– डा. अरुणा उप्रेती (जनस्वास्थ्य विज्ञ)
आधुनिक औषधिको शुरूवातभन्दा अघि महिला स्वास्थ्य उपचारका लागि परम्परागत औषधिहरूले निकै ठूलो भूमिका निर्वाह गरेका थिए । परम्परागत ज्ञानको प्रयोग गरी वनस्पतिलगायतका वस्तुबाट तयार गरिएका औषधिहरुको प्रयोगबाट स्वास्थ्य उपचार गरिन्थ्यो । आज पनि कतिपय अवस्थामा यस्तै परम्परागत ज्ञानको प्रयोगबाट औषधिहरु तयार गरी उपचार गरिन्छ । साथै यो परम्परागत ज्ञानलाई अध्ययन–अनुसन्धानबाट परिमार्जन गरेर विभिन्न उपचार पद्धतिको नामबाट संस्थागतरुपमा पनि स्वास्थ्य उपचार गरिँदै आएको छ ।
विगतमा परम्परागत ज्ञान र औषधिले जेनतेन धानिरहेको महिलाहरुको स्वास्थ्यमा आधुनिक औषधिको विकास भएपछि निकै राम्रो असर ग¥यो । तर परम्परागत ज्ञानमा आधारित औषधि उपचारको प्रभाव र भूमिका भने अझै सकिएको छैन । चिकित्सा क्षेत्रमा करिब ३४ वर्षको मेरो अनुभवका आधारमा भन्नुपर्दा महिला स्वास्थ्यका लागि आधुनिक औषधिको प्रयोगको साथै घरेलु औषधिको प्रयोगको भूमिका पनि निकै रहिरहेको छ ।
मैले औपचारिकरुपमा आधुनिक चिकित्सा पद्धतिको ज्ञान हासिल गरे तापनि गाउँघरमा बढी प्रयोग भइरहेको परम्परागत ज्ञानमा आधारित औषधि उपचारबारे पनि अध्ययन गर्ने र त्यो ज्ञानलाई विशेष गरी ग्रामीण क्षेत्रमा परिमार्जितरुपमा प्रयोगका लागि प्रोत्साहित गर्ने कार्यसमेत गर्दै आएको छु । मैल भारतीय वैज्ञानिक डा. वन्दना शिवाबाट यससम्बन्धी धेरै ज्ञान हासिल गर्ने अवसर पाएको थिएँ । यससम्बन्धी ज्ञान र अनुभवलाई मैले गाउँ र शहरका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाका साथै यस्तो सेवाको आवश्यकता पर्नेहरुलाई समेत बाँड्दै आएको छु ।
महात्मा गान्धी नीमलाई दैनिक जीवनमा प्रयोग गर्थे । नीमको पात पनि खान्थे । उनको स्वास्थ्य राम्रो रहनुमा नीमको पनि भूमिका थियो भनिन्छ ।
नीमको बहुउपयोगिता
मैले प्रयोग गर्ने र प्रयोग गर्न सिकाउने एउटा महत्वपूर्ण वनस्पति नीम हो । नीमको बारेमा धेरै अध्ययन–अनुसन्धान भएका छन् । ती अनुसन्धानहरुले पनि नीमलाई एउटा महत्वपूर्ण औषधीय गुण भएको वनस्पतिका रुपमा स्वीकार गरेका छन् । नेपाललगायत भारत, श्रीलका, बर्मा, थाइल्यान्ड, इन्डोनेसिया, अफ्रिकी देशहरु, अस्ट्रेलिया, दक्षिण तथा मध्यअमेरिका, चीन, साउदी अरेबियामा पनि नीम पाइन्छ ।
विभिन्न देशमा विभिन्न नामले चिनिने नीमको पात र बीउमा कीटनाशक गुण भएका विशेष किसिमका पदार्थहरु पाइन्छन् । त्यसैले यसलाई कीटनाशकको रुपमा हजारौं वर्षदेखि प्रयोग गरिँदै आएको छ । नेपालको तराई क्षेत्रका घरवरिपरि, बाटो, खेतबारीमा पाइने नीम औषधिको भण्डार नै हो । सौन्र्दय र स्वास्थ्य कायम राख्नको लागि नीम एउटा वरदान नै हो भन्दा पनि हुन्छ । नीमको पात चामलमा मिसाएर राखेपछि लामो समय सुरक्षित रहन्छ । यसले दाँत र छालाको स्वास्थ्य राम्रो पार्न पनि मद्दत गर्छ । नीमको डाँठले दाँत माझ्ने परम्परागत चलन गाउँघरमा अझै देखिन्छ । भारतका कतिपय ठाउँमा दादुरा भएका बिरामीलाई नीमको पातले बनाएको ओछ्यानमा सुताउने परम्परागत चलन थियोे ।
हाम्रो गाउँघरमा अहिले पनि लुतोको रोग र छालाका अरु कतिपय समस्या समाधान गर्न नीमको प्रयोग गरिँदै छ । नीमको पात उमालेर त्यो पानीले बच्चालाई नुहाउने गरिन्छ । नीमको पात पानीमा उमालेर कपालका जुम्रा मार्न पनि प्रयोग गरिन्छ । साथै नीमको पातलाई ऊनीको लुगाको बीचमा राखेर कीरा लाग्नबाट बचाउने गरेको पनि देखिन्छ । .नीमको पातको प्रयोगले रोगहरुसँग लड्ने शक्ति बढाउँछ भन्ने थाहा पाएपछि कोरोनाको महामारी भइरहँदा यसको प्रयोग निकै बढेको पाइएको छ ।
अहिले नीमको तेलबाट साबुन, मञ्जन र अनेक प्रकारका छालाका रोगहरुका लागि औषधि उत्पादन गरेर बजारमा ल्याएको देखिन्छ । साथै नीमको अहिले क्याप्सुल बनाएर पनि औषधिका रुपमा बेच्ने गरिन्छ । तर घर–घरमा नै नीम भएका मानिसले पनि नीमको उपयोग सीधै नगरी महँगोमा किनेर गर्ने गरेको पाइन्छ । यदि परम्परागत ज्ञानलाई प्रयोग गर्ने हो भने महँगोमा किन्नै पर्दैन ।
विभिन्न वैज्ञानिक अनुसन्धानहरुले नीमलाई औलो रोगविरुद्ध प्रयोग गर्न सकिने उल्लेख गरिसकेका छन् । यसमा कीटनाशक शक्ति भएकाले विभिन्न रोगको संक्रमणबाट बचाउन सक्ने क्षमता छ । साथै नीममा शरीरको रोग–प्रतिरोधक क्षमता बढाउने शक्ति भएको बारेमा पनि अनुसन्धानबाट पुष्टि भइसकेको छ । तर यसको विशेषता र प्रयोग विधिबारेको परम्परागत ज्ञान भने हराउँदै गएको छ ।
महात्मा गान्धी नीमलाई दैनिक जीवनमा प्रयोग गर्थे । नीमको पात पनि खान्थे । उनको स्वास्थ्य राम्रो रहनुमा नीमको पनि भूमिका थियो भनिन्छ । नीमको बारेमा एउटा भनाइ पनि छ– ‘जहाँ नीमको रुख हुन्छ, त्यहाँ रोग भागिहाल्छ ।’ वास्तवमा यदि नीमको प्रयोग सही तरिकाले गर्न जान्ने हो भने धेरै किसिमका स्वास्थ्य समस्याबाट मुक्ति पाउन सकिन्छ ।
महिलाहरुको प्रजनन अंगसम्बन्धी समस्यामा पनि नीम उपयोगी छ । जस्तो– महिनावारी हुँदा गुप्ताङ्ग चिलाउने समस्या, सेतो पानी बग्ने समस्यामा पनि नीम उपयोगी छ । नीमको पात पानीमा उमालेर मनतातो भएपछि बाटा वा चौडा मुख भएको भाँडोमा राखी त्यो पानीमा बसेपछि गुप्ताङ्ग चिलाउने समस्याबाट केही आराम मिल्छ । धेरै पसिना निस्केपछि शरीरका कापमा चिलाएर घाउ हुँदा वा फोहोर पानीमा खेलेपछि बालबालिकाको जीउमा खटिरा आउँदा पनि नीमको पात पिसेर लगाउँदा पाइदा हुन्छ ।
करिब १० वर्षअघि म स्वास्थ्य विज्ञका रुपमा दक्षिण सुडान जाँदा त्यहाँको राजधानी शहर जुबामा नीमका ठूला–ठूला रुख देखेको थिएँ । नीमको प्रयोगका बारेमा त्यहाँकी एकजना नर्ससँग कुरा गर्दा उनले भनेकी थिइन्, ‘सुडानमा नीम जताततै छ तर औषधिको रुपमा यसको प्रयोग प्रायः हुँदैन । गाउँमा बूढाबूढीले औलोबाट बच्न र छालाको रोग भएको बेला यसको प्रयोग गर्छन् । नयाँ पुस्ताका मानिसलाई त यसको बारेमा थाहा नै छैन ।’
भारतका गाउँघरमा नीमलाई पहिले कीटनाशक औषधिको रुपमा र औलोबाट बचाउनका लागि धेरै प्रयोग गरिन्थ्यो तर लामखुट्टे मार्नका लागि डीडीटीको प्रयोग हुन थालेपछि नीमको प्रयोग गर्न बिर्सिंदै गएको देखिन्छ । पछि डीडीटीको प्रयोग गर्दा यसले मानव स्वास्थ्यमा कुप्रभाव पर्ने बारेमा थाहा भयो र डीडीटीको प्रयोगमा रोक लाग्यो । त्यसपछि अहिले धेरै औषधि कम्पनीले नीमको सहायताबाट कीटनाशक औषधि उत्पादन गरेका छन् । अहिले यो औषधिको व्यापार करोडौं डलरको भएको अनुमान गरिएको छ ।
नीमको बारेमा धेरै अध्ययन–अनुसन्धान भएका छन् । ती अनुसन्धानहरुले पनि नीमलाई एउटा महत्वपूर्ण औषधीय गुण भएको वनस्पतिका रुपमा स्वीकार गरेका छन् ।
तीतेपातीको औषधीय गुण
हाम्रो गाउँघरमा पाइने यस्तै औषधीय गुण भएका वनस्पतीमध्ये तीतेपाती पनि हो । मैले हाम्रो देशको पहाड तथा तराईमा यसको अझै प्रयोग हुने गरेको पाएको छु । तराईमा जाँदा चौधरी थरकी एक स्वयंसेविकाले तीतेपातीको प्रयोगबाट कस्ता–कस्ता समस्या समाधान गर्न सकिन्छ भन्ने बारेमा बताएकी थिइन् । तीतेपातीको प्रयोगले प्रजनन अङ्गमा समस्या हुँदा समाधान गर्न सकिन्छ । संक्रमण रोक्न, खटिराहरु निको पार्नका लागि तीतेपाती राम्रो औषधि हो ।
विषेश गरी पहाडका गाउँघरमा सुत्केरी भएपछि कतिपयलाई गुप्ताङ्ग चिलाउने समस्या हुँदा तीतेपातीको प्रयोग गर्ने गरेको पाइन्छ । तीतेपाती हालेको पानी उमालेर मनतातो भएपछि त्यसले चिलाएको ठाउँमा सफा गर्ने वा त्यस मनतातो पानीमा बस्नाले गुप्ताङ्ग चिलाउने समस्या धेरै कम हुने गरेको स्थानीय प्रयोगकर्ता तथा महिला स्वयंसेविकाहरुले अनुभव सुनाउने गरेका छन् । तीतेपातीबाट निकालेको तेलमा अन्य तत्वहरु मिसाएर अकुप्रेसरका लागि प्रयोग गरिन्छ । त्यस्तै चाइनिज विधिको औषधि उत्पादनमा पनि प्रयोग हुने भएकाले तीतेपाती नेपालबाट जापान पठाइन्छ ।
योनिबाट सेतो पानी बग्ने र चिलाउने समस्यामा तीतेपाती उपयोगी हुन्छ । अनेक आधुनिक औषधिले ठीक नभएको यस्तो समस्यामा तीतेपाती राखेर उमालेको पानीले धुँदा ठीक भएको पाइएको छ । सफा तीतेपाती हालेको पानी उमालेर ठूलो मुख भएको बाटामा खन्याउने । मनतातो भएपछि सो पानीमा बस्ने गर्दा यस्तो समस्या कम हुने गरेको पाइन्छ । यस्तै घुँडा दुख्ने समस्यामा पनि तीतेपाती उमालेर सो पानीको बाफले घुँडामा बाफ दिँदा फाइदा पुग्छ । तीतेपाती उमालेपछि सुतीको कपडा त्यो पानीमा डुबाएर घुँडामा राख्दा पनि बिरामीलाई फाइदा हुन्छ । तीतेपातीलाई सुकाएपछि त्यसलाई आगोमा राख्दा आउने धुवाँले लामखुट्टे भाग्ने भएकाले कतिपय ठाउँमा लामखुट्टे धपाउन पनि तीतेपातीको प्रयोग गरिन्छ । तीतेपातीको रस निकालेर घाउमा लगाउँदा पनि फाइदा हुने गरेको पाइएको छ । यस्तै उपयोगिताका कारण तीतेपातीको रस निकालेर रू. ४ सय प्रतिलिटरका दरले बेच्ने गरेको पनि पाइन्छ ।
विभिन्न औषधीय गुण भएको तीतेपाती र नीमको प्रयोग परम्परागतरुपमा धरै हुने गरेको भए तापनि हाल यसको प्रयोग घट्दै गएको छ । यससम्बन्धी परम्परागत ज्ञान पनि हराउँदै गएको छ । तर यी बहुउपयोगी वनस्पतिहरु हाम्रो समुदायमा प्रशस्त हुने भएकाले यसको प्रयोगबारेको परम्परागत ज्ञानलाई उपयोग गर्न आवश्यक छ । स्थानीय रुपमा पाइने यी वनस्पति सस्तोमा विदेशमा लगी विभिन्न औषधि, साबुन, मञ्जन आदि बनाएर फेरि महँगो भाउमा हामीलाई नै बेचिरहेका छन् । हामी हाम्रो परम्परागत ज्ञान र अनुभवलाई बेवास्ता गर्दै ती औषधिहरु महँगोमा किनेर उपयोग गरिरहेका छौं । यसको सट्टा हामीले हाम्रा परम्परागत ज्ञान र अनुभवलाई अध्ययन–अनुसन्धान गरेर प्रयोगमा ल्याउने प्रयास गर्नुपर्छ । यसो गर्दा हामीले स्थानीय वनस्पति र जडीबुटीबाट कम खर्चमा प्रभावकारी औषधि उपचार सेवा प्राप्त गर्न सक्छौं भन्ने मलाई लाग्छ ।