न्यून रक्तचाप: के यो समस्या हो ?



– प्रा. डा. प्रकाशराज रेग्मी (मुटुरोग विशेषज्ञ)

पछिल्लो समय, न्यून अथवा कम रक्तचापबारे जिज्ञासा बढेको देखिन्छ । भलै यसलाई उच्च रक्तचापजस्तो गम्भीररुपमा भने लिएको पाइँदैन । चिकित्सकहरुले पनि कम रक्तचापभन्दा उच्च रक्तचापका कुरा धेरै गर्छन् । वास्तवमा चिकित्सकले कम रक्तचापका बारेमा धरै चासो नदिनुको पनि कारण छ । किनभने, कम रक्तचाप आफैंमा रोग होइन । उच्च रक्तचाप भने डरलाग्दो रोग हो । उच्च रक्तचापबारे धेरै कुरा आउनु, चर्चा हुनु, जनचेतनाको कुरा गर्नुको कारण नै यो रोगले मानव स्वास्थ्यमा पार्ने असर हो । यसले मानव स्वास्थ्यमा ठूलो असर पार्ने र मृत्युसमेत गराउने कारणले यसको बारेमा धेरै चर्चा हुने हो । तर कम रक्तचाप आफैंमा रोग होइन । यसले ठूलो समस्या ल्याउँदैन । त्यसैले त यसबारे न धेरै चर्चा हुन्छ, न त चिकित्सकहरु नै यसबारे धेरै बोल्छन् ।

 

न्यून रक्तचाप कतिलाई भन्ने ? 

मुटु खुम्चिने र फुक्ने क्रम निरन्तर चलिरहन्छ । यसैबाट रक्तप्रवाह नियमित हुन्छ । मुटु खुम्चँदा रगत मुटुबाट हुत्तिएर नसाहरुमा निस्कन्छ । रगत हुत्तिएर निस्कँदा, रगत बग्ने नसामा बढी दबाब पर्छ । अनि फुक्दा, रगत मुटुभित्र तानिन्छ । त्यो बेला नसाको भित्तामा कम दबाब पर्छ । यही चापको हिसाब निकालेर रक्तचाप छ भन्ने गरिन्छ । स्वस्थ र वयष्क व्यक्तिको माथिल्लो अंक १०० देखि १३० सम्म र तल्लो अंक ६० देखि ८५ सम्म भएमा रक्तचाप ठीक मानिन्छ । यदि रक्तचाप लामो समयसम्म माथिको १०० र तलको ६० भन्दा कम भएमा न्यून रक्तचाप भएको रुपमा हेरिन्छ । न्यून रक्तचापलाई मान्छेले उच्च रक्तचापजस्तो गम्भीररुपमा भने लिने गरेको पाइँदैन । 

न्यून रक्तचापबारे जान्नुअघि सामान्य रक्तचापबारे बुझ्नुपर्छ । सामान्य भनेको १०० का मुनि ६० देखि बढीमा १३० का मुनि ८५ सम्म हुनुपर्छ । त्यस्तै रक्तचाप १०० का मुनि ६० भन्दा तल हुन गयो भने त्यसलाई न्यून रक्तचाप भनिन्छ । वैज्ञानिकहरु रक्तचाप बढीभन्दा कम नै राम्रो भन्छन् । किन त भन्दा उच्च रक्तचाप भयो भने मस्तिष्क घात गराउँछ, हृदयघात गराउँछ, मिर्गौला फेल गराउँछ, हार्ट फेल गराउँछ र मृत्युसमेत गराउँछ । त्यसैले, सकेसम्म रक्तचाप सामान्य वा कम गराउने प्रयास गर्नुपर्दछ भनेको हो । 

स्वस्थ मानिसमा न्यून रक्तचापले कुनै हानि नगरी आयु बढाउँछ भन्ने वैज्ञानिकहरुको मान्यता छ । त्यसैले लक्षण पनि छैन, समस्या पनि छैन र शरीर तन्दुरुस्त छ भने सामान्यतया ब्लडप्रेसर कम भएको राम्रो मानिन्छ । 

 

उच्च रक्तचाप भयो भने मस्तिष्क घात गराउँछ, हृदयघात गराउँछ, मिर्गौला फेल गराउँछ, हार्ट फेल गराउँछ र मृत्युसमेत गराउँछ । त्यसैले, सकेसम्म रक्तचाप सामान्य वा कम गराउने प्रयास गर्नुपर्दछ भनेको हो ।

 

न्यून रक्तचाप समस्या हो कि होइन त ? 

जुन बेला न्यून रक्तचाप रोगका रुपमा र लक्षणसहित आउँछ, त्यसले शरीरमा विभिन्न समस्या निम्त्याउन थाल्छ । बेहोस हुने र कतिपय अवस्थामा गम्भीर रोगको लक्षणका रुपमा पनि आउन सक्छ । त्यसैले यस्तो अवस्थामा कम रक्तचापलाई समस्याको रुपमा मानिन्छ । 

लगातार रक्तचाप धेरै कम हुनु सानो समस्या होइन । यसले दैनिक क्रियाकलापमा समेत सीधा असर पार्छ । यसले मुटु, मस्तिष्कसहित महत्वपूर्ण अंगहरुमा समस्या पार्छ । न्यून रक्तचापका कारण ती अंगहरुमा रगतको पर्याप्त आपूर्ति हुन सक्दैन । रगत आपूर्ति कम हुनु भनेको ती अंगहरुमा पर्याप्त अक्सिजन र पोषक तत्व नपुग्नुु हो । 

यदि प्रेसर सामान्यभन्दा कम भयो भने यसको प्रतिक्रिया सबैभन्दा पहिला दिमाग र त्यसपछि मिर्गौलाले देखाउँछ । यदि दिमाग र मिर्गौलाले काम गर्न छाड्ने गरी प्रेसर घट्न थाल्यो भने यो खतरनाक अवस्था हो । रक्तचाप आफैं घट्ने नभएर अरु रोगको जटिलताका कारण घटेको हुन सक्छ । तर कुनै रोग छैन र कुनै लक्षण पनि छैन भने यस्तो खालको न्यून रक्तचापलाई मात्र सामान्यरुपमा लिँदा हुन्छ । 

न्यून रक्तचाप हुँदा के हुन्छ ? 

धेरैले चक्कर लागेर जँचाउन जाँदा प्रेसर कम देखियो भन्छन् । प्रेसर कम हुनुको मापन १०० का मुनि ६० भन्दा कम हो । उच्च रक्तचापमा पनि लक्षण त चक्कर लाग्ने नै हो । तर प्रेसर कम भयो भने पहिलो लक्षण नै चक्कर लाग्ने र टाउको दुख्ने हुन्छ । त्यसपछि वाकवाकी लाग्ने, प्यास लाग्ने, धमिलो देखिने र रक्तचाप धेरै नै कम भएमा बेहोस नै हुनेसम्म हुन्छ । 

शरीरबाट धेरै पानी निस्केको अवस्थामा डिहाइडे«सन (जलवियोजन) हुन्छ । शरीरलाई पानीको मात्रा पुग्दैन र प्यास लाग्ने हुन्छ । आँखा तिर्मिराउने लक्षण पनि देखिन्छ । शरीर चिसो हुने, मुटु छिटो–छिटो चल्ने, शरीर पहेँलो हुने र कमजोरी महसुस पनि हुन्छ । न्यून रक्तचापका लक्षणमा सास फेर्र्र्न गाह्रो हुने पनि हुन सक्छ । यद्यपि सामान्य लक्षण देखिँदा पनि तपाईं नियमित काम गरिरहनुभएको छ र खासै कुनै रोग छैन भने डराउनुपर्दैन । तर यी लक्षणले नियमित काम गर्न नसक्ने, बेहोस भइएलाजस्तो हुने, धेरै कमजोर भएर ओछ्यानमै बस्नुपर्ने स्थिति आयो र मुटु छिटो–छिटो चल्ने भएको छ भने कुनै भित्री रोगकै कारणले भएको हो भनी पहिचान गर्नुपर्छ । 

सावधानी

सुतिरहेको वा बसेको बेला झट्पट उठ्नुहँुँदैन । शरीरको पोजिसन परिवर्तन गर्दा बिस्तारै गर्नुपर्छ । खानेकुरा एकैपटक धेरै खाने बानी छ भने मन थामेरै पनि कम खाने गर्नुपर्छ । एकैपल्ट धेरै खाने होइन, बरु धेरैपटक थोरै खाने गर्नुपर्छ । खानेबित्तिकै नहिँड्ने, एकछिन् आराम गरेर हिँड्ने गर्नुपर्छ । 

कतिपयले अनारको जुसले प्रेसर बढाउन मद्दत गर्छ पनि भन्छन् तर यो वास्तविकता होइन । जुसमा नून राखेर खाएमा चाहिँ सहयोग गर्ला । फलफूलको रसले प्रेसर घटाउँछ । जीवनजलले प्रेसर घटेकोलाई फाइदा गर्छ । व्यायामले प्रेसरलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । व्यायामले बढी प्रेसर भएकालाई कम र कम प्रेसर भएकालाई बढाउन अर्थात् नियन्त्रणमा राख्न मद्दत गर्छ । विशेष गरी उचित खानपान र स्वस्थ जीवनशैली अपनाएमा रक्तचाप नियन्त्रणमा राख्न सकिन्छ । 

 

 

प्रतिक्रिया दिनुहोस्