– डा. रामदेव पण्डित (आयुर्वेद चिकित्सक)
भारत, तमिलनाडुमा जन्मिएका भारतीय प्राकृतिक चिकित्सा जगत्का अग्रणी व्यक्तित्व हुन् आचार्य के. लक्ष्मण शर्मा । उनीद्वारा रचित ‘स्वाधीन स्वास्थ्य महाविद्या’ नामक पुस्तक एक अद्भूत स्वास्थ्य साहित्य हो । यसमा प्राकृतिक जीवनशैलीसम्बन्धी १५ सयवटा संस्कृत श्लोकहरु सङ्गृहीत छन् । महाविद्यामा मानिसको रोगप्रतिरोधात्मक (इम्युनिटी) क्षमताको ८ मापदण्ड वा मापक वा सूचक एक श्लोकमार्फत सन्देश गरिएको छ । यसबाट हामी आफ्नो इम्युनिटी घरैमा बसेर पनि जाँच गर्न सक्छौं ।
देहे सर्वत्र चोष्णस्य समता लाघवं सुखम्
क्षुत् तीक्ष्णा गढ़निद्रा च मनसोऽपि प्रसन्नता ।
शरीरे कर्मसामथ्र्य अनालस्यं च कर्मसु
स्वतः स्वेदोगमःकाले स्वस्थतां लक्षयन्ति हि ।
यसलाई निम्नरुपमा बुझ्न सकिन्छ :
प्रतिदिन पेट सफा हुनु
एक वा दुई वा धेरै दिन बिराएर कष्टले दिसा हुने अवस्था कब्जियत हो । थोरै दिसा हुनु, सुख्खा कडा डल्लो वा अति गिलो दिसा हुनु, मुख र मलद्वारबाट दुर्गन्धित वायु चल्नु भनेको पेट सफा नभएको संकेत हो । दिसा गरेर उठिसकेपछि दिसा पूरा खलास नभएको वा आन्द्रामा केही अड्किएको जस्तो अनुभव हुनु पनि कब्जियतको संकेत हो । जिब्रोमा सेतो रङ्गको तह जमेको देखिनु भनेको पनि पेट सफा नभएकै संकेत हो ।
यसरी आठवटा मापदण्डको आधारमा घरमै बसेर आ–आफ्नो इम्युनिटीको सहज परीक्षण गर्न सकिन्छ ।
शरीरको तौल धेरै नबढ्नु
कुनै पनि व्यक्तिको उचाइअनुसार तौलको अनुपात ठीक हुनुलाई आधुनिक चिकित्सा विज्ञानमा बडी मास इन्डेक्स (बी.एम.आई.) भनिन्छ । कुनै पनि व्यक्तिको तौललाई उसको उचाइको वर्गले भाग गर्दा आउने फल नै बी.एम.आई. हो । साप्ताहिकरुपमा घरै बसी आफ्नो बी.एम.आई. हिसाब गरेर शारीरिक तौलको वृद्धि वा क्षय जाँच गर्न सकिन्छ ।
स्वस्थ वयष्क व्यक्तिले २ हजारदेखि ३ हजार बराबरको क्यालोरी शक्ति दिने सन्तुलित आहार प्रतिदिन खाँदा प्रतिहप्ता ४ सय ५० देखि बढीमा ९ सय मिलिग्रामसम्मको औसत तौल वृद्धिलाई स्वस्थ तौल वृद्धि मान्ने गरिन्छ । सन्तुलित तौल भएको व्यक्तिको बी.एम.आई. १८.५ देखि २५ केजी प्रतिवर्ग मिटरबीच हुन्छ ।
छाला सफा रहनु
छाला सुखा र खस्रो नभएको हुनुपर्दछ । छालाले पर्याप्त मात्राको पानी प्राप्त गरेको हुनुपर्छ । छाला चिल्लो र नरम हुनुपर्छ । नङले छालामा कोर्दा सेतो धर्सा नकोरिनु स्वस्थ छालाको लक्षण हो । छाला नचिलाउने, प्राकृतिक छालाको रङ्ग नफेरिएकोे, नसुन्निएको, नतातिएको तथा कुनै किसिमको घाउ–खटिरा नआएको हुनुपर्छ । अत्यधिक पसिना आउने वा पसिना आउँदै नआउनु पनि छालामा समस्या रहेको संकेत हो ।
अल्छी नलाग्नु
अल्छीपनको परीक्षण इम्युनिटी परीक्षणको राम्रो मापक हो । सुतेर उठ्दा वा व्यायाम गरेर पनि दिनभरि नै फ्रेस नहुनु, पटक–पटक हाई आउनु, निद्रा लागेझँै हुनु, कुनै पनि काम गर्न मन नलाग्नु, शरीरमा बल कम भएको जस्तो अनुभव हुनु आलस्यताको लक्षण हो । अल्छी लाग्नु भनेको शरीरले पर्याप्त आराम पाएको छैन वा अति आराम नपाएको हुनु हो । शरीरले पर्याप्त मात्राको अक्सिजन आपूर्ति गर्न सकेको छैन वा शरीरमा कुपित वायु कैद भएमा अल्छी लाग्छ । शरीरले पर्याप्त खाना वा ऊर्जा प्राप्त नगरेको वा आवश्यकताभन्दा अधिक ऊर्जा प्राप्त गरेको भएमा पनि यस्तो हुन्छ । शरीरमा पानीको कमी भएको छ वा अधिक पानी शरीरमा जमेमा एवं शरीरमा अनावश्यकरुपले बीजातीय पदार्थहरुको संकलन भएको छ भने अकारण अल्छी लाग्छ ।
तीव्र भोकको अनुभव हुनु
स्वस्थ व्यक्तिमा अघिल्लोपटक खाइएको खाना ६ देखि ८ घण्टामा (नास्ता वा खाजा खाएको ३ देखि ४ घण्टामा) पच्छ र पेट खालि भई फेरि भोक लाग्छ । अघिल्लोपटकको खाना नपच्दै फेरि खानुले पेटको पाचन शक्ति कमजोर हुन्छ र पेटको पचाउने क्षमता घट्छ । यसरी पेट एवं आन्द्रामा विष संकलन भई शरीरको शक्ति (इम्युनिटीलाई) कमजोर बनाउँछ ।
गहिरो निद्रा लाग्नु
जब शरीरमा श्रम र आरामबीच सन्तुल कायम हुन्छ त्यसपछि गहिरो निद्रा लाग्छ । खाटमा पल्टेपछि बढीमा ३० मिनेटमा निदाउनु, निदाएपछि ६ देखि ८ घण्टा निरन्तर सपनारहित भएर सुत्नु अनि उठेपछि ऊर्जावान् र स्फूर्तिवान् हुनु भनेको गहिरो निद्रा लाग्नु हो । खाटमा पल्टिएपछि घण्टौं निद्रा नलाग्नु, सुते पनि पटक–पटक बिउँझिनु, सपना नराम्रो देख्नु, ६ देखि ८ घण्टा सुतेर उठिसकेपछि पनि निद्रा नपुगेको जस्तो हुनु निन्द्रामा समस्या हुनु हो ।
दुखाइ नहुनु
स्वस्थ शरीरको कुनै पनि अंगमा कुनै पनि प्रकारको दुखाइ हुँदैन । टाउको, जोर्नी, छाती, ढाड, पेट, नाक, कान, घाँटी, आँखा, दाँत आदिमा अनावश्यकरुपले प्रतिदिन अकारण दुखिरहनु शरीरमा जैविक रसायनहरुको असन्तुलन हुनु हो । फलतः इम्युनिटी कमजोर हुनु हो ।
मनमा सुखको अनुभव हुनु
जब शरीरमा कुनै पीडा हुँदैन, त्यसपछि मस्तिष्कमा सबै प्रकारका हार्मोनहरु एवं जैविक रसायनहरु सन्तुलितरुपमा निस्कन्छन् । फलतः मन शान्त, एकाग्र र आनन्दित हुन्छ । यस अवस्थामा मनमा सुखको अनुभूति हुन्छ । तर मन अशान्त रहनु, एकाग्र नहुनु, स–सानो कुरामा उत्साहित वा निरुत्साहित हुनु, हीनताबोध हुनु र कुनै पनि कुराले सन्तुष्टि वा खुशी नदिनु कमजोर इम्युनिटीको बोधक हो ।
यसरी आठवटा मापदण्डको आधारमा घरमै बसेर आ–आफ्नो इम्युनिटीको सहज परीक्षण गर्न सकिन्छ । परीक्षण गरिसकेपछि सबल इम्युनिटी भएकाहरुले इम्युनिटीलाई संरक्षण गर्न र कमजोर इम्युनिटी भएकाहरुले आफ्नो इम्युनिटीलाई बलियो बनाउन निम्न तीन नियमहरुको पालन गर्नाले चामत्कारिक लाभ हुन्छ:
(१) अघिल्लो खाना पूर्णरुपले पचिसकेपछि मात्र फेरि अर्को खाना खानुपर्छ । यसको लागि साँझ ६ बजेभन्दा पहिले डिनर खाएर सुत्ने र बिहानको लन्च १० देखि ११ बजे मात्र खानुपर्छ । यसो गर्दा १६ घण्टाको उपवास पनि हुन्छ, पाचकाग्नि पनि तीव्र हुन्छ । तीव्र भोकको पनि अनुभव भइरहन्छ ।
(२) नास्तामा सधैँ मौसमी फलफूल मात्र खानुपर्छ ।
(३) प्रतिदिन एक छाक मात्र अन्नको प्रयोग गर्नुपर्छ । लन्च वा डिनर एक छाकमा मात्र अन्न (भात, रोटी आदि) को प्रयोग गर्नुपर्छ । अर्को छाकमा अरु नै केही खानु उचित हुन्छ ।