– प्रा. डा. प्रकाशराज रेग्मी (मुटुरोग विशेषज्ञ)
हृदयघात अर्थात् हार्ट अट्याक खतरनाक रोग हो । यो विश्वकै हत्यारा नम्बर एक हो । विश्वमा बर्सेनि डेढ करोडभन्दा बढी मानिस हृदयघातबाट मर्ने गर्दछन् । नेपालमा बर्सेनि अनुमानित ३० हजारजनाको मृत्यु हृदयघातबाट हुन्छ । हृदयघात भएकामध्ये कतिपयलाई अस्पताल पुर्याउनै भ्याइँदैन । अस्पताल पुर्याइएकामध्ये पनि एक तिहाइको एक महिनाभित्र मृत्यु हुन्छ । हृदयघात भएपछि बाँच्नेभन्दा मर्ने सम्भावना बढी हुन्छ । यसकारण हृदयघातका जोखिमहरु र यसका प्रारम्भिक लक्षणहरुबारे थाहा पाइराख्नु उचित हुन्छ ।
के कुनै व्यक्तिले उसलाई हृदयघात हुन्छ वा हुँदैन, यदि हुन्छ भने कहिलेसम्म हुन्छ भन्ने थाहा पाउन सक्छ ? के विज्ञानले हृदयघातको सम्भावना र समय अनुमान गर्ने विधि पत्ता लगाएको छ ? के कुनै मानिसले आफ्नो शारीरिक विवरणको अध्ययन गरेर हृदयघात हुने सम्भावनाबारे थाहा पाउन सक्छ ? यदि यो जानकारी पाउन सकिने भए पहिलेदेखि नै सावधान रहेर हृदयघातबाट बच्न वा यसका कारण हुने मृत्युबाट जोगिन सकिन्थ्यो । यसै विषयमा चर्चा गर्न चाहन्छु । हृदयघात अकस्मात् हुने रोग होइन । स्वस्थजस्तो देखिने मानिस एकाएक हृदयघात भएर ढलेको देख्दा जो–कोहीलाई हृदयघात अकस्मात् हुन्छ भन्ने लाग्न सक्छ । अनि यसबाट हुने मृत्यु पनि आकस्मिक हुन्छ । धेरैजसो व्यक्तिहरु बिहानीपख हृदयघातका कारण ओछ्यानमा सुतेको सुत्यै मरेको फेला पर्दछन् ।
हृदयघातका कारण धेरै मानिसको मृत्यु भैराखेको आजको दिनमा हृदयघात हुने सम्भावना पत्ता लगाउने तरिका सबैले सिकिराख्दा धेरै फाइदा हुन्छ । भोलि हुन सक्ने हृदयघात र मृत्युबारे आज थाहा पाउन सक्नु विज्ञानको ठूलो उपलब्धि हो ।
वास्तवमा हृदयघात केही पनि नभएको स्वस्थ मानिसलाई एकाएक हुने होइन । हृदयघात र आकस्मिक मृत्युसम्म आइपुग्न रोगको बलियो जग मान्छेको शरीरभित्र तयार भैसकेको हुन्छ । विज्ञानले हृदयघातको जग तयार भएको वा नभएको बारे अध्ययन–अनुसन्धान गरेको छ । विभिन्न जोखिम तत्वहरुको हिसाब गरेर हृदयघात हुने सम्भावना कति छ भन्नेबारे पत्ता लगाउन सकिन्छ । प्रत्येक व्यक्तिले आफूलाई हृदयघात हुने सम्भावना कति छ भनी हिसाब गरेर निकाल्न सक्छन् । हृदयघातका कारण धेरै मानिसको मृत्यु भैराखेको आजको दिनमा हृदयघात हुने सम्भावना पत्ता लगाउने तरिका सबैले सिकिराख्दा धेरै फाइदा हुन्छ । भोलि हुन सक्ने हृदयघात र मृत्युबारे आज थाहा पाउन सक्नु विज्ञानको ठूलो उपलब्धि हो ।
हृदयघात जीवनशैलीसँग सम्बन्धित रोग हो । यसको जरा मान्छेको आहार, विहार, विचार र व्यवहारसम्म गडेको हुन्छ । जीवनशैलीका यी विविध पक्षहरुबाटै हृदयघातको जग तयार हुन्छ । जति बलियो जग बन्छ त्यति नै हृदयघात हुने र मृत्यु हुने सम्भावना पनि बढी हुन्छ । हृदयघातको जगलाई विभिन्न विधिद्वारा नाप्न सकिन्छ । मेडिकल भाषामा यो जगलाई जोखिम तत्व भनिन्छ । हृदयघातका जोखिम तत्वहरु धेरैवटा छन् तर हिसाब गर्न जम्मा १० वटालाई औंलामा गन्नु उपयुक्त हुन्छ । हाम्रा दुई हातका १० वटा औंलाहरु बराबर मुख्य जोखिम तत्वहरु छन् भनी सम्झन सकिन्छ । यी १० वटामध्ये ५ वटा ठूला र बाँकी ५ वटा साना जोखिम तत्वहरु हुन् । ठूला जोखिम तत्वहरुलाई २ अति ठूला र ३ ठूला गरी दुई वर्गमा राख्न सकिन्छ । यस हिसाबले २ अति ठूला, ३ ठूला र ५ साना जोखिम तत्वहरु छन् । जुन यसप्रकार छन्ः
अति ठूला जोखिम : मधुमेह र धूमपान ।
ठूला जोखिम : उच्च रक्तचाप, उच्च रक्तकोलेस्टेरोल र उमेर (पुरुषको ४५ वर्षमाथि र महिलाको ५५ वर्षमाथि) ।
साना जोखिम : व्यायामको कमी, मोटोपन, वंशाणुगत, मानसिक तनाव र सागसब्जी फलफूल कम खाने ।
अब यी जोखिम तत्वहरुलाई हृदयघात गराउन सक्ने क्षमताको आधारमा धेरै वा थोरै नम्बर दिएर हिसाब गरौं । अति ठूला जोखिमलाई ७ नम्बर, ठूलालाई ४ नम्बर र सानालाई २ नम्बर । आफ्ना सबै जोखिमका नम्बरहरु जोडेर जम्मा कति नम्बर हुन्छ, त्यो हिसाब गरौं । प्राप्त नम्बरको आधारमा हृदयघातको जोखिमको तह पत्ता लगाउन सकिन्छ । १ देखि ४ नम्बर पाउने निम्न जोखिम, ५ देखि ७ नम्बर पाउने मध्यम जोखिम, ८ देखि १५ नम्बर पाउने उच्च जोखिम र १५ नम्बरभन्दा बढी पाउने अति उच्च जोखिम तहमा पर्दछन् ।
निम्न जोखिममा पर्नेहरुलाई १० वर्षमा हृदयघात हुने सम्भावना ५ प्रतिशतभन्दा कम रहन्छ । यो भनेको १० वर्षभित्र यो समूहमा पर्ने १०० जनामध्ये ५ जनासम्मलाई हृदयघात हुन सक्छ । यस्तै गरी मध्यम जोखिममा पर्नेहरुलाई १० वर्षमा हृदयघात हुने सम्भावना ५ देखि १० प्रतिशत, उच्च जोखिममा पर्नेहरुलाई १० देखि २० प्रतिशत र अति उच्च जोखिममा पर्नेहरुलाई हृदयघात हुने सम्भावना २० प्रतिशतभन्दा बढी रहन्छ । यसप्रकार प्रत्येक व्यक्तिले आफूसँग कुन–कुन जोखिम तत्व छन्, ती जोखिमहरु सबैको नम्बर जोड्दा कति हुन्छ र त्यो जम्मा नम्बरले कुन जोखिम तहलाई जनाउँछ भनी हिसाब गर्न सक्छन् । बुझ्न सजिलो होस् भनी यी कुराहरुलाई तालिकामा राखेर देखाइएको छ ।
यस्तो प्रणाली धेरै प्राज्ञिक संस्थाहरुले प्रकाशित गरेका छन् । मैले यहाँ प्रस्तुत गरेको तालिका र जोखिमको हिसाब गर्ने प्रणाली मेरो अध्ययन र अनुभवका आधारमा तयार पारेको हुँ । यसमा केही त्रुटि भए यसका लागि म आफू जिम्मेवार हुनेछु । यस प्रकारले आफ्नो शारीरिक अवस्थाको हिसाब गरेर १० वर्षभित्र हुन सक्ने हृदयघात र आकस्मिक मृत्युको सम्भावना पत्ता लगाउन सकिन्न । जो व्यक्ति बढी जोखिम समूहमा पर्छन् उसले हृदयघात नहोस् भन्नाका लागि जीवनशैली व्यवस्थापन र औषधि उपचार गर्नुपर्छ । यसो गरेमा हृदयघातको सम्भावनालाई न्यूनीकरण गर्न सकिन्छ ।
धेरैजसो अति उच्च जोखिममा पर्ने व्यक्तिहरुसमेतलाई रोगको कुनै पनि लक्षण नदेखिएको हुन सक्छ । लक्षण छैन, केही अप्ठेरो भएको छैन भनेर औषधि उपचार नगरी ढुक्कसँग बस्नुहुँदैन । हृदयघातबाट मृत्यु हुनुको मुख्य कारण यही सावधानी नअपनाएर हो । लक्षण आउने बेलासम्म कुर्नुहुँदैन । लक्षण आउने भनेको रोग धेरै बढिसकेको अवस्था हो । उदाहरणका लागि हिँड्दा छाती दुख्ने लक्षण मुटुको रक्तनली साँगुरो भएपछि उत्पन्न हुन्छ । यो लक्षण आउन मुटुको रक्तनली ६० प्रतिशतभन्दा बढी साँगुरिएको हुनुपर्छ । ६० प्रतिशतभन्दा कम साँगुरो हुँदासम्म छाती दुख्ने लक्षण हुँदैन । हृदयघातको नजिक पुगेपछि छाती दुख्न थाल्छ । यस्तो दुखाइ आइसक्दा पनि कतिपयले ग्यास्ट्रिक भयो भनी हेलचेक्र्याइँ गर्छन् । यसैको नतिजास्वरुप हृदयघात भई मृत्यु हुन पुग्छ ।
छातीमा पीडा उत्पन्न नहुँदै मुटुका रक्तनलीका अवस्था र हृदयघात हुने सम्भावना पत्ता लगाउन केही मुटुका परीक्षणहरुको सहायता लिन सकिन्छ । यसमा दुईवटा परीक्षणहरु महत्वपूर्ण छन् । ती हुन्– टी.एम.टी. र सी.टी. कोरोनरी एन्जियोग्राफी । यी परीक्षणहरुबाट मुटुका रक्तनली कतिको स्वस्थ छन् र हृदयघातको सम्भावना कति छ भनी थाहा पाउन सकिन्छ । अब तपाईंले पनि आफ्नो शारीरिक विवरण लिनुस्, त्यसलाई नम्बर दिनुस् र जोड्नुहोस्, जम्मा कति आउँछ ? त्यसको आधारमा हृदयघातको जोखिमको तह र १० वर्षभित्र हृदयघात हुने सम्भावना पत्ता लगाउनुहोस् । सावधान रहनुहोस्, समयमै आवश्यक कदम चाल्नुहोस् र भोलि हुन सक्ने हृदयघात र आकस्मिक मृत्युबाट जोगिनुहोस् ।