बालबालिकालाई घाँटी दुख्ने, थुक निल्न गाह्रो हुने, टन्सिल बढ्ने, पाक्ने आदि स्वास्थ्य समस्या बारम्बार भइरहन्छ । यो मामुलीजस्तो देखिने घाँटी दुख्ने रोगले मुटुको रोग उत्पन्न गराउन सक्छ भन्ने कुरा धेरैलाई थाहा छैन ।
घाँटी दुख्ने, टन्सिल बढ्ने र पाक्ने भएको बेलामा राम्रोसँग उपचार भएन भने मुटुका भल्भहरु बिग्रिने रोग बाथ मुटुरोग उत्पन्न हुन सक्छ । टन्सिल र मुटुको यो गहिरो सम्बन्धबारे सबैले थाहा पाउनु जरुरी छ ।
बालबालिका र युवालाई प्रभावित पार्ने मुटुका रोगहरुमध्ये बाथ मुटु रोग मुख्य हो । यो रोग विकासोन्मुख राष्ट्रहरुमा बढी भएको पाइन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विकासोन्मुख राष्ट्रहरुमा ५ देखि १५ वर्ष उमेरका एक हजार बालबालिकाहरुमध्ये करिब ३ जना यस रोगबाट पीडित हुने गरेका छन् ।
यिनीहरुमध्ये वार्षिक करिब १० प्रतिशतको मृत्यु हुने गरेको छ । हाल नेपालमा ५ लाखभन्दा बढी संख्यामा बाथ मुटुरोगीहरु भएको अनुमान गरिएको छ । यस रोगबाट नेपालमा वार्षिक करिब ३ हजार बालबालिकाहरुको मृत्यु हुने गरेको छ ।
बाथ मुटु रोगको विकास तीन चरणमा हुन्छ । पहिलो चरण घाँटीको इन्फेक्सन (संक्रमण) हो ।
बाथ रोगले जोर्नीलाई छुन्छ मात्र, बिगार्दैन तर मुटुलाई भने बिगार्छ ।
यो अवस्थामा घाँटीभित्र दुख्ने, टन्सिल बढ्ने र पाक्ने, थुक निल्न गाह्रो हुने र ज्वरो आउने हुन्छ । ५–७ दिनमा यो ठीक भएर जान्छ । यसको ३–४ हप्ताभित्र रोग घाँटीबाट हात–खुट्टाका ठूला जोर्नीहरुमा पुग्दछ । यो दोस्रो चरणलाई बाथ ज्वरो भनिन्छ, जुन अवस्थामा हात–खुट्टाका ठूला जोर्नीहरु पालैपालो दुख्ने, सुन्निने हुन्छ र साथमा ज्वरो पनि आउँछ ।
रोगको तेस्रो चरण भनेको मुटुका भल्भहरु बिग्रिने अवस्था हो । यस प्रकार घाँटीबाट शुरु भई जोर्नीहरुको बाटो हुँदै यो रोगले अन्त्यमा मुटुलाई आक्रमण गर्दछ । भनिन्छ, ‘यस रोगले जोर्नीलाई चाट्छ तर मुटुलाई टोक्छ’ । यसको अर्थ हो बाथ रोगले जोर्नीलाई छुन्छ मात्र, बिगार्दैन तर मुटुलाई भने बिगार्छ । यस रोगलाई बढ्दै जानबाट रोक्न यी तीन चरणहरु जानिराख्नुपर्छ ।
बाथ मुटुरोगको रोकथाम गर्ने सबैभन्दा प्रभावकारी उपाय हो– घाँटीको संक्रमण हुँदा ७ देखि १० दिनसम्म एन्टिबायोटिक औषधि खाएर उपचार गर्ने । घाँटी दुख्दा, टन्सिल बढ्दा र पाक्दा बालबालिकाको ठीक तरिकाले उपचार ग-यो भने यो रोग पहिलो चरणमै रोकिन्छ । यसलाई प्राथमिक रोकथाम विधि भनिन्छ ।
घाँटी दुख्दा सिटामोल खाएर मात्र पुग्दैन, नुन–पानीले कुल्ला गरेर मात्र पुग्दैन, एन्टिबायोटिक औषधि नै प्रयोग गर्नुपर्छ । घाँटीका जीवाणुलाई एन्टिबोयोटिकले नष्ट पार्नुपर्छ, अनि बाथ ज्वरो, बाथ मुटु रोग उत्पन्न हुन पाउँदैन । यो साधारण जानकारी धेरैलाई छैन ।
रोगको संक्रमण हुँदा एन्टिबायोटिक खान र खुवाउन डराउनेहरु पनि धेरै छन् । अर्कोतर्फ अनावश्यक अवस्थामा पनि एन्टिबायोटिकको प्रयोग भैराखेका छन् । यी दुवै प्रवृत्ति ठीक होइनन् । बालबालिकाले घाँटी दुख्ने, टन्सिल बढ्ने भएको बेला ७ देखि १० दिनसम्म एन्टिबायोटिक औषधि सेवन गर्नुपर्छ ।
बाथ मुटुरोगको यो ‘प्राथमिक रोकथाम’ विधि अपनाउन जम्मा १५० देखि २०० रुपियाँ खर्च लाग्छ । (चक्की सेवन गरेको अवस्थामा) । यदि सुई लगाएर उपचार गर्ने हो भन्ने २५ रुपियाँले पुग्छ । यति थोरै खर्चले पुग्ने उपचार नगर्दा रोग बढेर गई मुटुमै पुगेपछि शल्यक्रिया गराउनुपर्दा कम्तीमा २–३ लाख रुपियाँ खर्च लाग्छ ।
यस कारण सबैले यो बुझ्नु जरुरी छ कि बालबालिकालाई घाँटी दुख्दा ठीक उपचार भयो भने सस्तो पनि पर्छ, रोग बढ्न पनि पाउँदैन । बाथ मुटु रोगको रोकथामको यो पक्ष अति महत्वपूर्ण छ ।
सरकारले महँगो उपचार निःशुल्क गरेको छ तर सस्तो रोकथामको कुनै कार्य भएको देखिँदैन ।
बाथ ज्वरोले एकपल्ट आक्रमण गरेपछि यसले रोगीलाई छाड्दैन । पछि पनि बारम्बार आक्रमण गरिराख्छ । जतिपल्ट घाँटीमा संक्रमण भयो त्यतिपल्ट बाथ ज्वरो फर्किन सक्छ । अनि जतिपल्ट बाथ ज्वरो फर्कियो त्यति नै बढी मुटुको भल्भ बिग्रिन्छ । त्यसकारण बाथ ज्वरो नफर्कियोस् र मुटुको भल्भहरु बिग्रिने क्रमलाई रोक्न सकियोस् भनी गरिने उपचार विधिलाई बाथ मुटु रोगको द्वितीय रोकथाम भनिन्छ ।
यसका लागि प्रत्येक ३ हप्तामा एकपल्ट पेनिसिलिन सुई लगाउनुपर्छ । यसको मूल्य जम्मा २५ रुपियाँ मात्र पर्दछ । यो रोगको रोकथाम एकदमै सस्तो र सरल छ । तर रोगको उपचार भने एकदमै कठिन र महँगो छ । यस कारणले पनि हामी सबैको ध्यान यस रोगको रोकथाम र नियन्त्रणतर्फ नै केन्द्रित हुनुपर्दछ ।
बाथ मुटु रोग गम्भीर स्वास्थ्य समस्या हो । यस रोगका कारण मुटुको ओपन हार्ट सर्जरी गरी भल्भ फेर्नुपर्ने अवस्थामा रहेका हजारौं बाल मुटुरोगीहरु नेपालमा छन् । यस्ता रोगीहरुले अपरेसनपछि पनि जीवनभर औषधि खाइराख्नुपर्ने हुन्छ । घाँटी दुख्नेजस्तो साधारण स्वास्थ्य समस्याबाट शुरु भएर अन्त्यमा मुटुको भल्भलाई क्षति पु¥याई यस रोगले मुटुलाई अत्यन्तै कमजोर बनाउँछ र रोगीको हार्ट फेल हुन्छ ।
यस्ता खाले सबै रोगीहरुको अपरेसन गर्नुपर्दैन, तर जीवनभर सुई लगाउने र औषधि सेवन गर्नुपर्ने हुन्छ । यो रोग लागेपछि जीवन कष्टमय बन्छ । अपरेसन कठिन र खर्चालु भएको हुनाले साधारण नेपालीका लागि सजिलै यो उपलब्ध हुन सक्दैन । केही वर्षयता नेपाल सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलगायत कतिपय ठूला मुटु अस्पतालमा मुटुको भल्भ फेर्ने अपरेसन निःशुल्क गर्दै आएको छ ।
नेपाल हार्ट फाउन्डेसनका अनुसार बर्सेनि १ हाजार बाथ मुटुरोगीहरुको भल्भको शल्यक्रिया हुने गरेको छ । यसमा नेपाल सरकारको करिब ३० करोड रुपियाँ खर्च हुने देखिन्छ । बाथ मुटु रोग नियन्त्रण गर्न सकिने रोग हो । कठिन र महँगो उपचार अनी रोग लागेपछि बिताउनुपर्ने कष्टदायी जीवनबाट नेपालीलाई बचाउने एकमात्र उपाय हो– यस रोगको रोकथाम र नियन्त्रण गर्नु ।
मुटुको कृत्रिम भल्भ निःशुल्क वितरण गरेर, निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाएर मात्र यो रोगबाट उपन्न सामाजिक, आर्थिक समस्या समाधान हुँदैन । राज्यको प्रयास बाथ मुटुरोगको रोकथामतर्फ नै केन्द्रित हुनु जरुरी छ । आजका दिनमा सरकारले महँगो उपचार निःशुल्क गरेको छ तर सस्तो रोकथामको कुनै कार्य भएको देखिँदैन ।
विश्व स्वास्थ्य संगठनले यस रोगको गम्भीरतालाई ध्यानमा राखी यस रोगबारे अध्ययन र अनुसन्धान गर्दै आएको छ । साथै यस रोगको प्राथमिक र द्वितीय रोकथाममा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिँदं आएको छ । यससम्बन्धमा संगठनले प्रकाशित गरेका सुझावहरु यस प्रकार छन् :
१. संसारका धेरै मुलुकहरुमा यस रोगको वास्तविक तथ्यांकको अभाव रहेको देखिन्छ । त्यस कारण ग्रामीण क्षेत्रहरुमा समेत यस रोगको अध्ययन र अनुसन्धान गर्नु अति आवश्यक छ ।
२. अविकसित र विकासोन्मुख राष्ट्रहरुले राष्ट्रिय स्तरमा रोकथाम कार्यक्रम सञ्चालन गर्नुपर्दछ । यसमा सरकारको सक्रियता अति आवश्यक छ ।
३. बाथ ज्वरो रोकथामका लागि पेनिसिलिन सुई सबैभन्दा प्रभावकारी छ । यसकारण यसको प्रयोगलाई व्यापक बनाउनुपर्छ ।
४. बाथ ज्वरो नियन्त्रणमा स्वास्थ्य शिक्षाको ठूलो महत्व छ । यसकारण देशको स्वास्थ्य र शिक्षा मन्त्रालयहरु आपसमा मिलेर कार्यक्रम बनाएमा बढी प्रभावकारी हुन्छ ।
५. यस्ता कार्यक्रमहरु राष्ट्रिय कार्यक्रमका रुपमा ग्रामीण तहसम्म पुग्ने गरी प्राथमिक स्वास्थ्य उपचार सेवाभित्रै पर्ने गरी सञ्चालन गर्ने प्रयास हुनुपर्दछ ।
६. यस्ता कार्यक्रमहरु राष्ट्रिय स्वास्थ्य विकास योजनाभित्रै समावेश गरिनुपर्दछ ।
७. बाथ ज्वरो उन्मूलन गर्न घाँटीको संक्रमणविरुद्ध खोपको आविष्कार गर्ने कार्यतर्फ अनुसन्धान हुनु जरुरी छ ।
बाथ मुटु रोग नियन्त्रणको मुख्य कार्य भनेको घाँटीको संक्रमणबाट बालबालिकाहरुलाई जोगाउनु हो । यसका लागि जनचेतना जगाउने, स्कुल शिक्षामा यस रोगबारे पठनपाठन गराउने, रोगबारे अध्ययन–अनुसन्धान गर्ने, आधारभूत स्वास्थ्य सेवा–सुविधाभित्र बाथ ज्वरोको प्राथमिक रोकथामसमेत समावेश गर्ने आदि महत्वपूर्ण कार्यहरु गर्नुपर्ने देखिन्छ ।
ग्रामीण जनताको पहुचसम्म यस कार्यक्रमलाई पु¥याउनु हाम्रो कर्तव्य हो । नेपालमा ठूलो स्वास्थ्य समस्याका रुपमा रहिआएको बाथ मुटुरोग नियन्त्रण गरी यस रोगबाट हुने मृत्यु र शारीरिक अशक्तताको संख्यामा कमी ल्याउन सरकार र जनता सबै मिली लाग्नुपर्ने देखिन्छ ।