सुभद्रा चौधरीले नर्सिङ विषयमा स्नातक तहको अध्ययन पूरा गरी २०६७ जेठ १ गतेदेखि नारायणी अस्पताल, वीरगन्जमा सेवा दिँदै आउनुभएको छ । उहाँ २०६९ माघदेखि नारायणी अस्पतालको बालस्वास्थ्य शाखाको इन्चार्ज हुनुहुन्छ । उहाँले पिपुल्स नर्सिङ कलेज इटहरीबाट सर्टिफिकेट लेभल पूरा गरी कोशी हेल्थ इन्स्टिच्युट, विराटनगरबाट ब्याचलर तहको अध्ययन पूरा गर्नुभएको हो । कोरोना महामारी शुरु भएपछि राजधानीबाहिर सबैभन्दा बढी प्रभावित भएको स्थान हो पर्साको वीरगन्ज । सोही स्थानमा रहेको नारायणी अस्पतालले संक्रमितहरुको चाप धान्न नसकेर प्राइभेट अस्पतालसमेत लिई कोभिड अस्पताल बनाएको थियो । यस अस्पतालमा शुरुदेखि नै कोरोना संक्रमितको उपचारमा प्रत्यक्षरुपमा खटिँदा आफैँ दुईपटकसम्म कोरोना संक्रमित हुँदा पनि हिम्मत नहारी कोरोना संक्रमितको सेवामा संलग्न जुझारु नर्स सुभद्रा चौधरीसँग साधना प्रतिनिधि भगवती तिमल्सिनाले गर्नुभएको प्रेरणादायी कुराकानीको सार :
तपाईंले नर्सिङ पेसा नै किन छनोट गर्नुभयो ?
बुबालाई दुवै छोरी नर्स बनाउने ठूलो इच्छा थियो तर दिदीले अरु नै विषय पढ्नुभयो । मैले बुबाका इच्छा पूरा गर्नका लागि नर्स पढ्ने निर्णय गरेकी थिएँ । बुबा आफैँ स्वास्थ्यकर्मी पनि हुनुभएको र दुई छोरीमध्ये एकलाई जसरी पनि नर्स बनाउन जोड दिनुभएकै कारण यो विषय पढेँ । अहिले मलाई आफू नर्स भएकोमा अत्यन्तै रमाइलो र गर्व लाग्छ ।
नारायणी अस्पतालमा शुरुमा कोरोना संक्रमणका बिरामीको निकै चाप बढेको थियो । त्यहाँ तपाईं पहिलो संक्रमित नर्स पनि भएकोले तपाईंको अनुभव कस्तो छ ?
त्यति बेला मेरो परिवार र अस्पताल प्रमुखबाट पूर्णरुपमा सहयोग भएको थियो । मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्याय हुनुहुन्थ्यो । आफूसँगै काम गर्ने साथीभाइ तथा अन्य व्यक्तिहरुको पनि मलाई सपोर्ट नभएको होइन, तर अस्पतालकै केही नर्सहरु भने बुझेर पनि बुझ पचाइरहेका थिए । कोरोना पुष्टि हुनेबित्तिकै म होम आइसोलेसनमा बसेको थिएँ । श्रीमान् र छोराको रिपोर्ट आउन ४ दिन लाग्यो । श्रीमान् र बच्चाको पनि पोजेटिभ आयो भने होम आइसोलेसनमै बस्ने योजना बनाएका थियौँ । तर केही सहकर्मी साथीहरुले अस्पतालमा गएर निर्देशकलाई दबाब दिई सुभद्रालाई जसरी भए पनि क्वाटरबाट निकाल्नै पर्छ, आइसोलेसन सेन्टर पठाउनै पर्छ भनेका रहेछन् ।
मलाई आइसोलेसन जान त्यति गाह्रो थिएन तर मेरो श्रीमान्को आईपीपीको उपचार चलिरहेको थियो । उहाँको उपचार शुरु हुनु र मेरो पोजेटिभ देखिनु सँगसँगै थियो । त्यसैले गर्दा म आइसोलेसन सेन्टर जानुभन्दा सबै जना क्वाटरमै बस्ने सोच बनाएको थिएँ । दुई महिनादेखि बच्चालाई कोरोनाबाट जोगाउन फुपूकोमा राखेको थिएँ । जुन दिन मेरो नमुना संकलन गरियो त्यही दिनमा बच्चालाई क्वाटरमा ल्याएको थिएँ । श्रीमान्को उपचार शुरु भएको, बच्चा धेरै दिनपछि भेटेको भएर आइसोलेसन जान मन थिएन । श्रीमान् र बच्चाको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालका निर्देशकले व्यवस्था मिलाइदिनुभएको अस्पतालकै सर्जिकल वार्डको कोठामा बस्न गएँ । मेरो लागि अस्पतालले विशेष सुविधा दिएर राख्यो । त्यसपछि दुईवटा नमुना नेगेटिभ आएपछि पुनः क्वाटरमै आएर बसेँ । अरु ठीकै भए पनि यस क्रममा केही साथीहरुको व्यवहारले मलाई केही तीतो अनुभव पनि गरायो ।
मैले कोभिड वार्डमा ड्युटी गरेको समयमा साथीहरुसँग बाटोमा भेट भयो भने ‘ए यसले त त कोरोनामा ड्युटी गरेकी छ, योसँग बोल्नुहुँदैन’ भन्थे । कोरोना वार्डमा काम गर्दा यस्ता खालका धेरै तीता अनुभव गरियो ।
कोरोना संक्रमणको शुरुवाती दिनदेखि नै बिरामीको सेवामा सक्रिय हुनुहुन्छ, त्यति बेलाको अवस्था बताइदिनुस् न ।
वीरगन्जको अवस्था त्यति बेला अत्यन्तै भयावह थियो । कोराना भन्नेबित्तिकै आतंकित हुने र कोरोना भनेको कुनै पाप गरेर मात्र लाग्ने रोग हो जसरी हेरिन्थ्यो । स्वास्थ्यकर्मी साथीभाइहरु पनि त्यस्तै थिए । मैले कोभिड वार्डमा ड्युटी गरेको समयमा साथीहरुसँग बाटोमा भेट भयो भने ‘ए यसले त त कोरोनामा ड्युटी गरेकी छ, योसँग बोल्नुहुँदैन’ भन्थे । कोरोना वार्डमा काम गर्दा यस्ता खालका धेरै तीता अनुभव गरियो ।
तपाईंलाई त दुईपटक कोरोना संक्रमण भएको रहेछ, कसरी व्यवस्थापन गर्नुभयो र बिरामीको सेवामा जुट्नुभयो ?
पहिलोपटक २०७७ वैशाख ३१ गते कोरोना संक्रमण भएको थियो र दोस्रोपटक साउन २५ गते दोहोरियो । त्यति बेला मेरो श्रीमान्लाई पनि भयो । उहाँ पनि स्वास्थ्यकर्मी भएकाले उहाँबाट नै मलाई स¥यो वा मबाट श्रीमान्लाई स¥यो, थाहै भएन । शुरुमा श्रीमान्लाई देखा पर्यो अनि मलाई । शुरुमा कोरोना भएपछि मलाई कोरोनाका बिरामीको सेवामा जुट्नका लागि भित्री आत्माले नै प्रेरणा दियो ।
दोस्रोपटक कोरोना हुँदा पहिलाभन्दा समुदाय र साथीभाइहरुले पनि धेरै बुझिसकेका थिए । धेरै स्वास्थ्यकर्मीहरु पनि संक्रमित भई अस्पतालमा ठाउँ नै नभएर क्वाटरमै बसिरहेका थिए । मैले शुरुमा जुन मानसिक यातना भोगेको थिएँ, उहाँहरुले भोग्नुपरेन । शुरुमा मलाई जुन समूहले खेदेको थियो, अरु साथीहरुलाई हुँदा पनि त्यो समूहको चर्तिकला बदलिएन । अस्पताल प्रशासनले बाहिरको बिरामीको चाप बढेका कारण अस्पताल बस्छु भन्ने सामान्य संक्रमित स्वास्थ्यकर्मीहरुलाई क्वाटरमा पठाएर अरु बिरामी भर्ना गर्नुपरेको थियो । उहाँहरुलाई मेरो जति नमीठो अनुभव लिनुपरेन र परिवारकै साथमा बसेर छिटो निको हुनुभयो । मेरो श्रीमान्लाई आईसीयुमै राख्नुपर्ने गम्भीर खालको समस्या आएको थियो । ७ दिनपछि उहाँलाई आईसीयुमा बेड खालि नभएर छुट्टै कोठामा अक्सिजन दिई राखेपछि म आफैंले डाक्टरको सल्लाहअनुसार उहाँको हेरचाह गरेँ।
तपाईंको परिवारमा तपाईंलगायत को–को संक्रमित हुनुहुन्थ्यो ?
म र मेरो श्रीमान् संक्रमित भएका थियाँै । बच्चालाई शुरुमा नेगेटिभ आएपछि अहिलेसम्म पनि माइतीमै राखिएको छ ।
तपाईंलाई क्वाटरबाट नै निकाल्नुपर्छ भन्ने साथीहरुलाई अहिले के भन्नुहुन्छ ?
जसले मलाई त्यस्तो व्यवहार गरेका थिए उनीहरुलाई अहिलेसम्म केही भएको छैन । भोलिका दिनमा पनि भगवान्ले रक्षा गरुन् र कोरोना महामारी नहोस् भन्न चाहन्छु ।
भारतीय सीमा नाकासँग जोडिएको पर्सा जिल्लाको नारायणी अस्पताल वीरगन्जमा बिरामीको चाप बढेको बेला जनशक्तिको अवस्था कस्तो थियो ?
बिरामीको चाप अत्यन्तै बढेको थियो । स्वास्थ्यकर्मीको संख्या अत्यन्तै न्यून थियो । त्यसमा पनि स्वास्थ्यकर्मी आफैं संक्रमित हुने क्रम धेरै थियो ।
अस्पतालमा कति बेड कोरोनाका लागि छुट्याइएको थियो ?
कोभिड अस्पताल बनाउँदा ७५ बेडको थियो । त्यसले नपुगेर अर्को एउटा प्राइभेट अस्पताललाई पनि लिइएको थियो । नारायणी अस्पताल र वीरगन्ज महानगरपालिकाको संयोजकत्वमा प्राइभेट अस्पताललाई अस्थायी कोभिड अस्पताल बनाइएको थियो । प्राइभेट अस्पतालको ६० बेड र नारायणीको ७५ बेडले पनि बिरामीको चाप धान्न गाह्रो भएको थियो ।
बिरामीको चाप बढेको समयमा अस्पतालले बेडलगायत स्वास्थ्यकर्मीको व्यवस्था कसरी गर्यो ?
स्वास्थ्यकर्मीको समयलाई बढाएर (वर्कलोड) स्वास्थ्यकर्मीहरुले ८ घण्टा नभनी १२ देखि २४ घण्टासम्म पनि ड्युटी गर्नुपर्ने हुन्थ्यो । त्यति बेला बिरामीलाई कसरी सेवा दिने भन्नेमै सबैको ध्यान केन्द्रित भएको थियो । नियमित बेडले नपुग्दा छुट्टै बेड लगाएर पनि राखिन्थ्यो ।
तपाईं र तपाईंको श्रीमान् दुवैजना स्वास्थ्यकर्मी संक्रमित पनि हुनुभयो । यस्तो पीडाको सामना गर्दा कोरोनालाई कस्तो रोगका रुपमा सोच्नुभएको थियो ?
यहाँ कोरोनाको चाप स्थानीय मानिसको बानीव्यवहारकै कारण बढेको थियो । पर्सामा साउन–भदौको अवस्थालाई हेर्दा अब यो रोग नियन्त्रण गर्न वर्षौं लाग्छ भन्ने लाग्थ्यो । पर्साका बासिन्दालाई जति सम्झाए पनि सम्झाउने मान्छे थाक्छ तर उनीहरुले आफ्नो बानी पटक्कै छोड्दैनन् । अहिले पनि अस्पतालभित्र वार्डमै विनामास्क आउने व्यक्तिहरुलाई सम्झायो भने उल्टै झगडा गर्न थाल्छन् । कोरोनासँग पर्साका बासिन्दालाई अलिकति मात्र डर भएको भए यस्तो महामारी फैलिने थिएन । उनीहरुको सोच भनेको लकडाउनमा मात्र मास्क लगाउनुपर्छ, लकडाउन सकेपछि कोरोना पनि सकियो, मास्कको जरुरत नै छैन भन्ने बुझाइ छ । पर्सामा कर्मचारीबाहेकले मास्क लगाएको प्रायः भेटिन्न ।
कोभिड–१९ को महामारीमा टिमवर्क कस्तो बनेको थियो ?
समूह–समूहमा स्वास्थ्यकर्मीहरुलाई विभाजन गरिएको थियो । एउटा समूहले काम गर्ने अनि त्यो समूह क्वारेन्टाइन बस्ने र अर्को समूह ड्युटीमा खटिने व्यवस्था मिलाएको थियो । यो ड्युटी गर्नेमा डाक्टर, नर्सिङ स्टाफ, एटेन्डेन स्टाफ सबैलाई समेटेर बनाइएको थियो ।
ड्युटी कति–कति दिनको हुन्थ्यो ?
शुरुका दिनमा नियमावली नबन्दाको अवस्थामा एकदिन काम गर्ने र दुई दिन बस्ने थियो । धेरै पोजेटिभ केस आउन थालेपछि एक हप्ता ड्युटी र दुई हप्ता क्वारेन्टाइन बस्ने व्यवस्था गरिएको थियो ।
तपाईंहरु ड्युटीमा रहँदा पीसीआर टेस्ट कत्तिको गर्नुहुन्थ्यो ?
आइसोलेसन ड्युटी सकेपछि पाँचौँ दिनमा पहिलो पीसीआर टेस्ट गथ्र्यौं । रिपोर्ट नेगेटिभ आएपछि सबैजना आ–आफ्ना घरतिर लाग्थ्यौं । पुनः १० दिनमा दोस्रो नमुना लिएर रिपोर्ट आएपछि ड्युटीमा आउँथ्यौं ।
कोरोना संक्रमित र अन्य सम्भावितलाई के भन्न चाहनुहुन्छ ?
आफू संक्रमित भए पनि अरुलाई नहोस् भन्नका लागि मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, बारम्बार साबुन–पानीले हात धुने गर्नुपर्छ । पर्साका जनतालाई त प्रहरी प्रशानले सम्झाउँदा पनि नसकेर थाकेको छ ।
जनतालाई कोरोनाका विषयमा बुझाउनलाई राज्यले के गर्नुपर्ला ?
कडाइका साथ अनुगमन गर्ने र नियमको पालना नगर्नेलाई कारबाही गरे मात्र सबैको चेत खुल्छ । शुरु–शुरुमा मास्क नलगाउनेलाई जरिबाना तिराइएको थियो । त्यसको डरले प्रहरी देख्नेबित्तिकै मास्क लगाउने र अलि पर पुगेपछि खोलेर गोजीमा राख्ने गर्थे । राज्यले अनुगमनलाई कडाइ गरेर नियमितता दिनुपर्छ । कानुनीरुपमा अरुका मानवअधिकारको हनन, अपमान गरेको विषयमा कानुनी कारबाही नै गरे सुधार आउँछ । कोरोनालाई सर्वसाधारणले हेलचेक्र्याइँ गर्ने र व्यापारीले ठूलो व्यावसायिक अवसरका रुपमा लिएको पनि पाइन्छ । यस ो गर्न दिनुहुँदैन । यसमा राज्यको ध्यान पुग्न जरुरी छ ।
अन्त्यमा केही भन्नुहुन्छ कि ?
कोरोनालाई सामान्यरुपमा लिँदै नलिऊँ । कोरोनाले असर नगरेकालाई केही होइन जस्तो लाग्ला । जसले कोराना संक्रमण भएर पीडा भोगेको छ उसलाई सोध्नुपर्छ कोरोना के हो भनेर । कोरोना नलागुन्जेल केही होइन जस्तो लाग्ला, लागिसकेपछि सोच्ने मौकै दिँदैन । कोरोनाबाट कसरी बच्न सकिन्छ भन्ने र लागिहाल्यो भने अरुलाई नलागोस् भन्नेतर्फ ध्यान दिएर सुरक्षा अपनाउनु जरुरी छ ।