अमेरिकामा पहिलो कोरोना संक्रमण पुष्टि (जनवरी २०, २०२०) भएको डेढ महिनापछि केन्टकी राज्यमा पनि पहिलो संक्रमित बिरामीको पहिचान भयो । त्यही समयदेखि एक नेपाली नर्स चन्द्रा खरेल सो राज्यको लुइभेल शहरस्थित नर्टन र ब्याप्टिस्ट अस्पतालमा लगातार कोरोना संक्रमितको उपचारमा सक्रिय छन् । कोरोना महामारीका बीचमा अमेरिकी नागरिक र स्वास्थ्यकर्मीहरुले भोगेका समस्याहरुका विषयमा नर्स खरेलसँग साधना प्रतिनिधि भगवती तिमल्सिनाले गरेको कुराकानीको सार :
कोरोना संक्रमणपछि अमेरिकी अस्पताल र स्वास्थ्ययकर्मीको अवस्था कस्तो भयो ?
चीनको वुहानबाट कोरोना महामारी शुरु हुँदा यो महामारीले यति ठूलो रुप लिन्छ भनेर अनुमान गरिएको थिएन । विश्वको सुपरपावर मानिने अमेरिकामा कार्यरत भएकैले होला, मैले समेत शुरुमा कोरोनाले यति धेरै अत्याउला भनेर सोचेकी थिइन ।
अमेरिकामा स्वास्थ्यय क्षेत्रमा समेत उच्च प्रविधि रहेको र धेरै संक्रामक रोगका विज्ञहरु भएकोले यसलाई सहजै नियन्त्रण लिन सक्छन् भन्ने लागेको थियो । तर यथार्थ एकदमै फरक भयो । महामारी शुरु भएको एक महिना पनि नपुग्दै अस्पतालहरुमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई)को अभाव शुरु भयो ।
एकातिर चिकित्सक र नर्सहरुमा संक्रमण शुरु भएपछि उनीहरु आफैं आइसोलेसनमा बस्ने वा अस्पताल भर्ना हुने क्रम बढ्यो भने अर्कोतिर बिरामीहरुको चाप अस्पतालले धान्न नसक्ने भयो । स्वास्थ्यकर्मी आफैं बिरामी हुने र बिरामीहरुको चाप बढ्ने हुँदा कल्पना गर्न नसक्ने गरी स्वास्थ्यकर्मीहरुको अभाव भयो ।
कोरोना संक्रमणपछि अमेरिकामा नर्सहरुको धेरै नै अभाव भएकोले अहिले मैले दुईवटा अस्पतालमा बिदासमेत नबसी काम गरिरहेकी छु । बिरामीलाई दिइने औषधिसमेत अभाव भएकोले ज्वरो घटाउने औषधि र अक्सिजन दिनेबाहेक उपचार गर्न सकिएन । यो बेला स्वास्थ्यकर्मीहरुले आफूलाई हतियारविनाको योद्धाको रुपमा चित्रित गरेका थिए ।
अहिलेको अवस्था कस्तो छ नि ?
अहिले खोपहरु आइसकेका र प्रभावकारी पनि भएका छन् । बीचमा कोरोना केही मत्थर भई जनजीवन साधारण हुँदै थियो, ओमिक्रोन देखा परेपछि भने फेरि चिन्ता बढ्दै गएको छ । अध्ययन अनुसार कोरोना महामारी शुरु भएपछि ९३ प्रतिशत स्वास्थ्यकर्मीलाई तनाव बढेको छ, ८६ प्रतिशतलाई चिन्ताले सताउने गरेको, ७७ प्रतिशतमा निरासा बढेको, ७६ प्रतिशत अति थकित हुने गरेको पाइएको छ ।
९३ प्रतिशत स्वास्थ्ययकर्मी तनावमा भएको अवस्थामा हुने उपचारहरु कति गुणस्तरीय होला ? करिब ७६ प्रतिशत स्वास्थ्यकर्मीहरु आफूले परिवारलाई कोरोना सार्छु कि भनेर चिन्तित भएको अध्ययनबाट पाइएको छ । अस्पताल व्यवस्थापन आफैं दबाबमा रहन्छ । बिरामीको चाप व्यवस्थापन गर्न अस्पतालमा बेड बढाउनुपरेको छ ।
आईसीयु र भेन्टिलेटर थप्नुपरेको छ । कोरोनाका गम्भीर प्रकृतिका बिरामीहरु महिनौंसम्म पनि भर्ना भइरहने भएकोले अरु नयाँ बिरामी भर्ना लिन समस्या छ । कोरोनासँग मुकाबिला गर्न स्वास्थ्यकर्मी र अस्पताललाई निकै कठिन भएको छ ।
नेपालमा बेला–बेलामा स्वास्थ्यकर्मीहरु असुरक्षित हुने गरेको गुनासो आउँछ । अमेरिकामा कस्तो छ ?
अमेरिकी सरकार र अस्पताल व्यवस्थापनले स्वास्थ्यकर्मीहरुको सुरक्षालाई बढीभन्दा वढी महत्व दिएका छन् । नेपालमा हुने सुरक्षा चुनौती र अमेरिकामा हुने चुनौती अलि फरक प्रकृतिका हुन्छन् ।
नेपालमा कतिपय बिरामीको मृत्यु हुँदा अस्पताल र स्वास्थ्यकर्मीमाथि आक्रमण हुने गरेका छन् भने अमेरिकामा यस्ता घटनामा मृत्यु हुने मानिसका आफन्तले कानुनी बाटो अवलम्बन गर्दा अस्पतालहरुले ठूलो धनराशी क्षतिपूर्तिको रुपमा तिनुपर्ने हुन्छ ।
कोरोनाको सन्दर्भमा कुरा गर्दा संसारभरका चिकित्सकहरुले उस्तै–उस्तै चुनौती बेहोरिरहेका छन् ।
लामो समय काम गर्नुपर्ने, संक्रमणको डर, परिवारसँग घुलमिल हुन नपाउने जस्ता समस्याहरु सबैतिर उस्तै नै हुन् ।
स्वास्थ्य उपचारको दृष्टिकोणले अमेरिका धेरै राम्रो छ ।
बिरामीका लागि पनि उत्तिकै दर्विलो सुरक्षा नीति अपनाइएको छ तर पनि अस्पतालका कतिपय गल्ती–कमजोरीका कारण प्रत्येक वर्ष ३४ प्रतिशत बिरामी जोखिममा पर्ने गरेको तथ्यांकले देखाउँछ ।
यस्तो जोखिम कस्तो प्रकृतिको हुन्छ ?
अत्यधिक सावधानी अपनाउँदा अपनाउँदै पनि औषधि दिने र सेवा दिने क्रममा नै बढी त्रुटि हुने गरेका छन् । एउटा बिरामीका लागि नर्सहरुले धेरै प्रकृतिका औषधिहरु दिनुपर्ने हुन्छ । नीति नियमको पालना गर्दै बिरामीलाई खुवाएर वा सिरिन्जमार्फत औषधि दिनुअगाडि तीनपटकसम्म चेकजाँच हुन्छ ।
अस्पताल नै पिच्छे औषधि निकाल्ने सुरक्षा बाकसलाई फरक–फरक नाम दिइएको हुन्छ । औषधि निकाल्ने बाकसलाई मैले काम गर्ने नर्टन अस्पतालमा एलेक्सिस भनिन्छ भने अर्को ब्याप्टिस अस्पतालमा ओम्निसिल भनिन्छ ।
यी बाकसबाट बिरामीको नाम राखेर नर्सको फिङ्गरप्रिन्ट गरेपछि मात्रै त्यो समयको लागि आवश्यक मात्राको मात्रै औषधि निस्कन्छ, अरु निस्कँदैन ।
औषधि बाहिर निस्केपछि बिरामीको नाम र औषधि दाँजेर नर्सले पुनः चेकजाँच गर्नुपर्छ । अन्तिममा बिरामीको कोठामा पुगेर उसको नाडीमा बाँधिएको बारकोडसहितको प्यासियन्ट आइडेन्टिफायर रिस्ट वेन्ड (जसमा बिरामीको नाम, ठेगाना, उमेरसहितको पहिचान उल्लेख गरिएको हुन्छ) स्क्यान गरेपछि कम्प्युटर खुल्छ र बिरामीका लागि ल्याएको औषधि फेरि चेकजाँच गर्नुपर्ने हुन्छ ।
यसो गर्नुको प्रमुख कारण बिरामीको र औषधिको सही पहिचान गरेर दिनु नै हो । यो बारकोड स्क्यान गर्नासाथ बिरामीलाई दिनुपर्ने औषधिको मात्रा, बिरामीलाई कुन–कुन औषधिमा एलर्जी हुन्छ भन्नेदेखि सम्पूर्ण विवरण आइहाल्छ ।
यदि औषधि गलत प-यो वा परिवतर्न गरिएको छ भने कम्प्युटरले ध्यानाकर्षण गराउँछ । यस्तो अवस्थामा बिरामीको औषधि कुन हो, कहाँ गडबडी भयो भनेर बुझ्ने मौका पाइन्छ र बिरामीलाई गलत औषधि दिनबाट बचिन्छ ।
यत्तिका प्रक्रिया हुँदाहुँदै पनि औषधि स्क्यान गर्न भुलेका अथवा हतारमा फरक बिरामीकोमा पुगेर औषधि दिएका पनि कतिपय घटना सुनिन्छ । सीएनएनको ताजा रिपोर्ट अनुसार अमेरिकामा वर्षमा २ लाख ५० हजारभन्दा बढी बिरामीको अस्पतालमा हुने मानवीय त्रुटिका कारण मृत्यु हुन्छ ।
नर्सिङ भनेको अत्यन्तै जिम्मेवार पेसा हो र आफूले पाएको दायित्वलाई पूर्णरुपमा पालना गर्न नसक्दा बिरामीको जीवन नै जोखिममा पर्न सक्छ । त्यसैले नर्सहरु अत्यन्तै संवेदनशील हुनुपर्छ ।
कोरोनाको उपचारमा संलग्न हुँदाका प्रारम्भिक दिनहरु कत्तिको डरलाग्दा थिए ?
केन्टकी राज्यमा कोरोना संक्रमितहरु पहिचान हुन थालेको केही दिन नबित्दै हाम्रा अस्पतालका बेडहरुमा पनि संक्रमितहरु आइसकेका थिए ।
यो दुई वर्षमा कुनै दिन पनि कोभिडका बिरामीभन्दा टाढा रहेर काम गर्न पाएको छैन । कोरोनाका बिरामीलाई उपचार गरेको पहिलो दिन साँच्चिकै त्रासदीपूर्ण थियो ।
म नाइट सिफ्टमा थिएँ, त्यो रातभरि नै मेरो डरको कारण पसिना बगिरहेको थियो । श्वास बढिरहेको थियो तर बिस्तारै अभ्यस्त हुँदै गएँ । तथापि यो दुई वर्षको अवधिमा कुनै पनि दिन कोरोनाका बिरामी छैनन् भन्ने दिन आएन ।
बिरामीबाट आफूमा र आफूबाट बिरामीमा कोरोना नसरोस् भनेर सचेत हुनुपरेको छ । यसका लागि व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को सदुपयोग उत्तम उपाय हो ।
म आईसीयुमा काम गर्छु, कहिलेकाहीँ यस्तो आकस्मिक अवस्था पनि आइदिन्छ कि बिरामीमा देखा पर्ने आकस्मिक समस्यालाई सम्बोधन गर्न र बिरामीलाई बचाउन मास्क मात्र लगाएर पनि सेवा शुरु गर्नुपर्छ ।
भाइरसको रुप परिवर्तन हुने क्रममा कसरी उपचार गरिएको छ ?
भाइरसको रुपमा परिवर्तन भएसँगै औषधिमा परिवर्तन गर्नुपर्ने हुन्छ । यसको रोकथाममा प्रयोग हुने खोपलाई परिवर्तन गर्नुपर्ने हुन्छ । तथापि स्वास्थ्यकर्मीहरुले दिने उपचारमा भने खास परिवर्तन हुँदैन ।
अहिलेसम्म कोरोनाको औषधिका रुपमा कुनै अस्पतालले एमडिसिविर र कुनैले एन्थामेथाडिन दिएको छ । साथमा भिटामिन ‘सी’, ‘डी’ जस्ता सप्लिमेन्ट पनि दिन्छन् ।
संक्रमित भएर अस्पताल आउनेमध्ये खोप लगाउने र नलगाउनेमा कुन बढी छन् ?
अस्पतालमा भर्ना हुने बिरामीको संख्यालाई तुलना गर्दा खोप नलगाउने बढी छन् । आईसीयुमा भर्ना भएका ९९ प्रतिशत बिरामीहरु खोप नलगाउने हुने गरेको मेरो अनुभव छ ।
खोप लगाएका व्यक्तिहरुलाई पनि कोरोना भएको छ तर अस्पताल नै भर्ना हुनुपर्ने गरी संक्रमण भएका कम छन् । अमेरिकामा अहिले जनसंख्याको कुल ६१ प्रतिशतले खोप लगाइसकेका छन् ।
अध्ययनहरुका अनुसार खोप लिनेको तुलनामा नलिनेको मृत्यु हुने सम्भावना १४ गुणा बढी हुन्छ भने बुस्टर डोजसमेत लिएका मानिसको तुलनामा खोप नलिएका व्यक्तिहरुको मृत्यु हुने क्रम २० गुणा बढी हुन्छ ।
अमेरिकामा अहिलेसम्म ६१ प्रतिशतले मात्रै खोप लगाउनुको कारण के होला ?
अमेरिकामा प्रायजसो अस्पताल र फार्मेसीहरुमा खोप उपलब्ध छ, तथापि दिनमा काम गर्ने, ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरुले खोपमा पहुँच नभएको बताउने गरेका छन् । खोप नलिनेहरुको ठूलो संख्या पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका अनुयायीहरुको छ ।
उनले कोरोनालाई ठूलो कुरा होइन भनेर टिप्पणी गरेका थिए । तर ट्रम्पले ह्वाइट हाउसमा हुँदा नै खोप लिएको खुलेको छ ।
खोपको साइड इफेक्ट थोरै मानिसमा देखिने भए पनि यसकै डरले खोप नलगाउनेहरुको संख्या ठूलो छ । कतिपय मानिसहरु खोपका सम्बन्धमा गलत सूचनाको सिकार पनि भएका छन् ।
अस्पताल भर्ना भएका कोरोना संक्रमितहरुमा रोगप्रतिको सचेतना कत्तिको पाउनुहुन्छ ?
सचेतना नभएको कारण भनांै वा बेवास्ता र अन्धविश्वासको कारण भनौं, धेरै मानिस संक्रमित हुने गरेका छन् । बिरामी भएर आउनेहरुमध्ये धेरै खोप नलिएका छन् ।
खोप नलिनेहरु या त कोरोना केही होइन भन्ने सोच्छन्, या त यो खोपले काम गर्दैन भन्ने सोच्छन् । केही धार्मिक विश्वासले पनि खोप नलगाउनेहरु छन् ।
पछिल्लो समय युवा र बालबालिका संक्रमित बढी अस्पताल आएका छन् । शुरुका समयमा ६० वर्षमाथिका थिए भने अहिले उनीहरुले खोप लगाएका कारण युवा, बालबालिका बढी संक्रमित भएका छन् । तिनमा पनि ९९ प्रतिशत खोप नलगाएका छन् ।
अमेरिकाका अस्पतालहरुमा रोगीको अनुपातमा स्वास्थ्यकर्मी कम भए भनिन्छ नि ?
रोगीहरुको अनुपातमा स्वास्थ्यकर्मीहरुको संख्या कम भएको सत्य हो । स्वास्थ्यकर्मी कम हुनुमा तीनवटा प्रमुख कारण पाइएको छ । कोभिडको धेरै प्रभाव भएका ठाउँंका अस्पतालले पहिलाको भन्दा पाँच गुना बढी पारिश्रमिक दिन थालेका छन् ।
स्वास्थ्यकर्मीहरु एजेन्सीमार्फत ट्राभलिङ जबमा जान थालेपछि कम पैसा दिने ठाउँका अस्पतालहरुमा जनशक्ति कम हुँदै गएको छ । कुनै पनि अस्पतालहरुले महामारी आउला र उपचार गर्नुपर्ला भन्ने तयारीका साथ जनशक्ति हायर गरेर राखेका हुँदैनन् । एक्कासी बिरामीहरुको संख्या बढ्न थालेपछि स्वाभाविक रुपमा स्वास्थ्यकर्मीहरु कम हुन्छन् ।
तेस्रो कारण, चिकित्सकहरु आफैं बिरामी पर्नु नै हो । आम मानिस जसरी बिरामी पर्छन्, त्यो भन्दा बढी बिरामी स्वास्थ्यकर्मीहरु पर्ने खतरा हुन्छ । स्वास्थ्यकर्मीहरु लगातार रोगीसँग काम गर्नुपर्ने भएकोले संक्रमण हुने सम्भावना पनि उत्तिकै उच्च हुन्छ ।
स्वास्थ्यकर्मीहरु बिरामी पर्ने वा बिरामी परेपछि लामो समय आराम गर्नुपर्ने, शारीरिक वा मानिसिक रुपमा बिरामी हुने भएकोले स्वास्थ्यकर्मीहरुको संख्या कम छ । एकजना नर्स उत्पादन गर्न पनि सामान्यतया ४ वर्ष लाग्छ, त्यसैले आजको भोलि यो कमी पूरा गर्न सम्भव पनि छैन ।