कब्जियत भयो के गर्ने ?



– प्रा. डा. प्रकाशराज रेग्मी (मुटुरोग विशेषज्ञ)

मान्छेका साना या ठूला विभिन्न थरी स्वास्थ्य समस्याहरु हुने गर्दछन् । यी मध्ये हेर्दा सानो तर सारै दुःख दिनेमध्येको एउटा समस्या कब्जियत पनि हो । यसो विचार गर्दा यो पनि स्वास्थ्य समस्या हो र! जस्तो लाग्छ । तर जसलाई कब्जियतले पिरोलेको छ उसैलाई मात्र थाहा हुन्छ कब्जियत हुँदाको दुःख–पीडा । यस्ता मान्छेहरु नमिठो अनुहार लगाएर बसेका हुन्छन् । पेट सफा भएको दिन यिनीहरुको मुख उज्यालो र जीउ फूर्तिलो हुने मात्र होइन कि उनीहरुमा कुनै युद्ध जितेरै आएको जस्तो फूर्ति देखिन्छ । कसै–कसैलाई कब्जियत सामान्य समस्याका रुपमा मात्र पनि देखिने गर्दछ । उनीहरु कब्जियतबाट मुक्ति पाउन विभिन्न थरीका उपायहरु गर्छन् । कुनैै उपाय गर्दा कहिलेकाहीँ पेट सफा भई पनि हाल्छ । तर लामो समय कब्जियतविरुद्ध लडाइँ लडी नै रहन्छन् । यस लेखमा मैले आफूले जानेका, बुझेका, पढेका र आफैंले अनुभव गरेका कब्जियत मुक्तिका विविध उपायहरुबारे वर्णन गरेको छु ।

एक हप्तामा तीनपटक भन्दा कम वा लगातार तीन दिनभन्दा बढी समयसम्म आन्द्राहरुमा जम्मा भएको विकार दिसाका रुपमा शरीरबाहिर ननिस्कनुलाई कब्जियत भएको भनिन्छ । यदि दुई दिन बिराएर तेस्रो दिनमा पेट सफा हुन्छ भने यो कब्जियत होइन । कब्जियत हुँदा दिसा नहुने मात्र होइन, दिसा कडा हुने, पेट फुल्ने, खाना रुचि नहुने, निद्रा नपर्ने, बेचैनी हुने, छातीमा पीडा हुने, दम बढ्ने, रक्तचाप बढ्ने जस्ता चिताउँदै नचिताएका समस्यासमेत देखा पर्न सक्छन् । यस्तै प्रकारले कडा दिसा हुँदा गुदद्वार च्यातिने, पाइल्स उत्पन्न हुने, रक्तश्राव हुने, गुदद्वार खस्ने जस्ता समस्या पनि देखिन सक्छन् । कब्जियतका कारणले हृदयघात हुने सम्भावनासमेत रहन्छ । यसकारण यो समस्यालाई सबैले गम्भीरतापूर्वक लिन, यसको रोकथाम र समाधानका उपायहरु थाहा पाइराख्न अनुरोध गर्दछु ।

मेरो दृष्टिमा दीर्घकालीन (क्रोनिक) कब्जियत एक नसर्ने रोग हो । यो सुन्दा सबैलाई अचम्म लाग्ला, किनकि चिकित्साशास्त्रले कब्जियतलाई रोगका रुपमा नभई रोगको लक्षणका रुपमा परिभाषित गरेको छ । म भन्छु– कब्जियत रोगको लक्षण पनि हो र साथमा यो आफैंमा एउटा नसर्ने रोग पनि हो । यो उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्टेरोलजस्तै जीवनशैलीसँग सम्बन्धित रोग हो । कब्जियतको प्रत्यक्ष सम्बन्ध धेरैजसो अवस्थामा जीवनशैलीसँग छ । पहिलेका मान्छेलाई कब्जियतको समस्या कम हुन्थ्यो, आजकल यो समस्या धेरै छ । जसरी उच्च रक्तचाप, मधुमेहको समस्या शहरीकरण र औद्योगिकीकरणका साथसाथै बढिरहेको छ, ठीक यसै प्रकारले कब्जियतको समस्यामा पनि वृद्धि भएको छ । जीवनशैली बिग्रिँदा कब्जियत बढ्छ, जीवनशैली सप्रिँदा कब्जियत घट्छ । यसकारण कब्जियत जीवनशैलीसँग सम्बन्धित नसर्ने रोग हो । उच्च रक्तचाप र मधुमेहजस्तै कब्जियत उत्पन्न हुने कारणहरु छन्, यसका लक्षणहरु छन् र यसबाट उत्पन्न हुनसक्ने गम्भीर जटिलताहरुसमेत छन् ।

 

जीवनशैली नै कब्जियतको निर्णायक पक्ष हो । कब्जियत घटाउने औषधि खाएर यो रोग ठीक हुँदैन । यसको समाधान जीवनशैली सुधारमा नै खोज्नुपर्छ ।

 

शुरुमा कुनै रोगको लक्षणका रुपमा देखिने कब्जियतका बारे केही कुरा गर्छु । पेट सफा हुन आन्द्राभित्रको विकार नरम हुनुपर्दछ । खाना र पानीले यसको नरमपना निर्धारण गर्दछ । खानामा जति धेरै फाइबर भयो दिसा त्यति नरम हुन्छ । यस्तै प्रकारले यसमा जति धेरै पानीको मात्रा भयो यो त्यति नरम र झोलिलो हुन्छ । आन्द्राभित्रको विकार सजिलै बाहिर निस्केन भने पनि कब्जियत हुन्छ । यसकारण आन्द्रा खुकुलो बन्नु र आन्द्राको छाल (चल्ने तरिका) माथि पेटतिरबाट तल गुदद्वारतिर ताल मिलाएर हुनु त्यत्तिकै जरुरी छ । विभिन्न रोग र परिस्थितिमा दिसाको नरमपना, आन्द्राको खुकुलोपना र यसको छालमा गडबडी हुन सक्छ, जसका कारण कब्जियत हुन पुग्छ ।

खानामा फाइबरको मात्रा कम हुनु, शरीरमा पानीको मात्रा घट्नु, शारीरिक गतिविधि र व्यायाममा कमी हुनु, थाइराइड हर्मोन कम हुनु, क्याल्सियमको मात्रा बढी हुनुबाट कब्जियत उत्पन्न हुन सक्छ । यस्तै प्रकारले धेरै दूध र दूधबाट बनेका परिकारहरु खानु, यात्राको समयमा दैनिक गतिविधिको समय तालिकामा गडबडी हुनु, खाने–सुत्ने समयमा गडबडी हुनु, दिसा लाग्दा रोकेर बस्नु, मानसिक तनाव हुनु आदि सबै कब्जियतका कारणहरु हुन सक्छन् ।

रोगको लक्षणको रुपमा कुरा गर्दा थाइराइड, मधुमेह, डिप्रेसन, आन्द्राको क्यान्सर, पार्किन्सन्स, मस्तिष्क घात आदि रोगहरुमा कब्जियत एक समस्या बनेर आउन सक्छ । यस्तै प्रकारले गर्भवती महिलामा पनि पेटभित्रको बच्चाले आन्द्रालाई थिचेर कब्जियत गराउन सक्छ ।

कब्जियत हुने अर्को महत्वपूर्ण कारण भनेको औषधि हो । त्यस्ता धेरै औषधिहरु हुन्, जसले कब्जियत गराउन सक्छन् । ती मध्ये प्रमुख हुन्– पेन किलर, डिप्रेसन, छारेरोगलगायतका मानसिक रोगको उपचारमा प्रयोग हुने औषधिहरु, आइरन चक्की, एलर्जीका औषधिहरु, उच्च रक्तचापको उपचारमा प्रयोग हुने केही औषधिहरु, ग्यास्ट्रिकको उपचारमा प्रयोग हुने क्याल्सियम वा आल्मुनियम मिसिएको एन्टासिडको झोल आदि ।

कारण थाहा पाउन सके कब्जियतलाई ठीक पार्न सो कारण हटाए वा कब्जियत गराउने रोगको उपचार गरे समस्या समाधान हुन सक्छ । यसका अतिरिक्त दिसा नरम पार्ने विभिन्न खाने औषधिहरु पनि पाइन्छ । आफूलाई कुनले फाइदा गर्छ त्यही रोज्नुपर्छ ।

तर कब्जियतको समाधान त्यति सजिलो छैन । मान्छेलाई जब कब्जियत रोगकै रुपमा लाग्छ तब समस्या झनै कठिन भएर आउँछ । अस्वस्थकर जीवनशैली कब्जियत रोगको मुख्य कारण हो । अस्वस्थकर आहार, शारीरिक गतिविधिको कमी र मानसिक तनाव क्रोनिक कब्जियतका मुख्य कारणहरु हुन् । आहारले दिसालाई नरम वा कडा बनाउँछ भने शारीरिक गतिविधि र मानसिक स्थितिले आन्द्राको खुकुलोपना र यसको गतिको छाललाई नियन्त्रण गर्दछ । यस कारण धेरैजसो अवस्थामा जीवनशैली नै कब्जियतको निर्णायक पक्ष हो । कब्जियत घटाउने औषधि खाएर यो रोग ठीक हुँदैन । यसको समाधान जीवनशैली सुधारमा नै खोज्नुपर्छ ।

क्रोनिक कब्जियतका जटिलताहरु झनै अप्रिय छन् । पाइल्स उत्पन्न हुने र त्यसबाट रक्तश्राव हुने, गुदद्वारमा चिरा पर्ने र च्यात्तिनेले मान्छेलाई सजिलोसँग बाँच्न दिँदैन । पेट फुल्ने, खाना नरुच्ने र निद्रा नपर्ने भएपछि यसै पनि मानसिक तनाव उत्पन्न हुन्छ अनि बिस्तारै डिप्रेसनमा जाने डर हुन्छ । डिप्रेसनबाट कब्जियत हुने मात्र होइन, कब्जियतबाट डिप्रेसन पनि हुन सक्छ अनि यो चक्र चलिरहन्छ । यो चक्र औषधिले तोड्न सक्दैन । यसलाई मानसिक तनाव मुक्तिसहितको स्वस्थ जीवनशैलीले मात्र तोड्न सक्छ ।

अन्त्यमा यदि तपाईंलाई कब्जियत भएको छ भने निम्न लिखित कुराहरुमा ध्यान दिने सल्लाह दिन्छु ।

१. कब्जियत हुनुको पछाडि कुनै कारण हुन सक्छ । यसकारण सबैभन्दा पहिले सो कारण पत्ता लगाउनोस्– खाना, पानी, खाइराखेका औषधिहरु, थाइराइड, डिप्रेसन, आन्द्राको क्यान्सर आदि रोगहरु, शारीरिक गतिविधिको कमी, मानसिक तनाव आदि ।

२. कारण पत्ता लागेपछि सो कारणबाट मुक्त हुने उपाय गर्नुहोस् । खानामा फाइबर बढाउने, पानी धेरै पिउने, शारीरिक गतिविधि बढाउने, थाइराइड, डिप्रेसन आदि रोगको उपचार गराउने, औषधिले हो रहेछ भने डाक्टरलाई भनेर औषधि फेर्न लगाउने, मानसिक तनाव व्यवस्थापन गर्ने आदि कार्यहरु अत्यन्तै उपयोगी छन् ।

३. यदि कुनै कारण फेला परेन भने तपाईंले आफ्नो दैनिकीलाई निश्चित अनुशासनमा चलाउनुस् । सुत्ने, उठ्ने ठीक टाइममा (सुत्ने राति ११ बजेभन्दा ढिला नगर्ने, बिहान ६ बजेसम्ममा उठ्ने), बिहान हिँड्ने वा शारीरिक व्यायाम गर्ने, दैनिक ताजा फलफूल कम्तीमा ५ सय ग्राम, खानामा दुवै छाक हरिया तरकारी, एक छाक साग खाने, बेलुकी मासु नखाने, बेलुकीको खाना हलुका खाने र ७ बजेभित्र खाइसक्ने । बेलुकी भातको सट्टा मकैको च्याँख्ला, कोदो, फापर आदिको ढिँडो खाने । कब्जियतका लागि चामल र गहुँभन्दा मकै, कोदो र फापर बेस हुन्छ । बिहान दुई गिलास मन तातो पानी पिउने । दैनिक दुई गिलासभन्दा बढी दूध नपिउने । पेटको व्यायाम र पेटलाई प्रभावित पार्ने खालका प्राणायाम र ध्यान गर्ने । जङ्क फुड र कोक, फ्यान्टाजस्ता पेयपदार्थ नपिउने । पानी प्रशस्त मात्रामा पिउने (मुटु र मिर्गौला रोगीले डाक्टरको सल्लाहअनुसार पानीको मात्रा मिलाउने) । दिनदिनै एक मुठी अंकुरित गेडागुडी खाने । फर्सी, काँक्रो, सूर्यमुखी, आलस आदिका बियाँहरु सबै मिलाएर दैनिक एक ठूलो चम्चा बराबर खाने । अदुवा, लसुन, प्याज एकदम कम मात्र खाने । प्रसन्न रहने, रिस र क्रोध त्याग्ने । यी अत्यन्तै उपयोगी सल्लाहहरु हुन् । यसलाई व्यवहारमा लागू गरे कब्जियत मात्र होइन अन्य धेरै स्वास्थ्य समस्याको समाधान हुन्छ ।

४. प्राकृतिक चिकित्सा पद्धतिमा पनि कब्जियत समाधानका अत्यन्तै प्रभावकारी उपायहरु छन् । खानपान, व्यायाम र योगका अतिरिक्त एनिमा लगाउने (गुदद्वारबाट पानी पठाएर आन्द्रा सफा गर्ने विधि), लघु शंखप्रक्षालन र पूर्ण शंखप्रक्षालन आदि विधिबाट आन्द्रालाई राम्रोसँग सफा गर्न सकिन्छ ।

५. कुनै उपाय लागेन भने कब्जियत घटाउने औषधिको सेवन गर्ने । आयुर्वेदिक र एलोपेथिक औषधिहरु बजारमा किन्न पाइन्छन्– त्रिफला, सुविधा, दिव्यचूर्ण, इसवगोल, क्रिमाफिन, ल्याक्टुलोज आदि । शुरुवातमा आयुर्वेदिक औषधिको प्रयोग गर्ने । कसलाई कुन औषधि प्रभावकारी हुन्छ, यसै भन्न सकिँदैन । आफूमा प्रयोग गर्दै जाने । जुन फाइदाजनक छ त्यसको सेवन गर्ने ।

६. बूढाबूढीलाई गुद्द्वारमा दिसाको गोटा अड्किएर कहिलेकाहीँ साह्रै कष्ट हुन्छ । उनीहरुले बल गर्न पनि धेरै सक्दैनन् । यस्तो अवस्थामा गुदद्वारमा चोरऔंला छिराएर गोटा निकाली दिनुपर्ने हुन्छ ।

७. आन्द्रा बटारिएर वा आन्द्राको क्यान्सरजस्तो गम्भीर रोग लागेर उत्पन्न कब्जियतको उपचार शल्यक्रियाबाट गरिनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्