कविता पाण्डे कान्ति बालअस्पतालमा निमित्त नर्सिङ प्रमुख हुनुहुन्छ । उहाँ विगत २० वर्षदेखि अनवरतरुपमा नर्सिङ सेवाका साथै अध्ययन, अध्यापनमा तल्लीन हुनुहुन्छ । पाण्डेले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्ज नर्सिङ कलेजबाट मास्टर इन नर्सिङ पूरा गर्नुभएको छ । उहाँसँग साधना प्रतिनिधि भगवती तिमल्सिनाले गरेको कुराकानीको सार :
तपाईं नर्सिङ पेसाप्रति कसरी आकर्षित हुनुभयो ?
राम्रो अंक ल्याएर एसएलसी पास गरेपछि राम्रो विषय पढ्नुपर्छ भन्ने सोच थियो । नर्सिङ राम्रोसँग बुझी आकर्षित भएर नभई भविष्य राम्रो छ भन्ने सुनेकै आधारमा नर्सिङतिर लागेको हो । शुरुमा फुपूका छोराहरुको प्रेरणा र साथ–सहयोगले काठमाडौं आएर प्रवेश परीक्षा दिएँ र पास पनि भएँ । त्यसपछिका दिनमा पेसाको महत्व बुझी करिअर बनाउनुपर्छ भनेर नै अध्ययनलाई अझै बृहत् बनाउँदै गएँ ।
कान्ति बालअस्पताल केन्द्रीय रिफरल अस्पताल भएकाले बिरामीको चाप सधैँ नै हुन्छ । कोभिडको महामारीको समयमा नर्सिङ सेवा कसरी व्यवस्थापन गरिरहनुभएको छ ?
कोभिड शुरु भएपछि नै म कान्ति बालअस्पतालमा प्रवेश गरेको हो । यस अस्पतालमा कोरोना संक्रमितहरुलाई उपचारका लागि अलग्ग ब्लक नै छुट्याएर सेवा सञ्चालन भैरहेको थियो । म आएपछि नर्स, स्वास्थ्यकर्मी कसैलाई पनि कोरोना नसरोस् र हामीबाट बालबालिकाहरुमा पनि नसरोस् भन्ने विषयमा विशेष ध्यान दिई काम गर्यौँ। शुरुको अवस्था भनेको स्वास्थ्यकर्मीलाई आत्मबल बढाउने नै हो । आत्मबल बढाउनका लागि मनोपरामर्श दिने र काम गर्नका लागि प्रेरित गर्दै ड्युटीमा खटाइयो । मैले व्यवस्थापन र सेवालाई कसरी राम्रो गर्न सकिन्छ भनेर काम गर्दै छु ।
बालबालिकामा कोरोना भएको केही समयपछि देखा पर्ने कम्प्लिकेसन भएका धेरै बिरामी कान्तिमा आएको समाचार प्रकाशन भएको थियो, यो कस्तो समस्या हो ?
यस विषयमा अन्तर्राष्ट्रिय रुपमै अध्ययन भैरहेको छ । समस्या एमआईएससी भन्ने छ । यो कोभिड भएको १५ देखि २० दिनपछि देखा पर्छ । कोरोनाकै कारण फोक्सोमा समस्या देखिने, शरीरका अन्य भागहरुमा समेत समस्या देखिने हुन्छ । यस्ता समस्या भएका बच्चाहरु बढी देखिएको अवस्थामा कान्तिमा उपचार भैराखेकै छ ।
जनशक्तिको अवस्था कस्तो छ ?
अन्य सरकारी अस्पतालमा जस्तै कान्ति अस्पताल पनि न्यून स्वास्थ्य जनशक्तिले चलाएको अवस्था छ । झन्डै ३ दशकअघि गरिएको जनशक्ति सर्वेक्षणका आधारमा तय गरिएको जनशक्तिले अस्पताल चलाइरहेको अवस्था छ । दरबन्दीमा हेरफेर नभएकै कारण अस्पताल विकास समितिबाट केही स्वास्थ्यकर्मी करारमा लिएर चलाइरहेको अवस्था छ । कान्तिको मात्र नभई नेपालका अधिकांश सरकारी अस्पतालको समस्या यही नै छ । ओएनएम सर्वे भर्खर शुरु भएको छ, त्यसले निकास कहिले ल्याउँछ भन्ने थाहा छैन । हामी प्रशासनमा रहेर काम गराउने र ड्युटीमा खटिने दुवैलाई कामको बोझ धेरै छ । यसको प्रभावले बिरामीले सेवा पाए/पाएनन् र पाएको सेवा गुणस्तरीय थियो/थिएन भन्नेमा ठूलो प्रश्न उठ्छ । हामीलाई यो प्रश्नले सधैँभरि सताइरहन्छ । ३ सय ५० शय्या क्षमतामा सञ्चालित कान्ति अस्पतालमा २ सय शय्या पनि नहुँदाको दरबन्दीले चलाइरहेको अवस्था छ । सेवा विस्तार भैरहेको छ र कतिपय सेवा सुचारु गर्नुपर्ने अवस्थामा हामीलाई निकै कठिनाइ भइरहेको छ ।
कान्ति अस्पतालमा कार्यरत नर्सहरु कत्तिको क्षमतावान् लाग्छ ?
धेरै नर्सिङ जनशक्ति लोक सेवा तथा विकास समितिबाट पदपूर्ति भएका हुनुहुन्छ । उहाँहरु दक्ष नभएको भए अस्पतालको सेवा सम्भव थिएन । तर पनि समयानुकूल तालिम, परामर्शका माध्यमबाट क्षमता विकास गर्नै पर्छ ।
नर्सिङ पढेकाहरुलाई स्वदेशमै स्वास्थ्य सेवामा टिकाइराख्न के गर्नुपर्ला ?
यो अत्यन्तै गम्भीर प्रश्न छ । स्वास्थ्य तथा शिक्षण संस्थाहरुमा आवश्यक संख्यामा नर्स नराखी न्यूनतम जनशक्तिबाट अधिकतम काम गराउने प्रवृत्तिले गर्दा नर्सहरु बेरोजगार हुन पुगेका छन् । साथै पाएको रोजगारीमा पनि न्यूनतम तलब, जागिरको सुनिश्चितता नहुनु, सुरक्षाको प्रावधान नहुनु, काम गर्ने अनुकूल वातावरण नहुनु र श्रमको उचित मूल्यांकन नहुनुले नर्सहरुलाई स्वदेशमै टिकाइराख्न गाह्रो हुने देखिन्छ । नेपाल सरकारले जनशक्ति उत्पादन गर्नुभन्दा अगाडि नै देशको लागि त्यो समूहको जनशक्ति कति आवश्यक छ, कसरी खपत गर्ने, उत्पादनपछि व्यवस्थापन कसरी गर्ने, उत्पादित जनशक्तिको भविष्य के हुने भन्ने कुराको योजना नबनाई उत्पादन मात्र गर्दा समस्या आएको छ ।
सरकारले जहिले पनि काम गर्दा दीर्घकालीन योजना बनाएर गर्नुपर्छ । कति वर्षमा कुन समूहका कति जनशक्ति उत्पादन गर्ने भन्ने योजना पहिला भए मात्र उत्पादित जनशक्तिको स्वदेशमै खपत हुन्छ । यसले पेसाप्रतिको जिम्मेवारी र मर्यादामा महत्वपूर्ण भूमिका खेल्छ । दक्ष जनशक्ति उत्पादनका विषयमा नेपाल सरकारको नीति–नियम कागजमा नभएको पनि हैन तर ठोस योजना सही समयमा नहुँदा समस्या बढ्दै गएको छ । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले न्यूनतम सेवा मापदण्ड बनाइसकेको छ । यो मापदण्ड कार्यान्वयन गर्ने हो भने यति धेरै नर्सहरु बेरोजगार देखिने अवस्था नै रहँदैन ।
करिब ५० प्रतिशत नर्स निजी क्षेत्रका अस्पतालमा कार्यरत छन् । निजी क्षेत्रमा श्रमशोषण अति नै छ । नर्स भनेका सामान्य कामदार नभई विज्ञान प्रविधिको शिक्षाप्राप्त दक्ष जनशक्ति हो । श्रम ऐनमा स्किल्ड जनशक्तिको विषयमा बोलेकै छैन । यिनै कारणले गर्दा बढी बेरोजगार भएका हुन् ।
नेपालका नर्सहरुको साझा संस्था नर्सिङ संघले नर्सहरुको समस्याको सम्बोधन कसरी गरेको पाउनुभएको छ ?
संघले नर्सको हकहितमा बोल्ने काम गरेको छ । संघको पहलमा मात्र नर्सका सबै समस्या समाधान हुन्छ भन्न सकिन्न । सरकारसँग सम्झौता भइरहेको हुन्छ तर पूर्णरुपमा कार्यान्वयन भइरहेको हुँदैन । देशभरिका नर्सहरुको मागकै कारण मन्त्रालयमा नर्सिङ महाशाखा पुनस्र्थापना भएको छ । संघको सुझावअनुरुप न्यूनतम पारिश्रमिक नदिने स्वास्थ्य संस्था नवीकरण नहुने भन्नेसम्मको व्यवस्था भएको छ । नर्स इन्टर्न, नर्स ट्रेनीका नाममा नर्सलाई भोलेन्टियर बनाउने काम अझै रोकिएको छैन । न्यून तलबमा बढी समय काम गराउने गरिएको छ । संघमा उजुरी पर्दा पत्राचार गर्ने, संघर्ष गर्ने काम भइरहेको छ ।
नर्सिङ शिक्षा लिन चाहने विद्यार्थीले कस्तो तयारी गरेर आउनुपर्छ ?
नर्सिङ शिक्षा अरु शिक्षाभन्दा फरक छ । यो विज्ञान र कलाको समिश्रण हो र मानवीय संवेदनालाई ख्याल गरेर गर्नुपर्छ । नर्स हुनका लागि धेरै सिद्धान्तहरुको पालना गर्नुपर्छ । विश्वव्यापीरुपमा नर्सिङ शिक्षामा चुनौतीहरु बढेका छन् । प्राविधिक ज्ञान भएको, कम्प्युटर चलाउन जान्ने, पढ्ने बानी भएको, सीप जान्ने, दिनरात, चाडपर्व नभनी सेवामा खट्ने आँट र अठोट हुनुपर्छ ।
अहिले कोरोना महामारी आएजस्तै विपद्हरु थुपै्र आउँछन् । विपद्का बेला अरु मान्छेहरु घरमा बसिरहेको समयमा नर्स, स्वास्थ्यकर्मीहरुले फिल्डमा उत्रेर काम गर्नुपर्ने हुन्छ । यी सबै कुरा बुझी जस्तोसुकै परिस्थितिमा पनि अडान लिएर काम गर्नेछु र पेसाप्रति सधैँ समर्पित भएर काम गर्नेछु भन्ने सोच बनाएर आउनुपर्छ । जागिर मात्र खाने हो भनेर आउने हो भने नर्सिङ पेसा त्यति सजिलो छैन । नर्स बनेर सेवा दिन, उच्च शिक्षा हासिल गर्न, शिक्षाअनुसारको काम पाउन थुप्रै चुनौती छन् भन्ने बुझेर मात्र आउनुपर्छ । विषयगत तयारीसँगै सेवाको रुपमा हेर्नुपर्छ भन्ने सोच राखेर प्रवेश गर्नुपर्छ ।
कोरोना महामारीको यो अवधिमा कान्ति बालअस्पतालका नर्सहरुले कुनै पीडाको सामना गर्नुपर्यो कि ?
कोरोना संक्रमणका बेला अस्पतालको ड्युटी अरु बेलाभन्दा फरक तरिकाले सञ्चालन भएको थियो भने घर–परिवारको पनि रेखदेख गर्नुपर्ने थियो । घर–परिवार र समाजले यो अस्पतालमा काम गर्छे, रोग ल्याएर सार्ने हो कि भनेर ‘छिःछिः दुरदुर’ गर्ने समस्या पनि भए । कतिलाई घर जाने वातावरण नै नबन्दा अस्पतालले नै बस्ने–खाने व्यवस्था गर्नुपरेको थियो । संक्रमित भैसकेपछि पनि नेपाल सरकारको निर्देशिकामा १० दिनपछि पीसीआर परीक्षण गर्नुपर्दैन, स्वतः आफैं निको हुन्छ अर्थात् १४ दिनमा पोजेटिभ नै देखिए पनि त्यसले सार्ने सम्भावना हुँदैन, डराउनुपर्दैन भनिरहँदासमेत घर–परिवारले नेगेटिभ नभएसम्म घर नआऊ भनेर घरमा प्रवेश नदिने कार्य पनि भयो । आफू पोजेटिभ हुँदा कहाँ बस्ने भन्ने अन्योल भयो । नर्सहरुले पीपीई लगाएर दिनभरि बिरामीको सेवा गरी कठिनाइसाथ काम गर्नुपर्यो । मानसिक, शारीरिकरुपमा पनि आराम गर्न नपाई काम गर्नुपर्यो । अहिले धेरैले बुझिसकेका र संक्रमण दर पनि कम भएकाले अलि सहज भएको छ ।
कान्ति बालअस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु कत्तिको संक्रमित हुनुभयो ?
त्यति बेला फ्रन्टलाइनमा खटिने थुप्रै नर्स र चिकित्सकहरु संक्रमित हुनुभयो । संक्रमण भएपछि कहाँ बस्ने, के गर्ने भन्ने ठूलो चुनौती थियो । तत्काल बिरामी बस्ने क्याबिनलाई नै कोरोना संक्रमित स्वास्थ्यकर्मी बस्ने र खाने व्यवस्था मिलाएर आइसोलेसनमा राख्यौँ । नेपाल सरकारले तोकेको मापदण्डको पालना गर्दै स्वास्थ्य लाभ गर्नुभयो ।
कोरोनासम्बन्धी स्वास्थ्य निर्देशिका कस्तो थियो ?
नेपाल सरकारले बनाएका निर्देशिकाको पालना गर्दै हामीले काम गर्यौँ । शुरुका दिनमा एक साता ड्युटी गरेर १४ दिन बिदा बस्ने थियो भने त्यसपछि संक्रमितले १४ दिन बिदा बस्न पाउने व्यवस्था भयो । पछिल्ला दिनहरुमा १० दिनपछि परीक्षण गरी नेगेटिभ÷पोजेटिभ जे आए पनि सर्दैन त्यसैले होम आइसोलेसनमा बस्ने भन्ने नीति आयो । अहिले त कोरोना संक्रमण भएको १० दिनपछि नै पोजेटिभ आए पनि ड्युटी गर्न मिल्ने भन्ने आएको छ । नेपालमा कोरोना संक्रमण नियन्त्रणमा केही सुधार भए पनि कोरोना भाइरस सकियो भन्न मिल्ने अवस्था भएको छैन । सुरक्षा विधि पहिलाजस्तै अपनाउनुपर्छ । अहिले पनि चुनौती छ, संक्रमण दर कम भएको मात्र हो ।
कोरोना महामारीका समयमा समाज र परिवारको व्यवहार कस्तो पाउनुभयो ?
मेरो परिवारमा स्वास्थ्यकर्मी पनि हुनुभएकाले मलाई त्यति गाह्रो भएन । परिवारले बुझेकै कारण अनुगमनका लागि उदयपुरसम्म गई १८ दिन बसेर आएँ । शुरुदेखि नै स्वास्थ्यकर्मी डराउनुहुँदैन भन्ने सोच थियो । साथै यस्तो बेलामा देश र जनताको लागि सेवा दिनुपर्छ भन्ने मान्यता राखेर काम गरेँ । व्यक्तिगतरुपमा त्यस्ता समस्या मैले झेल्नुपरेन ।
यस्तो खालको महामारीका विषयमा कोर्समा पढाइ हुन्थ्यो कि हुँदैनथ्यो ?
समयअनुसार भाइरसको गति फरक पर्ने हुन्छ । तर बेसिक कुरा कोर्समा नभएको होइन । युनिभर्सल प्रिकसन भन्ने शब्द थियो । त्यो हामीले पहिलादेखि नै पढ्दै आएका थियाँै । नेपालमा स्वास्थ्यकर्मीहरुले सुरक्षा कबच कमै प्रयोग गरेको अवस्था थियो । कोरोना महामारीले स्वास्थ्यकर्मी, सर्वसाधारण सबैलाई सुरक्षा कबच विषयमा ठूलो पाठ सिकाएको छ । पहिला पनि अपरेसन गर्दा मास्क, क्याप, ग्लोब्स सबै लगाएर गर्नुपर्ने कोर्समा थियो र प्राक्टिस पनि भएकै हो ।
कोरोनाले स्वास्थ्यकर्मीहरुलाई पनि व्यावहारिक पाठ सिकायो र सँगसँगै आमनागरिकलाई सामान्यभन्दा पनि बुझ्ने अवस्थामा पुर्यायो । पहिला पनि सार्स, बर्डफ्लु, स्वाइनफ्लु देखिएकै अवस्था हो । पढेको ज्ञानभन्दा व्यावहारिक ज्ञानले वास्तवमै पाठ सिकायो ।
नेपालमा फेरि राजनीतिक उतारचढाव आएको छ । यस्तो अवस्थामा स्वास्थ्य सेवामा कस्ता–कस्ता समस्या बढ्ने देख्नुहुन्छ ?
राजनीतिक अस्थिरताले भीडभाड बढाउँछ । यो दुःख लाग्दो कुरा हो । जनस्वास्थ्यको मापदण्डका विषयमा स्वास्थ्य मन्त्रालयले बारम्बार भनिरहेकै छ तर बाहिर सडकमा नारा, जुलुस, भीडभाड, सभा गर्दा कोभिड बढ्छ भन्ने त्रास हामीलाई भएको छ । सडकमा कतिले सामान्य मास्कसम्म लगाउनै छोडिसके भने साबुन–पानीले हात धुने, स्यानिटाइजर खरिद गरेर प्रयोग गर्ने भन्ने धेरै टाढाको विषय बन्दै गएको देखिँदै छ ।
अन्त्यमा केही भन्नुहुन्छ कि ?
नर्स भनेको फ्रन्टलाइनमा बसेर सेवाभावका दृष्टिले काम गर्नुपर्ने अति नै मर्यादित र समर्पित हुनुपर्ने पेसा हो । ज्ञान र सीपले चुस्त–दुरुस्त राख्नुपर्ने पेसा हो । यो पेसालाई सबै पक्षबाट सम्मानितरुपमा सम्बोधन भयो भने नर्सहरुको काम गर्ने मनोबल बढ्ने थियो । नीति–नियम पनि समयअनुसार परिमार्जन र कार्यान्वयन हुँदै गए नर्सिङ पेसा बलियो हुँदै जान्छ भन्ने लागेको छ ।