नेपालीहरुको नाक, मुख र घाँटीमा क्यान्सर हुने, एलर्जी हुने र घुर्नेजस्ता गम्भीर समस्याहरु आमरुपमा देखिने भए तापनि यी रोगहरुबाट बच्न र उपचार गर्नका लागि खासै प्राथमिकता दिएको पाइँदैन ।
कतिपय मानिसले यसलाई हेलचेक्र्याइँ गरिरहेका छन् भने कतिपयचाहिँ त्यत्तिकै त्रसित बनेर डाक्टरकहाँ धाउने गरेको पनि पाइन्छ, जसले गर्दा गम्भीर रोगको अवस्थामा पनि उपचारबाट वञ्चित हुनुपर्ने स्थिति बनिरहेको छ ।
आम सञ्चारमाध्यमहरुमा पनि कम प्राथमिकतामा परेका नाक, कान, घाँटीका स्वास्थ्य समस्याका सम्बन्धमा त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज र मेडिकेयर नेसनल हस्पिटलमा समेत कार्यरत वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. प्रशान्त त्रिपाठीसँग कुराकानी गरी यो लेख तयार गरिएको छ । यससम्बन्धमा डा. त्रिपाठीका उपयोगी भनाइहरुको सार उहाँकै शब्दमा :
चुरोटले स्वरयन्त्रको क्यान्सर
‘नेपाल र दक्षिण एसियाको नाक, कान, घाँटीको क्यान्सरको कुरा गर्दा मुखको क्यान्सर अग्रपंक्तिमा छ । त्यस्तै गरी घाँटीमा थाइरोइड र स्वर यन्त्र (Larynx) को क्यान्सर पनि धेरै छ । अस्पताल आउने बिरामीहरुको संख्या हेर्दा यो तीव्ररुपमा बढ्ने क्रममा छ ।
नेपालमा गरिएको अध्ययन (२०१३–२०१५) अनुसार समग्र क्यान्सरमा ओठ तथा मुखको क्यान्सर ६ नम्बरमा र स्वरयन्त्रको क्यान्सर ८ नम्बरमा पर्छ । अझ पुरुषहरुमा मात्र हेर्ने हो भने ओठ तथा मुखको क्यान्सर समग्र क्यान्सरमा दोस्रो नम्बरमा र स्वरयन्त्रको क्यान्सर ६ नम्बरमा रहेको देखिन्छ ।
दक्षिण एसियाली देशहरुमा ओठ तथा मुखको क्यान्सर पुरुषहरुमा समग्र क्यान्सरमा दोस्रो नम्बरमा रहेको देखिएको छ । विश्व स्वास्थ्य संघको २०२० को रिपोर्टअनुसार नेपालीहरुमा ओठ र मुखको क्यान्सर ६ नम्बरमा, थाइरोइडको क्यान्सर ७ नम्बरमा र स्वरयन्त्रको क्यान्सर १४ नम्बरमा देखिएको छ ।
नेपालमा ओठ तथा मुखको क्यान्सर अग्रपंक्तिमा हुनुमा गुड्खा, पान, पानपराग, खैनीजस्ता सुर्तीजन्य पदार्थ खाने बानी नै हो । त्यस्तै जिब्रोको क्यान्सर हुनुमा प्रमुख जिम्मेवार जाँडरक्सी हो भने स्वरयन्त्रको क्यान्सर हुनुको प्रमुख जिम्मेवार धूमपानलाई मानिएको छ । मदिराजन्य पदार्थ र सुर्तीजन्य पदार्थ दुवै सेवन गरियो भने एकले अर्कोको असरलाई अझ बढाइदिन्छ र क्यान्सर छिटो लाग्ने हुन्छ ।
मुख, स्वरयन्त्र र थाइरोइडको क्यान्सर कमन (Common) क्यान्सर हो । यिनीहरुको तुलनामा नाकको क्यान्सर कम छ । अहिले थाइरोइडको क्यान्सर पनि एकदम कमन (Common) छ । घाँटीमा हुने अन्य क्यान्सरमा निल्ने नलीको क्यान्सर, -याल ग्रन्थिको क्यान्सर पनि हुन् ।
तस्वीर : अनिल आङ्देम्बे
थाइरोइडको क्यान्सर हुनुको कारण पहिला आयोडिनको कमीले गलगाँड आउने समस्या थियो । विकसित देशमा भएको अध्ययन अनुसार विकिरणको कारण थाइरोइडको क्यान्सर अलि कमन भएको छ । पहिले क्षयरोग, घाँटीमा आउने गलगाँडजस्तो मासुको डल्लो (Lymphoma) लाई सेकेर उपचार गरिन्थ्यो ।
अध्ययन अनुसार त्यसरी सेकेर उपचार गरेका मानिसहरुमा पछि थाइरोइड क्यान्सर देखिएको छ । त्यस्तै मानिसको जिन (gene)मा हुने समस्या र वातावरणीय प्रदूषणले पनि थाइरोइड क्यान्सरका रोगीको संख्या वृद्धि भएको हुन सक्छ ।
स्वरयन्त्र, थाइरोइड र मुखको क्यान्सरको उपचार शिक्षण अस्पतालको नाक, कान, घाँटी विभागबाट गरिरहेका छौँ ।
उपचार पिनासको, भएको क्यान्सर !
मुख, जिब्रोमा आएका साना घाउहरु दुई–तीन हप्तासम्म निको नहुने, जिब्रो–मुखमा रातो–रातो मासु पलाउने, रगत आउने, कहिलेकाहीँ गालातिर सेतो–सेतो भएर रङ्गमा परिवर्तन आउनेजस्ता लक्षण देखिएमा क्यान्सरको शंका गरेर जँचाउन जानुपर्छ ।
स्वरयन्त्रमा क्यान्सर लागेमा शुरुमा आवाज बिग्रिने र वास्ता नगरेपछि सास फेर्न गाह्रो हुने हुन्छ ।
सास फेर्दा दम बढेको जस्तो हुने, घ्यारघ्यार आवाज आउने हुन्छ । कतिपयलाई चाहिँ घाँटीमा केही अड्किइराखेको जस्तो अनुभव मात्र पनि हुन सक्छ । तर यस्तो हुँदैमा सबैलाई क्यान्सर हुन्छ भन्ने होइन । अहिले हामीले हेरेका बिरामीमध्ये ७० देखि ८० प्रतिशतजति अड्किएको अनुभव गर्नेहरु क्यान्सर पो भयो कि भनेर आउने छन् । मानिसमा चेतनाको स्तर बढेर डरमा पुगेको छ । इन्टरनेटमा पनि घाँटीमा अड्किएजस्तो भएमा घाँटीको क्यान्सर हुन सक्छ भनेर एक नम्बरमै आइदिन्छ ।
यसले गर्दा मानिसहरु डराउँछन् । २५ जना बिरामी हेर्दा पाँच–सातजना मानिस डरको कारण आएका हुन्छन्, जसले गर्दा खास बिरामीलाई दिनुपर्ने समय कम हुन जान्छ । क्यान्सर भएका मानिसलाई बुझाउन सहज छ तर केही नभई क्यान्सरको शंका गर्नेलाई बुझाउन कठिन छ । तर जे भए पनि क्यान्सर भयो कि भनेर चिन्ता लिएर बस्नुभन्दा बेलैमा परामर्श गर्नु उचित हो ।
थाइरोइडको क्यान्सरका लागि लक्षण थाहा पाउन अलि गाह्रो छ । थाइरोइडको क्यान्सर गलगाँड आएर हुने हो । जाँच नगरी क्यान्सर हो/होइन भन्न सकिन्न । तर गलगाँड एक्कासी ठूलो हुन थाल्यो, आवाजमा परिवतर्न आयो, खाना निल्न र सास फेर्न असहज भयो भने तुरुन्त जाँच गराउनुपर्छ ।
कतिपय बिरामीचाहिँ पिनास भयो भनेर उपचार गराइरहेका हुन्छन्, निको नभएपछि हामीकहाँ आउँछन् । उनीहरुको जाँच गर्दा कतिपयमा क्यान्सर भएको पाइएको छ । राम्ररी रोगको निदान नगरीे पिनास भनेर उपचार गर्दा कहिलेकाहीँ क्यान्सर पनि हुन सक्छ । रोग राम्ररी पहिचान नगरी उपचार गर्नु पनि घातक हुन सक्छ । यसमा सावधानी अपनाउनुपर्छ ।
क्यान्सर चिन्न परीक्षण
नेपालमा ९५ प्रतिशतसम्म यस्ता क्यान्सर परीक्षण गर्न र उपचार गर्न सक्ने तहमा हामी पुगिसकेका छौँ । यसका लागि पहिलो परामर्श लिने र त्यसको उपचार गर्ने नै हो । यसको पहिलो जाँच भनेको इमेजिङ (एक्स रे, अल्ट्रासाउन्ड, सिटीस्क्यान, एमआरआई आदि) हो ।
यसबाट कतिसम्म फैलिएको छ, थाहा हुन्छ । क्यान्सरको यकिन गर्नका लागि चाहिँ त्यो भागबाट मासुको टुक्रा लिएर जाँच्ने गरिन्छ । थाइरोइडको चाहिँ मासु नभएर सानो सुईबाट पानी निकालेर जाँच गरिन्छ । यी आदिका आधारमा थप जाँच गरिँदै लगिन्छ ।
यस्तो परीक्षणमा विभिन्न विभाग संलग्न भए पनि यसको उपचार मूल त नाक, कान, घाँटी विशेषज्ञले नै गर्ने हो । स्वरयन्त्र, थाइरोइड र मुखको क्यान्सरको उपचार शिक्षण अस्पतालको नाक, कान, घाँटी विभागबाट गरिरहेका छौँ । क्यान्सरको उपचार भनेको ठूलो हुने भएकाले कहिलेकाहीँ अरु विभाग पनि संलग्न गराएर गर्नुपर्ने हुन्छ ।
यसरी क्यान्सरबाट बच्न सकिन्छ
अहिले घाँटी र मुखको क्यान्सर बढ्नुमा सुर्तीजन्य पदार्थ र मदिराको सेवनलाई मुख्य मानिएकोले यिनको सेवन नगरेर रोगबाट धेरै हदसम्म बच्न सकिन्छ । थाइरोइडको क्यान्सरबाट बच्नका लागि विकिरणबाट बच्नुपर्छ ।
५० वटा एक्स रे गरेजस्तो विकिरण एउटा सिटी स्क्यानबाट आउँछ । यस्ता परीक्षण अनावश्यकरुपमा गर्नुहुँदैन । साथै अन्य विकिरण उत्पन्न हुने स्थानमा जानबाट बच्नुपर्छ ।
अहिले हामीले खाने फलफूल, तरकारी, अन्नमा विषादीको प्रयोग धेरै भइरहेको छ, यसमा नियन्त्रण आवश्यक छ । यसको प्रयोग बढेसँगै क्यान्सर बढेको हो कि भन्ने अनुमान छ । उत्पादक तथा व्यापारीहरु नाफामुखी भई अरुको स्वास्थ्यको ख्याल नगर्दा यी समस्या बढेका छन् ।
यसको लागि राष्ट्रिय रुपमा नै नीतिगत कडाइ गर्नुपर्छ । व्यक्तिले पनि विषादी मिसावट भएका खाना खानबाट बच्नुपर्छ । साथै तारेका, धुवाँमा सेकाइएका खाना पनि क्यान्सरका कारण मानिएको छ । फर्निचर बनाउँदा उत्पन्न हुने काठको धूलोले पनि नाकको क्यान्सर गराउन सक्ने भएकोले यसबाट बच्न आवश्यक छ ।
एलर्जीको प्रभावकारी उपचार
वातावरणमा भएको सामान्य कुरालाई शरीरले पचाउन नसकेर रियाक्सन गरेको अवस्था हो एलर्जी । दुईजना मानिस भएका ठाउँमा धूलो आयो भने एकजनालाई असर गर्ने र अर्कोलाई नगर्ने हुन सक्छ । कसैलाई धूलोले, कसैलाई चिसोले, कसैलाई प्रदूषणले, कसैलाई फूलका परागले, कसैलाई कुकुर–बिरालो आदिका रौँहरुले पनि एलर्जी हुन्छ ।
घरमै हुने मसिना किराहरुको फोहोरले पनि एलर्जी हुन्छ । यी वस्तु शरीरमा कतैबाट पस्यो भने शरीरले नपचाएका अवस्थामा प्रतिक्रिया गर्छ, । जसको कारण मानिसमा विभिन्न लक्षण देखिने हुन्छ ।
यस्ता एलर्जी विकसित देशमा झन् धेरै छन् । अध्ययनले देखाएअनुसार फोहोरबाट विभिन्न संक्रमण हुन्छ । संक्रमण कम भएर सरुवा रोगहरु कम भए भने त्यस्ता ठाउँमा एलर्जी बढी पाइएको छ ।
एलर्जी पनि अहिले हुने–खानेको रोगजस्तो हुँदै गएको छ । विकसित देशमा एलर्जी धेरै र हामीकहाँ देखिनेभन्दा धेरै कडा भएको पाइएको छ । हाम्रोमा चाहिँ अरु कारण छन् । प्रदूषणका कारण पनि नाकमा सुख्खापन आउने, खसखस गराउने हुन्छ ।
कोभिडको कारण पहिलो वर्षको लकडाउनमा एलर्जीको समस्या निकै घटेको थियो । त्यस बेला वर्षभरि नै नाकबाट पानी बग्ने, हाच्छिउँ आउने, घाँटी खसखस गर्ने समस्या भएन भन्नेहरु धेरै थिए । कोभिडले गर्दा मास्कको प्रयोग अधिक भएको, सवारीसाधन, कलकारखाना सञ्चालन नभएका कारण प्रदूषण कम भएकाले एलर्जीको समस्या पनि कम भएको पाइयो ।
यसलाई नै आधार मान्दा पनि प्रदूषण नियन्त्रण आवश्यक छ । एलर्जी र संक्रामक रोगबाट बच्नका लागि मास्कको नियमित प्रयोग गर्नु र प्रदूषित क्षेत्रभन्दा सकेसम्म टाढा बस्नुपर्छ । आफूलाई एलर्जी के कारणले भएको छ, त्यसबाट बच्नु नै प्रभावकारी उपचार हो ।
बच्दाबच्दै पनि एलर्जी भएमा लक्षण कम गर्नका लागि औषधि प्रयोग गर्न सकिन्छ । तर एकपटक औषधि उपचार गरेपछि कहिल्यै नआउने भन्नेचाहिँ हुँदैन । एकपटक निको भए पनि जब अर्कोपटक एलर्जी हुने कारणको नजिक पुगिन्छ, फेरि भइहाल्छ । त्यसैले यसको मुख्य उपचार भनेको कारण थाहा पाउनु र त्यसबाट बच्नु नै हो ।
नाकबाट पानी बग्ने, घाँटी खसखस हुने, रुघा लागेजस्तो हुने, हाच्छिउँ आउनेजस्ता एलर्जी हुँदा धेरैले आफूखुशी औषधि प्रयोग गरेको देखिन्छ । यस्ता औषधि लामो समय प्रयोग गर्नुहुँदैन । कुनै–कुनैमा अलि अढी साइड इफेक्ट पनि छन् ।
फेक्सोफेनाडिन ९ँभहयाभलबमष्लभ० समूहको औषधि अलि सुरक्षित मानिन्छ, केही हप्ता प्रयोग गर्न सकिन्छ । सेट्रिजेन ९ऋभतष्चष्शष्लभ० समूहको औषधिले निद्रा अलि बढी लगाउँछ । अन्य समूहका डिकोल, राइनेक्स, साइनेक्सलगायतका एलर्जीको लक्षण कम गर्ने औषधिहरु आफूखुशी बारम्बार एलर्जीमा प्रयोग गर्ने गरेको पाइन्छ ।
यस्ता औषधि सस्ता छन्, जताततै पाइन्छन् र कडा पनि छन् । यी केही औषधि चार–पाँच दिनभन्दा बढी प्रयोग गर्नु नहुने खालका छन् । यी औषधिले अरुको कुरा सुनेर वा कुनै कुरा देखेर तुरुन्त गर्ने निर्णय वा प्रतिक्रिया सुस्त बनाइदिन्छन् । यस्ता औषधि खाएका बेला सवारी चलाउन हुँदैन । औषधि सकिएको दुई दिनपछि मात्र सवारी चलाउनु उपयुक्त हुन्छ । सकेसम्म एलर्जीमा आफूखुशी धेरै औषधि प्रयोग गर्नुहुँदैन ।
एलर्जी र कोभिड कसरी छुट्याउने ?
घाँटी दुख्ने, खसखस हुने, खोकी लाग्ने, नाकबाट पानी बगिरहने, हाच्छ्यिुँ आइरहने समस्या एलर्जी हो कि कोभिड–१९ हो भन्ने विषयमा पनि कतिपय मानिसहरुमा भ्रम भएको पाइन्छ । एलर्जी हुँदा पनि कोभिड नै भएको हो कि भनेर चिन्ता गर्ने, आइसोलेसनमा बस्ने, परीक्षणका लागि आउने गरेको पाइन्छ ।
तर यसलाई आफैँले पनि विचार गरेर छुट्याउन सकिन्छ । जस्तो– नाक बन्द हुने, हाच्छिउँ आउने, नाकबाट पानी बग्ने र नाक चिलाउने भएको छ भने त्यो एलर्जी हो । कोभिडमा यस्तो हुँदैन । साथै यस्ता लक्षण भएकाहरुले पिनास भयो भनेर पनि शंका गर्छन् तर यो पिनास पनि होइन । एलर्जीमा टाउको पनि दुख्दैन ।
घाँटीको एलर्जी हुँदा घाँटीको भित्री भागमा चिलाएजस्तो खसखस हुने, सुख्खा खोकी लाग्ने, घाँटी सफा गरिरहनुपर्ने हुन्छ । अलि पुरानो हुँदै गएपछि घाँटीमा केही अड्किएको, बिजाएको जस्तो अनुभव हुन्छ । अहिले देखिएको कोभिडको ओमिक्रोन भेरिएन्टमा घाँटी एकदमै दुख्छ ।
हेर्दा घाँटीमा टन्सिल पनि हुँदैन, अरु समस्या पनि हुँदैन । तर थुक निल्दा एकदमै दुख्ने हुन्छ । घाँटी दुख्ने, निल्न गाह्रो हुने, बोल्दा गाह्रो हुने र स्वर परिवर्तन हुने हुन्छ । कसै–कसैको आवाजमा परिवर्तन आउने हुन्छ ।
यो लक्षण भएमा कोभिड (ओमिक्रोन) हुने सम्भावना बढी छ र निको हुने क्रममा सुख्खा खोकीे झन्डै महिना दिनसम्म पनि रहेको पाइएको छ । ओमिक्रोनमा फोक्सोमा असर कम भएको, अस्पताल भर्ना, अक्सिजनको माग कम भएको र मृत्यु दर पनि न्यून भएको पाइएको छ । नाक, घाँटीकै लक्षण बढी देखिएको छ ।
घुर्न खतरनाक तर प्राथमिकता छैन
घुराई आम स्वास्थ्य समस्या भए पनि नेपालमा प्राथमिकता नपाएको समस्या हो । यसका परिणाम के–के हुन सक्छन् भन्ने थाहा नपाएर पनि बेवास्तामा परेको हुन सक्छ । मानिस राति घु-यो भने दिउँसो निदाउँछ । ड्राइभ गरेको मानिस सिग्नलमा रोकियो भने कतिपय त त्यहीँ पनि निदाएर घुर्न थाल्छन् ।
लामो बाटो ड्राइभ गर्दा सीधा चलाइरह्यो भने त्यो मानिस त्यहीँ निदाइदिन्छ, जुन ज्यादै खतरनाक अवस्था हो । घुर्नु भनेको राति सुत्दा सास लिने ठाउँ साँघुरो हुनु हो । साँघुरो भएपछि भित्र अक्सिजन पुग्दैन, बल गरेर लिनुपर्ने हुन्छ । कतिपय त अक्सिजन नपुगी आत्तिएर ब्युँझिने हुन्छन् ।
दोहो¥याएर ब्युँझिने भयो भने उसको निद्रा पुग्दैन अनि दिउँसो मौका पायो कि निदाइहाल्छ । राति निद्रा नपुग्दा दिउँसो दिमागले पनि राम्ररी काम गर्दैन । सानोतिनो कुरामा चिडचिड हुने हुन्छ । आफ्नो काममा समय दिन सक्तैन । काम गर्न बस्दा निदाउने हुन्छ । अक्सिजन नपुग्ने हुँदा यसले मुटु र फोक्सोमा समस्या ल्याइदिन्छ । प्रेसर बढ्ने र मुटुलाई भार बढ्ने हुन्छ ।
घुर्ने समस्या बच्चा र ठूलो मानिसमा फरक हुन्छ । बच्चाले घुर्नु खतरनाक हो । बच्चाहरुको नाकको भाग सानो हुन्छ । टन्सिल र नाकको पछाडि हुने मासु फुल्दा नाकबाट सास लिन नसक्ने हुन्छ अनि अक्सिजन पुग्दैन र घुर्ने समस्या हुन्छ ।
यसले बच्चालाई गाह्रो भइरहेको छ र राति ब्युँझिरहेको छ भने त्यसलाई अपरेसन नै गर्नुपर्ने हुन्छ । बच्चा राम्ररी सुत्न सकेन भने ठूलो हुँदासम्म ओछ्यानमा पिसाब गर्ने, उचाइ नबढ्ने, खान मन नगर्ने, दुब्लाउने आदि अनेक समस्या आउँछन् । यसले पछिसम्म असर गर्न सक्छ ।
यस्तो समस्यामा कतिपय अभिभावकले बच्चा अहिले सानो छ, ठूलो भएपछि अपरेसन गर्छु भन्छन् । तर समस्या भएकै बेला अपरेसन गर्नुपर्छ । विशेष गरी २ देखि १० वर्षसम्म यसले समस्या गर्छ । त्यो पछि अपरेसन गर्छु भनेर काम छैन, समयस्या भएकै बेला गर्नुपर्छ । किनकि त्यसले देखाउने दुष्परिणाम त्यतिखेरै हुन्छ । यसको औषधिबाट पनि उपचार गरिन्छ । त्यसबाट फाइदा भएन भने अपरेसन नै विकल्प हो ।
ठूलो मानिस घुर्नुको पहिलो कारण मोटाउनु हो । मोटाएपछि जताततै बोसो भरिन्छ । घाँटी भनेको पेट बढेझैँ बढ्दै जाने होइन । सास फेर्ने सानो ठाउँमा बोसो बढेपछि सास फेर्न अवरोध गराइदिन्छ । कहिलेकाहीँ एलर्जीका कारण पनि भित्र सुन्निने गराइदिन्छ । यसले पनि सास फेर्ने ठाउँ साँघुरो गराउँछ ।
कतिपयको चाहिँ जन्मजात नै नाकको हड््डी बाङ्गो हुन्छ । शरीरको तौल ठीक हुन्जेल त्यसले खासै असर गर्दैन, मोटाएपछि बोसोको कारण साँघुरो हुन्छ । त्यसले पहिलेदेखि भएको समस्या बढाइदिन्छ र घुर्ने समस्या हुन्छ । टन्सिलको साइजले पनि सास फेर्न असर गर्छ ।
त्यस्तै गरी घाँटी छोटो र मोटो भएको अनि शरीरको तौल अलि बढी भएको मानिसलाई पनि घुर्ने समस्या हुन्छ । लामो घाँटी भएको मानिस अलि–अलि मोटाउँदै गयो भने पनि त्यति असर गर्दैन, बोसो बाँडिन्छ । सुत्दा सबै मांसपेशीहरु शिथिल अवस्थामा पुगेका हुन्छन् । रक्सी खाँदा अझ बढी शिथिल हुन्छन् ।
ठूलो ठाउँ भए पनि त्यस बेला घाँटीको नली केही साँघुरो हुन्छ । शरीर, दिमागले अक्सिजन माग्छ । बल गरेर सास तान्दा आवाज आउँछ, जसलाई घुर्नु भनिन्छ । घुराइ नियन्त्रणका लागि पहिला त तौल घटाउनुपर्छ । सुत्ने बेला चिया–कफी खानुहुँदैन । यसलाई ग्यास्ट्रिकले पनि असर बढाउने भएकाले ग्यास्ट्रिकको उपचार गराउनुपर्छ ।
एलर्जीको समस्या छ भने तिनीहरुबाट पनि जोगिनुपर्छ । सिरानी नमिल्दा, सुताइको पोजिसन नमिल्दा पनि घुर्ने समस्या हुन्छ तर यो दीर्घकालीन हुँदैन, मिलाएर सुतेमा समस्या समाधान तत्काल हुन्छ ।’ नाक, मुख, घाँटीका समस्याले गम्भीर किसिमका दुष्परिणाम हुन सक्ने भए पनि आम मानिसले कम महत्व दिने, हेलचेक्र्याइँ गर्ने र कतिपयले चाहिँ ज्यादै त्रसित हुने अनि गलत उपचार पनि गर्ने गरेको पाइन्छ । यी प्रवृत्ति ठीक होइनन् । यससम्बन्धी समस्याबाट बच्न व्यक्ति आफैँ सचेत हुन र रोगको शंका भएमा विशेषज्ञको परामर्शमा सही उपचार गर्नु नै उत्तम हो ।