१. अहिले कोरोनाले विश्व आक्रान्त भैरहेको छ । फेरि नयाँ लहरको महामारी आउन थालेको छ । अहिले ओमिक्रोन भन्ने आयो भन्छन् । त्यो कोरोना नै हो कि अर्कै रोग हो ? अरु के–के प्रकृतिका कोरोना भन्छन् ? प्रस्ट्याइदिनुभएमा आभारी हुने थिएँ ।
– सन्तोष ज्ञवाली, धादिङ ।
सन्तोषजी, कोरोना शुरु भएको रुघाखोकीजस्तै रोगको रुपमा हो । तर यसमा निमोनिया हुने, व्यापकरुपमा सर्ने, मृत्यु हुन सक्ने देखियो । यसको अध्ययन गरेर यसको रुपअनुसार नाम दिइयो कोरोना भनेर । यो रोग अति छिटो संसारका सबैजसो देशमा ५–६ महिनामै फैलिएर मानवीय जीवनको व्यापक तहसनहस गरायो । बिस्तारै पछि भ्याक्सिनको विकास भयो ।
सबैतिर आस्ते–आस्ते भ्याक्सिन लगाएर अलि कम हुँदै थियो तर पनि जैविक विकास क्रममा यो कोरोना भाइरसको म्युटेसन भएर विभिन्न उपरूप देखिन थाल्यो । त्यसैलाई विभिन्न भेरिएन्ट भनियो र विभिन्न नामकरण गरियो– अल्फा, बेटा, गामा, डेल्टा, ओमिक्रोन । यी सबैको रासायनिक फर्मुला वा वंशाणुगत प्रकृति फरक–फरक पाइयो, जसमा डेल्टा अलि बढी डर लाग्दो पाइयो ।
अहिले देखिएको ओमिक्रोन प्रकृति बढी सर्ने देखिए तापनि कम हानिकारक अनि कम ज्यान लिनेजस्तो देखिएको छ । त्यसमा पनि बिरामी पर्नेहरु अधिकतम् भ्याक्सिन नलगाएका भेटिएका छन् ।
ओमिक्रोन र डेल्टाको संयुक्त संक्रमण पनि पाइयो भन्ने गरिएको छ । फेरि यस प्रश्नको अध्ययन गर्दागर्दै फ्रान्समा नयाँ भेरिएन्ट देखियो भनेर आएको छ, जसको नाम इहु (IHU) राखिएको छ । यसरी यो कोरोनाले नयाँ–नयाँ रुप विकास हुँदै गरेको र संक्रमण गराउँदै आएको देखिन्छ ।
अझै प्रस्ट छैन– भविष्य कस्तो होला, नयाँ प्रकृतिको बैगुन कस्तो होला, कसरी यसले आफ्नो प्रभाव देखाऊला भन्ने । एउटा कुरा प्रस्ट छ कि कोरोना प्राणघातक रोग हो । यसले यो र ऊ भन्दैन । जहिले जसलाई जहाँ पनि लाग्न सक्छ अनि यसले बिरामी पार्ने मात्रै नभएर ज्यानै पनि लिन सक्छ ।
जुन प्रकृतिको विकास भए पनि, जुन भेरिएन्ट देखिए पनि कोरोनासँग जोगिन मास्क अनिवार्य लगाउने, हात स्यानिटाइजरले सफा गरिरहने गरौं । यताउता गरेपछि अनि खानाअघि हरेकपटक मिची–मिची साबुन–पानीले हात धुने गरौं । साथै एक मिटरको दूरी सबैसँग कायम गर्नेजस्ता जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गरौं ।
२. पानीको फोर्सले दाँत सफा गराउँदा दाँत राम्रो भएको अनुभव हुन्छ र म बरोबर यसरी डेन्टिसकहाँ गएर दाँत सफा गराउँछु । तर यसो गर्दा दाँत हल्लिने सम्भावना हुन्छ भन्छन् । सही सल्लाहका लागि आग्रह गर्दछु ।
– सुमिता पौडेल, लगनखेल ।
सुमिताजी, हाम्रो दाँत बिग्रने, कीराले खाने, नराम्रो देखिने कारण दाँतको स्याहार नपुगेर हो । नियमित स्केलिङ वा पानीको फोर्स गर्ने भन्दा पनि खाना खाएपछि बिहान–बेलुका दुईपटक ब्रस गर्ने, अघि–पछी पनि केही खाएपछि कुल्ला गर्ने, मुख सफा गर्ने वा फेरि ब्रस गर्ने, हरेकपटक ब्रस गरेपछि औंलाले मसाज गर्ने गरेर दाँतको स्याहार गर्नु राम्रो हो ।
कहिलेकाहीँ धेरै फोहोर भएमा र कडा पाप्रा जमेमा पानीको फोर्स प्रयोग गर्ने वा स्केलिङ गर्ने दन्तचिकित्सकले जे भन्नुहुन्छ त्यो गर्न नमिल्ने कुरै भएन । तर धेरै यस्तो गरेमा दाँतको जरा हल्लने अनि दाँत कमजोर हुने कुरा निश्चितरुपमा हो । तर नियमित दाँतको स्याहार गर्नेलाई त्यस्तो गर्ने आवश्यकता नै पर्दैन ।
३. म स्वस्थ नै छु । अहिले ५० वर्ष पुगेँ । साथीहरु केही नभए पनि वर्षको एकपटक होलबडी चेकअप गर्नुपर्छ भन्छन् । यो खर्चिलो पनि रहेछ । के यसरी केही नहुँदा पनि बर्सेनि होलबडी चेकअप गर्न आवश्यक हुन्छ ?
– गणेशकुमार बस्नेत, जोरपाटी, काठमाडौं ।
गणेशजी, हरेक व्यक्ति यदि ४० वर्ष नाघेको छ भने नियमितरुपमा, कमसेकम वर्षको एकपटक स्वास्थ्य परीक्षण गर्नु वाञ्छनीय हुन्छ । त्यस्तै होलबडी चेक गर्ने भनेको राम्रै हुन्छ तर त्यसमा व्यापार प्रदायक संस्थाभन्दा पनि सेवा प्रदायक संस्थामा गराउनु राम्रो हुन्छ । जस्तो कि हाम्रो सरकारी केन्द्रीय प्रयोगशालामा प्याकेजको रुपमा रगत, दिसा, पिसाबको परीक्षण हुन्छ, त्यो गर्न सकिन्छ ।
अनि त्यहाँ छुटेका भिडियो एक्सरे, ईसीजी, छातीको एक्सरे वीर अस्पताल वा अन्य ठाउँमा गर्न सकिन्छ । त्यस्तै शिक्षण अस्पताल, सिभिल अस्पतालहरुले पनि होलबडी चेक गर्ने स्किम छ । त्यहाँ गराउँदा त्यति महँगो नपर्ला । अब विचार गर्नुस्, ५० वर्ष भैसक्नुभयो, केही नभए पनि गर्नु राम्रो नै हुन्छ । किनभने केही भए शुरुमै देखिन्छ र केही नभए झन् ढुक्क भइन्छ ।
४. मेरो ९ वर्षको छोरालाई स्वाँ–स्वाँ हुने समस्या भएको छ । खेलकुदमा भाग लिन पनि सक्तैन । यसको समाधान कसरी गर्न सकिएला ?
– राजीव श्रेष्ठ, बन्दिपुर ।
राजीवजी, यदि बच्चालाई स्वाँ–स्वाँ हुन्छ भने तुरुन्तै चिकित्सकलाई देखाएर परामर्श लिइहाल्नुस्, त्यो मुटुको रोग, फोक्सोको रोग, दम, बाथरोग, रगतको रोग जे पनि हुन सक्छ । एकपटक काठमाडौं आएर कान्ति अस्पतालमा शुरुवाती देखाउनुस् ।
त्यसपछि विशेषज्ञ सेवा चाहिने भएमा त्यहीँबाट स्पष्ट हुन्छ र कहाँ, कसलाई देखाउने भन्ने थाहा भैहाल्छ । यदि मुटुको समस्या देखिएमा १४ वर्षमुनिका बालबालिकालाई गंगालाल अस्पतालमा निःशुल्क उपचार हुन्छ ।
यदि फोक्सोको समस्या भएमा वीर अस्पताल अनि रगतको समस्या भएमा सिभिल अस्पतालमा सम्बन्धित विभागमा देखाउन सकिन्छ । घर बसेर, अनिश्चितता पर्खेर, लामा–झाँक्री गरेर समस्याको समाधान हुँदैन ।
५. कतिपय प्राकृतिक चिकित्सकहरुले सेतो चिनी सकेसम्म नखानु भन्छन् । के साँच्चै सेतो चिनी स्वास्थ्यका लागि हानिकारक हो त ? गुलियो मन पर्नेले के खाँदा ठीक हुन्छ ? सुझाव पाऊँ ।
– जन्मेजय चौलागाईं, जोरपाटी ।
जन्मेजयजी, तपाईंले भनेजस्तै सेतो चिनी मात्रै होइन, नुन अनि मैदा पनि शरीरका लागि लाभदायी होइनन् । सकेसम्म यिनीहरु कम गर्ने, नखाने वा ४० वर्ष काटेपछि त एकदमै नियन्त्रण गर्नुपर्ने हुन्छ । सबै स्वास्थ्य अवस्था ठीकठाक भएकाले खान नै नहुने भन्नेचाहिँ हुँदैन, अलि–अलि खान हुन्छ नै । धेरै खान भएन, त्यही हो ।
त्यसमाथि चिनीरोग भएको भएमा गुलियो खान मन पर्नेको लागि सुगरफ्री चक्की पाइन्छ । त्यो अलि–अलि लिन सकिन्छ । ख्याल गर्नुपर्ने कुराचाहिँ खानुको साथसाथमा नियमित व्यायाम, योग, ध्यान गर्नुपर्यो, सकारात्मक सोच गर्नुप¥यो अनि सुझबुझ हुनुपर्यो ।
६. कतिपयले खुर्सानी खाँदा फाइदा गर्छ भन्छन्, कतिपयले खुर्सानीको बियाँले अल्सर हुन्छ भन्छन् । वास्तवमा खुर्सानी खानु ठीक हो कि होइन ?
– हरि नेपाल, बुटवल ।
हरिजी, खुर्सानी खानुले स्वास्थ्यमा गर्ने फाइदा वा हानिसम्बन्धी अध्ययन–अनुसन्धान भएको छैन । कुनै वैज्ञानिक आधार पनि छैन यसै हो भन्नको लागि । यो आ–आफ्नो बानीको कुरो पनि हो । त्यस्तै यसले खाना रुच्ने हुन्छ पनि भनिन्छ ।
हरियो खुर्सानीले आँखा राम्रो देखिन्छ अनि त्यसमा अरु भिटामिन पनि पाइन्छ भनिन्छ । धेरै नै पिरो खानु राम्रो पटक्कै भन्न सकिँदैन । अलि–अलि पिरो स्वाद, स्वास्थ्य अनि ताजगी अनुभूतिको लागि खान सकिन्छ । जहाँसम्म खुर्सानीको बियाँले अल्सर गर्ने भन्ने पनि भनाइ मात्रै हो ।
हानि गर्ने पिरोपनाले हो, नकि बियाँ वा बोक्राले । चिकित्सकले ग्यास्टिक वा अल्सर भएको भनेको छ भने वा बेला–बेलामा पेट पोल्ने समस्या छ भने त्यस्ता व्यक्तिले खुर्सानी पटक्कै खानुहुँदैन । तर सामान्य अवस्थामा भने सामान्य पिरो खान सकिन्छ ।
७. प्रायः बिहान मेरो जिब्रोमा बाक्लो सेतो कस बसेको हुन्छ । अरु समस्या त छैन, तैपनि जिब्रो अलि सेतो देख्दा केही भयो कि भन्ने लाग्छ । यो कुनै रोग हो कि सुझाव पाऊँ ।
– ज्ञान तण्डुकार, ठिमी, भक्तपुर ।
ज्ञानजी, जिब्रोमा सेतो बाक्लो कस बस्ने धेरै कारण हुन सक्छ । धेरैजसो पेटसम्बन्धी समस्या भएको अवस्थामा यस्तो देखिन्छ । अपच, चिनी रोग, जुका, ग्यास्टिक तथा पेट/आन्द्राका अन्य समस्या भएमा यो समस्या देखिन सक्छ ।
अरु कुनै समस्या नहुनाले त्यति आत्तिन त परेन तर पनि एकपटक फिजिसियन वा पेट वा आन्द्रा विशेषज्ञ देखाएमा उचित सल्लाह पाइनेछ ।
८. बजारका तयारी खानाको विज्ञापनले केटाकेटीहरु साह्रै लोभिन्छन् तर खुवाउन हुँदैन भनेको पनि सुनिन्छ । के गर्दा ठीक पर्ला ?
– गंगादत्त, हाल ः चाबहिल ।
गंगादत्तजी, तपाईंले भनेको ठिक्कै हो । घरका कुनै खाना नखाने बच्चाले यी तयारी खाना (जसलाई हामी जंकफूड भन्छौँ) मीठो मानेर जति पनि खाइदिन्छन् । यति मात्र होइन, उनीहरुले सधैँ यिनै खानाको माग गर्छन् । यी खानेकुरा किमार्थ राम्रा होइनन् ।
यस्ता खानेकुरा राम्रा होइनन् भनेर बच्चाहरुलाई सल्लाह दिइरहनुपर्छ । उनीहरुको मस्तिष्कमा यस्ता खानाप्रति विकर्षण हुने विचार बसालिदिनुपर्छ । भरसक यस्ता खाना दिनु पनि हुँदैन । यस्ता खानामा प्रशस्त ट्रान्सफ्याट हुन्छ, जुन स्वास्थ्यको लागि अत्ति नै हानिकारक हुन्छ । त्यस्तै यसमा अन्य विषाक्त तत्व पनि हुन्छ, जुन तेल धेरै खारेर वा धेरैपटक खारेर पकाइएको तयारी खानामा हुन्छ ।
बाइप्रोडक्टको रुपमा यस्तो विषाक्त तत्व निस्केको हुन्छ । त्यस्तै स्वाद बढाउन विभिन्न केमिकल वा वस्तुहरु मिसाइएको हुन्छ । ती सबैले स्वास्थ्यमा प्रतिकूल असार पार्न सक्ने हुनाले यस्ता खाना नखाएकै बेस ।
९. मेरो घाँटी, छाती बेला–बेलामा पोल्ने, अमिलो पानी आउने हुन्छ । यसको समाधान कसरी गर्न सकिएला ?
– खगेन्द्र त्रिपाठी, झापा ।
खगेन्द्रजी, यहाँको समस्याले दिएका लक्षणहरु अनि हामी नेपालीको खाना खाने बानी तथा खानाको प्रकृति अध्ययन गर्दा यहाँलाई ग्यास्टिक भएजस्तो लाग्यो । यसलाई शुद्धरुपमा भन्दा ग्यास्ट्राइटिस (न्बकतचष्तष्क) भनिन्छ । हुन त अरु समस्या हुन नसक्ने होइन, यहाँको उमेर अनि अन्य स्यास्थ्य पृष्ठभूमि पनि थाहा भएन ।
हृदयघात, पित्तथैलीको पत्थरी, फोक्सोको झिल्लीको संक्रमण आदि पनि सम्झनुपर्ने समस्या हुन् । तर पनि सबभन्दा कमन र धेरै भेटिने ग्यास्टिक नै हुनाले त्यसबारेमै केन्द्रित भएर सल्लाह गरौँ । सबभन्दा महत्वपूर्ण कुरा आहारविहारमा ख्याल गर्नुप¥यो । अमिलो, पिरो अनि चिल्लो नखानुस् । धेरै चिसो अनि तातो पनि नखानुस् । खालि पेट धेरैबेर नबस्नुस् ।
चिन्ता लिने नगर्नुस् । यति गर्दा पनि कम नभएमा औषधि खान सकिन्छ । यसको लागि पेटरोग विज्ञ वा फिजिसियन भेटेर सल्लाह गर्न सकिन्छ । कहिलेकाहीँ इन्डोस्कोपी गरेर वा रगतबाट वा अरु तरिकाले ग्यास्टिक गराउने जीवाणु परीक्षण गरेर पनि त्यसलाई निर्मूल पार्नुपर्ने हुन सक्छ । त्यसैले त्यहाँको जिल्ला अस्पताल वा अरु शिक्षण अस्पतालमा गएर पेटरोग विशेषज्ञ भेटमा निर्देशित निदान तथा उपचार हुन सक्ने सल्लाह दिन चाहन्छु ।