नेपाली संस्कारअनुसारको शवदाह मेसिन



– रोहिणी घिमिरे

गत चैत–वैशाखमा कोरोना भाइरस संक्रमणले भयावह रुप लियो । धेरैको ज्यान गयो । यतिसम्म कि शव जलाउने स्थान पाउनसमेत कठिन भयो । भारतको गंगा नदीमा त्यत्तिकै लास फालेको देखियो भने नेपालको वाग्मती किनारमा समेत लास जलाउने ठाउँ पाइएन । मृत्युको पीडा त छँदै थियो, आफ्नो संस्कारअनुसार घाटमा लास जलाउन नपाउँदाको पीडा देख्दा कीर्तिपुरका लेखनाथ दाहालको मन छोयो । थोरै दाउराले छोटो समयमा शव जलाउन सकिने मेसिन निर्माण गर्ने सोच उनमा पलायो । 

दाहाल भन्छन्, ‘अन्त्येष्टि गर्दा अधिकांश नेपालीको लास जलाउने संस्कार भए पनि कोरोनाको त्रास, स्थानको अभाव र आर्थिक अभावका कारण बेवारिसे छोडेर हिँड्नुपर्ने, गाड्नुपर्ने, खोलामा त्यत्तिकै फाल्नुपर्ने बाध्यता भएको देखियो । त्यसैले सानो ठाउँमा, थोरै दाउराले, छोटो समयमा सजिलै शव जलाउन सकियोस् भन्ने उद्देश्यले यो अवधारणा मनमा विकास भएको हो ।’ 

लामो समयदेखि जडीबुटी उपचार कार्यमा संलग्न हुँदै आएका दाहाल मेसिन बनाउने सोच पलाएपछि एकछिन् घोरिए । भित्र हृदयबाटै मेसिन बनाउने तरिका फुरेपछि सामान्य रेखांकन गरेर उनी टेकुस्थित एक कारखानामा पुगे । त्यहाँ भारतको विहारका मेकानिक जियालाल पण्डितको सहयोगले आफ्नै प्रविधिमा सानो नमुना मेसिन बनाए । शुरुमा ८ इन्च चौडाइ र १२ इन्च लम्बाइको सामान्य मेसिन बनाएर त्यसमा मेवाको काँचो बोटको फेद जलाई हेर्दा सफल भएपछि दुवैजनामा खुशीको सीमा नरहेको उनी बताउँछन् । त्यसपछि भने साँच्चैको शव जलाउने ठूलो साइजको मेसिन बनाएको उनको भनाइ छ । 

मेसिनको बनावट  

मेसिन निर्माणकर्तामध्ये एक लेखनाथ दाहालका अनुसार यो झन्डै १५ सय किलोग्राम तौल भएको कोक्रो आकारको मेसिन हो । यसको लम्बाइ ७ फिट, चौडाइ ४ फिट र उचाइ ३९ इन्च रहेको छ । मोटो फलाम प्रयोग गरिएकाले आगोले हानि नपुर्‍याउने हुँदा धेरै वर्षसम्म टिकाउ हुने उनी बताउँछन् । 

उनका अनुसार मेसिनभित्र आवश्यक मात्रामा अक्सिजन पुर्‍याउन फलामको फ्रेममा आवश्यकताअनुसार प्वालहरु राखिएको छ । साथै भित्र आगो बाल्ने ठाउँमा इँटाहरु अड्याउन लक सिस्टम बनाइएको छ । बाह्य आवरणमा फलामको बाक्लो पाता राखिएको छ । मेसिनको तलपट्टि फलामका मोटा डन्डीको जाली बनाई सो जालीमाथि लक सिस्टमले इँटा राखिएको छ । आगो बाल्दा फलामलाई असर नपरोस् भनेर इँटाको छेउबाट चिसो हावा सप्लाइ हुने किसिमले मेसिन बनाइएको छ, जसका लागि चारैतिर पंखा राखिएको छ । यसले गर्दा मेसिन पनि टिकाउ हुने र आगो पनि राम्ररी बल्ने दाहाल बताउँछन् । 

उनका अनुसार पंखाद्वारा हावा दिँदा दाउरा धेरै कम (७० किलो) ले पुग्ने र पेट्रोलजस्तै गरी बल्ने हुन्छ । साथै बाहिरको भन्दा मेसिनभित्र हावाको चाप बढी हुने हुँदा सोही हावामा भएका तत्वहरु शक्तिमा बदलिएर आगो बढी शक्तिशाली हुन्छ । यसले गर्दा शव सजिलै दहन हुन्छ । यदि पानी बढी भएको शव रहेछ भने ५ किलो जति दाउरा बढी लाग्न सक्ने उनको भनाइ छ । बाहिर घाटमा जलाउँदा ३ सय किलोसम्म दाउरा लाग्ने गरेकोमा यसमा जलाउँदा धेरै किफायत हुने प्रणाली विकसित गरिएको उनको भनाइ छ । मेसिनलाई पानीबाट बचाउनुपर्ने हुँदा छाना भएको ठाउँमा राख्नुपर्ने हुन्छ । साथै पंखा चलाउनका लागि विद्युत् पनि आवश्यक पर्ने तर एउटा शवका लागि ३–४ युनिट मात्रै विद्युत् खपत हुने दाहाल बताउँछन् ।

स्वविचारले बनाएको भए पनि इन्जिनियर लगाएर बनाएजस्तै छ यो मेसिन । साथै धुवाँ नआउने हुँदा वातावरणीय हिसाबले पनि उत्कृष्ट छ ।

मेसिनभित्र निस्केको धुवाँलाई आगोको ज्वालामा परिणत गर्ने तरिकासमेत अपनाइएको दाबी दाहालले गरेका छन् । तर माथिबाट आगो सल्काउँदा सल्कन समय लाग्ने र धुवाँ आउने हुनाले तलबाट सल्काउनुपर्ने उनी बताउँछन् । 

यसबाट निस्केको धुवाँलाई पाइपबाट सानो पानीको ट्यांकीमा पठाएर शुद्धीकरण गर्न सकिन्छ, जसले गर्दा वायुमण्डल प्रदूषित हुन पाउँदैन । त्यसैले पनि यो मेसिन शहरमा बढी नै उपयोगी हुने दाहालको भनाइ छ । यसै गरी मेसिनको तल पिँधमा खरानी खस्नका लागि दुवै साइडमा घर्रा राखिएको छ । दाउरा कम लाग्ने भएकाले र यो पनि सबै राम्ररी दहन हुने भएकाले खरानी धेरै निस्कँदैन । एउटा शवको झन्डै ५० ग्राम जति खरानी निस्कने दाहाल बताउँछन् । खरानी चाहिनेहरुले घर्रा तानेर यही खरानी लिन सक्छन् । चिता पखाल्ने र पिण्ड दिने संस्कार भएकाहरुले यही खरानी कतै राखेर संस्कार पूरा गर्न सक्छन् । 

दुईजना मिलेर बनाएकाले दाहालको दा र पण्डितको प दुई अक्षर मिलाएर मेसिनको नाम दा.प. शवदहन राखिएको रहेछ । मेसिनको बाहिरी भित्तामा मेसिनको नाम, मेसिन बनेको मिति र नेपालमा बनेको जनाइएकाले यो देख्ने जो–कोही नेपाली खुशी नहुने कुरै भएन । 

मेसिन तयार गर्न २ लाख ५० हजार रुपियाँ जति लागेको र सो रकम आफूहरु दुईजनाले नै व्यहोरेको दाहाल बताउँछन् । उनी भन्छन्, ‘अन्यत्र कसैले चाहेमा लागत मात्रै लिएर परिमार्जित मेसिनको दोस्रो संस्करण निर्माण गर्ने योजना रहेको छ ।’

पशुपति विकास कोषलाई निःशुल्क प्रदान 

लेखनाथ र जियालालको आफ्नै योजना, सोच र लगानीमा निर्मित यो शवदाह मेसिन उनीहरुले पशुपति विकास कोषलाई निःशुल्क हस्तान्तरण गरेका छन् । गत जेठ १३ गते निर्माण सम्पन्न भएको यो मेसिनलाई पशुपति विकास कोषको विद्युतीय शवदाह गृहपछाडि राखेर गत जेठ १६ गतेदेखि सञ्चालन गरिएको दाहाल बताउँछन् । 

निःशुल्क प्रदान गर्छु भन्दा पनि पशुपति विकास कोषबाट अपेक्षा गरिएअनुसारको सहयोग नभएको दाहालको गुनासो छ । उनी दुखेसो पोख्छन्, ‘यो लकडाउनका बेला मेसिन गाडीमा राखेर टेकुबाट लग्ने व्यवस्था पशुपति विकास कोषले नै गरिदिनुपर्ने होइन र ? आफैंले लगिदिँदा पनि राम्रो रेस्पोन्सको अनुभूति भएन ।’ 

लेखनाथकै टिमले निःशुल्करुपमा शवदाह मेसिन ल्याएर जडान गरिदिएको र कोषका तर्फबाट उनलाई केही सहयोग गर्न नसकिएको पशुपति विकास कोषले स्वीकारेको छ । मेसिन निर्माण गरी उपलब्ध गराउने दाहाल र पण्डितद्वयलाई कोषका निर्देशक घनश्याम खतिवडाले कृतज्ञता प्रकट गरेका छन् । निर्देशक खतिवडा भन्छन्, ‘स्वविचारले बनाएको भए पनि इन्जिनियर लगाएर बनाएजस्तै छ यो मेसिन । साथै धुवाँ नआउने हुँदा वातावरणीय हिसाबले पनि उत्कृष्ट छ ।’ 

शव जलाउनचाहिँ दाहालले भनेजस्तो धेरै छिटो नभई झन्डै एक घण्टा लाग्ने गरेको निर्देशक खतिवडा बताउँछन् । शायद दाउरा काँचो भएर समय धेरै लागेको हो कि भन्ने उनी अनुमान गर्छन् । दाउरा पनि ७० किलोभन्दा माथि नै लाग्ने गरेको र एकपटकमा दुईवटा शव जलाउन नमिल्ने भनाइ खतिवडाको छ । उनी भन्छन्, ‘तर यही मेसिनमा शवलाई बसाएर पनि जलाउन सकिने हुँदा सुताउने र बसाउने दुवै संस्कारका लागि मेसिन उपयोगी छ । धुवाँ नआउने हुँदा वातावरणीय हिसाबले त झनै उपयोगी साबित भएको छ ।’ 

प्रतिक्रिया दिनुहोस्