– डा. अरुणा उप्रेती (जनस्वास्थ्य विज्ञ)
अचेलका आमाबाबुले बालबालिकलाई मोबाइलमा गीत तथा भिडियो हेराउँदै खाना ख्वाउने गर्छन् । यो बानीको रुपमा विकास हुन्छ, अनि मोबाइल नभई बच्चाले खानै मान्दैन । ठूलो भएपछि आफैं खाँदा पनि मोबाइलमा भिडियो एवं गीतहरु हेरेर नै खाना खाने बानी परेपछिचाहिँ समस्या नै भयो भन्ने लाग्छ । जब मोबाइल नहुँदा एकछिन् पनि बस्न सकिन्न, छटपटी हुन थाल्छ, घाँटीबाट गाँस पनि छिर्दैन तब बुझ्नुपर्छ कि मोबाइल हेर्ने बानी ‘कुलत’ मा परिणत भइसकेको छ ।
बालबालिकादेखि किशोर–किशोरी, वयष्क, वृद्ध जसलाई पनि इन्टरनेट वा मोबाइलको कुलत हुन सक्छ । यस्तो कुलतबाट सबै नै बच्नुपर्छ । त्यसमा पनि बालबालिकालाई यस्तो कुलतबाट सुरक्षित राख्न बेलैमा सावधानी अपनाउनुपर्छ । किशोर–किशोरीलाई इन्टरनेट एवं सामाजिक सञ्जालमा लामो समय बस्न दिएपछि यसको ‘कुलत’ रक्सीको कुलतजस्तै लाग्न सक्छ । जसरी रक्सी वा लागूऔषधको कुलत लागेपछि त्यो एकछिन् खान नपाउँदा छटपटी हुन्छ, त्यसरी नै मोबाइल, इन्टरनेट, फेसबुकको कुलत लागेपछि त्यो भएन भने छटपटाहट हुन थाल्छ । बालबालिकालाई सुरक्षित र स्वस्थ राख्न अभिभावकले केही कदम चाल्नै पर्छ । तर यसको लागि अभिभावकहरू आफैं पनि यस्तो कुतलबाट मुक्त हुन जरुरी छ । आफूले दिनमा ५ घण्टा फेसबुक चलाएर, छोराछोरीलाई फेसबुकमा नझुन्ड भन्न सकिन्न । खाना खाँदा घर–परिवारका मानिसहरू सँगै बसेर खानुपर्छ । खाना खाने टेबुलमा मोबाइल फोनमा गीत वा सिनेमा हेर्ने बानी कसैले पनि गर्नु हुँदैन । यस्तो बेला रमाइला र दुःख–सुखका कुरा गर्नु बालबालिकाको शारीरिक एवं मानसिक स्वास्थ्यको लागि राम्रो हुन्छ ।
बालबालिकालाई इन्टरनेटको कुलत लाग्नबाट जोगाउन निम्न कार्यहरु गर्न सकिन्छ :
– राति सुत्दा, फेसबुक, मोबाइल र टिभी हेर्न नदिने ।
– परिवारमा इन्टरनेटका जोखिमहरूबारे, साइबर अपराधबारे छलफल गर्नुपर्छ । बालबालिकालाई यससम्बन्धी समस्या परेमा के गर्ने भनेर परामर्श गर्नुपर्छ ।
– बालबालिका, किशोर–किशोरीलाई सडक काट्दा मोबाइल फोन प्रयोग गर्न वर्जित गर्नुपर्छ । कानमा एअरफोन खाँदेर ‘संगीत’ सुन्दै हिँड्दा कसरी कान बिग्रन सक्छ भनेर बुझाउनुपर्छ । त्यसको लागि अभिभावक आफैंले पनि यसरी संगीत सुन्नुहुँदैन, मोटर चलाउँदा मोबाइल प्रयोग गर्नुहुँदैन ।
– बालिबालिकलाई किताब उपहार दिएर पढ्न पे्ररित गर्नुपर्छ ।
ब्रिटेनमा १४ वर्षीया मोली रसेलले सन् २०१७ मा आत्महत्या गरिन् । उनी सामाजिक सञ्जालमा धेरै व्यस्त हुन्थिन् । परिवारले त्यति वास्ता गर्दैनथे । आत्महत्यापछि परिवारले उनको इन्स्टाग्राम एकाउन्ट हेर्दा डिप्रेसन तथा आत्महत्यासम्बन्धी विचलित पार्ने सामग्रीहरू रहेको देखियो । लगातार त्यस्ता सामग्रीहरू हेरेपछि मोलीको मनस्थिति बिग्रियो । उनका पिता इयानले छोरीले आत्महत्या गर्नुमा इन्स्टाग्रामलाई जिम्मेवार पाए । तर उनले आफ्नो छोरी के गरेर यति धेरै समय इन्टरनेटमा बिताउँछिन् भनेर पहिले बुझ्ने प्रयास कहिल्यै गरेनन् । यो उनको ठूलो भूल थियो ।
यसै गरी एक चिनियाँ युवक स्मार्ट फोन किन्न आफूसँग पैसा नभएपछि निकै दिक्क भएका थिए । उनलाई ‘जसरी भए पनि महँगो स्मार्ट फोन किन्नुपर्छ भन्ने दृढ भावना थियो । उनी मोबाइलको कुलतमा यसरी फसेका थिए कि उनले सबै कुरा बिर्सिए । उनले आफ्नो मृगौला बेचेर आएको पैसाले ‘स्मार्ट फोन’ किने । भविष्य के होला भनेर विचारै गरेनन् । (https://www.bbc.com/news/av/world-asia-pacific-13647438)
‘कुलतमा’ फसेकाहरूले के राम्रो, के नराम्रो भनेर छुट्याउन सक्दैनन् । उनीहरू विवेकहीन हुन जान्छन् । बालबालिका र किशोर–किशोरीहरू मात्रै होइन, गृहिणीहरू पनि यस्तो कुलतमा फस्छन् र लगातार कम्प्युटर, मोबाइल चलाएपछि उनीहरुमा अनेक मानसिक र शारीरिक समस्या देखिन सक्छ । कतिपय महिला घरमा मोबाइल, सामाजिक सञ्जालमा गफ गर्ने, फेसबुक चलाउने गर्दा आफ्ना अन्य जिम्मेवारी बिर्सिन्छन् अनि ‘तनाव’ भएपछि छोराछोरीलाई गाली गर्छन् ।
जसरी रक्सी वा लागूऔषधको कुलत लागेपछि त्यो एकछिन् खान नपाउँदा छटपटी हुन्छ, त्यसरी नै मोबाइल, इन्टरनेट, फेसबुकको कुलत लागेपछि त्यो भएन भने छटपटाहट हुन थाल्छ ।
गाउँघरमा अझै यो समस्या ठूलोरुपमा नदेखिए पनि शहरका मध्यमवर्गीय गृहिणीको धेरै फुर्सद हुन्छ । अनि ‘फेसबुक, इन्टरनेटजस्ता कुलत’ मा फस्न सक्छन् । कतिपयले त यसको लतमा फसेर बालबालिकालाई खुवाउन, पियाउन, स्याहार गर्न पनि बेवास्ता गर्छन् । यसले गर्दा परिवारमा कलह पनि हुन जान्छ । त्यस्ता गृहिणीहरूले ‘शरीर, गर्दन दुख्यो’ भनेर उपचार पनि गर्छन् । तर दुखाइ कम गर्ने औषधि मात्र खाएर धेरै बेर कम्प्युटरमा बस्ने गर्दा वा मोबाइल चलाई नै रहेपछि समस्या थपिँदै जान्छ । शुरुमा गर्दनका मांसपेशी कक्रक्क हुन्छ, दुख्न थाल्छ, कहिलेकाहीँ त उपचारले निको हुन नसक्ने अवस्था पनि पुग्छ । त्यस्तै कम्प्युटर, मोबाइल हेर्ने कारण घाँटी कक्रक्क पार्न थाल्यो र दुखाइ शुरु भयो भने उपचारबारे सोचिहाल्नुपर्ने सम्बद्ध चिकित्सकहरू बताउँछन् ।
कुलतमा नफस्ने भन्ने कुरा आफैंले विचार गर्ने कुरा हो । लगातार फेसबुक, इन्टरनेट, इन्स्टाग्राम हेरेर/चलाएर त्यसलाई वास्तविक संसार मान्नुको सट्टा व्यायाम गर्नु राम्रो हो । मोबाइल र कम्प्युटर कम प्रयोग गर्नुपर्छ । कहिलेकाहीँ यस्तो सञ्जाल नै प्रयोग नगर्नु पनि लाभदायक हुन्छ । लामो समय इन्टरनेटमा बिताउँदा शारीरिक र मानसिक दुवै समस्या हुन सक्छ । कहिलेकाहीँ त उपचार गर्दा पनि सामान्य अवस्थामा फर्किन नसकिने स्थिति पनि हुन्छ । त्यसैले यस्तो समस्या आउन नदिने प्रयास गर्नुपर्छ । यसका लागि कम्प्युटर, मोबाइलको ‘कुलत’ मा फस्नबाट बच्नुपर्छ ।
यस्तो कुलतबाट बच्न शारीरिक सक्रियता, व्यायाम, हिँडाइ आदिलाई दैनिक जीवनमा महत्वपूर्ण स्थान दिनुपर्छ । मानिसको गर्दनमा भएको मेरुदण्डका सातवटा हड्डीहरू चलाइराख्नुपर्छ । बोल्दै, हिँड्दै, हाँस्दै हामीले थाहा नै नपाईकनै ती चलिरहन्छन् । तर निहुुँरिएर मोबाइल चलाउँदा वा एउटै आसनमा बसेर कम्प्युटरमा काम गरिरहँदा मेरुदण्डको त्यो भाग धेरै चल्दैन । त्यसलाई बोझ पर्छ । अनि बिस्तारै दुखाइ शुरु हुन्छ । मेरुदण्डले मस्तिष्कलाई स्नायु प्रणालीसँग जोड्ने भएकोले हड्डीमा समस्या उत्पन्न भएर पूरै शरीरमा समस्या पर्छ । यस्तो अवस्थामा उपचारमा समय लाग्ने र उपचार खर्चिलो हुन सक्छ । यसले मानसिक स्वास्थ्यमा पनि असर पर्छ । पहिला–पहिला ५० वर्ष उमेर पुगेपछि देखा पर्ने, यस्तो समस्या अहिले युवा अवस्थामा नै देखिन्छ । यसरी नै मोबाइल, सिनेमा हेर्दा पत्रु खाना धेरै खाने गरेको पाइन्छ । यस्ता तयारी खानामा नून, चिनी बढी हुन्छ, जसले शरीरमा क्याल्सियम कम गराउँछ र हाड कमजोर गराउँछ ।
बालबालिका र वयष्कले पनि लगातार कम्प्युटर, मोबाइल चलाउँदा ढाड र गर्दनमा मात्र नभई आँखामा पनि समस्या बढेको आँखाका डाक्टरहरू बताउँछन् । कोरोना महामारीको अवस्थामा बालबालिकाले पनि लगातार कम्प्युटर र मोबाइल प्रयोग गर्दा चश्मा लगाउनुपर्ने समस्या बढेको छ । यसरी लामो समय मोबाइल र कम्प्युटरमा हेरिरहँदा आँखामा सुख्खापन हुन्छ । खासगरी मोबाइल, कम्प्युटरमा गेम खेल्ने बच्चाहरूको टाढा नदेखिने समस्या (मायोपिया) बढ्दै गरेको देखिएको छ । जुम आदिमा पढ्ने बालबालिकामा यस्ता समस्या बढ्न सक्ने सम्भावना छ । प्रविधिले मानिसलाई स्वस्थ बनाउनुपर्ने हो तर अविवेकपूर्ण तरिकाले प्रयोग गर्दा दुःख पनि दिन थालेको छ । यो दुःख एकछिन् वा एकदिनको मात्रै नहुन सक्छ, यसले जीवनभर दुःख दिइरहन सक्छ ।
मोबाइल, इन्टरनेट, कम्प्युटरमा काम गर्दा लामो समयसम्म एकै ठाउँमा हेरिन्छ । आँखाको परेला धेरै झिम्काइन्न अनि आँखाका मांसपेशी थाक्छ । यसले गर्दा आँखामा खुख्खापन बढ्छ । अनि आँखा दुख्न शुरु हुन्छ, टाउको भारी हुन्छ । तर न त बालबालिका, न त वयष्कले नै किन यस्तो भएको हो भन्ने सहजै बुझ्छन् । दिनमा दुई घण्टाभन्दा बढी लगातार कम्प्युटरमा मात्र काम गर्नेहरूलाई ‘कम्प्युटर भिजन सिन्ड्रोम’ हुन्छ भन्ने नेत्ररोग विज्ञहरुको भनाइ छ । यदि साना बालबालिका, किशोर–किशोरीलाई यस्तो समस्या भयो भने उनीहरूको जीवनमा निकै ठूलो समस्या पर्न जान्छ । त्यसैले यस्ता समस्या हुनबाट बचाउन छोराछोरीलाई प्रविधिको विवेकपूर्ण प्रयोग गर्न सिकाउनुपर्छ र आफैंले पनि अवलम्बन गर्नुपर्छ ।
यसबाट कसरी जोगिने त ?
– जति व्यस्त भए पनि शारीरिक, मानसिक स्वास्थ्यलाई महत्व दिनुपर्छ । हरेक दिन आफू र बालबालिकालाई पनि व्यायाम गराउनुपर्छ । इन्टरनेट एवं मोबाइलबाट हरेक दिन केही घण्टा टाढा बस्नुपर्छ ।
– एउटै आसनमा बसेर लगातार काम नगर्ने, बालबालिकालई पनि सानैदेखि यस्तो ‘कुलत’ नलागोस् भनेर हिँड्न, खेल्न, उफ्रिन प्रोत्साहन गर्नुपर्छ ।
– जुम आदिबाट लगातार पढाइरहँदा बालबालिकालाई समस्या पर्छ । त्यसैले अन्य समयमा उनीहरूलाई जुमबाट टाढा रहन प्रेरित गर्नुपर्छ ।
– कोरोना महामारीका बेला जति मोबाइल हेर्न दिए पनि हुन्छ, जति कम्प्युटर चलाए पनि हुन्छ भन्ने गलत सोचले कतिपय मातापिताले आफ्ना छोराछोरीलाई धेरै समय मोबाइल चलाउन दिँदा पनि धेरै समस्या परेका छन् ।
– काम गरेको ठाउँबाट हरेक घण्टा उठेर केही बेर घाँटी, ढाड, पाखुरा चलाउने, मेचमा बसेर गर्ने योेगासन समय–समयमा गर्ने गर्नुपर्छ । अफिसमा नै साथीहरूसँग कुरा गर्दा फोनबाट होइन भेटेर नै कुरा गर्नु राम्रो हुन्छ ।
– लगातार घण्टौंसम्म निहुँरिएर काम नगर्ने र बालबालिकालाई पनि सिकाउने गर्नुपर्छ ।
– लामो समयसम्म कम्प्युटरमा काम नगरी आँखालाई आराम दिने गर्नुपर्छ ।
– कम्प्युटरमा काम गरिरहँदा परेला झिमझिम गरिरहने गर्नुपर्छ ।
– आँखा सुख्खा हुने समस्या भएमा यसो हुन नदिन थोपा औषधि प्रयोग गर्नुपर्छ । साथै आँखाको व्यायाम पनि गरिरहनुपर्छ ।
मन, शरीर र आँखा स्वस्थ रहे मात्र आनन्दको जीवन बिताउन सकिन्छ भन्ने सोचेर आफू र छोराछोरीलाई मोबाइल र कम्प्युटरको लत लाग्न नदिन सचेत भइरहने हो कि ?