तपाईंका घरमा हाम्रा डाक्टर



मलाई राति ऐठन हुने, झस्किने, डर लाग्ने समस्या भएको २ वर्षजति भयो । यो समस्याबाट मुक्त हुने कुनै उपाय छैन ? 

– भक्त महत, पनौती । 

भक्तजी, यो तपाईंको मनोचिकित्सकीय समस्या हो । यसको बेलैमा उपचार गरेमा मुक्ति पाउन सक्नुहुन्छ । हाम्रो समाजमा यस्ता मनोसमस्या धेरै पाइन्छन् । उपचार पनि धेरै भएका छन् । ढुक्क हुनुहोस्, त्यसमा सुधार हुनेछ । एकपटक पाटनको मानसिक अस्पताल वा शिक्षण अस्पतालको मानसिक विभाग गएर आफ्नो समस्या राख्नुभएमा समाधान हुनेछ । 

मेरो छोरा ६ वर्षको भयो । सँगैका अरु बच्चाभन्दा अलि होचो छ । उचाइ बढाउने कुनै उपाए भए बताइदिन आग्रह गर्दछु । 

– सोभित कार्की, रौतहट । 

सोभितजी, बच्चाको उचाइ बाबुआमाको उचाइमा पनि भर गर्छ । त्यस्तै आफ्नो परिवारमा हुने अरुको उचाइ पनि आउन सक्छ । उचाइको कुरा खानपान र हुर्काइमा पनि भर पर्दछ । ६ वर्षमै होचो–अग्लो भनिहाल्न हतार भयो कि ! यहाँहरु दुवैको उचाइ नर्मल भएमा उसको पनि उचाइ नर्मल नै हुने सम्भावना बढी हुन्छ । त्यसबाहेक बच्चालाई सन्तुलित खाना खुवाउनुहोस् । उसलाई दूध, अण्डा, मासु आदि खुवाउनुहोस् अनि सम्भव भएमा नियमित व्यायाम गराउनुहोस । सबै ठीक हुनेछ । 

म ७१ वर्षको भएँ । पहिलेदेखि नै चुरोट खाने बानी छ । परिवारले कर गरेकाले धेरैपटक छोड्ने प्रयास गरेँ तर छोड्दा झन् गाह्रो भयो । सही सल्लाहको लागि अनुरोध गर्दछु । 

– कमलप्रसाद बाँस्तोला, हालः बालाजु । 

कमलजी, चुरोट खानु स्वास्थ्यको लागि धेरै हानिकारक छ । यसले क्षयरोग, क्यान्सर, सुगर, दम, रक्तनलीका समस्याजस्ता धेरै समस्या गराउँछ । जसरी पनि यसलाई छोड्नुपर्छ नै । तर त्यो मिलाएर, वैज्ञानिक तरिकाले, मनैदेखि महसुस गरेर अनि प्रण गरेर छोड्नेतिर लाग्नुपर्छ । चुरोटको लत लागेको मान्छेले एकाएक छोड्न गाह्रो हुन्छ नै, किनभने चुरोटमा हुने निकोटिनले लत बसालेको हुन्छ अनि शरीरले त्यो मागिरहन्छ । त्यसैले वैज्ञानिक तरिकाअनुसार घटाउँदै लगेर, शरीरलाई लत कम गर्दै लगेर छोड्नुपर्छ । जस्तो दिनको १२ खिल्ली चुरोट खानेले ५ दिनको लागि ९–१० खिल्लीमा झार्ने, त्यसपछि अर्को ५ दिनका लागि ६ खिल्लीमा झार्ने, त्यसपछि अर्को ५ दिनका लागि ३ खिल्लीमा झार्ने र अर्को ५ दिन दिनको एक खिल्ली मात्र खाने गर्नुपर्छ । तलतल लागेमा सुपारी वा ल्वाङ खाने गर्नुपर्छ । अनि अर्को ५ दिन एक दिन बिराएर खाने अनि पूरै छोड्ने गर्नुपर्छ । छोड्नको लागि मनभित्रैबाट तयारी, प्रण, निश्चितता हुनुपर्छ । आइपर्ने रोगहरु रोज्ने कि चुरोट रोज्ने भनेर महसुस गर्नुपर्छ ।

बिरामी साह्रो हुँदा आईसीयु, सीसीयु, भेन्टिलेटरमा राख्नुपर्छ भन्छन् । कसैले भेन्टिलेटर भनेको अन्तिम अवस्थामा मात्र राख्ने हो पनि भन्छन् । यिनहरुको जरुरत कस्तो बेला पर्छ ? जान्न उत्सुक छु । 

– वीरेन्द्र शाक्य, ठहिँटी, काठमाडौं । 

वीरेन्द्रजी, सबभन्दा पहिले आईसीयु, सीसीयु, भेन्टिलेटरका बारेमा प्रस्ट हुने, अर्थ बुझ्ने तथा यिनीहरुको उपयोगिता बुझ्ने काम गरौं । आईसीयु भनेको सघन उपचार कक्ष (Intensive Care Unit) हो । यो कक्षमा सघन अर्थात् विशेष निगरानी चाहिने सिकिस्त बिरामीलाई राखेर उपचार गरिन्छ । यस कक्षमा हरेक बिरामीको मिनेट–मिनेटको ख्याल, स्याहार, रेखदेख हुने गरी विशेष अनुभवी अनि तालिम प्राप्त परिचारिका तथा चिकित्सकको व्यवस्था गरिएको हुन्छ । त्यस्तै सीसीयु भनेको मुटुको सघन उपचार कक्ष (Coronary Care Unit) हो । यहाँ मुटुका बिरामीहरुलाई विशेष हेरचाह, निगरानी, सघन स्याहार गरिन्छ । यसमा मुटुको आकस्मिक तथा सघन व्यवस्थापन गर्न सक्ने विशेष तालिम प्राप्त तथा अनुभवी परिचारिका एवं चिकित्सकको जरुरत पर्ने हुनाले उनीहरुको समेत व्यवस्था गरिएको हुन्छ । त्यस्तै भेन्टिलेटर भनेको शरीरमा अक्सिजनको मात्रा कम भएमा वा फोक्सोले प्रभावकारी काम गर्न नसकेमा अक्सिजनको मात्रा अधिक दिएर व्यवस्थापन गरिने एक मेसिन हो । श्वासप्रश्वाससम्बन्धी रोग वा श्वासप्रश्वास फेल भएमा यसरी अक्सिजन दिनुपर्ने अवस्था आउँछ । अपरेसनका क्रममा बेहोस गराएर उपचार गर्नुपर्दा पनि भेन्टिलेटरको उपयोग गरिन्छ । यसमा श्वासप्रश्वास पूर्ण वा आंशिकरुपले येही मेसिनले गर्छ । यसरी हेर्दा जटिल अवस्थाका बिरामीलाई विशेष निगरानी चाहिँदा राखिने कक्षमा यो मेसिनको व्यवस्था गरिएको हुन्छ । यसलाई श्वासप्रश्वासको सहयोगी मेसिन भनेर बुझ्न सकिन्छ । यतिले पनि प्रस्ट नभएमा सम्बन्धित कक्षहरुमा गएर बिरामीमा मेसिन प्रयोग गरेकै पनि हेर्न सकिन्छ । साथै पुस्तक वा इन्टरनेटको माध्यमबाट पनि अध्ययन गरी यसबारेमा प्रस्ट हुन सकिन्छ ।

आँखा कमजोर हुँदा पावर भएको चश्माको सट्टा आँखाभित्रै राख्ने लेन्स पनि पाइन्छ भनेको सुनेँ । त्यस्तो लेन्स कहाँ पाइन्छ र चश्माभन्दा राम्रो हो कि होइन ? बताइदिन अनुरोध छ । 

– रामनारायण चौधरी, सिराहा । 

रामनारायणजी, चश्मा र लेन्स कामको हिसाबले, उपयोगिताको हिसाबले उस्तै हुन् । दुवैको काम आँखाको घटी वा बढी पावरमा सहजता ल्याउने हो । कसैलाई चश्मा लगाउन मन पर्दैन भने आँखाभित्र लगाउने लेन्स लगाउन सकिन्छ । तर सजिलो र सहजता, जसले पनि सहजै लगाउन मिल्ने, धेरै तयारी गर्न नपर्ने, खास प्रकारको झोल कुरामा संग्रह गर्न नपर्ने हुनाले चश्मा नै सजिलो मान्ने धेरै छन् । लेन्सको लागि धेरै नै ख्याल गर्नुपर्छ । संग्रह गर्ने, सफा गर्ने, लगाउने, झिक्ने कार्य गर्दा हरेक पाइलामा सतर्क हुनुपर्छ । तर लेन्सले आँखा रातो गराउन, एलर्जी गराउन, बिजाउन, अप्ठ्यारो गराउन सक्ने हुनाले ख्याल गर्नुपर्ने हुन्छ । एउटा कुरामा प्रस्ट हुनुहोस्, दुवैको काम उस्तै हो । आजकल लेन्स धेरै शहरमा पाइन्छ । आँखाका अस्पताल वा क्लिनिकहरु भएका स्थानहरुमा यो पाइन्छ । विराटनगर, काठमाडौं, भरतपुर, वीरगन्ज जहाँ गए पनि पाइन्छ । 

म ४७ वर्षको पुरुष हुँ । अफिसमा टेबुल वर्क गर्छु । बिहान उठ्दा मेरो पैताला, घुँडा दुखिरहेको हुन्छ तर दिउँसो याद हुँदैन । यसको निवारण कसरी गर्न सकिन्छ ? सुझाव पाऊँ न डा. साब । 

– रुद्र कँडेल, चितवन । 

रुद्रजी, पैताला, घुँडा दुख्नुको कारण धेरै हुन सक्छन् । भिटामिन ‘डी’, ‘ई’ सहित अन्य भिटामिनको कमी, युरिक एसिडको वृद्धि, रक्तसञ्चारमा कमी आदिले यस्तो समस्या आउन सक्छ । समस्याको सम्भावित निदानका लागि चिकित्सकसँग भेटेर केही अरु सवालजवाफ गर्न र केही परीक्षण गर्न जरुरी देखिन्छ । अहिलेको लागि भिटामिन ‘बी’ कम्प्लेक्स तथा भिटामिन ‘ई’ को क्याप्सुल र पारासिटामोल खाँदै गर्नुस् अनि फिजिसियन डाक्टरलाई भेट्नुस् । तपाईं चितवनमा भएको हुनाले फिजिसियन भेट्न गाह्रो भएन । मेडिकल कलेज वा सरकारी अस्पताल वा अन्य अस्पतालमा गएर सजिलै भेट्न सक्नुहुन्छ । त्यसपछि तपाईंको समस्याको चुरो पत्ता लागेर उपचार सहज हुनेछ ।

मैले धेरै बूढाबूढीमा बिर्सिने रोग अल्जाइमरको समस्या देखेँ । बुढेसकालमा यो रोग सबैलाई हुने हो कि ? यसबाट बच्न के गर्न सकिन्छ ? सल्लाहका लागि अनुरोध गर्दछु । 

– रोशन रायमाझी, इटहरी, सुनसरी । 

रोशनजी, अल्जाइमरको समस्या कसलाई हुन सक्छ भन्ने कुनै निश्चित नियम छैन । यो जसलाई पनि हुनसक्छ । धेरै नै उमेर भएपछि वा अलि छिटो नै पनि यो रोग हुनसक्छ । जब यसको निश्चितता छैन भने यसबाट बच्न के गर्ने भन्ने पनि स्पष्ट छैन । बुढेसकालमा सबैलाई यस्तो हुँदैन, अति नै थोरै प्रतिशतलाई हुनसक्छ । यो रोग भनेको मस्तिष्कको बाह्य भाग सोच्ने, सम्झने अनि विश्लेषण गर्ने भाग (जसलाई Cortex भनिन्छ) असामयिकरुपमा खिइने अवस्था हो । यसबाट बच्न खासै केही गर्न सक्ने अवस्था छैन । तर पनि नराम्रो बानी–व्यवहारबाट बच्ने, खान नहुने कुरा नखाने, गर्न नहुने कुरा नगर्ने, धूमपान नगर्ने, सन्तुलित खाना खाने, जीवनशैली सुधार गर्ने, योग–ध्यान गर्ने, सागसब्जी एवं फलफूल बढी खाने गरेमा केही हदसम्म बच्न सकिएला । 

मेरो दाहिने आँखा बरोबर फर्फराउने गर्छ । यो कुनै रोगको लक्षण त होइन ? मेरो चिन्ता निवारण गरिदिनुहुन्थ्यो कि ? 

– झुमाकुमारी दाहाल, लहान ।

झुमाजी, आँखा फर्फराएको अनुभव करिब–करिब सबैमा हुन्छ । यो कुनै खास रोगको लक्षण हो भन्ने हुँदैन । तर पनि यसरी फर्फराउनुको यसको कारण रगतमा लवणको कमी, आँखामा सञ्चार गर्ने स्नायुमा वा मांसपेशीमा कुनै कुप्रभाव हुनसक्छ । फलफूल, सागसब्जी प्रशस्त खाने गर्नुस् । साथमा भिटामिन ‘ई’ क्याप्सुल दिनको एउटा खाएर हेर्नुस्, फाइदा हुनसक्छ ।

(सकेसम्म छोटो र एकपटकमा एउटा मात्र स्वास्थ्यसम्बन्धी जिज्ञासा [email protected], [email protected] वा पो.ब.नं.२०४५ काठमाडौंमा पठाउनुभएमा मुटुरोग विशेषज्ञ एवम् फिजिसियन डा. हरिहर खनालले सल्लाह सुझाव दिनुहुनेछ ।)

प्रतिक्रिया दिनुहोस्