोस् । विश्वास छैन, अर्कै विश्वासिलो डाक्टर रोज्नुहोस् । डाक्टर रोज्ने तपाईंको आफ्नै अधिकारको कुरा हो ।