हृदयघात, हार्टफेल र कार्डियाक एरेस्ट कति समान, कति फरक ?



– प्रा. डा. प्रकाशराज रेग्मी (मुटुरोग विशेषज्ञ)

मुटुका तीन अवस्थाहरू हृदयघात, हार्टफेल र कार्डियाक एरेस्टबारे बेलाबखत धेरै चर्चा हुने गर्दछ । विशेष गरी कुनै प्रख्यात व्यक्तिको असामयिक निधन हुँदा यी तीन अवस्थामध्ये कसैले हृदयघात, कसैले हार्टफेल त कसैले कार्डियाक एरेस्टको कारणले मृत्यु भयो भनी प्रचारप्रसार गरेको हामीले देख्ने/सुन्ने गरेका छौं । झट्ट सुन्दा यी तीनवटै अवस्था एउटै अथवा समान हुन् कि जस्तो लाग्छ । तर चिकित्सा विज्ञानका अनुसार यी फरक–फरक अवस्था हुन् । कसै–कसैले त हृदयघात र स्ट्रोकलाई एउटै हो जस्तो गरी लेख्ने, प्रचारप्रसार गर्ने र बुझ्ने गरेको भेटिन्छ । यस्तो प्रचारले जनमानसमा भ्रम पैदा गरिदिन्छ । मैले यी अवस्थाहरूमा कति समानता छ र कति भिन्नता छ भन्नेबारे प्रस्टसँग बुझाउने प्रयास गरेको छु ।

केही समयअगाडि एकजना चर्चित व्यक्तिको अल्पायुमै आकस्मिक मृत्यु भयो । यो मृत्युलाई कसैले हृदयघात भने, कसैले हार्टफेल भने र कसैले कार्डियाक एरेस्ट भने । यी तीनवटै अवस्था फरक–फरक हुन् भन्नेबारे प्रचारप्रसार गर्नेले गहिरिएर बुझ्ने प्रयास नै गरेनन् । उनीहरूले तातो–तातो समाचार पस्किन हतार गरे ।

ब्रेन डेथ भए पनि यदि मुटु र फोक्सोमध्ये कुनै एकमात्र पनि चलिरहेको छ भने त्यो मानिसको मृत्यु भैसक्यो भनी धेरैले विश्वास गर्दैनन्, तर मानिसको वास्तविक मृत्यु भनेको ब्रेन डेथ नै हो ।

मानिसको मृत्यु हुँदा शरीरका सबै अङ्गले काम गर्न छाड्छन् । शरीरका अङ्गहरूमध्ये शरीरलाई जीवित राख्ने सबैभन्दा महत्वपूर्ण मुटु र फोक्सो हुन् । जबसम्म फोक्सो र मुटुले काम गरिरहेको हुन्छ तबसम्म मान्छेको शरीर मर्दैन । मुटु र फोक्सो एकैछिन् बन्द भए अथवा यिनीहरूले एकैछिन् काम गर्न छाडे भने सबैभन्दा पहिले मस्तिष्कको मृत्यु हुन्छ । सडक दुर्घटनाबाट पनि टाउकोमा गम्भीर चोटपटक लाग्दा मस्तिष्कको मृत्यु हुन सक्छ । मस्तिष्क मरे पनि शरीरका अन्य अङ्गहरू जीवित नै हुन सक्छन् । यो अवस्थालाई ब्रेन डेथ (Brain Death) भनिन्छ । यो अवस्थामा ब्रेन डेथ भएको मानिसका अङ्गहरू जस्तै– मुटु, कलेजो, मिर्गौला आदि झिकेर अर्को मानिसमा प्रत्यारोपण गर्न सकिन्छ । ब्रेन डेथ भैसकेपछि त्यो मानिसको बाँच्ने सम्भावना शून्य रहन्छ । यो भनेको मानिसको अन्तिम अवस्था हो । तर ब्रेन डेथ भए पनि यदि मुटु र फोक्सोमध्ये कुनै एकमात्र पनि चलिरहेको छ भने त्यो मानिसको मृत्यु भैसक्यो भनी धेरैले विश्वास गर्दैनन्, तर मानिसको वास्तविक मृत्यु भनेको ब्रेन डेथ नै हो ।

अब कार्डियाक एरेस्टको कुरा गरौं । ‘एरेस्ट’ भनेको अंग्रेजी शब्द हो, जसको अर्थ गिरफ्तारी हो । चोरलाई पुलिसले एरेस्ट गर्छ, जसको नतिजा चोरी कार्य बन्द हुन्छ र चोरले चोरी गर्न छोड्छ । यस्तै प्रकारले मुटु गिरफ्तार हुने अर्थात् मुटुको काम रोकिने अवस्था कार्डियाक एरेस्ट हो । यो भनेको मुटुको ढुकढुकी वा धड्कन बन्द हुने हो । मानिसको मृत्यु हुनका लागि मुटुको धड्कन रोकिनु अनिवार्य छ । मुटुको धड्कन रहँदासम्म मान्छेको शरीर मर्‍यो भन्न मिल्दैन । यस्तै प्रकारले फोक्सोले काम गर्दासम्म पनि मान्छे मर्दैन । फोक्सोले काम बन्द गरेको अवस्था अथवा अर्को शब्दमा फोक्सोको गिरफ्तारी (Respiratory Arrest) मृत्युको लागि अनिवार्य छ ।

अब अर्को तरिकाले बुझौँ । कुनै पनि मानिसको जेसुकै कारणले शरीरको अन्त्य अर्थात् मृत्यु हुँदा अन्त्यमा मुटुको धड्कन रोकिने (Cardiac Arrest), फोक्सोले सास लिने काम बन्द गर्ने (Respiratory Arrest) भएकै हुन्छ । कार्डियाक एरेस्ट भनेको मृत्युको कारण होइन, यो त मृत्युको एउटा संकेत हो, मृत्यु भयो भनी प्रमाणित गर्ने विन्दु हो । यस्तै रेस्पिरेटरी एरेस्ट र ब्रेन डेथ पनि मृत्यु प्रमाणित गर्ने संकेतहरू हुन् । यी कुनै पनि रोग होइनन् र मृत्युको कारण पनि होइनन् । सबै मानिसको मृत्यु हृदयको गति र श्वासप्रश्वास बन्द भएपछि मात्र हुन्छ ।

क्यान्सर एउटा रोग हो । त्यस्तै हृदयघात पनि एउटा मुटुको रोग हो, जसमा मुटुको रक्तनलीमा कोलेस्ट्रोल र रगत जमेर रक्त सञ्चालन बन्द हुन पुग्छ । उच्च रक्तचाप रोग हो । मधुमेह पनि एउटा रोग हो । तर कार्डियाक एरेस्ट रोग होइन । क्यान्सरका कारण पनि कार्डियाक एरेस्ट हुन सक्छ । रक्सी धेरै पियो भने पनि कार्डियाक एरेस्ट हुन सक्छ । तर हृदयघात एउटा यस्तो रोग हो जसका कारण धेरैभन्दा धेरै मान्छेको कार्डियाक एरेस्ट हुन्छ र मृत्यु हुन्छ । हृदयघात भएपछि कार्डियाक एरेस्ट हुन्छ नै भन्ने छैन । हृदयघातको उपचार समयमै गरियो भने कार्डियाक एरेस्ट हुँदैन, धेरै मानिसलाई हृदयघात हुँदा उपचार गरी बचाउन सकिन्छ । बस् समयमै उपचार गर्नुपर्छ ।

अब हार्टफेलको कुरा गरौं । यो पनि अंग्रेजी शब्द हो । हार्ट फेल अर्थात् मुटु असफल भएको अवस्था । मुटु असफल हुनु वा फेल हुनु भनेको मुटुले जति काम गर्नुपर्ने हो त्यति गर्न नसक्नु हो । हार्टफेल भनेको हार्ट अट्याक होइन । हार्टफेल हुने धेरै कारण छन्, जसमध्ये एउटा प्रमुख कारण हृदयघात अर्थात् हार्ट अट्याक हो । हृदयघातबाट मुटुको मांसपेशीहरू कमजोर हुन्छन् र मुटुले राम्रोसँग पम्प गर्न सक्दैन । यसको लक्षण मान्छेलाई सास नपुग्ने र स्वाँ–स्वाँ हुने हुन्छ । यो हार्टफेल भएको हो । फेल भएको मुटुलाई उपचारबाट पास गराउन सकिन्छ । यसका धेरै प्रभावकारी उपचार पद्धतिहरू छन् । हृदयघात र हार्टफेल समान अवस्था होइनन् । हार्टफेल गराउने धेरै कारणहरु छन् । यी मध्ये एउटा कारण हृदयघात हो ।

अब यी तीनवटै अवस्थालाई छोटकरीमा प्रस्ट्याउँछु ।

– हृदयघात हुँदा रक्तनलीमा रगतको थेग्रो जमी ब्लक हुन्छ । मुटुको मांसपेशी कमजोर हुन्छ । छाती दुख्छ । मुटु कमजोर हुन्छ । समयमै उपचार गरे मान्छे बाँच्छ अन्यथा मर्ने सम्भावना बढी हुन्छ ।

– हार्टफेल हुँदा मुटुले राम्रोसँग पम्प गर्न सक्दैन । रोगीलाई सास फेर्न गाह्रो हुन्छ ।

– कार्डियाक एरेस्ट हुँदा मुटुको धड्कन रोकिन्छ, मान्छे बेहोस हुन्छ । ५ मिनेटसम्म मुटु चलेन भने मान्छे मर्छ ।

यी तीनवटै अवस्थाहरू बेग्लाबेग्लै भए तापनि यिनीहरूमा यो समानता छ कि यिनीहरू मृत्युको धेरै नजिकका अवस्था हुन् । आजका दिनमा मानव मृत्युको प्रमुख कारण हृदयघात हो । हृदयघात भएपछि हार्टफेल हुन्छ र कार्डियाक एरेस्ट पनि हुन सक्छ । यदि सावधानी अपनाउने हो र समयमै उपचार गर्ने हो भने हृदयघात र हार्टफेलको सफल उपचार गर्न सकिन्छ । कतिपय अवस्थामा सम्भावित कार्डियाक एरेस्टलाई पनि रोक्न सकिन्छ । कहिलेकाहीँ कार्डियाक एरेस्ट अथवा मुटुको धड्कन बन्द भैसकेपछि पनि मुटुलाई पुनः चलाउन सकिन्छ । एकप्रकारले मरिसकेको मानिसलाई पनि बचाउन सकिन्छ । ब्रेन डेथ भैसकेकालाई बचाउने पद्धति आजका दिनसम्म विज्ञानले पत्ता लगाएको छैन तर भोलिका दिनमा यो सम्भव हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्