नियमित स्नान : चिसो पानीले नै किन ?



रोहिणी घिमिरे

स्वस्थताका लागि स्नान गर्नु अति आवश्यक छ तर जाडोमा चिसो पानीले नुहाउन हत्तपत्त आँट गर्न सकिँदैन । प्रायः जोसुकै पनि जाडोमा तातो पानीले नुहाउन मन पराउँछन् । तर जाडोमा पनि चिसो पानीले नुहाउनु स्वास्थ्यका लागि फाइदाजनक छ ।

जाडोमा चिसो पानीले नुहाउँदा छालामा चमक आउँछ । यसले छालालाई स्वस्थ बनाउने मात्र होइन, छाला पनि सुख्खा हुँदैन । जाडो मौसममा प्रायः मानिसलाई सुख्खा छालाको समस्याले सताउने गर्छ । यस्तो अवस्थामा यो समस्याबाट बच्न चिसो पानीमा नुहाउनु राम्रो हुन्छ । जाडोमा चिसो पानीको प्रयोगले छालाका छिद्रहरू बन्द गर्न सक्छ, जसले गर्दा बाहिरको फोहोर छालामा पस्नबाट रोकिन्छ ।

चिसो पानीले नुहाउँदा पनि कपाल बाक्लो र चम्किलो बनाउन सकिन्छ । चिसो पानीले नुहाउँदा कपालको फोलिकल्स बढ्नबाट जोगाउन सकिन्छ, जसले कपाललाई चम्किलो बनाउने मात्र होइन बलियो र स्वस्थ पनि बनाउन सक्छ । जाडोमा चिसो पानीले नुहाउँदा कपाल झर्ने समस्याबाट पनि बच्न सकिन्छ ।

यसै गरी जाडोमा मांसपेशीको दुखाइ कम गर्न चिसो पानीले ठूलो मद्दत गर्छ । डाक्टरहरूले कसैको चोट वा घाउमा बरफ लगाउन सिफारिस गरेको तपाईंले प्रायः देख्नुभएको होला । यस्तै जिमबाट आएपछि प्रशिक्षकहरूले चिसो पानीले नुहाउन सल्लाह दिन्छन् । किनभने चिसो पानीले मांसपेशी दुखाइबाट राहत दिन्छ ।

सावधानी !

जाडो मौसममा चिसो पानीले नुहाउनु सबैका लागि भने उपयुक्त हुँदैन । यदि कुनै स्वास्थ्य समस्या छ भने वा विशेष गरी रोग–प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिले जाडोमा चिसो पानीले नुहाउनुअघि विशेषज्ञसँग परामर्श लिन नभुल्नुस् । ज्वरो वा कुनै संक्रमण भए पनि चिसो पानीले नुहाउनबाट जोगिनुहोस् ।

जाडोमा मौसमी एलर्जी छ भने चिसो पानीले नुहाउनुअघि विज्ञको सल्लाह लिनै पर्छ । त्यसै गरी जाडोमा कडा घाममा बसिरहनुभएको छ भने घामबाट उठ्नेबित्तिकै चिसो पानीले ननुहाउनुस् ।

किन नियमित नुहाउने ?

दैनिक स्नान गरेर मात्र बिहानको खाना खाने हाम्रो प्राचीन संस्कार पनि हो । दैनिक नियमित नुहाउने गर्दा दिनभरि नै शरीरमा स्फूर्ति बढ्छ, ताजापनको महसुस हुन्छ ।

शरीरको गन्ध हटाउन : नियमित ननुहाउने मानिसको शरीरबाट निस्कने पसिनाले दुर्गन्ध आउन सक्छ । पसिनाले शरीरमा खराब ब्याक्टेरियाहरू सिर्जना गर्न सक्छ, जुन छालाका लागि हानिकारक हुन सक्छ । पसिना आउनुको कारण चिलाउने, छालामा रातो दाग देखिनेजस्ता समस्या पनि हुन सक्छन् । यस्ता समस्या निराकरणका लागि नियमित स्नान गर्नुपर्छ ।

छालामा संक्रमण हुन नदिन : नियमित ननुहाउने व्यक्ति चाँडै छाला संक्रमणको सिकार हुन सक्छ । ननुहाउने मानिसको छालामा रहेको धूलो, माटो, प्रदूषणको कण आदिले छालालाई हानि पु¥याउँछ, जसका कारण छालामा चाँडै संक्रमण हुन्छ र कालो–कालो धब्बा देखिन सक्छ । नियमित नुहाउनेमा यस्ता समस्या कम नै हुन्छन् ।

खटिरा आउन नदिन : नियमित ननुहाउने मानिसलाई डन्डिफोर, खटिरा आउने समस्या हुन सक्छ । यदि हामीले नियमित नुहाउन सकेनौं भने हाम्रो छाला हाइड्रेटेड हुँदैन, जसका कारण खुला छिद्रहरूमा पनि असर पर्छ र छालामा फोहोर जम्मा हुन्छ । यस्तो अवस्थामा त्यही फोहोर नै खटिराको कारण बन्न सक्छ । त्यसैले नुहाउन जरुरी छ ।

दुखाइ र सुजन कम गर्न : शरीरमा कुनै पनि प्रकारको दुखाइ र सुजन हटाउने प्राकृतिक उपाय पनि छ । यस्तो अवस्थामा यदि कुनै व्यक्तिले नियमित नुहाउन सकेन भने उसले यस्ता समस्याको जोखिम कम गर्न सक्दैन । नुहाउँदा शरीरभर रगतको प्रवाह राम्रो हुन्छ । यस्तो अवस्थामा प्रभावित ठाउँमा अक्सिजन प्रचुर मात्रामा पुग्छ र शरीरमा कुनै प्रकारको दुखाइ र सुजन भएमा आराम मिल्छ ।

तनाव कम गर्न : यदि कुनै व्यक्तिले नियमित नुहाउन सकेन भने उसले आफूलाई तनाव महसुस गर्छ । किनभने नुहाउँदा हाम्रो शरीरमा ह्याप्पी हर्मोनको स्तर बढ्छ । जब मानिस नुहाउँछ, यस अवस्थामा उसको मुड राम्रो हुन्छ । उसले आफूलाई तनाव र चिन्तामुक्त सम्झन्छ । अर्कोतर्फ दैनिक नुहाउनुभएन भने शरीरको तापक्रम मात्र बढ्दैन, मानिसको चिन्ताको स्तर पनि बढ्न सक्छ ।

हर्मोन सन्तुलनका लागि : नियमित ननुहाउने मानिसमा हर्मोन असन्तुलनको समस्या देखिन सक्छ । अघि नै भनिसकिएको छ कि नुहाउँदा मानिसको शरीरमा खुशीको हर्मोन निस्कन्छ । मानिसले दैनिक नुहाउन सकेन भने यसले शरीरमा हुने हर्मोनमा पनि असर पार्न सक्छ । यसबाहेक हाम्रो शरीरमा रहेको बिटा एन्डोर्सिङ र कोर्टिसोललाई असर गर्न सक्छ । त्यसैले सकेसम्म हरेक दिन नुहाउन आवश्यक छ ।

शरीरको तापमान सामान्य राख्न : दैनिक ननुहाउने मानिसको शरीरको तापक्रम सन्तुलित हुँदैन । नुहाएर सम्पूर्ण शरीरको तापक्रम सामान्य राख्न सकिन्छ । त्यसै गरी ननुहाएको धेरै दिन ग्याप भएमा शरीरको तापक्रम बढ्न थाल्छ, जसका कारण चिडचिडापन, क्रोध, मनमा भ्रम, घबराहट आदिको अनुभव हुन्छ । नियमित नुहाउने गर्नाले यी सब समस्याबाट बच्न मद्दत पुग्छ ।

दैनिक नुहाउँदाका १० फाइदा

  • छालाका मृत कोशिकाहरू हट्छन् ।
  • शरीरबाट खराब ब्याक्टेरिया हटाउन सकिन्छ ।
  • छालाबाट पसिनाले उत्पन्न हुने दुर्गन्ध हटाउन सकिन्छ ।
  • शरीरको तापक्रम सन्तुलित रहन्छ ।
  • ओस्टियो आर्थराइटिसको समस्याबाट बच्न सकिन्छ ।
  • शरीरमा रगतको प्रवाह राम्रो हुन्छ ।
  • जोर्नी र मांसपेशीलाई व्यायाम हुन्छ ।
  • रोग–प्रतिरोधात्मक क्षमता बलियो हुन्छ र मानिस रुघाखोकीबाट टाढा रहन्छ ।
  • व्यक्तिको मुड राम्रो हुन्छ ।
  • उच्च रक्तचाप सुधार गर्न सकिन्छ ।

स्रोत : onlymyhealth.com

प्रतिक्रिया दिनुहोस्