महिनावारी सुके पनि बच्चा हुनसक्छ



– प्रा. डा. सुमनराज ताम्राकार (स्त्रीरोग विशेषज्ञ )

केही महिनाअघि स्त्री तथा प्रसूति रोग, बहिरंग विभागमा ५१ वर्षकी महिला छोरीसँग आएकी थिइन् । उनले गुनासो गर्दै भनिन्, ‘खान मन लागेन, तल्लो पेट दुख्यो, पेट पनि पुट्ट निस्कियो ।’

चिकित्सकको प्रश्नको जवाफ दिने क्रममा उनले चार सन्तानमध्ये कान्छी छोरी नै २२ वर्ष पुगिसकेको र महिनावारी सुकेको पनि ६ वर्ष हुनै लागेको जानकारी गराइन् ।

शारीरिक जाँचको क्रममा उनको तल्लो पेटको उचाइ करिब नाइटोसम्म पुगेको थाहा भयो । बिरामीसँगको प्रारम्भिक कुराकानीपछि प्रायः चिकित्सकले ती गुनासाहरु के–कति कारणले भएको होला भन्ने मनमा गुन्दै शारीरिक जाँच गर्न थाल्छन् ।

महिनावारी सुकिसकेकी महिलामा के कारणले ती समस्याहरु हुन सक्छन् त भनेर सम्भावित कारणबारे विचार गरियो । डिम्बाशयको ट्युमर, पाठेघरमा मासु पलाउने समस्या (फाइब्रोइड), पाठेघरको मुखको क्यान्सर भएर पाठेघरमा पिप भरिएको पो हो कि वा पाठेघरकै क्यान्सर पो हो कि भन्ने पनि लाग्यो । प्रजनन उमेरकी महिलामा भए गर्भावस्था नै पहिलो कारण सोचिन्थ्यो तर उनको उमेरसमेत विचार गरेर त्यसबारेमा कत्ति पनि सोचिएन ।

शारीरिक जाँचपछि जब ओपीडीकै भिडियो एक्सरेको प्रोब (डल्लो) उक्त महिलाको तल्लो पेटमा डुलाएँ, म त तीन छक्क परेँ । भिडियो एक्सरेको मोनिटरमा करिब २२ हप्ताको शिशु पाठेघरमा मज्जाले खेलिरहेको देखियो । मोनिटर उक्त महिलातर्पm देखाउँदै पेट नाइटोसम्म उकासिनुको कारण देखाउँदा उनले, ‘होइन होला’ भन्दै अमिलो मुख लगाइन् । साथमा आएकी छोरी ओपीडी कक्षबाहिर पर्खिरहेकी थिइन् । सम्पूर्ण जाँच सकेपछि बेडबाट ओर्लेर कुर्सीमा बसिन् र मेरो टेबुलमा घोसेमुन्टो लगाएर सुँकसुँकाउन थालिन् । अलिबेर समय दिएर मैले सान्त्वना दिन खोजेँ ।

महिनावारी सुक्दैमा गर्भ रहँदैन भन्ने होइन । त्यसैले कुनै पनि दम्पतीले सन्तान पुगिसकेको भए श्रीमान् वा श्रीमती एकले स्थायी बन्ध्याकरण गरेपछि मात्र सुनिश्चितता हुन्छ ।

उनले आँसुले टल्पलाएका आँखा उठाएर मतिर हेर्दै गर्भ फाल्ने निर्णय सुनाइन् । मैले गर्भपतन गराउने समय घर्किसकेको, कानुनअनुसार पनि नमिल्ने र उनको ज्यानमा पनि खतरा हुने बताएँ । उनले महिनावारी सुकिसकेको अवस्थामा कसरी गर्भ रहन सक्छ भन्ने प्रश्न तेस्र्याइन् ।

तपाईंलाई पनि लाग्दो हो– ‘महिनावारी सुकिसकेकी महिलाले गर्भ बोक्ने कुरा सम्भव छ र ?’ यस्ता घटना निकै विरलै हुन्छन् तर असम्भवचाहिँ होइन । मैले पनि यही बुझेँ । उक्त महिलासँगको भेटपछि स्त्री तथा प्रसूतिसम्बन्धी पुस्तकहरु र गुगल सर्च गरेर विश्वभरका अनुसन्धानका रिपोर्टहरु केलाउँदा यो सम्भव भएकै विषय रहेछ, तर त्यो बेला हेक्का राखेको रहेनछु ।

सामान्यतया महिलाको शरीरमा लाखौंको संख्यामा डिम्ब हुने भए पनि १५ देखि ४५ वर्षको उमेरमा करिब ४ सय डिम्ब निष्कासन हुने गर्दछन् । पुरुषमा त अझ एकपटकको वीर्य स्खलनमा करोडौंको संख्यामा शुक्रकीट निस्कन्छन् । पुरुष ८० वर्षको उमेरसम्म वीर्य उत्पादन गर्न सक्षम हुन्छ । मानवशरीरमा लाखौं, करोडौंको संख्यामा डिम्ब र शुक्रकीटको उत्पादन हुने भए पनि गर्भ रहनका लागि एक–एकवटा डिम्ब र शुक्रकीट भए पुग्छ ।

 

गर्भचाहिँ कसरी रह्यो त ?

महिनावारी बन्द भैसकेकी महिलामा गर्भ रहन कसरी सम्भव भयो त ? प्रश्न स्वाभाविक छ । वास्तवमा महिनावारी हुने र गर्भ रहने फरक कुरा हुन् । महिनावारी हुने अथवा रगत देखा पर्ने कुरा आँखाले विश्लेषण गर्ने वा व्यक्ति विशेषले अनुभूति गर्ने कुरा हो । उमेर ढल्केसँगै महिनावारीको समयमा योनिद्वारबाट बाहिरिने रगतको मात्रा कम हुँदै जान्छ । कतिपय समयमा रगतको मात्रा निकै थोरै हुन्छ र योनिमार्गसम्म मात्र आइपुग्ने पनि हुनसक्छ । यस्तो अवस्थामा महिलाले थाहा नपाउन पनि सक्छन् । यस्तो परिस्थितिमा पछि–पछिका महिनामा डिम्ब उत्पादन गर्ने क्षमता भने बाँकी रहेको हुन्छ र पुरुषसँगको संसर्गपछि गर्भ रहन सक्छ ।

पछिल्लो समय ४५–५० नाघेका जति पनि महिलाहरु गर्भवती भैरहेका छन्, ती प्रायः कृत्रिम गर्भाधानको कारण भइरहेका हुन् । उमेर ढल्किँदै गएपछि राम्रो खालको डिम्ब पनि निख्रिँदै जाने हुन्छ । तर कलिलो उमेरकी महिलाको डिम्बलाई कृत्रिम गर्भाधान प्रक्रिया अर्थात् टेस्टट्युब प्रविधिमार्फत ४५–५० नाघेकी महिला पनि गर्भवती हुने घटनाहरु प्रशस्त छन् ।

करिब एक वर्षअगाडि दक्षिण भारतकी ७४ वर्षीया इरामती मंगम्मायाले कृत्रिम गर्भाधान प्रक्रियाबाट जुुम्ल्याहा बच्चा पाई विश्व कीर्तिमान कायम गरेकी थिइन् । कृत्रिम गर्भाधान प्रक्रियाबाट बच्चा पाएको भए पनि ५७ वर्ष लामो दाम्पत्य जीवनपछि बच्चा पाउँदा उनका श्रीमान्ले खुशी हुँदै भनेका थिए, ‘अहिले विश्वका सबैभन्दा खुशी दम्पती हामी हौं, किनकि आफ्नै सन्तान पाउन सफल भयौं ।’

उमेर निकै ढल्किसकेकी आफ्नी श्रीमतीले जुम्ल्याहा बच्चा पाएको केही दिनपछि श्रीमान्चाहिँको अकस्मात् स्वास्थ्य बिग्रेकाले आईसीयुमै राखेर उपचार गर्नुपरेको थियो । खुशीको उन्मादले हृदयाघात भएको आशंका गरिएको थियो । तर उमेर ढल्केकी महिलाले प्राकृतिक तवरमै गर्भधारण गर्ने प्रक्रिया भने निकै विरलै छ ।

सन् २०१९ मै टियान नाम गरेकी ६७ वर्षीया चिनियाँ महिलाले आफूले प्राकृतिक तवरमै गर्भधारण गरेको दाबी गरेको भए पनि गर्भधारण हुनुअगाडि तिनले चिकित्सकसँगको सल्लाह–परामर्शमा परम्परागत खालको चिनियाँ हर्बल उपचार भने लिएकी थिइन् । यसअघि सन् २००६ सम्म स्पेनकी ६६ वर्षीया मारिया लाराको नाममा सबैभन्दा वृद्ध आमाको कीर्तिमान थियो भने पछि २००८ मा उत्तर प्रदेशकी ओमकरी पान्वर (७२ वर्षीया) को रेकर्ड कायम भयो । हाल ६० देखि ८० वर्ष पुगेका पिँढीमा उमेरको आधिकारिता पुष्टि गर्न समस्याचाहिँ हुने गरेको छ ।

यस्तोमा पुरुषसँग संसर्ग भई संयोगवश एउटा शुक्रकीटले सफल निषेचित गर्न सक्यो भने उमेर ढल्केकी, महिनावारी सुकिसकेकी महिला पनि गर्भवती भने हुन सक्छिन् ।

पछिल्लो तथ्यांकअनुसार नेपालमा पहिलोपटक गर्भधारण गर्ने महिलाको सरदर उमेर २०.१ वर्ष छ । वृद्ध महिलाको हकमा सन् २०१९ मा ५४ वर्षीया महिला काठमाडौंको एक नर्सिङ होममा कृत्रिम गर्भाधान प्रविधिमार्पmत गर्भवती भई पछि सिजेरियनमार्फत बच्चा पाउन सफल भएकी थिइन् ।

विश्वका अन्य देशमा भन्दा नेपालमा महिला साक्षरता दर निकै कम छ । यस्तो अवस्थामा अघि भनेझैँ वृद्धवृद्धाको उमेरको आधिकारितामै प्रश्न गर्ने ठाउँ रहन्छ । भन्नुको तात्पर्य मौखिक तवरमा उमेर ढल्किसकेको बताए पनि जैविक उमेर त्यति नहुन सक्छ । साथै महिनावारीको रगतको मात्रा निकै कम हुँदा महिनावारी नै बन्द भैसक्यो कि भन्ने भ्रम हुनसक्छ । तर डिम्ब निष्कासन प्रक्रिया भने जारी रहन्छ । यस्तोमा पुरुषसँग संसर्ग भई संयोगवश एउटा शुक्रकीटले सफल निषेचित गर्न सक्यो भने उमेर ढल्केकी, महिनावारी सुकिसकेकी महिला पनि गर्भवती भने हुन सक्छिन् ।

उमेर ढल्किसकेकी महिलाले गर्भपतन गराउँदा विभिन्न खालका जोखिमहरु हुन सक्छन् । त्यसमाथि ती महिलामा गर्भलाई निरन्तरता दिँदा पनि अन्य जोखिमहरु भने रहन्छ । यसरी उमेर ढल्केकी गर्भवती महिलाको गर्भावस्थामा गर्भ तुहिने, उच्च रक्तचापको समस्या बढी देखिने, व्यथा नलाग्दै साल छुट्टिने, पाठेघरमा मासु पलाउने, बढ्दो उमेरसँगै मधुमेह, मुटुको समस्या देखा पर्ने, समयमै व्यथा नलागी महिना नाघ्ने, गर्भको शिशुको वृद्धि कम हुने सम्भावना बढी हुन्छ ।

महिना नपुग्दै व्यथा लाग्ने, प्रसवको क्रममा सुत्केरी व्यथा लामो हुने, आमा तथा गर्भेशिशुलाई सकस हुने, शल्यक्रियाजन्य उपचार बढ्ता चाहिने, सुत्केरीपछि साल अड्किने सम्भावना बढी हुन्छ । सुत्केरीपश्चात् शल्यक्रियाजन्य उपचारका जटिलता थपिने, आमाको दूध उत्पादनमा खराबी आई स्तनपान सफल नहुने, सुत्केरीपश्चात्को समयमा उच्च ज्वरो आउने तथा संक्रमण हुने सम्भावना पनि बढी हुन्छ ।

यसको अलावा उमेर ढल्केकी गर्भवती महिलामा रोगव्याधी लाग्ने तथा मातृमृत्यु हुने सम्भावना तुलनात्मकरुपमा बढी हुन्छ । महिना नपुगी प्रसव हुने कारणले कम तौलको बच्चा जन्मिने, वंशाणु अंशमा गडबडी आई जन्मजातरुपमा शारीरिक विकलांग देखा पर्ने बढ्ता सम्भावना हुन्छ । यसका साथै उमेर ढल्केकीमा गरिने शल्यक्रियाजन्य उपचारका कारण नवजात शिशुको मृत्यु हुने सम्भावना बढी हुन्छ ।

माथिको केसबाट के सन्देश लिनुपर्ने हुन्छ भने, महिनावारी सुक्दैमा गर्भ रहँदैन भन्ने होइन । त्यसैले कुनै पनि दम्पतीले सन्तान पुगिसकेको भए श्रीमान् वा श्रीमती एकले स्थायी बन्ध्याकरण गरेपछि मात्र सुनिश्चितता हुन्छ । महिनावारी सुक्यो भन्दैमा ढुक्क तवरले बस्ने होइन कि स्त्रीरोगसम्बन्धी लगायतका नियमित स्वास्थ्य जाँच गराउनु बुद्धिमानी हुन्छ । अझ भर्खरै महिनावारी सुकेकी महिलाले एकाध वर्ष हरेक तीन महिनामा होल बडी चेकअप गर्न जानु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्