– डा. अरुणा उप्रेती (जनस्वास्थ्य विज्ञ)
बालबालिकाहरु दैनिक १ सय पटकजति मुस्कुराउने गर्छन् तर वयष्कहरू धेरै हाँस्दैनन् । ओठ खोल्न गाह्रो मान्छन् । मरी–मरी हाँस्ने, पेट मिची–मिची हाँस्ने, मर्ने गरी हाँस्ने, आँसु आउने गरी हाँस्ने भन्ने कुरा ठूला मानिसले शायदै गर्छन् होला । आजकल हाँसोको बारेमा धेरै छलफल हुन थालेको छ । स्वास्थ्य राम्रो राख्न गरिने योगका विभिन्न आसनहरुमध्ये हास्यासन पनि एक भएको छ । चाहे रामदेवको होस् वा रविशंकरको वा अरु कुनै योग गुरुको । हास्यासन समावेश भएकै हुन्छ । कुनै उच्च पदमा कार्यरत महिला वा पुरुषलाई ‘तपाईं कति हाँस्नुहुन्छ, कहिले हाँस्नुहुन्छ ?’ भनेर सोध्ने हो भने धेरैको उत्तर हुन्छ होला– ‘के कुरा पो छ र, हाँस्ने ? काममा यति धेरै व्यस्त भइन्छ कि हाँस्ने त फुर्सद नै हुँदैन ।’
हाँस्ने पनि फुर्सद नहुनेहरुलाई के आनन्द हुन्छ होला ? हतार–हतार काममा जानु, काम सिध्याउनु, एकछिन् पत्रिका हेर्नु वा भोलिको कामको बोझ टाउकोमा बोकेर सुत्नु । यही हुन्छ कतिपयको अवस्था । उमेर बढ्दै गएपछि, व्यस्त भएपछि, पैसा भएपछि हाम्रो हाँस्ने क्रम कम हुन्छ । किनभने जति पढ्यो, लेख्यो, पैसा कमायो उति गम्भीर अनुहार बनाउनुपर्छ भन्ने हाम्रो बुझाइ हुन्छ । तर नहाँसेर हामी स्वास्थ्यका कतिपय लाभदायक कुरा गुमाइरहेका हुन्छौं । हाँसोले रोगलाई निमिट्यान्न पार्न सक्दैन तर हाँसोले रोगको अवस्थामा कमी ल्याउन सक्छ ।
नर्मान कुजिनले एनाटोमी अफ एन इल्नेस (रोगको खाका) मा ‘स्याटर्डे रिभ्यु’ का सम्पादकका बारेमा लेखेका छन् । उनलाई सन् १९७० मा ढाडको नसा खिइँदै जाने समस्या भएको थियो । डाक्टरले उनको जीवनका केही समय मात्र बाँकी रहेको कुरा उनलाई बताए । त्यसपछि डाक्टरकै सल्लाहमा उनले एउटा व्यावहारिक परीक्षण गरे । उनले हास्यव्यङ्ग्यका थुप्रै रमाइला फिल्महरु हेरे । फिल्महरु हेर्दा उनी धेरै हाँसे । त्यसपछि त दुखाइ कम गर्ने औषधि नखाईकनै घण्टौं निदाउन सक्ने भए । यसरी हास्यव्यङ्ग्य फिल्म हेर्दाहेर्दै उनको समस्या धेरै मत्थर भयो । कतिपय वैज्ञानिक एवं डाक्टरहरुले हाँसोले रोग मत्थर पार्ने कुरालाई हाँसोमा उडाए पनि ‘न्यू इ्ङ्ल्यान्ड जर्नल अफ मेडिसिन’ ले यो घटनालाई अध्ययन गरेर छाप्यो । त्यसमा स्वास्थ्य र हाँसोबीच सीधै सम्बन्ध रहेको उल्लेख गरिएको थियो । तर चिकित्सा शास्त्रका पुस्तकहरुमा हाँसो र स्वास्थ्यका विषयमा छलफल भएको पाइँदैन ।
आनन्दसँग हाँस्ने शिशु छिट्टै बढ्छ । उसलाई कुनै सानोतिनो रोग लागे पनि छिट्टै समाधान हुन्छ । जब कि नहाँस्ने, नमुस्कुराउने शिशुको समस्या बढी हुन्छ ।
केही मानिसको शरीरमा गरिएको अध्ययनमा व्यायाम गरेपछि शरीरमा हुने सकारात्मक परिवर्तनजस्तै हाँसोपछि पनि परिवर्तन भएको पाइयो । शरीरमा अक्सिजनको मात्रा पनि बढेकोे पाइयो । मुटुको समस्या हुने थुप्रै कारणमध्ये तनाव पनि एक भएकोले तनाव हुँदा शरीरमा पैदा हुने हर्मोनले रक्तनलीलाई हानि पु¥याउँछ र धमनीहरु खुम्चिन थाल्छन् । हाँस्दा तनाव पनि कम हुने हुँदा मुटु स्वस्थ रहन सक्छ । हाँस्दा मानिसको रगतमा खाना रुचि बढाउने हर्मोन बढेको पाइएको थियो ।
मानिसहरु प्रेममा विछोड हुँदा, कसैको मृत्यु हुँदा, कोही टाढा जाँदा वा प्रियजन बिरामी हुँदा दुःख अनुभव गर्छन् । उनीहरु हाँस्न वा मुस्कुराउन सक्दैनन् । भोक पनि कम लाग्छ । पछि समयसँगै मन बहलिँदै जान्छ । मनको दिक्दारीपन कम हुँदै जाँदा हाँस्न र मुस्कुराउन थाल्छन् अनि फेरि भोक पनि जाग्छ । हामीले देखेका छौं कि अनुहार अँध्यारो पारेर जाने, मुस्कुराउन गाह्रो मान्ने मानिसका साथी पनि कम हुन्छन् र कुनै समस्या पर्दा मद्दत गर्नेहरु पनि कम हुन्छन् । त्यस्ता मानिस दुःखी र सामाजिकरुपमा पनि अस्वस्थ हुन्छन् । त्यसैले हाँसोले जीवनलाई स्वस्थ राख्ने मात्र होइन कि आफ्नो काममा पनि मद्दत गर्छ । स्वस्थ शिशु हाँस्छ र मुस्कुराउँछ, कुपोषण भएको शिशु च्याँच्याँ रोइरहन्छ । आनन्दसँग हाँस्ने शिशु छिट्टै बढ्छ । उसलाई कुनै सानोतिनो रोग लागे पनि छिट्टै समाधान हुन्छ । जब कि नहाँस्ने, नमुस्कुराउने शिशुको समस्या बढी हुन्छ । यदि शिशुसँग हाँसेर कुरा गरिरहने परिवारका सदस्यहरुको बानी छ भने शिशुले पनि त्यही सिक्छ र हाँसिरहन्छ । जब कि नहाँसेर अनुशासनको नाममा कठोर अनुहार लगाइरहने आमाहरुका शिशुहरु पनि त्यस्तै नै हुन्छन् । विभिन्न अनुसन्धानले देखाएअनुसार बाँदर, बिरालो पनि खुशी भएर आफ्नो भाव प्रकट गर्न सक्छन् ।
सन् २००५ मा अमेरिकाको बाल्टिमोरस्थित मेरिल्यान्ड विश्वविद्यालयका अध्यक्ष डा. मिखाइल मिसेलले एउटा विशेष अध्ययन गरेका थिए । उनले ३ सय जनालाई यस अध्ययनमा सामेल गरेका थिए । ती मध्ये १ सय ५० जना मुटुका विभिन्न समस्या भएका मानिसहरु थिए भने १ सय ५० जना मुटु स्वस्थ भएका । उनले सबैलाई केही प्रश्नहरु दिए र उनीहरुको प्रतिक्रिया पनि हेरे । उनले के पाए भने, जसले मुटु खराब भएर उपचार गरिराखेका थिए, उनीहरु कम हाँस्ने, रमाइला हास्यव्यङ्ग्यका कुरा पढ्दा पनि खासै नहाँस्ने खालका थिए । त्यसमध्ये केही त अझ साधारण कुरामा नै रिसाउने बानीका थिए । तर स्वस्थ मुटु भएका मनिसहरु साधारण कुरामा पनि हाँस्ने गरेको पाइएको थियो । प्रत्येक दिन १५–२० मिनेट दिल फुकाएर हाँस्ने हो भने स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । अब तपाईंहरु पनि आप्mनो वरिपरि हेरेर मुस्कुराउनुस्, हाँस्नुस् र स्वास्थ्य राम्रो पार्नुस् ।
‘सानो उमेरदेखि नै हामीलाई नरुनू भनेर सिकाइन्छ । अनि आफ्नो आँसु देखाउनुहुँदैन भनेर हुुर्कन्छौं । यसले हामीलाई बिरामी बनाउँछ र तनाव गराउँछ’, रुन सिकाउने शिक्षक भन्छन् ।
रुनु पनि राम्रो
केही दुुःखको कुुरा भयो भने हाम्रो आँसुु आउँछ । सुखको कुुरा सुुने पनि आँसु आउँछ । प्रायः हाम्रो समाजमा रुवाइलाई कमजोरीको प्रतीक मानिन्छ । ‘हेर बच्चाजस्तै रोएको’ वा ‘स्वास्नी मान्छेजस्तो आँसुु खसालेको’ भन्ने चलन छ । लोग्ने मानिस रुनुहुन्न, ठूलो मान्छेले आँसु खसाल्नुहुन्न भन्ने हाम्रो परम्पराले मानिसहरु दु:खी हुुन्छन् । मान्छेको स्वास्थ्य राम्रो पार्न हाँस्नुपर्छ भन्ने त हामीले सुनेका छौं तर ‘आँसु खसाल्नु’ पनि स्वस्थ हुनु हो भन्ने प्रायःलाई थाहा हुुँदैन ।
‘रुई–कत्सु सेमिनार’ (जापानिज आँसु खसाल्ने सेमिनार) प्रायः धेरैले सुनेका हुँदैनन् । जापानमा ‘हिडेफुमी योसिडा’ (आँसु शिक्षक) पनि रहेछन् । सुुन्दा अचम्म लाग्छ, आँसुु शिक्षकले के सिकाउँदा हुुन् ? ‘म साढे सात वर्षदेखि आँसु शिक्षकको रुपमा काम गरिरहेको छु । ‘मेरो काम भनेको मानिसहरुलाई रुवाएर त्यसबाट उनीहरुलाई स्फूर्ति प्रदान गराउनु हो’, जापानका आँसु शिक्षक भन्छन् ।
जापानमा करिब ५० हजार मानिसको आँखामा आँसु ल्याउन सफल उनी भन्छन्, ‘मानिसलाई आँखामा आँसु ल्याउन चलचित्र, बच्चाका किताब, अक्षरहरु (जस्तैः परिवार, जनावर, खेलाडी वा प्रकृति आदि) को प्रयोग गर्छु । रुई–कत्सु (रुने सेमिनार) को सबैभन्दा महत्वपूर्ण फाइदा भनेको तनावलाई कम गर्नु हो । रुँदा, आँसु झार्दा जुन भावना आउँछ त्यसले तनाव कम गर्न महत्वपूर्ण भूमिका खेल्छ । थोरै मात्र पनि आँसु झार्दा तनाव कम हुन्छ । जति आँसु खसालेर रुनुहुन्छ, त्यति राम्रो महसुस गर्नुहुन्छ ।’
नेपालीहरुलाई चाहिँ यसरी आँसु ल्याउनको लागि कुनै शिक्षक चाहिन्न । अनेक बहानामा समय–समयमा रोइरहन्छौं । धेरै समयसम्म नभेटेको साथी वा नातेदार भेट्दा खुशी भएर आँसु खसाल्छौं भने कसैको मृत्युु हुँदा दु:खी भएर रुन्छौं । त्यस्तै बच्चा जन्मिदा, बच्चाहरु जाँचमा पास हुुँदा पनि खुुशी भएर रुन्छौं । कोही नजिकको मान्छे बिरामी भएको सुुन्दा आँसुु खस्छ भने ऊ निको भएको सुुन्दा पनि आँसु खस्छ । रुवाइले रोग–प्रतिरोधात्मक क्षमतालाई बढाउन पनि मद्दत गर्छ । ‘मलाई पहिले–पहिले चिसो लागेर समस्या पथ्र्यो । तर आँसु खसालेर आफ्नो दु:ख पोख्ने काम शुरु गरेपछि र हप्तामा एकपटक रुने बानी बनाएपछि मलाई चिसो लाग्न कम भएको छ, रोगसँग लड्ने मेरो शक्ति बढेको छ’, यसरी रुने शिक्षकसँग आँसुु खसाल्न सिकेको एक जापानी बताउँछन् । आँखाबाट आँसुु खसाल्दा शारीरिक र मानसिक फाइदा हुन्छ । यसले मन शान्त राख्न, दुखाइलाई सहन गर्न र मानसिक तनावलाई कम गर्न मद्दत गर्छ । जापानमा मानिसहरु सजिलै रुँदैनन् । रुनुु कमजोरीको चिह्न भन्ठान्ने धेरै भएको जापानी समाजमा मानिसलाई रुन गाह्रो छ । धेरैजसो जापानीहरु रुवाइलाई रोक्छन् ।
‘सानो उमेरदेखि नै हामीलाई नरुनू भनेर सिकाइन्छ । अनि आफ्नो आँसु देखाउनुहुदैन भनेर हुुर्कन्छौं । यसले हामीलाई बिरामी बनाउँछ र तनाव गराउँछ’, रुन सिकाउने शिक्षक भन्छन् । ‘प्राय हामी रुनुलाई नकारात्मकरुपमा हेर्ने गर्छौं । यसमा मेरो भूमिका भनेको मानिसहरुलाई नडराउन र यसप्रति रहेको नकारात्मक विचारलाई हटाउन सहयोग गर्नु रहेको छ’, रुन सिकाउने जापानी शिक्षक भन्छन् ।
नेपालमा धन्य अहिलेसम्म हामीलाई रुन सिकाउने शिक्षकको खाँचो छैन । तर लोग्ने मानिसहरुलाई ‘रुँदैमा, आँसु खसाल्दैमा कमजोर हुनु होइन’ भन्ने सिकाउने मानिसको चाहिँ खाँचो छ । महिलाहरुचाहिँ हिन्दी सिरियल वा सिनेमा हेर्दा पनि रोइदिन सक्छन्, आँसु खसाल्छन् । तर लोग्ने मानिसहरुचाहिँ मनमा भक्कानिएर पनि बाहिर केही नभएको जस्तो देखाउँछन् । भित्रभित्रै गुम्सिएर बस्छन् । अनि दु:खी हुुन्छन् । रोएपछि कस्तो अनुभव हुन्छ भनेर नेपालमा कसैले अनुुसन्धान गरेको पाइएको छैन । हामी सबैलाई भावनात्मक कुुराहरुले छोएपछि आँसुु आउँछ । रुन सिकाउने जापानिज शिक्षक भन्छन्, ‘मेरो विचारमा रुई–कत्सुले हामीलाई अझ राम्रोसँग बाँच्न सिकाउँछ । यसबाट आध्यात्मिक फाइदा पनि छ । रुने कार्यक्रममा आएर आँसु खसालेपछि सहभागीले ज्ञान, ज्योति प्राप्त गरेजस्तो लाग्छ ।’
हिन्दीमा एउटा गीत ‘ये आँसुु मेरे दिल की जुबान है, में रोऊँ तो रो दे आँसु, में हँस दु तो हँस दे आँसु’ अर्थात् मान्छे खुशी हुुँदा, दुुःखी हुुँदा आउने आँसुले मानिसको दिलको भाषा बोल्छ । हामीमध्ये कसैलाई कुनै खुशीको कुरा सुन्यो भने आँखाभरि आँसु आउँछ । कुनै फिल्म हेर्दा वा सिरियल हेर्दा आँसु आउनु वा खुशी हुदा आँसु आउनु कमजोरी होइन भन्ने ठान्नुस् । दिनदिनै हाँस्नु र समय–समयमा आँसु खसाल्नु दुवै स्वास्थ्यका लागि फाइदाजनक छ ।