पेट बढ्यो: बच्चा कि ट्युमर ?



– प्रा. डा. सुमनराज ताम्राकार (स्त्रीरोग विशेषज्ञ)

‘सर ! अल्ट्रासाउन्ड गर्ने सरले गाली गर्नुभयो ।’ मेरो जुनियर डाक्टरले  गुनासो गरिन् ।

‘किन नि ?’ मैले सोधेँ ।

‘गाइनेमा काम गरेर महिना पुगिसकेकी गर्भवती पनि खुट्याउन सकिन रे ∕ गर्भवती अवस्था र डिम्बाशयको ट्युमर पनि छुट्याउन नसकेको भनेर कराउनु भयो ।’ 

‘अनि पेट छामेको थिएन ?’

‘थिएँ, ती युवती अविवाहित भन्दै थिइन्, त्यसैले गर्भवती होला भनेर सिरियस्ली लिइन ।’

‘त्यसैले तिमीहरूलाई बेलाबेलामा भनिरहेको हुन्छु नि! अविवाहित भन्दैमा झट्ट विश्वास गरिनहाल्नु भनेर । पेट बढेको केसमा विवाहित होस् या अविवाहित, गर्भवती अवस्था एक नम्बरमा छुट्याउनुपर्दछ । शंका लाग्नेबित्तिकै यताउति छड्के प्रश्न सोध्ने बानी गर्नुपर्छ । अब त शिक्षा पायौ होला नि ?’

‘पाएँ सर, सरी सर ! अबदेखि यस्तो गल्ती दोहोर्‍याउँदिन ।’

‘गुड! ल, आफ्नो काममा लाग्नुस् ।’

महिनावारी शुरु भैसकेकी युवती वा महिलामा महिनावारी रोकिएको वा पेट बढेको वा प्रस्ट कारणविना तल्लो पेट अचाक्ली दुख्ने भयो भने गर्भवती अवस्था वा डिम्बवाहिनी नलीमा गर्भ रहे/नरहेको छुट्याउनुपर्दछ । भलै नलीमा गर्भ रहने केसमा शुरुवातमा पेट नबढे पनि नली फुटेर आन्तरिक रक्तश्राव भई तल्लो पेट फुल्ने, छुनै नहुने गरी दुख्ने हुन्छ ।

नलीमा रहेको गर्भ फुट्ने तथा डिम्बाशयको समस्याको परिणाम राम्रो नहुने भएकोले युवती वा महिलामा पेट बढ्ने समस्यालाई खेलाँची गर्नुहुन्न ।

यसरी युवती वा महिलामा पेट बढ्नुको मुख्य कारण गर्भवतीसम्बन्धी भए पनि अन्य कारणले पनि पेट बढ्न सक्छ । जस्तो–

१. डिम्बाशयको ट्युमर वा क्यान्सर ।

२. पिसाब थुनिएर वा गर्न नसकेर ।

३. पाठेघरमा मासु पलाएर ।

४. कलेजो बिग्रेर सिरोसिस भई पेटमा  पानी जमेर ।

५. अधिक मोटोपना भएर ।

६. पेटभित्रका कुनै पनि क्यान्सर फैलिई पानी जम्मा भएर ।

७. कहिलेकाहीँ ग्यास्ट्रिक बिग्रेर, आमाशय वा त्योभन्दा तल्लो भागतिरको आन्द्रा प्वाल परेर, पेटमा पिप÷पित्त फैलिएर आदि कारणले पेट बढ्न सक्छ ।

माथि उल्लिखित सबैजसो समस्याको निदानको लागि बिरामीसँग शुरुवातमै विस्तृतमा सोधपुछपछि शारीरिक चेकजाँचबाट प्रारम्भिक अनुमान लगाउन सकिन्छ । त्यसमाथि भिडियो एक्सरे र केही थरी रगत जाँचबाट समस्या यकिनरुपमा थाहा हुन्छ । गर्भावस्थाको पाँचौं महिनातिरबाट गर्भेशिशु चलमलाउन पनि थाल्छ । नलीमा गर्भ फुटेर आन्तरिक रक्तश्रावका कारण तल्लो पेट फुल्ने अवस्थासम्म त बिरामी बेहोसी अवस्थामा पुग्न सक्छ । के गाउँ, के शहरी क्षेत्र, नेपालमा पनि विवाहपूर्व यौनसम्बन्ध राख्ने चलन बढिरहेको परिप्रेक्ष्यमा गर्भ रहनलाई विवाहित भैसकेको हुनुपर्छ नै भन्ने होइन । शंका लाग्नेबित्तिकै गर्भ छ÷छैन, पिसाब जाँच वा भिडियो एक्सरे गराइहाल्नुपर्छ ।

डिम्बाशयको बोर्डर लाइन खालको ट्युमर एवं क्यान्सरमा पेटमा पानी जम्मा भइहाल्ने हुन्छ । विडम्बना के छ भने, डिम्बाशयको ट्युमर वा क्यान्सरका शुरुवाती लक्षण चिह्नहरु ग्यास्ट्रिकको सँग मिल्दोजुल्दो हुने हुनाले फिजिसियनतिर धाइरहने वा ग्यास्ट्रिक त हो नि भनेर हेलचेक्र्याइँ गरेर बस्दा ट्युमर वा क्यान्सर बल्झिसकेको हुन सक्छ । अतः शंका लाग्नेबित्तिकै स्त्रीरोग विशेषज्ञसँग परामर्श गरी एकसरो भिडियो एक्सरे र रगतमा ट्युमर मार्कर चेक गराउनु बुद्धिमानी हुन्छ । यसै गरी कहिलेकाहीँ पिसाब थुनिएर पनि महिलाहरुमा पेट बढ्न सक्छ । पिसाब संक्रमण वा आङ खस्ने समस्याका लक्षण चिह्नसम्बन्धी आवश्यक सोधपुछपछि पिसाब निख्राउन क्याथेटर लगाइदिने, पिसाब जाँच गर्ने, पिसाब संक्रमण छ भने एन्टिबायोटिक ख्वाउने, पाठेघर झरेको कारण हो भने पाठेघर ठाउँमा राखिदिएपछि ठीक हुन्छ ।

पाठेघरमा ठूल्ठूला खालको मासु पलाउने (फाइब्रोइड) वा पाठेघरको एडेनोमायोसिस समस्यामा पनि पेट बढ्ने हुन्छ । तर डिम्बाशयको क्यान्सरजस्तो यसमा छिटो–छिटो पेट बढ्दैन । फाइब्रोइड वा एडेनोमायोसिस डिम्बाशयको ट्युमर वा क्यान्सरभन्दा कडा खालको हुने भएकोले प्रभावित महिलाले नुहाउने क्रममा तल्लो पेटमा साबुन लगाउँदा डल्लो–डल्लो वा साह्रो अनुभूति भइहाल्छ । आकार झन् बढ्दै गएको छ वा तल्लो पेट बढेको शंका लाग्नासाथ स्त्रीरोग विशेषज्ञसँग जँचाउनु श्रेयष्कर हुन्छ । उनले भिडियो एक्सरे र बाँकी उपचारका उपाय बताइदिन्छन् ।

कोही–कोही महिला अधिक तवरमा मद्यपान गर्ने वा हेपाटाइटिस ‘बी’का कारण सिरोसिस भन्ने कलेजोको समस्या हुन जाँदा पनि पेटमा पानी डम्म भरिएर पेट बढ्ने समस्या हुन्छ । त्यसैले रक्सी सेवन गर्ने बानी छ भने हटाउनु नै पर्छ । बाँकी उपचारको हकमा कलेजो रोग विशेषज्ञको निगरानीमा उपचार थाल्नु राम्रो हुन्छ ।

आफ्नो शारीरिक उचाइ र तौलको हिसाब गरी कतिको मोटोपना छ भन्ने थाहा पाउन सकिन्छ । आफ्नो शारीरिक तौल (किलोग्राम) लाई आफ्नो शारीरिक उचाइ (मिटर) ले दुईपटक भाग गरेपछि बीएमआई निस्किन्छ । यसरी हिसाब गरेर निकालिने बीएमआई (बडी मास इन्डेक्स) २६ भन्दा बढी हुनुहुँदैन । बीएमआई बढ्दा वा मोटोपनाको कारणले पेटमा बोसो जमेर पनि पेट बढेको जस्तो हुन सक्छ । मोटोपनाकै कारण मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, मस्तिष्कघात, पक्षघात, मुटुको समस्या हुन सक्ने हुनाले शारीरिक तौल नियन्त्रणमा रहने गरी खानपिन, शारीरिक अभ्यास, चिल्लो काट्ने, रगत पातलो बनाउने आवश्यक औषधि सेवन गर्नु बुद्धिमानी हुन्छ ।

ठूलो आन्द्रा, कलेजो, पाठेघर आदिको क्यान्सर जटिलतामा पुगेसँगै पेटमा पानी जमेर पनि पेट बढ्न सक्छ । त्यसै गरी लामो समयदेखिको ग्यास्ट्रिकको समस्या बल्झेर अल्सर हुने, पछि आमाशय वा ड्युडेनम भनिने सानो आन्द्रा फुटेर पित्त, पिप पेटभरि फैलिएर पेट बढ्ने गम्भीर समस्या आउन सक्छ । यी समस्याका लागि पेटरोग विशेषज्ञसँग सल्लाह लिनुपर्दछ ।

अन्त्यमा, महिला वा किशोरीमा पेट बढ्नु, त्यो पनि छिटो–छिटो बढ्नुमा गम्भीर कारण हुन सक्छ । नुहाउने क्रममा तल्लो पेटमा हात पुर्‍याउँदा हेक्का राखौं । कुनै पनि बेला शंका लागेमा चेकजाँच गराउन जान ढिलो नगरौं । 

प्रतिक्रिया दिनुहोस्