तपाईंका घरमा हाम्रा डाक्टर



म २८ वर्ष लागेँ । मेरो कपाल पहिला धेरै बाक्लो थियो, अहिले पातलो हुँदै गएकोले चिन्ता लागेको छ । बाँकी कपाल जोगाउने उपाय बताइदिनुहुन अनुरोध छ ।

– मनोज लाल, सिरहा, हाल : काठमाडौं ।

मनोजजी, तपाईंको उमेरअनुसार यति छिटो कपाल झरेर पातलो नहुनुपर्ने हो, यदि उमेरले झरेको भन्ने सोच्ने हो भने । वंशाणुगतरुपमा झरेको हो भने हामीले केही गर्न सकिँदैन । त्यो परिवारमा सरेर जाने हुन्छ । जहाँसम्म गर्न सक्ने उपाय भनेको धेरै छिटो–छिटो ननुहाउने, हप्ताको दुईपटक नुहाउने, नुहाउँदा कपाल कम मिच्ने, राम्रो ब्रान्डेड स्याम्पू प्रयोग गर्ने, कपाल छोटो पारेर काट्ने, नियमित तोरीको तेल लगाउने, यदि चाया परेको छ भने त्यसको उपचार गर्ने, सन्तुलित खाना खाने, खान नहुने वस्तु नखाने गर्ने नै हो । यदि यो सबै गर्दा पनि कपाल झरिरह्यो भने पछाडिको नझरेको स्थानबाट झरेको स्थानमा  ट्रान्सप्लान्ट गरी मिलाउन सकिन्छ । त्यो ट्रान्सप्लान्ट गरेको कपालचाहिँ झर्दैन । तपाईं काठमाडौँमै भएकोले एकपटक छालारोग विशेषज्ञ भेटेर परामर्श गरेमा अरु गुणात्मक सल्लाह मिल्न सक्नेछ ।

 

मलाई बेलाबेलामा पिसाब पोलेको अनुभव हुन्छ । तीन–चार दिनपछि आफैँ ठीक हुन्छ । यो सामान्य समस्या हो कि उपचार गर्नुपर्छ होला ?

– जनक विष्ट, बालाजु ।

जनकजी, पिसाब पोल्नुका विभिन्न कारण हुन सक्छन् । सबैभन्दा बढी हुने पिसाबको संक्रमण हो भने अन्य कारणहरुमा पानीको कमी, पत्थरी आदि हुन सक्छन् । शुरुमा पोल्ने अनि तीन–चार दिनमा आफैं ठीक हुने भन्दा कुनै खास सम्भावना भन्न मिलेन । पत्थरी बनी नसकेको अवस्थामा बालुवाको कणजस्तो बनेर पिसाब नलीमा घोच्दा दुख्ने वा पोल्ने पनि हुन सक्छ । सम्पूर्णरूपमा परीक्षण गरेर तथा सम्बन्धित विशेषज्ञ (पिसाबसम्बन्धी शल्य चिकित्सक) को राय–सल्लाह लिन जरुरी देखिन्छ ।

 

म २१ वर्षीया युवती हुँ । मेरा स्तन मेरा साथीहरुको सरह वृद्धि नभएकाले तनाव भइरहेको छ । स्तन वृद्धि गर्ने कुनै उपाय भए बताइदिन अनुरोध गर्दछु ।

– रिना, पाटन ।

रिनाजी, उमेरअनुसार स्तन वृद्धि हुनुपर्ने हो र समयअनुसार बढ्दै जाने पनि हुन्छ । त्यस्तै पछि पारिवारिक जीवनमा प्रवेश गरेपछि पनि आवश्यकरुपमा बढ्दै जाने हुन्छ । त्यसैले चिन्ता नै गर्नुपर्ने जस्तो लाग्दैन । यदि पटक्कै वृद्धि नभए वा धेरै नै समस्या भएमा इन्डोक्रिनोलोजिस्टलाई भेटेर हर्मोनको अवस्थाको अध्ययन–अनुसन्धान गर्न सक्नुहुन्छ । स्त्रीरोग विशेषज्ञलाई देखाउन पनि सक्नुहुन्छ । साथीको सरह हुनुपर्ने भनेर तनाव नगर्नुस् । किनभने स्तनको साइज आ–आफ्नो शरीरअनुसार हुन्छ । कोहीको सानो हुन्छ भने कोहीको ठूलो हुन्छ । मेरो सल्लाहअनुसार गरेमा लाग्छ, तपाईंले कुरो बुझ्नुहुनेछ अनि आवश्यक पाइला चाल्नुहुनेछ ।

 

हामीले खाने तेलमा धेरै मात्रामा पाम आयल मिसाइएको हुन्छ भनेको सुनिन्छ । यो पाम आयल भनेको खान हुने हो कि होइन ? सल्लाह पाऊँ ।

– मधु, हाल : बहराइन ।

मधुजी, तपाईंले भनेको सही हो, हामीले खाने तेलमा अधिक मात्रामा पाम तेल मिसाइएको हुन्छ । त्यसमाथि हाम्रो जस्तो गुणस्तर मापन गर्ने ल्याब नभएको र जाँच्ने प्रणाली नभएको देशमा त्यसको मात्रा मनपरिरुपमा मिसाउने गरिन्छ । किनकि यहाँ खाली पैसा कमाउने र व्यापारिक उद्देश्य मात्रै भएको देखिन्छ । फेरि त्यो तेल खान हुँदैन भनौं भने खाने विकल्प पनि कम छ, महँगी छ ।

बहराइनमा त नेपालजस्तो नहोला । त्यहाँ त गुणात्मक अवस्थाको व्यवस्था हुन्छ होला । साथै पाम तेल पनि निश्चित तोकेको मात्राअनुसार मात्र मिसिएको हुन्छ होला । नेपालको सन्दर्भमा सकेसम्म तोरी नै किनेर मिलमा पेली निकालेको शुद्ध तोरीको तेल खानु उत्तम हुन्छ । त्यस्तै बजारको किनेर खानेले ब्रान्डेड तेल खाने र त्यो पनि कमभन्दा कम चिल्लो खाने सल्लाह दिन सकिन्छ ।

(सकेसम्म छोटो र एकपटकमा एउटा मात्र स्वास्थ्यसम्बन्धी जिज्ञासा [email protected], [email protected] वा पो.ब.नं.२०४५ काठमाडौंमा पठाउनुभएमा मुटुरोग विशेषज्ञ एवम् फिजिसियन डा. हरिहर खनालले सल्लाह सुझाव दिनुहुनेछ ।)
प्रतिक्रिया दिनुहोस्